logo
  • २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता

    विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता

    सिरहा, २२ जेठ ः
    विद्यार्थीमा जलवायु संकट, वातावरण संरक्षण तथा जलवायुमैत्री कृषि प्रणालीबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व वातावरण दिवसको अवसरमा शुक्रबार धनगढीमाई नगरपालिका–५ स्थित जनता माध्यमिक विद्यालय (प्राविधिक), तीनकोनीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

    राष्ट्रिय कृषक समूह महासंघ, नेपालको आयोजनामा सञ्चालित ‘जलवायुमैत्री गाउँ परियोजना’ अन्तर्गत शुक्रबार उक्त प्रतियोगिता आयोजना गरिएको हो । ‘माटो जोगाऔँ, प्रकृति सजाऔँ, जलवायु अनुकूलन खेतीतर्फ पाइला बढाऔँ’ भन्ने मूल विषयमा आयोजित प्रतियोगितामा विद्यालयका सात जना छात्राहरूले जलवायु परिवर्तन, वातावरण संरक्षण तथा जलवायुमैत्री कृषि प्रणालीका विषयमा आफ्ना विचार प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका थिए ।

    परियोजनाले किसानलाई कृषि पाठशाला सञ्चालन, कृषि सामग्री उपलब्ध गराउने, महिला कृषक समूह गठन, गोठ सुधार, गँड्यौला मल उत्पादन, बोरिङ तथा फोहोरा सिँचाइ, आधुनिक चुलो जडान तथा जलवायुमैत्री बीउबिजन वितरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि तथा धनगढीमाई नगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले वातावरण संरक्षण र दिगो कृषि विकासका लागि युवापुस्ताको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभाव अहिले प्रत्यक्ष रूपमा कृषि क्षेत्रमा देखिन थालेको छ । त्यसैले वातावरण संरक्षणसँगै जलवायुमैत्री कृषि अभ्यासलाई विद्यालय तहदेखि नै प्रवद्र्धन गर्न आवश्यक छ । यस्ता कार्यक्रमले विद्यार्थीमा ज्ञान, सीप र जिम्मेवारीबोध बढाउन महत्वपूर्ण योगदान पु¥याउँछन् ।”

    उपप्रमुख चौधरीले धनगढीमाई नगरपालिकाले आगामी नीति तथा कार्यक्रममा पनि जलवायु अनुकूलन कृषि प्रणालीलाई प्राथमिकता दिनुका सार्थै परियोजनालाई आवश्यक समन्वय गर्ने बताउनुभयो ।

    प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत सोनी शर्मा प्रथम, कक्षा १० की काजल यादव द्वितीय तथा कक्षा ९ की सरस्वती यादव तृतीय भएकी थिइन् । विजयी विद्यार्थीहरूलाई उपप्रमुख चौधरीले पुरस्कार वितरण गर्नुभयो ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समूह महासंघ, नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलीप साह ले संस्थाले विद्यालय, स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी विभिन्न जलवायुमैत्री तथा अनुकूलन कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जलवायुमैत्री कृषि प्रणालीले मुख्य रूपमा पानीको उचित व्यवस्थापन, माटोको स्वास्थ्य सुधार र स्थानीय परिवेशअनुकूल बीउको प्रयोगमा जोड दिन्छ। यस्ता कार्यक्रमले समुदायस्तरमा सचेतना वृद्धि गर्नुका साथै किसानलाई बदलिँदो जलवायु परिस्थितिसँग अनुकूल हुन सहयोग पु¥याउँछन् ।”

    साहका अनुसार परियोजना सिरहाका धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी, भगवानपुर तथा सखुवानन्कारकट्टी गाउँपालिकाका साथै सप्तरीका रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सञ्चालन भइरहेको छ । यी छ स्थानीय तहमा जलवायु उत्थानशील कृषक समुदाय निर्माण गर्ने लक्ष्यका साथ विभिन्न गतिविधि अघि बढाइएको छ ।

    उहाँले मधेश विश्वविद्यालय तथा रामपुर कृषि विश्वविद्यालयसँगको समन्वयमा कृषि पाठशाला सञ्चालन भइरहेको उल्लेख गर्दै जलवायुमैत्री कृषि प्रणालीसम्बन्धी अनुसन्धान तथा शोधपत्र तयार गर्न इच्छुक विद्यार्थीहरूका लागि पनि संस्थाले अवसर र प्लेटफर्म उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।

    विद्यालयका प्रधानाध्यापक जितेन्द्र चौधरी ले विद्यालयमा यस्ता सिर्जनात्मक तथा ज्ञानमूलक कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासका साथै समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले भन्नुभयो, “किताबी ज्ञानसँगै विद्यार्थीहरूलाई प्रकृतिको महत्त्व र व्यावहारिक कृषि सिकाउन यस्ता प्रतियोगिताले ठूलो मद्दत गर्छन् । प्राविधिक शिक्षालय भएकाले हाम्रो विद्यालय वातावरण र माटो संरक्षणका हरेक अभियानमा सँगै रहनेछ । विद्यालयले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनेछ ।”

    यसअघि विश्व वातावरण दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरिएको थियो । कार्यक्रममा कृषक महासंघका प्रतिनिधि, परियोजनाका कर्मचारी, विद्यालयका शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ २२, शुक्रबार १९:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP