logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • मोरेङको अध्यात्मिक माटो

    मोरेङको अध्यात्मिक माटो

    मोरेङको अध्यात्मिक माटो

    तोमनाथ उप्रेती

     

    माटोको काखमा पसिनाका मुक्तामणिहरू चुहिँदा,
    धरती माताको निलो नाडीमा धड्कन्छ कर्मको शंखध्वनि,
    पृथ्वीको शिरमा सुनौलो सूर्य–तिलक राखेर
    हलको फलामले आकाश चुम्दै लेख्छ —
    “जीवन, एक अध्यात्मिक यात्रा हो।”

    नदीहरू कापी हुन्, जहाँ पानीले स्याही लेख्दछ,
    घामको घाम्तीमा पसिना व्रतजस्तै बग्दछ,
    हरेक बीउमा आत्मा पलाउँछ, र जन्मिन्छ एक भरोसा—
    ‘कर्मण्येवाधिकारस्ते’ को मौन मन्त्रमा पलाएको स्वप्न।

    खेतहरू वेद हुन्,
    जहाँ बीउ अक्षर हुन्, हल र बैल मन्त्र छन्,
    किसान ऋषिहरू,
    जसले आत्मशुद्धिको यज्ञमा आफ्ना दुःखहरू आहुति दिन्छन्,
    र वर्षालाई आशीर्वादको रूपमा अङ्गाल्छन्।

    मोरङको माटोमा वसुधैव कुटुम्बकम् उमारिन्छ,
    मेलापातमा जात र धर्मको सिमाना पग्लन्छ,
    घाममा झुल्कने पसिनाले एकता र सहिष्णुताको गीत गाउँछ,
    र नहरका पानीले जीवनलाई आशिष पुर्याउँछ।

    यहाँ कर्म एउटा उपासना हो,
    जुन हलले जुताइको तालमा नाच्छ,
    संगीत बन्छ पखेटाहरूमा बसेको पवन,
    र खेतको मुहारमा हाँस्छ प्रकृतिको प्रेम–छाया।

    यहाँका बाढी र सुख्खा ऋषिहरू हुन्,
    जो शीतोष्णसुखदुःखदाः को कथा सम्झाउँछन्,
    आशा र हर्षको सानो पातहरूले पातालदेखि आकाश चुम्ने
    उत्तिष्ठत जाग्रत को उद्गार सुनाउँछन्।

    मोरङको सभ्यता कुनै माटोको सन्दर्भ मात्र होइन,
    यो आत्मा र प्रकृतिको मौन सम्झौता हो,
    जहाँ सूर्यास्तपछि पनि खेतमा बाँकी रहन्छ घामको आत्मा,
    र अँध्यारोमा पलाउँछ उज्यालोको बीउ।

    पृथ्वीको धैर्यलाई हृदयमा थन्क्याएर
    किसानले कर्ममा निपुणता सिक्छ,
    प्रकृतिले सिखाउँछ निरन्तर प्रवाहको धर्म,
    र जीवन सिकाउँछ —
    त्यागपूर्वक उपभोग गर्न, निश्चल भावले प्रेम गर्न।

    यहाँ बग्ने हावामा ईशावास्यमिदं सर्वं गुँजिन्छ,
    र वर्षाको थोपा पृथ्वीलाई व्रतजस्तै स्नान गराउँछ,
    किसानका हातहरूले बजाउँछन्
    कर्मयोगका मौन घण्टीहरू, जसले आत्मालाई शुद्ध पार्छ।

    मोरङको माटोमा चेतनाको बिरुवा उम्रिन्छ,
    हरेक पसिना एउटा मन्त्रोच्चार हो,
    हरेक बीउ एउटा आत्मा,
    हरेक हलको घाउमा आशाको अंशुमाली।

    मोरङको हरियाली कुनै रंग मात्र होइन,
    यो अध्यात्मिक उज्यालोको रंग हो,
    जसले समयको पाटामा लेख्छ—
    कर्म, श्रद्धा, र मानवताको अक्षुण्ण कथा।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र २३, सोमबार २१:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP