logo
  • २०८३ भाद्र ७ | Sun, 23 Aug 2026
  • पूर्वीय दर्शन र समुन्नत राज्य निर्माण            

    पूर्वीय दर्शन र समुन्नत राज्य निर्माण             

    पूर्वीय दर्शन समुन्नत राज्य निर्माण

     

    तोमनाथ उप्रेती

     

     

    दर्शन, मानव चेतनाको परम गहिराइमा अवस्थित एउटा यथार्थबोध हो, जसले जीवनका समस्त आयामहरू व्यक्तिगत, सामाजिक, नैतिक र आध्यात्मिकलाई सुत्रबद्ध गर्दै सम्पूर्ण अस्तित्वलाई अर्थ प्रदान गर्दछ। यो ज्ञानको सिद्धान्तमात्र होइन, जीवनलाई विवेकपूर्ण, उत्तरदायी र सम्यक् ढंगले सञ्चालन गर्ने मार्गदर्शक शास्त्र हो। दर्शन जगत् वैज्ञानिकता, विश्लेषणात्मक चिन्तन र अन्तर्मुखी आत्मबोधको समुच्चय हो, जहाँ प्रत्येक विचार र कार्यको अन्तिम मूल्याङ्कन सत्य, कल्याण र मुक्तिसँग जोडिन्छ।

    पूर्वीय दर्शन यसको उत्कृष्ट उदाहरण हो जहाँ आत्मा, धर्म, कर्म र मोक्षको अवधारणा जीवनशैली, कर्तव्यबोध र राज्य सञ्चालनको आधारभूत दृष्टिकोण हो। उपनिषद, गीता, बौद्ध त्रिपिटकदेखि जैन अणुव्रतसम्मका सिद्धान्तहरूमा प्रकट हुने सन्देशहरू स्वधर्म, अहिंसा, अपरिग्रह, योग, ध्यान र समत्व सार्वजनिक जीवन र प्रशासनमा उत्तरदायित्व, पारदर्शिता, सहिष्णुता र सेवाभाव निर्माण गर्ने मूल्य हुन्।

    जब सार्वजनिक प्रशासनमा यी पूर्वीय दर्शनका मूल्यहरू अपनाइन्छन्, तब शासन शक्ति होइन सेवा, न्याय र लोकमंगलको साधन बन्न पुग्छ। एक प्रशासकको दृष्टिमा ‘स्वधर्म’ भनेको निजको कर्तव्यप्रति निष्ठा हो, ‘कर्मयोग’ भनेको फलको अपेक्षाविना सत्कर्मप्रति समर्पण हो, र ‘ब्रह्मज्ञान’ भनेको सत्यको निरपेक्ष साधना हो। दर्शन चिन्तनको उपज मात्र  होइन यो जीवन, समाज र राज्यको अन्तर्यात्रा हो, जसले ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै समग्र मानव सभ्यतालाई उज्यालो बोध र कल्याणतर्फ डोर्याउने शाश्वत स्रोत हो।

    दर्शन मानव चेतनाको अन्तर्निहित ज्योति हो, जसले जीवनको उद्देश्य, मूल्य र उत्तरदायित्वको रहस्य उद्घाटन गर्दछ। यो केवल आत्मबोधको उपकरण नभई, समाज र राष्ट्र सञ्चालनको शाश्वत मर्म हो। पूर्वीय चिन्तन प्रणालीमा दर्शनलाई ‘प्रज्ञा’ अर्थात् जीवनको सम्यक् दृष्टिकोण मानिएको छ जहाँ नीतिगत निर्णय, प्रशासनिक उत्तरदायित्व र लोकसेवाको आत्मा एकै सूत्रमा बाँधिन्छ।

    सार्वजनिक प्रशासन यदि नीति, प्रणाली र प्रक्रियाको समुच्चय हो भने दर्शन त्यो आत्मा हो, जसले तिनलाई नैतिक आधार, दूरदृष्टि र दार्शनिक गहिराइ दिन्छ। गीता बिचार्छ, “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” प्रशासकको कर्म लोककल्याण हो, न कि आत्मसन्तुष्टिको माध्यम। पूर्वीय मूल्यजस्तै स्वधर्म, अहिंसा, अपरिग्रह, सहिष्णुता, आत्मसंयम र सादगी प्रशासकीय संरचनामा आत्मसात् भए मात्र शासन जनसेवामूलक र पारदर्शी बन्न सक्छ।

    सत्य नै धर्म हो र धर्म नै राज्यको मेरुदण्ड। प्रशासकको न्याय, विवेक र निर्णय शक्ति तब मात्र सुशासनको प्रतिक बन्न सक्छ, जब त्यसको मूलमा दर्शनले प्रदत्त नैतिक चेतना संलग्न हुन्छ। प्रशासन केवल कानूनी पद्धति होइन, त्यो लोकनायकत्व हो, जहाँ निर्णयहरू लोकोपकार, समता, करुणा र न्यायमा आधारित हुन्छन्।दर्शन, विशेषतः पूर्वीय चिन्तन, सार्वजनिक प्रशासनको आत्मिक भूमि हो, जहाँ नीति केवल कार्यान्वयनको विषय नभई सत्पथको उज्यालो बत्ती हो। दर्शनविहीन शासन शुष्क यान्त्रिकता हो; दर्शनयुक्त शासन लोकमंगलको पवित्र यज्ञ हो।

    पूर्वीय दर्शनले जीवनका आध्यात्मिक मूल्यहरू मात्र प्रतिपादन गरेको छैन, उसले नैतिकता, सामाजिक व्यवहार र सार्वजनिक कर्तव्यको स्पष्ट निर्देश पनि गरेको छ। यस दर्शनमा प्रशासन भन्नु केवल शासन गर्ने विधि नभई धर्मअनुरूपकर्मगर्ने पथ हो, जहाँ शासक प्रशासकलाई रक्षक, सेवक र संयमित व्यक्तित्वको रूपमा कल्पना गरिएको छ। यसैले गीता, उपनिषद्, बौद्ध सूत्र र जैनागम जस्ता दार्शनिक ग्रन्थहरूमा राज्य संचालनसम्बन्धी अनेक सूत्रहरू पाइन्छन् जसले आजको सार्वजनिक प्रशासनमा पनि प्रत्यक्ष प्रभाव छोडेका छन्।

    पूर्वीय दर्शनमा आधारित प्रशासनिक सोचले सात्विकता, स्वधर्म, सेवा भाव, सहिष्णुता, सत्य र संयम जस्ता मूल्यहरूलाई नीतिगत निर्णयको आधार ठान्दछ। विशेषतः नेपाली समाज, संस्कृति र परम्पराले सधैँ नै यस दर्शनलाई आत्मसात् गर्दै आएको देखिन्छ। उदाहरणस्वरूप, शासनमा जनउत्तरदायित्व, सामाजिक समता, विकेन्द्रीकरण, अहिंसात्मक संवाद, योग–ध्यानद्वारा मनोबल वृद्धि, शुद्ध जीवनशैली, सार्वजनिक सम्पत्तिप्रतिको उत्तरदायित्व आदि कुराहरू आज पनि नेपाली शासन–प्रशासनमा निर्णायक अवधारणा बन्न पुगेका छन्।

    पूर्वीय दर्शनलाई जुनसुकै नामले विश्लेषण गरिए पनि यसले जीवन र जगत् सत्य छ, शक्ति नै सर्वोपरि छ, जीवन र जगतमा संसार अडेको छ, हामी मानव भगवानका सिर्जना हौं, शरीर मरणशील छ, आत्मा अमर छ, मानवीय असल कर्मले नै उसलाई जीवन र जगतको नजिक पु–याउँछ भन्ने मान्यता लिएको छ ।  धर्म, संस्कार, संस्कृतिक सभ्यता, कला, वेद, प्रकृतिमा आधारित चिन्तन परम्परालाई पूर्वीय चिन्तन भनिन्छ । वास्तवमा मानवीय जीवन अत्यन्तै सुन्दर छ । अरु जीवहरुले बुझ्न, देख्न र भोग्न नपाएको जीवन मानव मात्रले पाएको छ । यस्तो अनुपम जीवनलाई सार्थक बनाउनका लागि आफूले गर्ने कर्मलाई स्वमूल्यांकन, स्वनियन्त्रण र स्वअनुशासित बनाउनुपर्दछ भन्ने मान्यता र यसका लागि अवलम्बन गर्नुपर्ने मार्गहरुलाई पूर्वीय दर्शनले स्पष्ट पारेको छ ।

    खासगरेर हिमवत्खण्ड तथा यसका दक्षिणी भेगका दार्शनिक चिन्तन नै पूर्वीय दर्शनका रूपमा स्थापित भएका हुन्छ। पूर्वीय दर्शनमा नास्तिक र आस्तिक दर्शन भनी विभाजन गर्ने गरिन्छ ।अनेकौँ दर्शन शास्त्र र धर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अङ्क हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौँ मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्।

    पूर्वीय दर्शनले कर्मण्येबाधिकारस्ते मा फलेसु कदाचन ,मा कर्मफलहेतुर्भुमा ते सङ्सोक्स्वकर्मणि। (गीता अध्याय २, श्लोक ४७) ।मानिसको कर्म गर्नैमात्र अधिकार छ, के प्राप्त गरिन्छ भन्ने आशा गरेर काम गर्नुहुन्न। कर्म नगरे सिद्धि प्राप्त हुँदैन तर आशक्तिमा लिप्त भएर काम गर्नुहुँदैन। आधुनिक संगठन विज्ञानमा कामप्रतिको निष्ठा र समर्पणको स्रोत गीताका श्लोक हुन्। अर्को प्रसंगमा भगवानले भनेका थिए इन्द्रियहरु शरीरभन्दा बलवान हुन्छन्। इन्द्रियभन्दा मन बलवान हुन्छ, मनभन्दा बुद्धि बलवान हुन्छ, फेरि बुद्धिभन्दा पनि अत्यन्त बलवान आत्मा हो। त्यसैले आत्मिक अनुशासन सबैभन्दा ठूलो आचरण हो र सार्वजनिक जीवनमा यो अझै महत्वपूर्ण हुन्छ।

    एशियाका ज्योति गौतम बुद्ध अहिंसा र सत्कर्म शिक्षाका अद्वितीय दार्शनिक, साधक र सिद्धात्मा हुन्। उनले मानव समाजका लागिमात्र अहिंसा सिद्धान्त प्रतिपादन गरेनन्, समस्त प्राणीका पुजारी बने। चार सत्य, अष्ठ मार्ग, पञ्चशील बुद्ध दर्शनका निष्कर्ष हुन्। खराब नगर्नु, सत्य गर्नु, मन स्वच्छ राख्नु बुद्ध वाणी हो जसले मानव सभ्यता सम्बर्द्धन गर्न बल दिन्छ। गौतम बुद्धका अनुसार यदि वाणी सही र दयालु छ भने यसले विश्व बदल्न सक्छ। आफ्नो दियो (प्रकाश) आफैँ बन्नुपर्छ। बुद्ध दया, सत्य र अहिंसाका प्रचारक र प्रयोक्ता पनि बने। त्यसैले बुद्धवाणीहरु दया र सत्यका खानी हुन्, ती व्यावहारिकमात्र होइनन्, शाश्वत पनि छन्।

    पूर्विय दर्शनअन्तर्गत चीनियाँ, भारतीय, कोरियन, थाइल्यान्ड, म्यान्मारका दर्शनहरु पर्दछ्न् । हाम्रो हावा पानी र आधार सुहाउँदो दर्शन पुर्वोय दर्शन नै हो । त्यसमा पनि हाम्रो नेपाल र भारतीय दर्शन अन्तर्गत हिन्दुवाद र हिन्दु दर्शनका न्याय, योग, मिमाङ्सा, साख्य, वेदान्तजस्ता आस्तिक र जैन, चार्वक, आजिविक, श्रवण, अबिध्या जस्ता नास्तिक प्राचिन भारतिय दर्शनको जगमा छौ ।मानव जीवनमा चरित्रलाई निकै महत्व दिने धर्म, संस्कार, संस्कृतिक सभ्यता, कला, वेद, प्रकृतिमा आधारित चिन्तन परम्परालाई पूर्वीय चिन्तन भनिन्छ ।

    पूर्वीय दर्शनको मूल अन्तर्वस्तु मानव अस्तित्वसँग सम्बन्धित समस्त प्रश्नहरूको गहिरो उत्तर दिने प्रयास हो जहाँ आत्मा र जगत्को सम्बन्ध, जीवनको उद्देश्य, कर्मको परिणाम र मोक्षको साधना जस्ता विषयहरू तार्किक, आध्यात्मिक र नैतिक आधारमा प्रस्तुत गरिएका छन्। यी दर्शनहरूले मात्र जीव मात्रका लागि उपदेश दिएका छैनन्, समग्र मानव जातिको आन्तरिक रूपान्तरण र समष्टिगत उत्थानमा योगदान पुर्याएका छन्।

    यसै पृष्ठभूमिमा, पूर्वीय चिन्तनले ‘कर्म’लाई ‘कर्तव्यबोध’ र ‘नैतिक उत्तरदायित्व’को रूपमा पनि ग्रहण गरेको छ। वेद, उपनिषद्, गीता, धम्मपद, त्रिपिटक, योगसूत्र, न्यायसूत्र आदि ग्रन्थहरू केवल धार्मिक वा पौराणिक आख्यान मात्र होइनन् ती दार्शनिक चेतनाको जीवन्त दस्तावेज हुन्। ती दस्तावेजहरूले आत्मा र शरीर, धर्म र नीति, जीवन र मृत्युबीचको सम्बन्धलाई अध्यात्म, विवेक, अनुभव र तर्कका माध्यमबाट उद्घाटित गरेका छन्।

    आजको सार्वजनिक प्रशासन, शासकीय आचरण र सामाजिक न्यायका आधारभूत संरचनाहरूमा समेत पूर्वीय दर्शनले गहिरो प्रभाव छोडेको छ। दर्शनले सदा नै कर्ममा नै स्वर्ग देखेको छ, सेवामा धर्म देखेको छ र आत्मअनुशासनमा राज्यको सुशासनको बीजारोपण गरेको छ। यही कारण हो कि आधुनिक नेपालको शासन, धर्मनिरपेक्षताको सन्दर्भमा भए पनि, सामाजिक न्याय, सेवा प्रवाह, दया, करुणा, धैर्यता, परस्पर सहकार्य र मानवीय सन्तुलनजस्ता मूल्यहरूमा पूर्वीय चिन्तनको स्पष्ट छाप देखिन्छ।

    पूर्वीय दर्शन मानव व्यवहार, सामाजिक सम्बन्ध, राज्य–नागरिक अन्तरक्रिया र नीति निर्माणको समेत मूल आध्यात्मिक नैतिक आधार हो। यसले सहिष्णुता, आत्मीयता, भाईचारा, समभाव, क्षमाशीलता, इर्ष्या–डाहको निवारण, भेदभावको अन्त्य, र मानवतामा आधारित सार्वभौमिक सम्बन्धहरूको पक्षपोषण गर्दछ। यस दृष्टिकोणले मानिसको दिनचर्या, आश्रम व्यवस्था, आचार–संहिता र कानुनी मर्यादासम्मलाई सुशासित बनाउने दिशानिर्देश दिन्छ।पूर्वीय दर्शनले शासकीय प्रणालीलाई ‘धर्म’ र ‘कर्म’ को संयोजनका रूपमा हेर्छ। यो दर्शनमा राज्य सत्य, न्याय र लोककल्याणको संस्थागत अभिव्यक्ति हो। वेद, उपनिषद्, गीता, बुद्ध वाणी र नीति शास्त्रहरूमा वर्णित सत्य, अहिंसा, शुद्ध आचरण, समदृष्टि र सत्कर्मका आधारमा नागरिक र राज्यबीचको सम्बन्ध परिभाषित हुन्छ।

    पूर्वीय दर्शन अनुसार व्यक्तिको आत्मविकास र राष्ट्रिय उन्नति एक अर्कासँग गाँसिएका छन्। व्यक्ति यदि लोभ, घमण्ड, क्रोध, तिरस्कार र इर्ष्याबाट निर्देशित हुन्छ भने उसले आफ्नो परिवार, समाज र राष्ट्रलाई विनाशतर्फ लैजान्छ। त्यसैले पूर्वीय चिन्तनले प्रत्येक व्यक्तिलाई आत्मपरीक्षण, आत्मानुशासन र आत्मपरिष्कारको अभ्यास गर्न आग्रह गर्छ।पूर्वीय शास्त्रहरूले शासनसत्तालाई एउटा “धार्मिक सेवा” को रूपमा चित्रित गर्छन्, जहाँ शासक वा प्रशासक “धर्मराज्य” को संवाहक हुन्छ। यस्ता प्रशासकहरू सत्यनिष्ठ, निःस्वार्थ, करुणाशील र जनउत्तरदायी हुनुपर्छ। वेदको निष्कर्ष, गीता–कर्मयोग, बुद्धको अष्टाङ्गिक मार्ग जस्ता शिक्षाहरूले यस्ता प्रशासकहरूको निर्माणमा योगदान पुर्याउँछन्।

    नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा छ, जहाँ सामाजिक न्याय, दिगो विकास र समृद्धिको आकांक्षा रहेको छ। तर यस्तो आकांक्षा राजनीतिक नाराभन्दा पनि नैतिक नेतृत्व, मूल्यनिष्ठ नीति र जनहित–केन्द्रित शासनमा आधारित हुनुपर्छ। पूर्वीय दर्शनले यस दिशामामानिसमा धैर्य, उपकार ,संयम, चोर्नु नगर्नु,पवित्रता,शुद्ध आचरण,विवेक र यथार्थ ज्ञान हुनुपर्छ भनिएको छ र उपायाहरु पनि सुझाइएको छ । जुन बिज्ञान सम्वत छ्न् । अपरिहार्य छन् । ब्यक्तिले त्यी बिशेषता हासिल गर्न सक्दा त्यसले नै दृर्घकालिन, शान्ति,  खुसी र आनन्द मिल्छ । असत्यबाट सत्यको नजिक लौजाऊ । अंधकारबाट प्रकाशको नजीक लैजाऊ ।। मृत्युबाट अमरताको नजीक लैजाऊ।“ यो नै जीवनको लागि उत्तम मार्गदर्शन हो । बास्तवमा हामीसँग यस्ता दर्शनको भण्डार नै छ । बाहिर ल्याउन र प्रयोगमा ल्याउन नसकेको मात्र हो ।कुनै पनि व्यक्तिको जीवनको सार्थकता उसले अरुसँग गर्ने व्यवहारले निर्धारण गर्दछ ।

    पूर्वीय दर्शनले व्यक्तिमा हुने अहंकार, काम, क्रोध, लोभ र मोहलाई त्याग गर्नका लागि स्वमूल्यांकनमा जोड दिएको छ । स्वमूल्यांकन र सदाचारिताबीच सकारात्मक सम्बन्ध रहेको हुन्छ । स्वमूल्यांकन गर्न सक्ने व्यक्ति अनुशासित त हुन्छ नै साथै अरुलाई सम्मान गर्ने, आफ्नो कर्तव्यमा नचुक्ने, सबैसँग मित्रवत् व्यवहार गर्न सक्ने हुन्छ । कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिमा यो गुण रहेमा उसले दिने सेवा प्रवाहले समेत सार्वजनिक जीवनमा सकरात्मक सम्बन्ध विस्तार गर्दै मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ ।पूर्वीय दर्शनको मूल सार आत्मबोध र कर्मशीलताको माध्यमबाट उत्कृष्ट नागरिक निर्माण र समुन्नत राज्यको सृजनामा निहित छ। जहाँ व्यक्ति केवल जीविकोपार्जनको साधन नभएर एक जिम्मेवार सामाजिक प्राणीका रूपमा चित्रित हुन्छ। नागरिकको इमान्दारी, निष्ठा, सदाचार र सकारात्मक दृष्टिकोणपूर्वक समाजमा योगदान दिने अभ्यासले मात्र राज्य समुन्नत र शान्तिकामी बन्न सक्छ।पूर्वीय दर्शनका आधारशिला धर्म, संस्कार, संयम, आत्मानुशासन र दायित्वबोधले एउटा यस्तो समष्टिगत समाज निर्माण गर्ने दिशामा अग्रसर गराउँछ जहाँ व्यक्तिगत लोभ, लालच र स्वार्थभन्दा पर सोच्न सक्ने चेतना विकसित हुन्छ। सार्वजनिक पदाधिकारीहरू जब राज्यलाई सेवा गर्ने माध्यमको रूपमा बुझ्दछन् र सदाचारलाई कर्मको मूलमन्त्र बनाउँछन्, तब शासनप्रणालीमा नैतिकता र पारदर्शिता सम्भव हुन्छ।

    पूर्वीय चिन्तन संसारलाई नश्वर, दुःखमय र परिवर्तनशील ठान्दछ। यसले जीवनका अन्तिम लक्ष्यका रूपमा मोक्ष (मुक्ति) लाई प्रस्तुत गर्दछ, जुन अन्तर्मनको शुद्धि, ज्ञान, विवेक र आत्मविवेकको गहिरो अनुभूति हो। मोक्षलाई प्राप्त गर्न कर्ममार्ग, ज्ञानमार्ग र भक्ति मार्ग तीनवटै माध्यम छन्—तर यी सबै मार्गको साझा उद्देश्य हो: व्यक्तिको आन्तरिक रूपान्तरण।यही आन्तरिक रूपान्तरण नै राष्ट्रको रूपान्तरणको प्रमुख सूत्र हो। जब नागरिकहरू आ–आफ्नो कर्तव्यप्रति जागरूक हुन्छन्, नैतिकताप्रति निष्ठावान् हुन्छन्, तब राज्य सुदृढ बनिदिन्छ। आजको विश्वमा, जहाँ आत्मकेन्द्रितता, भौतिकता र स्वार्थले सामाजिक सम्बन्धलाई क्षयीकरण गरिरहेको छ, त्यहाँ पूर्वीय दर्शनको सामूहिकता र आत्मसंयमले मानव समाजलाई सहअस्तित्व र सहकार्यको बाटो देखाउन सक्छ।पाश्चात्य चिन्तनले ज्ञानको वैज्ञानिक र विश्लेषणात्मक पक्षलाई प्राथमिकता दिएको छ। यसले औद्योगिक क्रान्तिपछिका यान्त्रिक विकास र प्रविधिको युगमा मानव जीवनलाई सजिलो बनाएको छ। तर पाश्चात्य चिन्तनको अन्धानुकरणले नैतिकता, सामूहिकता र आत्मीयताको ह्रास गराएको छ। तसर्थ, पूर्वीय आत्मिक मूल्य र पाश्चात्य वैज्ञानिक दृष्टिकोणको समन्वयात्मक प्रयोग आवश्यक छ।

    आजको नेपालमा राज्य संयन्त्रमा भ्रष्टाचार, अनैतिकता र गैरजिम्मेवारीताको स्तर दिन प्रतिदिन बढ्दो छ। सार्वजनिक जीवनमा शुद्धता हराउँदै गएको छ। जातीय, धार्मिक, भाषिक र क्षेत्रीय आधारमा विभाजन सिर्जना गरी राजनीतिमा विभाजनकारी प्रवृत्ति मौलाउँदै गएको छ। यस्ता विकृति, विसङ्गति र सामाजिक विचलनको उपचार कुनै कठोर कानुन वा दण्ड प्रणाली मात्रले सम्भव छैन। यसको दीर्घकालीन समाधान भनेको नैतिक पुनर्जागरण हो जसको आधार पूर्वीय दर्शनमै निहित छ।

    पूर्वीय दर्शन एक व्यवहारिक जीवनपद्धति हो, जसले व्यक्तिगत जीवनदेखि लिएर सामाजिक, राजनीतिक र अन्तर्राष्ट्रिय संरचना निर्माणमा मार्गदर्शन गर्छ। नेपालजस्तो बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुकमा जहाँ सामाजिक सन्तुलन र राष्ट्रिय एकता अत्यन्त जरुरी छ, त्यहाँ पूर्वीय चिन्तनले सहिष्णुता, आदर्श नेतृत्व र कर्तव्यनिष्ठ नागरिक निर्माण गर्न सक्ने सम्भावना राख्दछ।यसैले, वर्तमान समयको संकट अनैतिकता, भ्रष्टाचार, हिंसा र सामाजिक विचलनको समाधान खोज्न हामीले आधुनिक प्रविधिसँगै आत्मिक मूल्यहरूको पुनर्स्थापना गर्नुपर्दछ। पूर्वीय दर्शनको गहिरो रसपान गर्दै पाश्चात्य वैज्ञानिक चेतनासँग समन्वय गरेर अघि बढ्न सकेमा मात्र समुन्नत, शान्त, न्यायपूर्ण र समावेशी राष्ट्रको परिकल्पना साकार हुनसक्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ भाद्र ७, आईतवार २१:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP