logo
  • २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • पूर्वीय दर्शन र सार्वजनिक प्रशासनको समन्वयात्मक दृष्टि

    पूर्वीय दर्शन र सार्वजनिक प्रशासनको समन्वयात्मक दृष्टि

    पूर्वीय दर्शन र सार्वजनिक प्रशासनको समन्वयात्मक दृष्टि

    तोमनाथ उप्रेती

    नेपालको हालको राजनीतिक परिदृश्य संक्रमणशील छ। दशकौँदेखि देखिँदै आएको अस्थिर सरकार, दलगत विभाजन र अक्षम नेतृत्वले आजको लोकतन्त्रलाई कमजोर बनाएको छ। नेतृत्वको आन्तरिक संघर्ष र सत्तास्वार्थले नीति निर्माण र कार्यान्वयनमा स्थिरता ल्याउन सकेको छैन। यसले नागरिकमा मात्र होइन, विशेषगरी युवापुस्तामा  असन्तोष बढाएको छ।

    पूर्वीय दर्शनको मूल आधार धर्म, सत्य, कर्तव्य, करुणा, संयम र आत्मनियन्त्रण हो। यी मूल्यहरू राज्य सञ्चालनका लागि पनि मार्गदर्शक सिद्धान्त हुन्। पूर्वीय दर्शनले मानवलाई नैतिक र आध्यात्मिक प्राणीका रूपमा हेर्छ। यही दृष्टिले प्रशासनलाई पनि केवल सेवा वितरण प्रणाली होइन, नैतिक उत्तरदायित्वको संरचना बनाउँछ। सार्वजनिक प्रशासनमा नीति निर्माण, कार्यान्वयन र मूल्याङ्कन  नैतिक निर्णयहरूको शृङ्खला हो।आधुनिक सार्वजनिक प्रशासन मुख्यतः पश्चिमी प्रशासनिक परम्परामा आधारित छ, जसको केन्द्रमा दक्षता, नियम, संरचना र परिणाम हुन्छ। म्याक्स वेवरको  ब्युरोक्रेसी सिद्धान्तले प्रशासनलाई नियमआधारित, तटस्थ र पदसोपानयुक्त संरचना बनायो। यसले प्रशासनलाई व्यवस्थित र पूर्वानुमानयोग्य बनायो, तर कहिलेकाहीँ मानव संवेदनशीलता र नैतिक मूल्य कमजोर बनायो।यहाँ पूर्वीय दर्शनको आवश्यकता स्पष्ट हुन्छ। पूर्वीय मूल्यले प्रशासनमा करुणा, सहानुभूति र नैतिक विवेक थप्छ। नियम मात्र पर्याप्त हुँदैन; नियमको प्रयोग गर्दा मानवता पनि आवश्यक हुन्छ। उदाहरणका लागि, गरिब, पिछडिएका र कमजोर वर्गप्रति प्रशासनले केवल कानुनी दृष्टिले होइन, करुणात्मक दृष्टिले पनि सोच्नुपर्छ।

    सार्वजनिक प्रशासनमा नैतिकता आजको सबैभन्दा ठूलो चुनौती हो। भ्रष्टाचार, शक्ति दुरुपयोग, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभावले प्रशासनिक प्रणालीलाई कमजोर बनाउँछ। पूर्वीय दर्शनले यस्ता समस्याहरूको समाधान केवल कानुनी नियन्त्रणमा होइन, आन्तरिक नैतिक सुधारमा देख्छ।यदि कुनै प्रशासकले आफ्नो कार्यलाई कर्तव्य मात्र होइन, धर्मका रूपमा बुझ्छ भने उसको निर्णय प्रक्रिया स्वतः नैतिक हुन्छ। यहीँ पूर्वीय दर्शनको गहिरो योगदान देखिन्छ। कर्मयोगको सिद्धान्तअनुसार, व्यक्ति परिणामभन्दा पनि आफ्नो कर्तव्यमा केन्द्रित हुनुपर्छ। यो सिद्धान्त सार्वजनिक प्रशासनमा लागू गर्दा सेवा वितरण निष्पक्ष र उत्तरदायी बन्न सक्छ।

    पूर्वीय दर्शनले आत्मनियन्त्रणलाई पनि अत्यन्त महत्वपूर्ण मान्छ। प्रशासकले आफ्नो व्यक्तिगत लोभ, पक्षपात र राजनीतिक दबाबलाई नियन्त्रण गर्न सक्नुपर्छ। यदि आत्मनियन्त्रण कमजोर भयो भने प्रणाली जतिसुकै राम्रो भए पनि भ्रष्टाचार उत्पन्न हुन्छ।अर्कोतर्फ, आधुनिक प्रशासनले पारदर्शिता, जवाफदेहिता र कानुनी शासनलाई मजबुत बनाएको छ। यी मूल्यहरू पूर्वीय दर्शनसँग विरोधी होइनन्, बरु पूरक हुन्। यदि पूर्वीय नैतिकता र आधुनिक प्रशासनिक संरचना सँगै जोडिन्छन् भने शासन प्रणाली अझ प्रभावकारी र मानवीय बन्न सक्छ।नागरिक सहभागिता पनि यो समन्वयको महत्वपूर्ण पक्ष हो। पूर्वीय परम्परामा समुदायलाई शासनको हिस्सा मानिन्थ्यो। गाउँ, जाति र स्थानीय संरचनाहरू निर्णय प्रक्रियामा संलग्न हुन्थे। आधुनिक प्रशासनमा पनि यदि नागरिक सहभागिता बढाइयो भने नीति अझ यथार्थपरक र प्रभावकारी बन्न सक्छ।

    पूर्वीय सभ्यताको मूल आधार आध्यात्मिकता, नीतिशीलता र सामूहिक कल्याणमा आधारित छ। राज्य शक्ति प्रशासनिक संयन्त्र मात्र होइन, एक नैतिक र सांस्कृतिक संस्था पनि हो। प्राचीन ग्रन्थहरू जस्तै महाभारत, अर्थशास्त्र, मनुस्मृति, गीता  वा बौद्ध विनयपाठहरूमा शासकलाई  अधिकारप्राप्त व्यक्ति होइन, धर्मपालक, न्यायकारी र लोकसेवकको रूपमा परिभाषित गरिएको छ। पूर्वीय सोचमा शासनको उद्देश्य जनताको शान्ति, समता र धर्ममा आधारित जीवन सुनिश्चित गर्नु हो।पूर्वीय दर्शनले राज्यसत्तालाई स्वेच्छाचारी वा दमनकारी होइन, जनकल्याणकारी बनाउन जोड दिन्छ। उदाहरणस्वरूप, भगवद्गीता मा श्रीकृष्णले अर्जुनलाई कर्तव्यपथमा अडिग रहन प्रेरणा दिनु , उहाँको सन्देश  युद्धका लागि होइन, शासकीय जिम्मेवारीको सदुपयोगको लागि पनि हो। त्यस्तै, बुद्धले “अप्प दीपो भव” भनिर शासकलाई आत्मज्ञानमार्फत राज्य सञ्चालन गर्न निर्देशन दिनुभएको थियो।

    आजको विश्वमा शासन प्रणाली अनेकौं समस्याबाट ग्रसित छ भ्रष्टाचार, असमानता, दण्डहीनता र नीतिगत अव्यवस्थाले जनताको विश्वास गुम्दै गएको छ। विकासशील मुलुकहरूमा अझ बढी तीव्र रूपमा देखिएको यो संकटले  शासनको ढाँचा मात्र होइन, मानव सभ्यता र मूल्यप्रणालीमाथि नै प्रश्न उठाएको छ।यस्तो अवस्थामा पूर्वीय मूल्यहरूको पुनराविष्कार गर्नु अत्यन्त आवश्यक छ।पूर्वीय दर्शन आत्मसंयम, कर्तव्यपरायणता, सत्यनिष्ठा र समभावको शिक्षामा आधारित छ। ‘सर्वे भवन्तु सुखिनः’ भन्ने वैदिक भावनाले शासनलाई जनसेवाको माध्यम बनाउँछ, न कि प्रभुत्वको अस्त्र।चीनको कन्फ्युसियसवाद, भारतको गीता-तत्वदर्शन र नेपालमा पाइने बौद्ध तथा हिन्दू मूल्यहरू — यी सबैले नैतिक नेतृत्व र समाजसेवाको मूल आधार तयार पार्छन्।

    पूर्वीय मूल्य र चिन्तनले शासन र प्रशासनलाई केवल शक्ति प्रदर्शनको माध्यम नभई जनसेवा, धर्मपालन र न्यायका आधारमा स्थापित गर्न जोड दिन्छ। यी मूल्यहरूले राज्य सञ्चालनलाई नैतिकता, करुणा, सहिष्णुता र समरसतामा केन्द्रित गर्छन्, जसले दीर्घकालीन स्थिरता र सामाजिक सद्भावका लागि आधार तयार पार्छ। धर्म सामाजिक न्याय, नैतिकता, सत्य र मानवीय कर्तव्य हो। जब राज्यका नेता र प्रशासकहरूले यी सिद्धान्तलाई आत्मसात गर्छन्, तब तिनीहरूले  न्यायपूर्ण र सहिष्णु समाजको स्थापना गर्छन्। सुशासनका लागि पूर्वीय चिन्तनले संयम, मितव्ययिता र आत्मपरिक्षणलाई महत्व दिन्छ। यस्तो शासनमा नेताले स्वार्थभन्दा माथि उठेर जनताको भलाइ र राष्ट्रको समृद्धि सोच्नुपर्छ। भ्रष्टाचार, अत्याचार र अन्यायबाट टाढा रहँदै शासन गर्ने संस्कार पूर्वीय मूल्यले प्रेरणा दिन्छ।पूर्वीय मूल्य र चिन्तनलाई राज्य सञ्चालनमा लागू गर्दा शासन प्रणालीमा पारदर्शिता, जिम्मेवारी र जनहितलाई प्राथमिकता मिल्छ। जनतासँग सम्बन्ध र विश्वास बढ्छ, जुन दीर्घकालीन विकास र समृद्धिको लागि अपरिहार्य छपूर्वीय मूल्य र चिन्तनद्वारा निर्देशित सुशासनले शासन प्रणालीलाई नैतिक र दिगो बनाउँने मात्र नभएर समग्र समाजमा शान्ति, समृद्धि र न्यायको वायुमण्डल सिर्जना गर्छ। यसले आधुनिक चुनौतीहरूलाई समेत सामना गर्ने शक्ति प्रदान गर्दछ।

    यदि नेतृत्वकर्ताहरूले आफ्ना कर्मलाई  पद र शक्ति प्राप्तिका लागि नभएर लोककल्याणका लागि उपयोग गरे भने शासन प्रणाली स्वाभाविक रूपमा पारदर्शी, न्यायपूर्ण र समावेशी बन्न सक्छ। प्राचीन व्यवस्थाहरूमा राजा धर्मका आधारमा शासन गर्थे, जहाँ नीति, क्षमा, दान, संयम, र परोपकार जस्ता मूल्यहरू उच्च प्राथमिकतामा राखिन्थेआजको लोकतन्त्रले संरचना निर्माणमा त सफलता पाएको छ, तर यसको आत्मा हराएको छ। त्यो आत्मा नै नैतिकता, धैर्य, कर्तव्य र सेवाभाव हो, जसलाई पुनःस्थापना गर्न पूर्वीय मूल्य अपरिहार्य छन्। पश्चिमी भौतिकवादले विकास देखाएको छ, तर आत्मिक शून्यता पनि छाडेको छ। त्यसैले, शासन प्रणालीलाई केवल सुधार होइन, सशुद्धि आवश्यक छ, जुन पूर्वीय दर्शनले मार्गदर्शन गर्न सक्छ।

    सुशासनका आधारहरू पारदर्शिता, जवाफदेहिता, सहभागीता, न्याय र समावेशिता पूर्वीय सोचमै गहिरो रूपमा निहित छन्। सत्य र स्पष्टताले पारदर्शिता सम्भव हुन्छ, आत्म जाँच र नैतिक प्रतिबद्धताले जवाफदेहिता सुनिश्चित हुन्छ। सहभागीता भनेको जनताको आवाज सुन्ने अभ्यास हो,न्याय सबैलाई समान व्यवहार दिने दृष्टि हो र समावेशिता भनेको सबै समूहलाई अवसर दिने प्रक्रिया हो। यी आधारहरूलाई जीवन्त राख्न पूर्वीय मूल्यले नैतिक र स्थायी जग दिन्छ।हिन्दू दर्शनमा राजधर्म, बौद्ध दर्शनमा धम्मराजा, कन्फ्युसियसमा नैतिक शासकको आदर्शले शासनलाई शक्ति होइन, जिम्मेवारीको रूपमा देखाउँछन्। यी मूल्यले नेतृत्वलाई लोभ, मोह, घृणा वा हिंसाबाट टाढा राखेर सत्य, नीति र करुणामा आधारित शासन निर्माण गर्न प्रेरित गर्छन्।

    नेपालजस्तो मुलुकमा पूर्वीय मूल्यहरूको प्रयोग अझै महत्वपूर्ण छ। संघीय लोकतन्त्रले समावेशी शासन, सामाजिक न्याय र आर्थिक समानताको लक्ष्य राखेको छ, जुन प्राप्त गर्न सांस्कृतिक मूल्य र नैतिक नेतृत्व आवश्यक छ। गुरुकुल वा परिवारले सिकाउने नैतिक शिक्षाले सार्वजनिक प्रशासनलाई पारदर्शी, निष्पक्ष र जवाफदेही बनाउन मद्दत गर्छ।यसैले,पूर्वीय मूल्य र सार्वजनिक प्रशासनबीचको सम्बन्ध गहिरो छ। यी मूल्यहरूले शासनलाई आध्यात्मिक, नैतिक र उत्तरदायी बनाएर दीर्घकालीन शान्ति, समृद्धि र समरसताको आधार तयार गर्छन्।

    अन्त्यमा, पूर्वीय दर्शनको मूल उद्देश्य उत्कृष्ट नागरिक बनाउनु र समुन्नत राज्य निर्माण गर्नु हो। आजको समाजमा सत्य र अहिंसाको भावना कमजोर हुँदै गएको छ भने शान्ति र सद्भावको अवस्था संकटमा छ। अपराध, हिंसा, हत्या, बलात्कार, यौनदुर्व्यवहार जस्ता घटनाहरू बढ्दै छन्। जाति, धर्म, र क्षेत्रीय विषयहरू राजनीतिकरण भई सामाजिक एकतामा चुनौती थपिएका छन्। भ्रष्टाचार र नैतिक ह्रासले लोकतान्त्रिक मूल्यहरूलाई कमजोर पारेको छ।यसले मानवीयता कमजोर पार्दै सामाजिक विकृति र विचलन बढाएको छ।यस्तो दयनीय अवस्थामा पूर्वीय दर्शन र सभ्यताबाट सिक्नुपर्ने आवश्यक छ। पूर्वीय दर्शनले मानव जीवनमा नैतिकता र सदाचारको महत्त्वलाई केन्द्रमा राख्छ। यसले राष्ट्रिय एकता, भ्रातृत्व र समाजको अखण्डता कायम गर्न प्रेरणा दिन्छ। राज्य सञ्चालनमा पनि यस दर्शनले सार्वभौमसत्ताको सम्मान र संरक्षणलाई प्राथमिकता दिन्छ। पूर्वीय सोचले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक भलाइ र समृद्धिमा जोड दिन्छ। यसले न्याय, ममताभाव र सहिष्णुताको मूल्य फैलाएर सामाजिक सद्भाव र शान्ति सुनिश्चित गर्छ। त्यसैले, नेपालमा नैतिक शासनको सम्भावना केवल राजनीतिक दलको सुधारमा होइन, युवापुस्ताको दबाब, सचेतना र सहभागितामा निर्भर छ।

    पूर्वीय दर्शन र सार्वजनिक प्रशासनको समन्वय व्यावहारिक आवश्यकता हो। शासन प्रणाली तब मात्र सफल हुन्छ जब त्यो दक्ष मात्र होइन, नैतिक पनि हुन्छ। नियम मात्र होइन, करुणा पनि हुन्छ। शक्ति मात्र होइन, सेवा पनि हुन्छ।पूर्वीय दर्शनले प्रशासनलाई आत्मा दिन्छ र आधुनिक प्रशासनले त्यसलाई संरचना दिन्छ। यी दुई मिल्दा मात्र नैतिक, प्रभावकारी र मानवीय शासन सम्भव हुन्छ। यही समन्वयात्मक दृष्टि आजको युगको सबैभन्दा ठूलो  आवश्यकता हो।

    (उप्रेती नेपाल सरकारका उपसचिव हुन।)

     

     

     

     

     

     

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ भाद्र ६, शनिबार २२:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP