हाइकुहरू
तोमनाथ उप्रेती
१.
निशब्द फलाम
आकाश चिर्दै उड्छ
अन्तको लेख।
२..
रातको मुटुमा
अचानक आगो उठ्छ
तारा डराउँछन्।
३.
आकाश चिरियो
रेखाले सीमा जल्यो
शान्ति टुक्रियो।
४.
शान्त कोठाभित्र
एक बटनले फैसला
मानव मौन भयो।
५.
फलामे पंक्षी
बादल डराउँदै हट्छ
धर्ती कुर्दैछ।
६.
हावामा चिर्दै
गर्जन अघि सन्नाटा
शान्ति काँप्छ।
७.
अचानक उज्यालो
कृत्रिम सूर्य फुल्छ
अन्धकार फर्क्यो।
८.
संख्याको शासन
मनुष्यता हरायो
आकाश नक्सा।
९.
कोडभित्र युद्ध
अहंकारले जगायो
राख बोल्छ सत्य।
१०.
आगोको सास
गुरुत्व झुकेको क्षण
फेरि तानिन्छ।
११.
आकाश मौन छ
रेखाले समय चिर्यो
इतिहास फेरियो।
१२.
पाइलो छैन
विनाश दौडिँदै आयो
पछुतो ढिलो।
१३.
शून्य चुम्यो आगो
फलामको सपना टाढा
त्रास बोकेको।
१४.
अदृश्य बाटो
दुई राष्ट्रबीच तन्कियो
शान्ति चिरियो।
१५.
रातो क्षितिज
निर्णयको प्रतिध्वनि
फर्किन्छ छिट्टै।
१६.
आत्मा हरायो
सटीकताको शासन
युद्ध निर्जीव।
१७.
लन्चको गर्जन
माथि हृदय काँप्न थाल्छ
आकाश असुरक्षित।
१८.
मौन शक्ति
सानो खोलभित्र बन्द
आदेश कुर्दै।
१९.
हावा र आगो
आकाश बाध्य साक्षी
तनाव बढ्छ।
२०.
इस्पात बाण
चरा गाउन छाड्छन्
प्रकृति चुप।
२१.
शान्त नियन्त्रण
स्क्रिनमा भाग्य चम्किन्छ
सास अड्कियो।
२२.
तनावको घेरा
अदृश्य रेखा ठोक्किन्छ
शान्ति नाजुक।
२३.
अन्धकार लेख
आगोले सन्देश लेख्यो
डरको भाषा।
२४.
दूरी हरायो
उडेर आयो विनाश
सोचभन्दा नजिक।
२५.
आकाश चिरियो
गर्जनले मौन तोड्यो
आशा काँप्छ।
२६.
डरको शक्ति
अशान्त शान्तिको ढाल
धारमा सन्तुलन।
२७.
सन्नाटा फुट्यो
प्रतिध्वनि सीमा पार
विश्वास हरायो।
२८.
गणितको निर्णय
मनले नसक्ने कुरा
अन्त लेखियो।
२९.
धरतीदेखि आकाश
उत्तरविहीन प्रश्न
कतै झर्छ।
३०.
आगो राख भयो
जे उठ्छ, झर्छ अन्त्यमा
अहंकार पनि।
प्रतिक्रिया