मोरङको सम्भावनाको सन्देश
तोमनाथ उप्रेती
मोरङको बतासले सुम्सुम्याउँछ,
“बिउ रोप, जीवन रोप, भविष्य रोप।”
बुढीगङ्गाको धाराले गुनगुनाउँछ,
“स्रष्टा बन, साक्षी बन, सम्भावनाको स्रोत बन।”
मोरङको माटो, केवल माटो होइन,
यो आत्माको साहस हो, स्वाभिमानको सुगन्ध हो,
यो पसिनामा पलाउँछ, संघर्षमा फुल्छ,
र आशाका सपनाहरूमा सुम्सुमाउँछ।
जुट मिलको सायरन बज्दा,
त्यो आवाज कर्मयोगको घण्टी हो,
आशाका बीउहरू रोप्दै,
भविष्यका पाइलाहरू अघि बढ्छन्।
विराटनगरको धुवाँले कालो बनाएको आकाशमा,
श्रमिकका आँखाहरूमा उज्यालो टल्किन्छ,
ठेलागाडाका पाइलामा थकान हुँदैन,
किनकि तिनै पाइलामा सम्भावनाको सूर्य उदाउँछ।
मोरङका खेतहरूमा हल्लिने गहुँका बाला भन्छन्,
“हामी हल्लिन्छौं, किनकि हामी बाँचिरहेका छौं,
हामी झुक्छौं, किनकि हामी सम्भावनाको गर्भमा छौं।”
ओसका थोपामा सूर्यको किरण जस्तै,
किसानको पसिनामा उज्यालोको भविष्य झल्किन्छ।
बालबालिकाका हाँसोमा सुनिन्छ आशाका गीत,
विद्यालय जाने पाइलाहरूमा बन्छ भविष्यको सङ्गीत,
कापी र कलममा अन्नको गन्ध मिसिन्छ,
शिक्षामा फुल्छ सम्भावनाको बिरुवा।
कोशी र बक्राहाका छालहरू बग्दै भन्छन्,
“सम्भावना योजनामा होइन, आत्माको साहसमा पलाउँछ।”
मोरङका गल्लीहरू तीर्थ हुन्,
जहाँ श्रम पूजा हुन्छ, र सपनाहरूको आरती बन्छ।
साँझमा सुनौलो आकाशमा टल्किने तारा,
संघर्षका रातहरूमा झिलमिल गर्ने आशा हुन्।
रातमा पसिनाका गन्धमा मिसिएको हावा,
भोलिको बिहानको उज्यालोको सन्देश हो।
मोरङ सिकाउँछ—
“कर्ममा क्रान्ति छ, श्रममा पूजा छ,
स्वाभिमानमै सम्भावनाको अंकुर फुल्छ।”
श्रमिकको सासमा, किसानको हाँसोमा,
आमाको प्रार्थनामा, बालकका सपनामा,
मोरङको भविष्यको उज्यालो झल्किन्छ।
मोरङको हावा सम्झाउँछ—
“पसिनामा नै तिम्रो पूजा छ,
कर्ममा नै तिम्रो अध्यात्म छ,
र आत्मसम्मानमै तिम्रो सम्भावना फुल्छ।”
प्रतिक्रिया