logo
  • २०८३ असार १९ | Fri, 03 Jul 2026
  • सुनवर्षी पोखरी : विश्वास, प्रकृति र जीवनदर्शन

    सुनवर्षी पोखरी : विश्वास, प्रकृति र जीवनदर्शन

    सुनवर्षी पोखरी : विश्वास, प्रकृति र जीवनदर्शन

    तोमनाथ उप्रेती

    प्रकृतिका केही स्थलहरू समय, स्मृति, आस्था र चेतनाका जीवित ग्रन्थ पनि हुन्। सुनवर्षी पोखरी त्यस्तै एउटा स्थल हो, जहाँ पानीले  आकाशको प्रतिबिम्ब मात्र होइन, मानव सभ्यता, विश्वास र जीवनदर्शनको पनि प्रतिबिम्ब बोकेको छ। यस्ता स्थानहरूमा पुग्दा मानिसले दृश्य मात्र हेर्दैन उसले आफ्नै अन्तरात्मासँग संवाद गर्न थाल्छ। यही संवाद नै यात्रालाई मनोरञ्जनबाट आत्मानुभूतितर्फ रूपान्तरण गर्ने शक्ति हो।

    विश्वास मानव जीवनको अदृश्य आधार हो। विश्वासले नै एउटा साधारण पोखरीलाई तीर्थ बनाउँछ, एउटा मौन वृक्षलाई साक्षी बनाउँछ र एउटा किंवदन्तीलाई पुस्तौँसम्म जीवित राख्छ। चाहे त्यो ऐतिहासिक तथ्य होस् वा लोकविश्वास, त्यसको मूलमा मानव हृदयको अर्थ खोज्ने चाहना लुकेको हुन्छ। जब मानिस प्रकृतिप्रति श्रद्धावान् हुन्छ, उसले आफूलाई पनि प्रकृतिको अविभाज्य अंशका रूपमा अनुभव गर्न थाल्छ। त्यही क्षण प्रकृति बाहिरी दृश्य होइन, भित्री अनुभूति बन्छ।जीवनदर्शनले पनि यही शिक्षा दिन्छ कि बाह्य संसारको सौन्दर्य तब मात्र पूर्ण रूपमा देखिन्छ, जब मनभित्र शान्ति, विनम्रता र ग्रहणशीलता हुन्छ। स्थिर पोखरीले धैर्य सिकाउँछ। वृक्षहरूले समयको मूल्य सम्झाउँछन्। बहने हावाले परिवर्तनलाई सहज रूपमा स्वीकार गर्न प्रेरित गर्छ। यसरी प्रकृतिको प्रत्येक तत्त्व मौन गुरु बनेर जीवनका गहिरा सत्यहरू उद्घाटित गरिरहेको हुन्छ।

    सुनवर्षी पोखरीको यात्रा विश्वास, प्रकृति र आत्मचेतनाबीचको त्रिवेणीसँग साक्षात्कार गर्ने अवसर हो। यहाँ पानी स्मृतिको गहिराइ हो। यहाँ मौनता आत्माको भाषा हो। यहाँको प्रकृति  अस्तित्वको दर्शन हो। मानिसले प्रकृतिलाई जति सम्मान गर्छ, त्यति नै उसले आफ्नै अस्तित्वलाई चिन्न थाल्छ। र जब विश्वास, प्रकृति र चेतना एउटै बिन्दुमा मिल्छन्, त्यहीँबाट जीवनदर्शनको वास्तविक यात्रा आरम्भ हुन्छ।

    विराटनगरबाट पूर्वतर्फ यात्रा सुरु भयो। सडक बिस्तारै रङ्गेलीतर्फ मोडिँदै गयो। दायाँ बायाँ फैलिएका हरिया खेतहरू बिहानको उज्यालोसँगै मुस्कुराइरहेका थिए। हावामा भिजेको माटोको सुगन्ध थियो। चराहरूका स्वरले आकाशलाई संगीतले भरिरहेका थिए। मन पनि विस्तारै संसारको कोलाहलबाट अलग हुँदै मौनताको यात्रामा निस्कियो। म कुनै पर्यटकीय गन्तव्य खोजिरहेको थिइनँ। म त यात्राभित्र लुकेको आफ्नै चेतनालाई भेट्न हिँडेको थिएँ।

    बिराटनगर–रङ्गेली सडक त्यस दिन साधारण सडकजस्तो लागेन। त्यो त प्रकृतिले कोरेको एउटा लामो कविता थियो। प्रत्येक मोड एउटा नयाँ हरफ थियो। प्रत्येक रूख एउटा मौन कवि थियो। प्रत्येक हावाको स्पर्श एउटा अदृश्य उपदेश थियो। सडक आफैँ मुस्कुराइरहेको जस्तो लाग्थ्यो। त्यो मुस्कानमा कुनै कोलाहल थिएन। कुनै प्रदर्शन थिएन। त्यो त नवयौवनाको लजालु मुस्कानजस्तै स्वाभाविक, कोमल र निष्कपट थियो।केही पर पुगेपछि बक्राहा नदीको दर्शन भयो। नदी चञ्चल भएर बगेकी थिइनन्। उनी त लजालु युवतीझैँ आफ्नै किनारसँग सटेर मौन बगिरहेकी थिइन्। उनको प्रवाहमा विनम्रता थियो। उनको मौनतामा गहिरो संगीत थियो। उनले आफ्ना रहस्यहरू गर्जन गरेर होइन, हल्का तरङ्गहरूमा फुसफुसाएर सुनाइरहेकी थिइन्। त्यही क्षण मैले अनुभूति गरेँ प्रकृतिको वास्तविक सौन्दर्य कहिल्यै प्रदर्शनमा हुँदैन त्यो सधैँ लाजभित्र सुरक्षित हुन्छ।

    सुनवर्षी पोखरीमा पुग्दा त्यो अनुभूति अझ गहिरो बन्यो। पोखरीको जल निश्चल थियो। तर त्यो निश्चलता मृत थिएन। त्यो ध्यानमा बसेको ऋषिको मौनताजस्तै जीवित थियो। पानीको सतहमा आकाश मुस्कुराइरहेको थियो। वरिपरिका वृक्षहरू आफ्नै छायासँग संवाद गरिरहेका थिए। पोखरीले कुनै शब्द बोलेन। तर उसको मौनताले हजारौँ ग्रन्थभन्दा गहिरो दर्शन सुनायो।

    त्यो दिन मैले बुझें— प्रकृति कहिल्यै ठूलो स्वरमा बोल्दिन। ऊ मुस्कुराउँछ। ऊ लजाउँछ। ऊ मौन रहन्छ। र यही मौनताभित्र जीवनको सबैभन्दा गहिरो सत्य लुकेको हुन्छ। बक्राहा नदीको लजालुपन, सुनवर्षी पोखरीको स्थिरता र विराटनगर–रङ्गेली सडकको हरियालीले एउटै शिक्षा दिए सौन्दर्य चम्किलो प्रदर्शनमा होइन, विनम्र उपस्थितिमा हुन्छ। जसरी लजालु मुस्कान सबैभन्दा आकर्षक हुन्छ, त्यसरी नै प्रकृतिको सौन्दर्य पनि आफ्नो मौन, सरल र निष्कपट अस्तित्वभित्र सदैव उज्यालो भएर मुस्कुराइरहेको हुन्छ।

    केही समयपछि सुनवर्षी पोखरीको किनारमा पुगेँ। पहिलो दृष्टिमै लाग्यो, यो  पानीले भरिएको पोखरी होइन। यो समयको एउटा ऐना हो। यहाँ इतिहास पनि मौन छ। आस्था पनि मौन छ। प्रकृति पनि मौन छ। तर त्यो मौनताभित्र हजारौँ वर्षका कथाहरू गुञ्जिरहेका छन्। पानी स्थिर थियो। तर त्यसको गहिराइभित्र अनन्त प्रवाह लुकेको थियो। त्यही क्षण मैले बुझें। शान्त देखिने हृदयभित्र नै सबैभन्दा गहिरो तरङ्ग जन्मिन्छ।

    पोखरीको किनारमा उभिएका वृक्षहरू साधकझैँ लागे। उनीहरू बोल्दैनथे। उनीहरू केवल उभिएका थिए। ऋतुहरू परिवर्तन भए। पुस्ताहरू फेरिए। तर उनीहरूको धैर्य परिवर्तन भएन। प्रकृतिले मलाई त्यहीँ पहिलो शिक्षा दिई समयसँग लड्ने होइन, समयसँगै परिपक्व हुने हो।स्थानीयहरूले राजा सुनवर्षीको कथा सुनाए। उनीहरूको विश्वास सुनाएँ। पोखरीसँग माग्दा भाँडाकुँडा र गहना प्राप्त हुने किंवदन्ती सुनाएँ। मैले त्यो कथालाई केवल चमत्कारका रूपमा लिइनँ। मलाई लाग्यो, यो मानव विश्वासको  प्रतीक हो। जब मन निर्मल हुन्छ, प्रकृतिले आवश्यक कुरा कुनै न कुनै रूपमा फिर्ता दिन्छ। लोभले मागिएको वस्तु सायद कहिल्यै प्राप्त हुँदैन। तर श्रद्धाले मागिएको आशा भने जीवनले कुनै न कुनै दिन अवश्य पूरा गर्छ।

    पोखरीको डिलमा रहेको मन्दिरतर्फ मेरा पाइला बढे। मानिसहरू भाकल गरिरहेका थिए। कसैले दीप बालिरहेका थिए। कसैले मौन प्रार्थना गरिरहेका थिए। त्यहाँ मलाई एउटा सत्य महसुस भयो। ईश्वर सायद ढुङ्गाको मूर्तिमा मात्र सीमित छैनन्। उनी त विश्वास गर्ने हृदयभित्र बस्छन्। जहाँ श्रद्धा हुन्छ, त्यहीँ देवत्व जन्मिन्छ।

    बैसाखको पहिलो दिन लाग्ने सिरुवा मेलाको कल्पना मनमा आयो। विभिन्न जातजाति। विभिन्न भाषा। फरक संस्कार। तर एउटै आस्था। एउटै पोखरी। त्यहीँ मैले बुझें। प्रकृतिले मानिसलाई कहिल्यै विभाजन गर्दैन। विभाजन त मानिसले बनाएको हो। नदीले जात सोध्दिन। वृक्षले धर्म सोध्दैन। आकाशले सीमा कोर्दैन। प्रकृतिको काखमा सबै समान हुन्छन्।पोखरीबाट केही पर झुलिरहेको पुलसम्म पुगेँ। पुलमाथि उभिएर तल बगिरहेको खोलातिर हेरेँ। पुलले दुई किनार जोडेको थियो। त्यही दृश्यले अर्को शिक्षा दियो। जीवनको अर्थ किनार रोज्नुमा होइन, दूरीहरू जोड्नुमा छ। सम्बन्धहरू पनि पुलजस्तै हुन्छन्। विश्वास कमजोर भयो भने पुल भत्किन्छ। विश्वास बलियो भयो भने सबैभन्दा गहिरो खोँच पनि पार गर्न सकिन्छ।

    साँझ विस्तारै पोखरीमाथि ओर्लियो। आकाशका रङहरू पानीमा घुल्न थाले। चराहरू आ–आफ्नो गुँडतिर फर्किए। हावा अझ शीतल भयो। पानीमा मेरो प्रतिबिम्ब देखियो। केही क्षणपछि त्यो प्रतिबिम्ब पनि हल्का तरङ्गसँगै हरायो। त्यही बेला मैले महसुस गरेँ शरीर त केवल प्रतिबिम्ब हो। वास्तविक अस्तित्व त चेतना हो। पानी बदलिन्छ। प्रतिबिम्ब बदलिन्छ। तर अस्तित्वको सत्य बदलिँदैन।

    जब म सुनवर्षीबाट फर्किएँ, मैले कुनै स्मारिका बोकेर ल्याइनँ। मैले कुनै बहुमूल्य वस्तु पनि ल्याइनँ। तर एउटा अमूल्य सम्पत्ति भने साथ लिएर फर्किएँ। त्यो थियो मौनताको भाषा। विश्वासको शक्ति। धैर्यको सौन्दर्य र प्रकृतिले सिकाएको अदृश्य दर्शन। आज पनि जब जीवनको भीडले थकाउँछ, म आँखा बन्द गर्छु। सुनवर्षी पोखरी फेरि सम्झिन्छु। त्यहाँको स्थिर पानी सम्झिन्छु। अनि मनभित्र एउटा शान्त तरङ्ग उठ्छ। त्यसले बिस्तारै भन्छ, जीवन जित्न हतार नगर। पोखरीजस्तै गहिरो बन। वृक्षजस्तै धैर्यवान् बन। पुलजस्तै जोड्न सिक। अनि विश्वासजस्तै निर्मल भएर बाँच। किनकि मानिसले संसार जितेर महान् हुँदैन आफूभित्रको अशान्तिलाई जितेर मात्र महान् बन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ असार १९, शुक्रबार १०:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP