logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • शीतल विश्रामको मन्त्र (कविता)

    शीतल विश्रामको मन्त्र (कविता)

    शीतल विश्रामको मन्त्र (कविता)

     

    तोमनाथ उप्रेती

    शीतल पवनले भनेछ,

    “कुलिङ अफ पिरियड त तपस्या हो,
    जहाँ राज्यको बासना शान्त हुन्छ,
    गुटको भूत धूलोमा फर्किन्छ,
    र पदको मोह मौन बन्छ।”

    तर पदमोहले उत्तर दियो,

    “म शासक हुँ, शीतल होइन,
    हुकुमतको चश्मा लाएर पनि
    राजस्वको नालामा आकाश हेर्छु।”

    कर्मचारीको कुर्सीमा बस्दा
    जनताको पसिना नाप्ने रूलर बोकेका हातहरू
    जब शिलान्यासको तस्बिरमा भिज्छन्,
    त्यो दिनबाट नै उनीहरू राजनीतिक कृपा पिपलको छायाँ मा सुत्न थाल्छन्।

    कुलिङ अफ पिरियड भनेको—
    पदको गन्धबाट आफैलाई पखाल्नु हो,
    गुटको घेराबाट हिम्मतले बाहिर निस्कनु हो,
    पदलालसाको विषबाट राज्यलाई बचाउनु हो।

    तर ती भन्छन्—
    “शीतल विश्राम ? आकाश खस्ला कि ?
    नौलो सरकार आउँदा कुर्सी बदल्ने खेल नै धर्म हो,
    जसमा भोटको यज्ञकुण्डमा कर्मचारी आहुति हुन्छन्।”

    कर्मचारीहरूको आत्मा राज्यको गहिराइमा बस्छ रे,
    तर राजनीति आएपछि त्यो आत्मा टेबुलमुनि बक्सामा राखिन्छ।
    हामी देख्छौं—
    बजेट अगाडि बढाउने कागजमा अनुहारको फोटो टाँसिएको छ,
    मन्त्रिपरिषद्को निर्णय कर्मचारीको इशारामा हावा जस्तै मोडिन्छ,
    राज्यको नसा भएर बगेका करहरू “फाइलको गति” मा हराउँछन्।

    हेर !
    सत्तामा नयाँ राजा आउँछ, मन्त्री बदलिन्छ,
    तर सचिव, प्रजिअ, योजना प्रमुख, लेखापाल
    सबै लाइन पाल्टेर नयाँ मालिकको छाँयामा उभिन्छन्।
    यो त राजनीतिक भजन मण्डली हो,
    जहाँ कर्मचारीहरू हार्मोनियमको स्वरसँगै गुञ्जिन्छन्—

    “जय सत्ता, जय अवसर।”

    तर, एकदिन आत्मा बोल्छ—

    “म निजामती हुँ,
    म पदको सेवक होइन, राष्ट्रको सेवक हुँ,
    मलाई विश्राम चाहिन्छ—
    शीतल, शान्त, उज्यालो।”

    त्यो शीतल विश्राम भनेको
    स्वार्थका शृङ्खलाहरू तोड्नु हो,
    दलको गुटमुक्त भएर निस्कनु हो,
    आत्मालाई राजकीय गन्धबाट पवित्र तुल्याउनु हो।

    कर्मचारी दलीयकरण भनेको कालो बादल हो,
    जसले लोकतन्त्रको आकाशलाई धमिलो बनाउँछ,
    विकासको सूर्यलाई हराउँछ,
    जनताको करको रंग रातो बनाउँछ।

    आध्यात्मिक दृष्टिले हेर—
    सत्ता त क्षणिक छ, आत्मा नै अनन्त छ।
    पद त यात्राको विश्रामस्थल हो, राष्ट्रसेवा नै जीवन यात्रा हो।
    लोभ, गुट, सेटिङ यी सबै त परिहास हुन्,
    सत्य भनेको निष्पक्षता, स्वच्छता, निर्भीकता हो।

    तर, हिजो पनि सुनियो, आज पनि सुनिन्छ—
    “तँ हाम्रो मान्छे होइनस्, पछि सर्छस्।”
    “तँ हाम्रो गुटको होइनस्, फाइल रोकिन्छ।”
    “हामीसँग हिँड, छुट दिन्छौँ।”

    तर एकदिन राष्ट्रको आत्मा उठेर भन्छ—
    “अब शीतल विश्राम नआएसम्म यो दुर्गन्ध हट्दैन,
    कुलिङ अफ पिरियड अनिवार्य नहुँदासम्म शासन पवित्र हुँदैन,
    तिमीहरू सबै दलीय भजन त्यागेर नागरिकको मन्त्र पढ।
    राष्ट्रको बासना शुद्ध पार,

    लोभको पर्दा हटाएर आम जनताको आँसु पुछ।

    शीतल पवन फेरि आयो,
    कुलिङ अफ पिरियडको मन्त्र फेरी भन्यो—

    “पद र दलभन्दा ठूलो राष्ट्र हुन्छ,
    स्वार्थभन्दा ठूलो तटस्थता हुन्छ,
    लोभभन्दा ठूलो सेवा हुन्छ,
    र मृत्युभन्दा अमर सत्य भनेको—
    जनताको पसिना कहिल्यै धोका नदिन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र २३, सोमबार २१:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP