जंगलको अदालतमा मान्छे
तोमनाथ उप्रेती
जंगल आजकल अदालत जस्तो भएको छ
रुखहरू साक्षी छन्
घाँसहरू बयान दिइरहेका छन्
र
चुपचाप बसेको चन्द्रमा
मुद्दा हेर्दैछ
“मान्छे विरुद्ध बाघ”।
बाँकेको हावाले खबर ल्यायो
बर्दियाको साँझमा
एक बाघले मान्छेलाई सम्झियो।
समाचार आयो तुरुन्तै
“आक्रमण भयो।”
तर
जंगल हाँस्यो
अलि बिस्तारै।
बोली
“आक्रमण ?
कि केवल भेटघाट ?”
कहिल्यै
मान्छेले जंगललाई सोध्यो ?
“तिमीलाई पनि डर लाग्छ ?”
हामीले रुख काट्यौँ
नदी मोड्यौँ
घाँसलाई सहर बनायौँ।
अनि जब बाघ
आफ्नो पुरानो घरको ठेगाना खोज्दै
हाम्रो आँगन आइपुग्यो
हामीले समाचार लेख्यौँ
“वन्यजन्तुको समस्या बढ्यो।”
कस्तो अचम्म !
घर उसकै थियो,
नक्सा हाम्रो भयो।
बर्दियाको बुढो बाघ
सायद सरकारी कर्मचारी जस्तै छ
घाइते
थाकेको
पेन्सन नपाएको।
जंगलले उसलाई भन्यो
“सिकार गर।”
तर बाघले भन्यो
“म सक्दिन।”
त्यसैले ऊ आयो
मान्छेको गाउँतिर
जहाँ
कुकुरहरू
नीतिगत बहस गरिरहेका थिए
र
बाख्राहरू
बजेटको प्रतीक्षा।
चितुवा त झन्
साना राजनीतिज्ञ जस्तो छ
जहाँ ठाउँ भेट्यो
त्यहीँ गठबन्धन।
कहिले कुकुरसँग
कहिले बाख्रासँग
अनि कहिलेकाहीँ
मान्छेसँग पनि।
जंगलको अर्थशास्त्र सरल छ
भोक लाग्यो भने सिकार।
तर
मान्छेको प्रशासन जटिल छ
फाइल बन्यो
समिति बस्यो
प्रतिवेदन आयो
अनि बाघले फेरि सिकार गर्यो।
कागजमा
सुरक्षा बलियो थियो।
जंगलमा
बाघ अझै स्वतन्त्र।
हास्यास्पद विडम्बना यही हो
बाघले कहिल्यै
“तत्काल कार्य टोली” गठन गरेन।
उसले
प्रेस विज्ञप्ति पनि निकालेन।
तर
हामीले
दुई सय पृष्ठको प्रतिवेदन लेख्यौँ
जहाँ निष्कर्ष यस्तो थियो
“बाघ बाघ जस्तो व्यवहार गर्छ।”
जंगल फेरि हाँस्यो।
उसले भन्यो
“मान्छे,
तिमी निकै बुद्धिमान छौ।
तिमीले चन्द्रमामा पाइला राख्यौ
तर
जंगलमा
सहअस्तित्वको बाटो अझै खोज्दैछौ।
बाँकेको साँझ
र
बर्दियाको बिहान
आज पनि एउटै प्रश्न सोध्छ
द्वन्द्व
बाघसँग हो ?
कि
हाम्रो आफ्नै बुद्धिसँग ?
कहिलेकाहीँ लाग्छ
जंगलले होइन
मान्छेले नै
आफ्नो घर हराएको हो।
प्रतिक्रिया