logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • आकाशमुनि हराएको म र भेटिएको शहरहरू (नियात्रा)   

    आकाशमुनि हराएको म र भेटिएको शहरहरू (नियात्रा)    

    आकाशमुनि हराएको म र भेटिएको शहरहरू (नियात्रा)

      

    तोमनाथ उप्रेती

    प्रस्थानको मौनता

    काठमाडौँको बिहान सधैँ जस्तै धुम्म थियो। यो धुम्मपन मौसमको अवस्था मात्र थिएन, यो शहरको आत्माभित्र जमेको एक मौन भाव थियो, जसले उज्यालोलाई पूर्ण रूपमा फैलिन दिँदैनथ्यो। पशुपतिको धुवाँ आकाशतिर उठ्दै हराउँदै थियो, जस्तो कुनै प्राचीन प्रार्थना समयसँगै विलीन हुँदै गएको होस्। बागमती नदी आफ्नो मौन यात्रामा निरन्तर बगिरहेकी थिई, तर उसको आवाज शहरले सुन्न छोडिसकेको थियो। चियापसलहरूमा भने जीवन चलिरहेको थियो।गफ, समाचार, राजनीति र साधारण हाँसोहरूबीच एउटा अदृश्य संसार बुनिँदै थियो।

    त्यही वातावरणमा, म आफ्नो यात्राको प्रारम्भिक बिन्दुमा उभिएको थिएँ। बाहिरबाट हेर्दा यो एउटा यात्रा थियो काठमाडौँदेखि कोलम्बोसम्मको भौगोलिक दूरी पार गर्ने प्रयास। तर भित्रभित्रै मलाई थाहा थियो, यो यात्रा  स्थान परिवर्तन मात्र होइन, चेतनाको रूपान्तरण हो।

    म जहिले पनि सोच्थें मानिस किन यात्रा गर्छ? के ऊ  स्थान बदल्न मात्र यात्रा गर्छ वा आफूभित्रको स्थिरता भङ्ग गर्न? सायद यात्रा भनेको आफूलाई पुनः परिभाषित गर्ने प्रक्रिया हो, जहाँ प्रत्येक पाइला पुरानो पहिचानबाट टाढा लैजान्छ।

    काठमाडौँ, आफ्नो पहाडहरूको मौनतासँगै, मलाई स्थिर सोचजस्तै लाग्थ्यो। र कोलम्बो, समुद्रको किनारमा फैलिएको शहर, मलाई अनन्त सम्भावनाको प्रतीकजस्तै देखिन्थ्यो। एउटा आत्मचिन्तन, अर्को विस्तार। एउटा मौनता, अर्को लहर।

    त्यही क्षण मैले बुझें यो यात्रा  दुई शहरबीचको दूरी होइन। यो दुई चेतनाबीचको  संवाद हो।

     

     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: प्रतीक्षाको दर्शन

    विमानस्थलमा उभिँदा मलाई लाग्यो मानिसको जीवन पनि एउटा ठूलो विमानस्थल हो। यहाँ आउने जानेहरूको कुनै अन्त्य हुँदैन, केवल निरन्तर परिवर्तनको प्रवाह हुन्छ। कोही उत्साहले भरिएर गन्तव्यतर्फ दौडिरहेका हुन्छन्, कोही थकित भएर फर्किरहेका हुन्छन् र कोही यथार्थ र सपनाबीच अल्झिएर त्यहीँ रोकिएका हुन्छन्। तर सबैको साझा अवस्था एउटै हुन्छ प्रतीक्षा।

    प्रतीक्षा  समय काट्ने अवस्था होइन, यो अस्तित्वको  रूप हो। मानिस यहाँ भविष्यको प्रतीक्षा गर्छ, जसलाई उसले कहिल्यै पूर्ण रूपमा देखेको हुँदैन। ऊ विगतको प्रतीक्षा गर्छ, जसलाई ऊ छोड्न चाहेर पनि छोड्न सक्दैन। र सबैभन्दा मुख्य कुरा, ऊ आफैँको प्रतीक्षा गर्छ ऊ आफू बन्ने क्षणको।

    म पनि त्यही भीडमा एउटा अनुहार थिएँ नाम भएको, तर दिशा नभएको। यो अनुभव अजीब थियो, किनभने नामले मलाई समाजसँग जोडेको थियो, तर दिशाको अभावले मलाई आफैँसँग टाढा बनाइरहेको थियो। मैले पहिलो पटक महसुस गरें।मानिस बाहिरबाट निश्चित देखिए पनि, भित्रबाट ऊ निरन्तर अनिश्चित हुन्छ।

    सुरक्षाचेक, पासपोर्ट, बोर्डिङ पास यी सबै  प्रशासनिक प्रक्रिया जस्ता लाग्थे, तर ती वास्तवमा जीवनका गहिरा प्रतीक थिए। सुरक्षाचेकले मलाई सम्झायो हरेक यात्रा अघि मानिसले आफूलाई नै जाँच्नुपर्छ। पासपोर्ट भनेको पहिचानको प्रमाण मात्र होइन, यो समाजले दिएको अनुमति हो तिमी कहाँसम्म जान सक्छौ भन्ने सीमाको संकेत। बोर्डिङ पास त झन् जीवनकै प्रतीक जस्तै लाग्यो जहाँ भविष्यमा प्रवेश गर्ने अधिकार सीमित समयका लागि मात्र हुन्छ।

    त्यही क्षण एउटा अदृश्य आवाज मेरो चेतनामा गुञ्जियो—“तिमी अब पुरानो संसार छोड्दै छौ।”

    तर यो वाक्यले मलाई शान्त बनाएन। बरु उल्टै अस्थिर बनायो।

    कुन पुरानो संसार?

    के त्यो मेरो बाल्यकाल हो?
    के त्यो मेरो सम्बन्धहरू हो?
    के त्यो मेरो डर हो?
    वा त्यो म आफैँ हुँ?

    र अर्को प्रश्न अझ गहिरो थियो म कुन संसारतर्फ जाँदै छु?

    के त्यो संसार वास्तवमै नयाँ हो वा पुरानै संसारको अर्को रूप मात्र हो?

    विमानस्थलमा मानिसहरू सधैँ चलायमान देखिन्छन्, तर भित्रभित्रै सबै स्थिर हुन्छन्। उनीहरू भौतिक रूपमा अघि बढिरहेका हुन्छन्, तर मन अझै कुनै अज्ञात ठाउँमा रोकिएको हुन्छ। यो विरोधाभास नै आधुनिक मानिसको अवस्था हो। बाहिर गति, भित्र शून्यता।

    त्यस क्षण मैले बुझें यात्रा कहिल्यै बाहिर मात्र हुँदैन। वास्तविक यात्रा त त्यो हो, जहाँ मानिस आफ्नै पहिचानसँग टाढा र नजिक दुवै हुन्छ। विमानस्थल त्यसैको प्रतीक हो जहाँ मानिस आफूलाई छोड्छ र आफूलाई खोज्न निस्कन्छ।

     उडान: पृथ्वीबाट अलग हुने क्षण

    विमान बिस्तारै उड्यो। पहिलो झट्कामा टायरहरूले जमिनसँगको सम्बन्ध तोडे, जस्तो मानिसले आफ्नो पुरानो पहिचानसँगको अन्तिम गाँठो फुकाल्छ। त्यसपछि शहर विस्तारै सानो हुँदै गयो घरहरू साना बिन्दुजस्ता, सडकहरू रेखाजस्ता  र जीवनका सबै हतारहरू कुनै अर्थहीन चित्रजस्ता देखिन थाले। त्यसपछि पहाडहरू पनि पछाडि छुटे गम्भीर, स्थिर र मौन पहाडहरू, जसले सधैँ मानिसलाई स्थायित्वको भ्रम दिन्छन्।

    काठमाडौँ तल सानो हुँदै गयो। त्यो शहर, जहाँ मेरो बाल्यकालका धुलो, आवाज र सम्झनाहरू मिसिएका थिए, अब एउटा दृश्यमा सीमित थियो। त्यही क्षण मलाई अनौठो अनुभूति भयो मानिसले कहिलेकाहीँ आफ्नै जीवनबाट टाढा उभिएर हेर्नुपर्छ, ताकि उसले बुझोस्, ऊ वास्तवमा कति सानो र कति विशाल दुवै हो।

    बादलहरू अब नजिक थिए। ती बादलहरू  पानीका कणहरू थिएनन्। ती त स्मृतिहरू जस्ता थिए।न त ठोस, न त पूर्ण रूपमा हराएका। कहिले तिनले आकार लिन्छन्, कहिले बग्छन्, कहिले हराउँछन् तर सधैँ आकाशमा केही न केही छोडेर जान्छन्। मलाई लाग्यो, मानिसका सम्झनाहरू पनि यस्तै हुन्छन् स्पष्ट नभए पनि उपस्थित।

    र आकाश?

    आकाश त मौनता थियो।

    यस्तो मौनता, जसले कुनै प्रश्नको उत्तर दिँदैन, तर सबै प्रश्नहरूलाई आफैँभित्र समेट्छ। त्यो मौनता न त खाली थियो, न त पूर्ण। त्यो केवल अस्तित्व थियो नदेखिने, नबोलिने, तर सबै कुरा धारण गर्ने।

    त्यही मौनताभित्र म पहिलो पटक आफूलाई हल्का महसुस गर्न थालेँ जस्तो म शरीर होइन, विचारको टुक्रा हुँ, जो समयसँगै बगिरहेको छ।

     शून्यताको पहिलो अनुभूति

    विमानभित्र सबैजना आफ्नै संसारमा थिए। कोही निद्रामा हराइरहेका थिए, कोही स्क्रिनको उज्यालोमा, कोही आफ्नै विचारको बन्द कोठामा। तर त्यो सीमित स्थानभित्र पनि अनगिन्ती मानसिक ब्रह्माण्डहरू चलिरहेका थिए प्रत्येक यात्रु आफ्नो अलग समयरेखामा बाँचिरहेको जस्तो।

    म भने विचारको भीडमा हराइरहेको थिएँ।

    यो भीड बाहिरी होइन, भित्री थियो। विचारहरू आउँथे, जान्थे, ठोक्किन्थे, टुट्थे, फेरि बन्थे। कहिले बाल्यकालको दृश्य आउँथ्यो, कहिले भविष्यको अस्पष्ट छायाँ। कहिले सम्बन्धहरूको तितो मिठास, कहिले आफ्नै मौनताको भारीपन। र यी सबैको बीचमा एउटा प्रश्न लगातार गुञ्जिरहन्थ्यो।

    “मानिस किन यात्रा गर्छ?”

    यो प्रश्न साधारण जस्तो लाग्थ्यो, तर यसको गहिराइ अनन्त थियो। किनभने यात्रा त अस्तित्वको रूपान्तरण हो।

    उत्तर सजिलो थिएन।

    शायद मानिस आफूलाई छोड्न यात्रा गर्छ। आफूले बोकिरहेको पहिचान, भूमिका, नाम र अपेक्षाहरूलाई केही समयका लागि पछाडि छोड्न। किनभने दैनिक जीवनमा मानिस आफूलाई लगातार निर्माण गरिरहेको हुन्छ समाजका अपेक्षाअनुसार, परिवारका आकांक्षाअनुसार, आफ्नै डर र इच्छाअनुसार।

    तर यात्रा त्यो क्षण हो, जहाँ यी सबै संरचना अलिकति ढल्किन्छन्।

    वा शायद मानिस आफूलाई भेट्न यात्रा गर्छ। किनभने स्थिर जीवनमा ऊ आफूबाट टाढा हुन्छ। ऊ भूमिका बन्छ, व्यक्ति होइन। यात्रा भनेको त्यो दुर्लभ अवसर हो, जहाँ ऊ फेरि आफैँसँग आँखा जुधाउन सक्छ।

    वा शायद दुवै होइन।

    शायद ऊ दुवैबाट भाग्न यात्रा गर्छ।आफू हुनुको पीडाबाट पनि र आफू नहुनुको खालीपनबाट पनि।

    त्यही क्षण मलाई लाग्यो मानिस सधैँ मध्यवर्ती अवस्थामा बाँच्छ। ऊ न पूर्ण रूपमा आफैँसँग हुन्छ, न पूर्ण रूपमा टाढा। ऊ निरन्तर बीचमा झुण्डिएको हुन्छ आकांक्षा र यथार्थ, स्मृति र सम्भावना, स्थिरता र परिवर्तनबीच।

    विमानको आवाज स्थिर थियो, तर मेरो भित्रको संसार अशान्त थियो।

    मलाई पहिलो पटक स्पष्ट भयो मानिसको सबैभन्दा ठूलो यात्रा बाहिर होइन, भित्र हुन्छ।

    किनभने बाहिरी यात्रा सीमित हुन्छ। दूरी मापन गर्न सकिन्छ, समय गणना गर्न सकिन्छ, गन्तव्य निर्धारण गर्न सकिन्छ। तर भित्री यात्रा अनन्त हुन्छ। त्यहाँ न नक्सा हुन्छ, न दिशा। त्यहाँ केवल प्रश्नहरू हुन्छन्।

    मैले झ्याल बाहिर हेरेँ।

    बादलहरू तल फैलिएका थिए, शान्त, सेतो, लगभग पवित्र जस्ता। ती बादलहरूलाई हेर्दा मलाई लाग्यो मानिसका विचारहरू पनि यस्तै हुन्छन्। बाहिरबाट नरम, तर भित्रबाट भारी। कहिले हल्का बग्ने, कहिले आकस्मिक रूपमा आँधी बन्ने।

    र त्यही बादलहरूभन्दा माथि हामी उडिरहेका थियौं।

    यो दृश्यले मलाई एउटा अनौठो अनुभूति दियो।मानिस कहिलेकाहीँ आफ्नै जीवनको माथि उडिरहेको हुन्छ, तर आफूलाई देख्दैन। ऊ आफ्नै समस्याहरू, सम्बन्धहरू, पीडाहरू र सपनाहरूलाई तल छोडेर माथि जान्छ, तर त्यो माथि पनि वास्तवमा भित्रकै अर्को तह हुन्छ।

    त्यही क्षण मलाई आध्यात्मिक अनुभूति भयो।

    मानिस केवल शरीर होइन। ऊ केवल नाम पनि होइन। ऊ केवल समाजको भूमिका पनि होइन। ऊ त एउटा चलायमान चेतना हो जसले आफैँलाई बुझ्न खोजिरहेको छ, तर कहिल्यै पूर्ण रूपमा बुझ्दैन।

    मलाई लाग्यो शायद ध्यान पनि यस्तै हो। बाहिरी यात्रा रोक्ने र भित्री यात्रा सुरु गर्ने प्रक्रिया। विमानले जसरी जमिन छोड्छ, ध्यानले त्यसरी नै विचारहरूको जमिन छोड्छ।तर यहाँ म ध्यानमा थिएँन। म केवल यात्रामा थिएँ अनजाने ध्यानजस्तो।

    अचानक मलाई बाल्यकालको एउटा दृश्य सम्झना आयो। सानो हुँदा आकाश हेर्दा मलाई लाग्थ्यो त्यहाँ देवताहरू बस्छन्। आज म त्यही आकाशमा थिएँ, तर देवता भेटिएनन्। केवल मौनता भेटियो।

    सायद देवता बाहिर होइन, भित्र हुन्छन्।सायद मौनता नै उनीहरूको भाषा हो।

    विमानभित्र समय बिस्तारै फैलिरहेको थियो। मिनेटहरू घण्टा जस्ता लाग्थे। घण्टाहरू अनन्त जस्ता। बाहिरी समय स्थिर थियो, तर भित्री समय पूर्ण रूपमा बगिरहेको थियो।

    मलाई लाग्यो मानिस समयमा बाँच्छ, तर चेतनामा हराउँछ।त्यही हराइमा ऊ आफूलाई भेट्ने प्रयास गर्छ। मेरो भित्र एउटा गहिरो स्वीकार जन्मियो शायद जीवनको कुनै निश्चित अर्थ हुँदैन। अर्थ त हामी आफैँ निर्माण गर्छौं। जस्तै यात्रा यो पनि अर्थ खोज्ने प्रक्रिया हो, अर्थ भेट्ने होइन।

    झ्याल बाहिर अझै बादलहरू थिए।तर अब ती  बादल थिएनन्।ती मेरा विचार थिए।र म ती विचारहरूको बीचमा बगिरहेको थिएँ।त्यही क्षण मैले बुझें—मानिसको सबैभन्दा ठूलो भूगोल बाहिर होइन, भित्र हुन्छ।

     

     पहाड र समथर भूमि: दुई चेतना

    विमान भारतको आकाशतर्फ अघि बढ्दै थियो। तल फैलिएको विशाल भूमि एक अनन्त चित्रजस्तै देखिन्थ्यो नदीहरू सर्पजस्तै बगिरहेका, खेतहरू हरियालीको चादरजस्तै फैलिएका र शहरहरू प्रकाशका टुक्राजस्तै टल्किरहेका। यो दृश्य सभ्यताको श्वास थियो, जसले आफूलाई निरन्तर विस्तार गरिरहेको थियो।

    त्यही क्षण मलाई एउटा अनौठो विचारले छोयो। मानौँ पृथ्वी स्वयं एउटा चेतना हो, जसले आफ्ना रूपहरू बदल्दै आफूलाई व्यक्त गरिरहेको छ।

    काठमाडौँका पहाडहरू मेरो आँखामा फेरि उभिए। ती पहाडहरू  भूगोल थिएनन्, ती आत्माजस्तै लाग्थे चुपचाप, स्थिर, गहिरो र ध्यानमग्न। पहाडहरू बोल्दैनन्, तर उनीहरूभित्र अनगिन्ती मौन संवाद चलिरहेको हुन्छ। जस्तै कुनै साधक लामो ध्यानमा बसेको होस्, जसले बाहिरी संसारसँग सम्बन्ध तोडेर भित्रको संसारसँग जोडिएको छ।

    तर त्यही बेला तल देखिएको भारतको समथर भूमि बिल्कुल फरक अनुभूति थियो। त्यो भूमि विचारजस्तै लाग्यो फैलिएको, निरन्तर बगिरहेको, कहिल्यै नरोकिने। त्यहाँ गति थियो, परिवर्तन थियो, विस्तार थियो। जस्तो विचार एकपटक जन्मिएपछि फैलिँदै जान्छ, सीमाहरू तोड्दै जान्छ।

    मलाई लाग्यो शायद सभ्यता पनि यस्तै हुन्छ। कहिले पहाडजस्तो सोच।जहाँ मानिस भित्रतिर फर्किन्छ, प्रश्न गर्छ, मौन हुन्छ, र आफूलाई बुझ्ने प्रयास गर्छ। यस्तो सभ्यता गहिरो हुन्छ, तर स्थिर पनि हुन्छ। र कहिले समथरजस्तो विस्तार।जहाँ मानिस बाहिरतिर फैलिन्छ, निर्माण गर्छ, जोड्छ, बदल्छ र निरन्तर अगाडि बढ्छ। यस्तो सभ्यता गतिशील हुन्छ, तर कहिलेकाहीँ आफ्नै गहिराइ हराउन सक्छ।

    मलाई लाग्यो मानिस पनि यी दुई अवस्थाबीच निरन्तर झुण्डिएको हुन्छ। ऊ कहिले पहाड बन्छ, कहिले समथर। कहिले आफूभित्र हराउँछ, कहिले संसारमा फैलिन्छ।

    विमानको झ्यालबाट हेर्दा पृथ्वी त मानव चेतनाको विशाल नक्शा थियो जहाँ हरेक भूभागले एउटा मानसिक अवस्था प्रतिनिधित्व गरिरहेको थियो।

    र म त्यही नक्शामाथि उडिरहेको थिएँ न पर्यटक भएर, न यात्री भएर, तर केवल साक्षी भएर।त्यही साक्षित्वभित्र मैले बुझें मानिस बाहिर जति टाढा जान्छ, भित्र त्यति नै नजिक आउन थाल्छ।

     इतिहासको भारीपन

    तलको भूमि एउटा जीवित इतिहास थियो, जसले आफ्ना तहहरूमा हजारौँ वर्षको कथा बोकेको थियो। माथिबाट हेर्दा त्यो शान्त देखिन्थ्यो, तर त्यो शान्तिको भित्री गहिराइमा  साम्राज्यहरूको घोषणा, युद्धहरूको चिच्याहट, विजयको गर्जन र पराजयको मौन रोदन अनगिन्ती आवाजहरू दबिएका थिए।। यो मौनता वास्तवमा खालीपन होइन, बरु स्मृतिको भारीपन थियो, जसलाई समयले ढाकेर राखेको थियो।

    साम्राज्यहरू यहीँ जन्मिए। कुनै नदीको किनारमा, कुनै पहाडको फेदीमा, कुनै शहरको भीडभित्र। उनीहरू उठे, फैलिए, आकाश छुने सपना देखे। उनीहरूले आफूलाई अमर ठाने, आफ्ना झण्डालाई अनन्त ठाने, आफ्ना विजयलाई अन्तिम ठाने। तर समय सधैँ मौन न्यायाधीशजस्तै रह्यो उसले न त समर्थन गर्‍यो, न त विरोध, केवल अवलोकन गर्‍यो। र अन्ततः कुनै पनि शक्ति स्थायी रहन सकेन।

    युद्धहरू यहीँ लडिए। ती युद्ध  हतियारहरूको टकराव थिएनन्, ती विचारहरूको संघर्ष थिए, अहंकारहरूको भिडन्त थिए र अस्तित्वको क्रूर परीक्षा थिए। प्रत्येक युद्धपछि भूमि अझ गहिरो मौन भयो, जस्तो उसले सबै कुरा सुनेर पनि केही नबोलेको होस्। युद्धपछि मानिसहरूले जितको कथा लेखे, तर भूमिले हार र मृत्युको कथा आफ्नो भित्री तहमा सुरक्षित राख्यो।

    सभ्यताहरू यहीँ हराए। ती सभ्यताहरूले आफ्नो ज्ञान, कला, भाषा र दर्शन छोडेर गए। तर उनीहरूको शरीर हराएपछि पनि उनीहरूको छायाँ रहिरह्यो। ढुंगामा, नक्सामा, स्मृतिमा। कहिलेकाहीँ ती छायाँहरू आधुनिक शहरहरूमा पनि झल्किन्छन् पुराना प्रश्नहरूको रूपमा, अधुरा अर्थहरूको रूपमा।

    मलाई लाग्यो मानिसको प्रगति र विनाश एउटै रेखामा हिँड्छन्। त्यो रेखा सीधा देखिन्छ, तर त्यसमा अनगिन्ती मोडहरू लुकेका हुन्छन्। प्रत्येक प्रगतिको पछाडि एउटा विनाश लुकेको हुन्छ र प्रत्येक विनाशको गर्भमा नयाँ सम्भावना जन्मिरहेको हुन्छ। यही द्वन्द्व नै मानव इतिहासको  नियम हो।निर्माण र विनाशको अनन्त चक्र।

    कुनै पनि साम्राज्य स्थायी हुँदैन। शक्ति, वैभव र नियन्त्रण सबै समयको परीक्षा अघि झुक्छन्। तर तिनीहरूको कथा समाप्त हुँदैन। ती कथाहरू फेरि फेरि दोहोरिन्छन्। नयाँ नाम, नयाँ अनुहार र नयाँ झण्डासहित। इतिहास आफैँ दोहोरिने मात्र होइन, रूपान्तरण पनि हुन्छ। केवल पात्रहरू बदलिन्छन्, तर नाटक उही रहन्छ।

    तर त्यसको छायाँ लामो हुन्छ। त्यो छायाँ इतिहासको मात्र होइन, चेतनाको पनि हुन्छ। त्यो छायाँ मानिसको स्मृतिमा, संस्कृतिमा र डरमा बाँचिरहन्छ। कहिलेकाहीँ त्यो छायाँ भविष्यमा पनि देखिन्छ नयाँ स्वरूपमा, तर पुरानै प्रश्न बोकेर। यसैले मानिसले जति अगाडि बढे पनि ऊ विगतबाट पूर्ण रूपमा छुट्टिन सक्दैन।

    विमानको झ्यालबाट हेर्दा मलाई लाग्यो भूमि शान्त छ, तर त्यो शान्ति वास्तविक होइन। त्यो त एउटा मौन सम्झौता हो, जहाँ समयले सबै कुरा देखेको छ, तर कुनै पक्ष लिएको छैन। समय नायक होइन, अपराधी पनि होइन ऊ साक्षी हो, जसले सबै उदय र पतनलाई एउटै दृष्टिले हेर्छ।

    त्यही क्षण मलाई एउटा कठोर तर शिक्षाप्रद सत्यले छोयो। मानिसले इतिहास बनाउँछ, तर इतिहासले मानिसलाई बनाउँछ। हामी आफूलाई स्वतन्त्र ठान्छौँ, तर हामी अतीतका संरचनाहरूले आकार दिइएका हुन्छौँ। हाम्रो सोच, हाम्रो डर, हाम्रो आशा सबै कहीं न कहीं विगतका छायाँबाट प्रभावित हुन्छन्।

    र म त्यही मौनतामाथि उडिरहेको थिएँ एक सानो चेतना, विशाल इतिहासको माथि। त्यो उचाइले मलाई शक्ति दिएको थिएन, बरु विनम्रता दिएको थियो। मैले पहिलो पटक स्पष्ट रूपमा बुझें मानिस सानो छ, तर उसको प्रश्नहरू विशाल छन्। ऊ क्षणिक छ, तर उसको स्मृति अनन्त छ।

    त्यही क्षण यो यात्रा भौगोलिक रहेन। यो अस्तित्वको पाठ बन्यो जहाँ भूमि शिक्षक थियो, समय पुस्तक थियो र म एक अस्थायी पाठक थिएँ।

     समुद्रको पहिलो झलक

    अचानक विमानको झ्यालबाट निलो रेखा देखियो। सुरुमा त्यो  एउटा अस्पष्ट छायाजस्तो थियो। आकाश र भूमि छुट्याउने अनिश्चित सीमारेखा। तर विमान जति नजिकिँदै गयो, त्यो रेखा बिस्तारै स्पष्ट हुँदै गयो। र त्यसै स्पष्टतासँगै, एउटा अनन्तता प्रकट हुन थाल्यो।

    त्यो समुद्र थियो।कोलम्बो नजिकिँदै थियो।तर  केवल गन्तव्यको संकेत थिएन, त्यो त एउटा  दर्शनको प्रारम्भ थियो।

    समुद्रलाई पहिलो पटक यसरी माथिबाट हेर्दा, मलाई लाग्यो यो पानी होइन, यो समय हो। फैलिएको, चलिरहेको, कहिल्यै नरोकिने। यसको कुनै अन्त्य छैन, कुनै सुरुवात छैन। जति हेरे पनि, त्यो आफैँभित्र हराइरहेको छ।

    समुद्र त समयजस्तै थियो। अन्त्यहीन।

    त्यो क्षण मेरो भित्र कुनै शब्द नभएको अनुभूति जन्मियो। न त त्यो खुशी थियो, न त डर। त्यो त  विस्मय थियो।अस्तित्वप्रति।

    म पहिलो पटक बुझ्दै थिएँ पानी पनि सोच्न सक्छ जस्तो लाग्थ्यो।

    यो विचार तर्कभन्दा बाहिरको थियो। तर अनुभूतिभन्दा  सत्य थियो। किनभने समुद्र स्थिर छैन। त्यो निरन्तर परिवर्तनमा छ, तर त्यस परिवर्तनभित्र एउटा अचम्मको स्थायित्व छ। जस्तो चेतना जहाँ विचारहरू आउँछन् र जान्छन्, तर चेतना आफैँ स्थिर रहन्छ।

    समुद्रलाई हेर्दा मलाई लाग्यो सायद यो पृथ्वीको मन हो। मानिसले आफ्ना भावनाहरू मनमा राख्छ  र पृथ्वीले आफ्ना भावनाहरू समुद्रमा राख्छ। कहिले शान्त, कहिले आँधी, कहिले मौन गहिराइ। तर सबै अवस्थामा यो जीवित छ, सचेत छ र प्रतिक्रिया दिइरहेको छ।

    कोलम्बो अब नजिक थियो। शहरको रेखा देखिन थालेको थियो। तर मेरो ध्यान शहरमा थिएन। मेरो ध्यान त्यो विशाल नीलो विस्तारमा थियो, जसले कुनै प्रश्नको उत्तर नदिएर पनि सबै प्रश्नहरूलाई समेटिरहेको थियो।

    त्यही क्षण मलाई एउटा  आध्यात्मिक अनुभूति भयो जस्तो म कुनै ठूलो मौन शिक्षालयमा प्रवेश गरिरहेको छु। जहाँ गुरु मानिस होइन, प्रकृति हो। जहाँ पाठ शब्दमा होइन, अनुभूतिमा छ।

    समुद्रलाई हेर्दा मलाई लाग्यो यो शून्यता होइन। यो पूर्णता हो।

    मानिस प्रायः शून्यतालाई डरको रूपमा बुझ्छ। तर यहाँ शून्यता भनेको खालीपन होइन, यो सबै सम्भावनाहरूको स्रोत हो। समुद्र त्यही स्रोतजस्तो लाग्यो जहाँबाट जीवन सुरु हुन्छ र जहाँ अन्ततः सबै कुरा फर्किन्छ।

    मेरो मनमा एउटा पुरानो प्रश्न फेरि उठ्यो मानिस किन यति बेचैन छ?

    सायद किनभने ऊ आफ्नो समुद्र बिर्सिएको छ। ऊ आफ्नै भित्रको गहिराइसँग टाढा भएको छ। ऊ सतहमा बाँचिरहेको छ, तर गहिराइमा बाँच्न बिर्सिएको छ।

    समुद्रको लहरहरूलाई हेर्दा मलाई लाग्यो यी लहरहरू विचारजस्तै हुन्। कहिले उठ्छन्, कहिले हराउँछन्। तर समुद्र त सधैँ रहन्छ। विचारहरू परिवर्तनशील छन्, तर चेतना अपरिवर्तनीय।

    त्यही क्षण मैले बुझें। आध्यात्मिकता कुनै बाहिरी अभ्यास होइन, यो दृष्टिको परिवर्तन हो। एउटै वस्तुलाई नयाँ आँखाले हेर्ने क्षमता।

    समुद्रलाई माथिबाट हेर्दा त्यो नक्साजस्तो लाग्थ्यो। तर भित्रबाट हेर्दा त्यो अनुभूति थियो। र शायद जीवन पनि त्यस्तै हो बाहिरबाट हेर्दा संरचना, भित्रबाट हेर्दा चेतना।

    कोलम्बो अब स्पष्ट देखिन थाल्यो। शहर, भवनहरू र समुद्रसँग मिसिएको भूमि। तर त्यो दृश्य अब केवल भौगोलिक दृश्य थिएन। त्यो त एक संवाद थियो—भूमि र पानीबीचको, स्थायित्व र परिवर्तनबीचको, शरीर र चेतनाबीचको।

    मलाई लाग्यो मानिस पनि त्यस्तै हो। ऊ पनि भूमि र पानी दुवै हो। कहिले स्थिर, कहिले प्रवाहित। कहिले निश्चित, कहिले अनिश्चित।

    समुद्रले मलाई मौन पाठ पढाइरहेको थियो कि कुनै पनि कुरा स्थायी छैन।

    कि परिवर्तन नै अस्तित्व हो।

    कि हर कुरा बगिरहेको छ।

    तर त्यस बगाइभित्र एउटा गहिरो शान्ति छ जसलाई  मौन भएर मात्र बुझ्न सकिन्छ।

    विमान तल झर्दै थियो। समुद्र अझ नजिक हुँदै थियो। अब त्यो  दृश्य थिएन, त्यो अनुभूति थियो। मेरो शरीर विमानमा थियो, तर मन समुद्रसँग बगिरहेको थियो।

    त्यही क्षण मलाई लाग्यो सायद यात्रा भनेको स्थान परिवर्तन होइन। यात्रा भनेको चेतनाको विस्तार हो। जहाँ मानिस आफूलाई ठूलो बनाउँछ, होइन गहिरो बनाउँछ।

    समुद्र अब मेरो बाहिर थिएन। त्यो भित्र पनि थियो।

    र म पहिलो पटक बुझ्दै थिएँ पानी मात्र होइन, चेतना पनि सोच्न सक्छ।

     कोलम्बो: पहिलो श्वास

    विमान अवतरण भयो।

    पहिले टायरहरूले जमिन छोए, त्यसपछि गति घट्यो र अन्ततः सम्पूर्ण शरीरजस्तो भारी यन्त्र पृथ्वीमा समर्पित भयो। त्यो क्षण कुनै उत्सव थिएन, कुनै अन्त्य पनि थिएन यो केवल रूपान्तरण थियो, गति बाट स्थिरतामा, आकाशबाट भूमिमा, अनिश्चितताबाट यथार्थतामा।

    ढोका खुल्यो।

    र पहिलो श्वास आयो।

    नुनिलो,
    तातो,
    पुरानो।

    यो केवल हावा थिएन। यो कुनै शहरको सास थियो, जसले समयका तहहरू बोकेको थियो। त्यो श्वासमा समुद्रको स्पर्श थियो, माटोको स्मृति थियो र मानिसहरूको अनगिन्ती जीवनहरूको गन्ध थियो। म केही क्षण रोकिएँ। किनभने म बुझ्न सकिनँ। यो भौतिक हावा हो वा अस्तित्वको कुनै पुरानो कथा, जसले मलाई पहिले नै चिनिसकेको छ।

    यो हावा थियो कि इतिहास?

    म भन्न सक्दिनँ।

    किनभने कतिपय अनुभवहरू शब्दभन्दा पहिले आउँछन् र अर्थभन्दा गहिरो हुन्छन्।

    कोलम्बोले मलाई स्वागत गरेन।

    उसले कुनै औपचारिक मुस्कान दिएन, कुनै परिचय पनि गरेन। शहरहरूले मानिसहरूलाई सधैँ स्वागत गर्दैनन्। केही शहरहरूले  अवशोषण गर्छन्।मानिसलाई आफ्नो भित्री संरचनामा मिलाउँछन्, जस्तो समुद्रले पानीको थोपा स्वीकार गर्छ।

    उसले मलाई निगाल्यो।

    यो “निगाल्नु” आत्मसमर्पणको क्षण थियो। म अब बाहिरको पर्यवेक्षक थिएनँ, म अब त्यो शहरको हिस्सा हुँदै थिएँ। मेरो स्वतन्त्र दूरी हराउँदै थियो र म एउटा विशाल जीवको कोशिकाजस्तो बन्दै थिएँ।

    त्यही क्षण मलाई लाग्यो शहरहरू भौतिक संरचना होइनन्। ती जीवित चेतना हुन्। प्रत्येक शहरको आफ्नै स्मृति हुन्छ, आफ्नै स्वभाव हुन्छ, आफ्नै मनोविज्ञान हुन्छ। कोलम्बो मौन छैन। ऊ बोल्दैन मात्र।

    म हिँड्न थालेँ।

    सडकहरूमा मानिसहरूको भीड थियो। तर त्यो भीडभित्र पनि एक अनौठो मौनता थियो।प्रत्येक मानिस आफ्नो भित्री संसारमा हराइरहेको। कोही हतारमा थियो, कोही स्थिर। तर सबैको यात्रा एउटै थियो आफ्नो अस्तित्वलाई टिकाइराख्ने प्रयास।

    मलाई लाग्योमानिस बाहिर जति व्यस्त देखिन्छ, भित्र त्यति नै एक्लो हुन्छ।

    कोलम्बोको हावा अझै मेरो शरीरमा मिसिँदै थियो। यो  भौगोलिक परिवर्तन थिएन, यो चेतनाको संक्रमण थियो। जस्तो म एउटा पुरानो पुस्तकको पाना पल्टाएर नयाँ अध्यायमा प्रवेश गरिरहेको छु, तर अघिल्लो अध्याय अझै मनमा गुञ्जिरहेको छ।

    समुद्र टाढा देखिन्थ्यो, तर त्यसको प्रभाव अझै नजिक थियो। जस्तो जीवनमा केही अनुभवहरू आँखाबाट टाढा भए पनि मनबाट कहिल्यै टाढा हुँदैनन्।

    मलाई अचानक एउटा गहिरो अनुभूति भयो।यात्रा कहिल्यै समाप्त हुँदैन।यो केवल रूप परिवर्तन गर्छ।

    काठमाडौँ अब पछाडि थियो, तर हराएको थिएन। कोलम्बो अगाडि थियो, तर पूर्ण रूपमा नयाँ थिएन। दुवै शहरहरू अब मेरो भित्र थिए।

    त्यही क्षण मैले बुझें मानिस कुनै स्थानमा पुग्दैन। ऊ  आफूलाई अझ गहिरो रूपमा भेट्छ।

    र कोलम्बो?

    कोलम्बो कुनै गन्तव्य थिएन।

    ऊ त एउटा अवस्था थियो जहाँ मानिस आफैँलाई फेरि पढ्न थाल्छ।

     शहर जसले इतिहास बोक्छ

    कोलम्बो केवल शहर होइन। यो स्मृतिको तह हो। यहाँको हावा पनि  हावा होइन यो इतिहासको सास हो, जसले हजारौँ वर्षका सभ्यताहरूलाई आफ्नै भित्र बोकिरहेको छ। सडकहरू, भवनहरू, समुद्र किनार सबैमा समयका तहहरू जमेर बसेका छन्, जस्तै कुनै पुरानो पुस्तकका पाना, जसलाई मेट्न खोजे पनि अक्षरहरू अझै देखिन्छन्।

    पोर्तुगाली आए।
    डच आए।
    ब्रिटिश आए।

    तर कोलम्बो बाँचेको छ।

    मानिसहरू गए, शासनहरू बदलिए, झण्डाहरू फेरिए, तर शहरको मौनता उस्तै रह्यो। गहिरो, भारी र बुझ्न गाह्रो।

    म जब कोलम्बोमा हिँड्न थालेँ, मलाई लाग्यो म कुनै शहरमा होइन, इतिहासको भित्री तहमा प्रवेश गरिरहेको छु। प्रत्येक भवन स्मृति हो। प्रत्येक भित्तो समयको हस्ताक्षर हो।

    पुराना भवनहरू अझै उभिएका छन्। तर ती भवनहरू ढुंगाका होइनन्। ती कथाहरू हुन्।

    हर ढुंगामा एउटा युग लुकेको छ।

    कुनै ढुंगामा पोर्तुगाली सैनिकको डर छ।
    कुनै ढुंगामा डच व्यापारीको लोभ छ।
    कुनै ढुंगामा ब्रिटिश साम्राज्यको अनुशासन छ।

    तर यी सबैभन्दा गहिरो कुरा के हो भने यी ढुंगाहरूले सबै देखेका छन्, तर केही बोलेका छैनन्।

    शहरहरूको पनि आफ्नै दर्शन हुन्छ। कोलम्बोले मलाई सिकायो इतिहास कहिल्यै मर्दैन, त्यो रूप बदल्छ।

    म हिँड्दै जाँदा मलाई लाग्यो यो शहर कुनै भौगोलिक स्थान होइन। यो त चेतनाको संग्रहालय हो, जहाँ विगत अझै वर्तमानमा सास फेर्छ।

    श्रीलङ्काको इतिहास २५०० वर्षभन्दा पुरानो छ। यहाँ सभ्यता अचानक जन्मिएको होइन। यहाँ जीवन तह–तहमा निर्माण भएको छ। राजकुमार विजयको आगमन, अनुराधापुराको सुनौलो युग, बौद्ध धर्मको प्रवेश यी सबै मानव चेतनाको विकासका चरण हुन्।

    मलाई लाग्यो सभ्यता भनेको भवन होइन, सोच हो।

    अनुराधापुराका विशाल स्तूपहरू हेर्दा म बुझ्थें मानिसले कहिल्यै शक्ति मात्र निर्माण गर्दैन, ऊ विश्वास पनि निर्माण गर्छ। र त्यो विश्वास कहिलेकाहीँ ढुंगाभन्दा बलियो हुन्छ।

    तर इतिहास सधैँ शान्त हुँदैन। दक्षिण भारतका आक्रमणहरू, चोल र पाण्ड्यहरूको संघर्ष, र पछि उपनिवेशवादको छायाँ—यी सबैले यो भूमि बारम्बार बदल्यो।

    पोर्तुगाली आए, उनीहरूले समुद्र किनार नियन्त्रण गरे।
    डच आए, उनीहरूले व्यापारलाई संरचना दिए।
    ब्रिटिश आए, उनीहरूले भूमि मात्र होइन, मानिसको सोच पनि पुनः निर्माण गरे।

    तर आश्चर्य के हो भने यी सबै परिवर्तनबीच पनि कोलम्बो हराएन।

    ऊ परिवर्तनको साक्षी बनेर बाँचेको छ।

    मलाई लाग्यो शहर पनि मानिसजस्तै हुन्छ। ऊ पीडा सहन्छ, तर सम्झन्छ। ऊ परिवर्तन हुन्छ, तर बिर्सिँदैन।

    स्वतन्त्रता १९४८ मा आयो। तर के स्वतन्त्रता केवल राजनीतिक घटना हो? वा यो चेतनाको प्रक्रिया हो?

    यो प्रश्नले मलाई रोक्यो।

    किनभने मैले देखेको थिएँ स्वतन्त्रता आएपछि पनि द्वन्द्व रह्यो, विभाजन रह्यो, युद्ध रह्यो। २६ वर्ष लामो गृहयुद्धले देखायो कि बाहिरी स्वतन्त्रता सजिलो हुन्छ, तर भित्री मेलमिलाप कठिन हुन्छ।

    मलाई लाग्यो मानिस पनि यस्तै हो।

    ऊ बाहिर स्वतन्त्र देखिन्छ, तर भित्र अझै युद्ध चलिरहेको हुन्छ।

    कोलम्बोको सडकमा हिँड्दा मलाई लाग्थ्यो हरेक मानिस आफ्नो भित्रको गृहयुद्ध बोकेर हिँडिरहेको छ।

    कोही विगतसँग लडिरहेको छ, कोही भविष्यसँग, कोही आफैँसँग। समुद्र चुप छ।ऊ कुनै पक्ष लिँदैन। ऊ केवल देख्छ।

    सायद इतिहास पनि त्यस्तै हो।न्यायाधीश होइन, साक्षी।

    साँझ पर्दै गयो। शहरका बत्तीहरू बल्न थाले। तर ती बत्तीहरू उज्यालो मात्र थिएनन्, ती स्मृतिका झिल्काहरू थिए।

    मलाई अचानक महसुस भयो कोलम्बो बाहिरको शहर होइन। यो भित्रको अवस्था हो।

    जहाँ मानिसले बुझ्न थाल्छ उनी आफूभन्दा ठूलो कथाको हिस्सा हुन्।

    र म त्यही कथाभित्र उभिएको थिएँ एक सानो चेतना, विशाल इतिहासको बीचमा।

     

     पहिलो पाइला: अपरिचित पृथ्वी

    मैले पहिलो पाइला टेकेँ।

    जमिन त उही थियो ठोस, स्थिर, सामान्य। तर त्यो स्थिरताभित्र पनि एउटा अनौठो कम्पन थियो, जसलाई शब्दले समात्न सक्दैन। जस्तो पृथ्वीले आफूभित्र हजारौँ वर्षका स्मृतिहरू बोकेर पनि बाहिर शान्त देखिन्छ, त्यस्तै यहाँको माटो पनि मौन तर भारी लाग्थ्यो।

    तर अनुभूति फरक थियो।

    यो फरक  स्थानको थिएन। यो चेतनाको थियो। काठमाडौँपछि कोलम्बो केवल अर्को शहर थिएन, यो अर्को दृष्टि थियो। एउटै आँखाले देखिने संसार, तर फरक अर्थ बोकेको।

    यहाँ म विदेशी थिएँ।

    यो शब्द साधारण जस्तो लागे पनि यसको गहिराइ अचम्मको थियो। विदेशी हुनु भनेको  पासपोर्टको भिन्नता होइन रहेछ। यो त आफ्नै परिचयलाई टाढाबाट हेर्ने अनुभव रहेछ। जस्तो आफूलाई पहिलो पटक बाहिरबाट पढिरहेको छु अपूर्ण, अधूरो, तर अझै खोजिरहेको।

    तर त्यसै क्षण, एउटा अर्को अनुभूति पनि जन्मियो।

    मानिस हुनुको अर्थ अझ  महसुस हुँदै थियो।

    किनभने यहाँ म कुनै राष्ट्रको प्रतिनिधि थिएनँ। कुनै सीमाको परिभाषा थिएन। म  एक जीवित चेतना थिएँ, जसले अर्को जीवित चेतनालाई देखिरहेको थियो। र त्यस दृश्यमा भाषा, रंग, इतिहास सबै पृष्ठभूमिमा हराउँदै थिए।

    भीड थियो।

    कोलम्बोको सडक जीवनले भरिएको थियो। मानिसहरू दौडिरहेका थिए, बोलिरहेका थिए, किनिरहेका थिए, बेचिरहेका थिए। जीवन निरन्तर गतिमा थियो। तर त्यो गतिभित्र पनि एउटा अदृश्य स्थिरता थियो।

    त्यो भीडभित्र मौनता पनि थियो।

    यो मौनता आवाजको अभाव थिएन। यो त मानिसहरूको भित्री संसार थियो, जुन अलग तर गहिरो रूपमा बाँचिरहेको थियो। हरेक अनुहार कुनै न कुनै कथा थियो कसैको सपना, कसैको थकान, कसैको प्रतीक्षा, कसैको सम्झना।

    मलाई लाग्यो भीड भनेको मानिसहरूको जमघट होइन, यो एक–अर्काभित्र हराइरहेको एकान्तहरूको संग्रह हो।

    म हिँड्दै जाँदा सडकका किनारहरूमा समय बगिरहेको जस्तो लाग्थ्यो। पुराना भवनहरू, नयाँ पसलहरू, समुद्रतर्फ जाने बाटाहरू सबै मिलेर एउटा यस्तो संसार बनाइरहेका थिए जहाँ विगत र वर्तमान सँगै सास फेर्छन्।

    यहाँ प्रत्येक पाइला संवाद थियो भूमिसँग, इतिहाससँग र आफैँसँग।

    मैले समुद्र सम्झिएँ।

    त्यही समुद्र जसले मलाई भित्रबाट बदलिएको अनुभूति दिएको थियो। अब त्यो समुद्र टाढा थिएन। त्यो यहाँको हावामा मिसिएको थियो। जस्तो शहर आफैँ समुद्रको अर्को रूप हो। थप संरचित, तर त्यत्तिकै गहिरो।

    त्यही क्षण मलाई लाग्यो यात्रा कहिल्यै समाप्त हुँदैन।

    किनभने गन्तव्यमा पुग्नु भनेको अन्त्य होइन, नयाँ बुझाइको सुरुवात हो।

    म कोलम्बोमा पुगेको थिएँ, तर वास्तवमा म आफैँभित्र अझ गहिरो प्रवेश गरिरहेको थिएँ। काठमाडौँ अब टाढा थिएन  र कोलम्बो अब मात्र बाहिर थिएन। दुवै मेरो चेतनामा मिसिइसकेका थिए।

    साँझ नजिकिँदै थियो। आकाश हल्का सुनौलो हुँदै थियो। शहर बिस्तारै शान्त तर अझै जीवित देखिन्थ्यो।

    मैले अन्तिम पटक वरिपरि हेरेँ।

    त्यो दृश्यले मलाई एउटा कुरा सिकायो।

    स्थानहरू बदलिन्छन्, तर अनुभूति यात्रा गर्दै रहन्छ।

    मानिस कहिल्यै एउटै ठाउँमा रहँदैन।

    ऊ सधैँ आफूलाई भेट्न हिँडिरहेको हुन्छ।

    र त्यही खोज नै उसको अन्तिम गन्तव्य हो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख ३१, बिहीबार १६:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP