logo
  • २०८३ बैशाख १६ | Wed, 29 Apr 2026
  • लोकतन्त्रको आत्मा : चेतनाको दीप (कविता)

    लोकतन्त्रको आत्मा : चेतनाको दीप (कविता)

    लोकतन्त्रको आत्मा : चेतनाको दीप (कविता)

    (तोमनाथ उप्रेती)

    नेपालको आकाशमा ढुंगा झैँ तैरिरहेको छ समय
    संविधानको पाना ओझेलमा, सपनाहरू ओसिला छन्,
    लोकतन्त्र कागजमा जन्मिएको छ
    तर जनताको मुटुमा अझ बाल्यकालमै छ।

    भोटको पेटीभित्र निदाएको छ आस्था,
    नेताको भाषणमा हराएको छ विश्वास
    तर, जनताको आँखा अब खुल्दैछ
    भोट होइन, परिवर्तन खोज्दैछ।

    जेन जीको स्वर—
    न मन्दिरको घण्टी हो
    न सडकको शोर
    यो त आत्माको गर्जन हो
    जसले पुराना सत्ताका दीवार हल्लाइरहेको छ।

    अध्यात्मको जरा माटोमा छ,
    तर यसको फूल चेतनामा फुल्छ
    मानवीय मूल्यहरू नदीजस्तै हुन्
    रोकिन्छन्, तुर्लिन्छन्
    तर अन्ततः समुद्रमा पुग्छन्
    जहाँ ‘म’ हराउँछ र ‘हामी’ बाँच्छौं।

    लोकतन्त्र कुर्सी होइन,
    यो आत्माको अभ्यास हो
    जहाँ सत्य धर्मभन्दा ठूलो हुन्छ
    जहाँ करुणा शक्ति हुन्छ
    जहाँ सेवा नै शासन हुन्छ।

    हाम्रो शिक्षा अहिले यन्त्रको कारखाना बनेको छ
    तर हामीलाई मानव बनाउने पाठशाला हराएको छ
    पुस्तकले ज्ञान दियो, तर विवेक खोस्यो
    डिग्री बढ्यो, तर चरित्र घट्यो
    अब समय आएको छ
    शिक्षामा आत्मा भर्न
    राजनीतिमा सत्य बर्न
    शासनमा सेवा सर्न।

    हे युवा आत्माहरू!
    तिमीहरू विद्रोह हो, तर दिशाहीन होइन
    तिम्रो क्रोधलाई न्याय बनाऊ
    तिम्रो आँशुलाई प्रकाश बनाऊ
    देश पुनर्जन्मको मुखमा उभिएको छ
    हामीमध्ये कोही पनि निरपेक्ष रहन सक्दैन।

    लोकतन्त्रको अर्थ
    सत्ता होइन, आत्मा हो
    नेता होइन, नैतिकता हो
    संविधान होइन, चेतना हो।

    जब हामी भित्रको मानवलाई
    फेरि एकपटक ब्यूँताउँछौं
    त्यो दिन नेपाल पुनः जन्मिन्छ
    र हामी सबै ब्रह्मको प्रतिबिम्ब बन्न पुग्छौं।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन ३०, बिहीबार १४:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP