logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • उट्सनको ओपेरा 

    उट्सनको ओपेरा 

     उट्सनको ओपेरा 

    तोमनाथ उप्रेती

     

    प्यासिफिक महासागरको नीलो छालहरू सिड्नी हार्बरको किनारमा हामफालिरहेका थिए। एक शान्त भेला, तर त्यसको गहिराइमा थिए लहरका अविरल विचारहरू—जसरी कुनै युगान्तकारी सपना लहरहरूसँगै किनारतिर बग्न खोजिरहेझैँ लाग्थ्यो। र, त्यसै सपना भित्र जन्मिँदै थियो एक अद्भुत भवन—संगीतको मन्दिर, सभ्यताको ध्वनि, र कल्पनाको मूर्तरूप—सिड्नी ओपेरा हाउस।

    तर यो सपनाको आरम्भ कुनै इँट, कङ्क्रिट, वा योजनाबाट होइन, बरू एक मानिसको हृदयको स्पन्दनबाट भएको थियो। त्यो मानिस थिए सर युजिन गुसेन्स—बेलायतका एक सुप्रसिद्ध ओपेरा कन्डक्टर। उनका आँखा केवल सुर र तालको परिधिभित्र सीमित थिएनन्। उनका दृष्टिमा थिए भविष्यका सहर, त्यस्ता संरचनाहरू जहाँ कला केवल देखिने होइन, महसुस गरिने विषय बन्न सक्थ्यो।

    दोस्रो विश्वयुद्धपछि, थाकेको संसार संगीतको शान्तिमा शरण लिन चाहन्थ्यो। त्यही समयमा, गुसेन्स अस्ट्रेलिया आएका थिए—न्यू साउथ वेल्स कन्सर्भेटोरियम अफ म्युजिकको निर्देशक बनेर। उनमा केही यस्तो थियो, जुन पेसागत सीमाभन्दा बाहिर निस्किन सक्थ्यो। उनी एउटा नयाँ बौद्धिक आन्दोलनका नेता थिए—जहाँ संगीत केवल संगीत थिएन, त्यो आत्मा थियो; जहाँ भवन केवल ढुङ्गा थिएन, त्यो एक जीवित संरचना थियो।

    उनी सिड्नी हार्बरको छेउमा हिँड्थे। त्यहीँ थियो एक पुरानो ट्राम डिपो—धूलोले ढाकिएको, युगौंदेखि मौन। तर गुसेन्सको आँखामा त्यो कुनै भवन थिएन, त्यो एउटा सपनाको गर्भ थियो।
    “यहीँ बन्छ ओपेरा हाउस,” उनले मनमनै बुदबुदाए।

    त्यो जमिन केवल सरकारको सम्पत्ति थिएन। त्यो स्थान गाडिगल आदिवासी समुदायको सांस्कृतिक र आध्यात्मिक थलो थियो—जहाँ हजारौं वर्षसम्म नृत्य, गीत, र पुजाहरू गुञ्जिएका थिए। सर गुसेन्सले त्यो ठाउँलाई आधुनिक अस्ट्रेलियाको सांगीतिक आत्मा बनाउने सपना देखे।

    प्यासिफिक महासागरको नीलो छेउमा एउटा असम्भव सपना अंकुरिन थाल्यो—न घाट थियो त्यो, न कुनै टापु, तर त्यहाँ थियो एक शंखजस्तो आकृति, भविष्यको प्रतिबिम्ब। सिड्नी हार्बरको किनारमा रहेको एउटा ट्राम डिपो, धूलो र पुरानो पटरिले भरिएको त्यो भूभाग, कसैले कल्पना गर्न सक्ने ठाउँ थिएन कि त्यहाँ एकदिन विश्वकै सबैभन्दा अद्वितीय संगीत मन्दिर उभिनेछ। तर सपनाले भौगोलिक सीमाहरू चिन्दैन। त्यहीँ सुरु भयो एउटा अमर कथाको यात्रा—जहाँ संगीत, वास्तुकला, र राजनीति एउटै लयमा बगे।

    सर युजिन गुसेन्स, एक प्रसिद्ध ओपेरा कन्डक्टर, त्यो सपना देख्ने पहिलो मान्छे थिए। उनले यूरोपको संस्कृति, विशेषतः मेडिटेरेनियन समुद्रको लय, आफ्नो आत्मामा बोकेर अस्ट्रेलियामा ल्याए। सिड्नीमा उनको कार्यकाल केवल संगीतका लागि थिएन, त्यो एक सांस्कृतिक क्रान्तिको आरम्भ थियो। उनले महसुस गरे—अस्ट्रेलियालाई केवल फुटबल र बार्बेक्यूसँग चिनिने मुलुक होइन, एक सांगीतिक आत्मा चाहिएको छ। “हामीलाई एउटा आत्मा चाहिएको छ,” उनले मुख्यमन्त्री जोसेफ काहिललाई भने, “एउटा भवन जसले अस्ट्रेलियाको आवाज संसारसँग साझा गर्न सकोस्।” काहिल, यथार्थवादी राजनीतिज्ञ भए पनि, संगीतप्रेमी थिए। उनलाई थाहा थियो—सपना देख्नेहरू समाजमा विरलै जन्मिन्छन्। त्यसैले उनले गुसेन्सको विचारलाई केवल सुनेनन्, राजनीतिक ढोका पनि खोलिदिए। सन् १९५५ मा अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता घोषणा गरियो, एउटा मात्र शर्तसहित—भवन यस्तो हुनुपर्छ, जसको मिसाल विश्वमा अरू कतै नदेखिएको होस्।

    सन् १९५७ मा ३२ देशका २३३ डिजाइनहरू सिड्नी पुगिसकेका थिए। निर्णायकहरू पेशागत दक्षतासँगै कल्पनाशीलता पनि खोज्दै थिए। त्यहीबेला आयो एक अनौठो डिजाइन—डेनमार्कका ३८ वर्षीय युवा आर्किटेक्ट, जोर्न उट्सनको। उनको स्केच कुनै इन्जिनियरिङ नक्शा थिएन, त्यो कविता थियो। समुद्रको लहरसँग सम्वाद गर्ने शंखजस्तो छाना, उज्यालो भित्र पार्ने पातलो पत्रजस्ता खोल, र त्यसभित्र गुन्जिरहने एक अदृश्य स्वर—उट्सनको दृष्टिकोण कल्पनाभन्दा परको थियो। सुरुमा डिजाइन ‘व्यावहारिक नभएको’ भन्दै अस्वीकृतजस्तै भएको थियो, तर फिनल्यान्डका आर्किटेक्ट एवं निर्णायक एरो सारिनेनले त्यसलाई अलगै रूपमा प्रस्तुत गरे—”यिनै असम्भव कुराहरूले भविष्य बनाउँछ।” उट्सन विजेता घोषणा भए।

    निर्माण सन् १९५९ मार्च २ मा सुरु भयो, तर सुरुवातदेखि नै चुनौतिहरू खडा हुन थाले। पहिलो समस्या थियो—जमिन। उट्सनले बलियो आधारमाथि हलुका संरचना कल्पना गरेका थिए, तर ट्राम डिपोको त्यो जमिन अत्यन्तै कमजोर र धँसिने प्रवृत्तिको थियो। त्यसैले ५५० भन्दा बढी स्टिल र कङ्क्रिटका गहिरा खम्बाहरू जमिनमुनि गाड्नुपर्यो। लागत बढ्न थाल्यो। छाना त झनै चुनौतीपूर्ण बन्यो। कुनै पनि परम्परागत इन्जिनियरिङ विधिले उट्सनले देखाएको आकृति निर्माण गर्न सकेन। सुरुमा स्टिल संरचनालाई कङ्क्रिटले कोट गर्ने योजना बनाइयो, तर त्यसले ध्वनिमा विकृति ल्याउने देखियो। सारा निर्माण प्रक्रिया अनिश्चित भयो।

    त्यही तनावबीच, उट्सन एक साँझ आफ्नो भान्सामा सुन्तलाको बोक्रा छिल्दै थिए। अचानक उनले महसुस गरे—सुन्तलाको प्रत्येक बोक्रा एउटै गोलो आकृतिको भाग हो। त्यो सरल तर शक्तिशाली अवधारणाबाट उनले समाधान निकाले। यदि सम्पूर्ण छाना एउटै वृत्तबाट बनेका टुक्राहरू हुन् भने, ती कारखानामा उत्पादन गरेर साइटमा सजिलै जडान गर्न सकिन्छ। जस्तो संगीतका टुक्राहरू तालमा मिलेर एउटा लय सिर्जना गर्छन्, त्यसरी नै छानाका खण्डहरू पनि समन्वयित संरचना बन्नसक्ने भयो। यो एक वास्तुशिल्पिक क्रान्ति थियो।

    तर सपनाको बाटो सधैं सरल हुँदैन। सन् १९६५ मा सरकार फेरियो। नयाँ मुख्यमन्त्री रोबर्ट अस्किन उट्सनका विचार र पद्धतिसँग सहमत थिएनन्। उनले भुक्तानी रोक्न थाले। मीडिया र राजनीतिले उट्सनलाई “बजेट नाघ्ने सपना देख्ने कलाकार” को रूपमा चित्रण गर्न थाले। प्रशासनिक समर्थन हराउँदै गयो। अन्ततः, १९६६ मा, थकित उट्सनले राजीनामा दिए र चुपचाप डेनमार्क फर्किए—न फिर्ता आउने, न कुनै बयान दिने गरी। आफूले बनाउँदै गरेको सपनाबाट टाढा हुनुपर्दा कति पीडा भयो होला, त्यो त केवल मौनताबाट बुझ्न सकिन्छ।

    उट्सन गएपछि, उनको मूल डिजाइनमा धेरै परिवर्तन गरियो। उनले मुख्य हललाई ओपेरा र कन्सर्ट दुवै प्रयोजनका लागि बनाउने योजना बनाएका थिए, तर नयाँ इञ्जिनियरहरूले त्यसलाई छुट्याइदिए। भित्रको संरचना केवल प्रयोगात्मक बनाइयो—कलात्मक आत्मा हरायो। काममा ढिलाइ बढिरह्यो, लागत झनै आकासियो। मजदुरहरू पटकपटक हड्तालमा जान थाले। तर अन्ततः, सन् १९७३ मा निर्माण सकियो—१० वर्ष ढिलो, र प्रारम्भिक अनुमानभन्दा १४ गुणा बढी लागतमा, कुल १०२ मिलियन अस्ट्रेलियन डलर।

    २० अक्टोबर १९७३ मा, बेलायती महारानी एलिजाबेथ द्वितीयले उद्घाटन गरिन्। संसारभरबाट सम्माननीय अतिथि सिड्नीमा भेला भए। भवनमा संगीत गुञ्जियो, रंगमञ्चमा प्रकाश झल्कियो, र सिड्नी ओपेरा हाउसले आफ्नो पहिलो सार्वजनिक जीवन सुरु गर्यो। तर त्यो ऐतिहासिक दिन त्यहाँ न त सर गुसेन्स थिए, न जोर्न उट्सन।

    गुसेन्स त सन् १९५६ मै अस्ट्रेलियाबाट निस्किसकेका थिए। मेलबर्न विमानस्थलमा उनको झोलाबाट तस्करी गरिएको अश्लील सामग्री, यौन चित्रहरू, र रबर मास्कहरू भेटिएपछि उनले सबै पद र सम्मान गुमाए। जो मान्छेले पहिलो सपना देखेका थिए, उनी आफैं संगीतको इतिहासबाट मेटिँदै गए। उट्सनले पनि उद्घाटन समारोहमा भाग लिएनन्। उनले एक पत्र लेखे—”यो मेरो सपना थिएन।” त्यो लेखिएको एक लाइनले उनीभित्रको पीडा, निराशा र प्रतिरोध सारा व्यक्त गर्यो।

    तर समय स्थायी हुँदैन। सन् १९९९ मा उनलाई फेरि परियोजनामा परोक्ष रूपमा समावेश गरियो। भवनको भित्री पुनःसंरचनामा उट्सनले आफ्नो सल्लाह दिन थाले। सन् २००४ मा, ओपेरा हाउसको एउटा हललाई औपचारिक रूपमा “उट्सन रूम” नाम दिइयो—उनीप्रति कृतज्ञता व्यक्त गर्दै। यद्यपि उनी कहिल्यै भवन भित्र फर्किएनन्, तर उनको आत्मा फेरि त्यहाँ उपस्थित भयो।

    आज, सिड्नी ओपेरा हाउस केवल एउटा भवन होइन। त्यो अस्ट्रेलियाको सांस्कृतिक आत्मा हो—युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको, सिड्नीको पर्यायवाची। बब डिलनले त्यहाँ गीत गाएका छन्, नेल्सन मण्डेलाले न्यायको आवाज गुन्जाएका छन्, र नेपाली संगीतज्ञ हरि महर्जनले बाँसुरीको लय बगाएका छन्। तर ती सबै भित्र, कहिलेकाहीँ शून्यताभित्र सुनिन्छ—गुसेन्सको अधुरो स्वास, उट्सनको मौन उपस्थिती। प्यासिफिक महासागरको छालसँगै बग्ने एउटा अमर सपना—जसले पत्थरलाई संगीतमा रूपान्तरण गर्यो, शंखजस्तो आकारमा बाँधियो सभ्यता, संघर्ष र सौन्दर्य।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र १०, मंगलवार २०:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP