सिरहा । सिरहाको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् ।
गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते सिरहाको गोलबजारमा भएको घटनामा संलग्न भएको आरोपमा वडाध्यक्ष अनवर पक्राउ परेका हुन् ।
उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए ।
गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थाका केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले अनवरविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो ।
प्रहरीका अनुसार अनवर कहिले ससुरालीतर्फ त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए । घर आए पनि प्रहरीबाट बच्दै लुक्ने गरेको सूचनाका आधारमा उनलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ अनुसार धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको सुसम्बन्धमा खलल पार्ने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया