विकासका भूतहरू (कविता)
तोमनाथ उप्रेती
कुरा विकासको गरौँ,
राति बत्ती नबलेको सडकले सुनिरहेको छ,
बल्ल बल्ल बनेको पुल,
पहिलो बाढीमै बगेर हाँसिरहेको छ।
ठेक्कादारको पेट,
समृद्ध नेपालका नारा जस्तै फुलेको छ,
जनताको पेट भोकै,
भिजेको मुजुरका गोडा,
राजनीतिक नेताको सूट लगाएर हिँड्न नसक्ने,
तर गफको हाइवे चौडा छ,
‘समृद्धि’का बिल बोर्डहरूमा!
गभर्नान्सको बगैंचामा,
दातृ निकायले सिँचाइ गर्छ,
नेपालको संविधान,
घाँस काट्ने कन्चटमा लुकाएर बसेको छ।
दातृको ड्राफ्टमा लेखिएका ऐन,
नेपालका खेतहरूमा पसिना बगाउनेहरूका लागि होइन,
नेपालका सहरहरूमा सवारी पास लिनेहरूका लागि होइन,
तर सिंगापुर जाने फोरम टूरिस्टहरूका लागि लेखिन्छ!
सत्ता भनेको सत्तै हो,
सत्ताको कुर्सीमा सिंह जस्तो गर्जिने,
तर काममा बाँदर जस्तो फुत्किने,
ठेक्काको चाकडी गर्नेहरूलाई मन्त्री बनाउन,
चुनावी घोषणा पत्रमा हिँड्ने योजना ‘सडक’ जस्तै हुन्छ,
जहाँ गाडा मात्रै गुड्दैन,
ठेक्काको कमिसन पनि गुड्छ,
कमिशनको पेटमा मोटरसाइकलको पेट्रोल बर्छ,
तर विद्यालय जाने बच्चाको पेटमा खाजा पर्दैन।
बजारमा विकासको मोल तोकिन्छ,
औंलाले देखाएर भन्न सकिँदैन,
कति खर्च भयो,
कति आयो,
र कति गयो,
तर मन्त्रीको नातेदारको घरमा नयॉं घर आयो,
आयो त?
भ्रष्टाचार विरोधी पोस्टरहरू च्यातिएर
खै कुन सडकमा हावाले उडायो?
गहिरो किताब होइन,
एउटा कार्ड खेलजस्तै भएको छ,
जब चाह्यो, जसरी चाह्यो, जसका लागि चाह्यो,
चिप्लाएर खेलियो,
संसदका गल्लीहरूमा
ठेक्का पास, बजेट पास,
जनताको आवाज पास भएको छैन,
पास भएका छन्, गफ,
र संसदका कुर्सीमा निदाएका सांसदहरू।
सडकमा जनताको नारा गुन्जिएको छ,
‘समृद्ध नेपाल, सुखी नेपाली’
तर पोस्टरको मुनि पसिना बगिरहेको छ,
सडकमा फाटेका चप्पलले छाप छोडिरहेको छ,
तर सरकारी गाडीको टायरले त्यसलाई मेटिरहेको छ।
बजेट भनेको एम्बुलेन्सजस्तो छ,
आवाज गर्छ, घन्किन्छ,
तर बिरामी लिन कहिल्यै आइपुग्दैन,
आए पनि कागज भर्न भन्छ,
तिमी मर्न तयार हुनुपर्छ, बचाउने ग्यारेन्टी छैन!
पानीजहाज सपना जस्तै छ,
जहाज बनाउने घाँटीमा बाढी आउँछ,
क्यान्सर लागे जस्तो योजनाहरू
हात्तीझैं ठूला, मुसा झैं कमजोर,
तीन वर्षमा एक इन्च हिँड्दैनन्,
तर बिल पास चाहिँ हुन्छ,
आर्थिक वर्ष सकिनुअघि!
सरकारी सिस्टमको धड्कन बन्द भएको छ,
घुस नदिए सिस्टम चल्दैन,
फाइल नचलेसम्म, मान्छे मर्छ,
फाइल चलाउन,
मन्त्रीको फोन, नेताको चाकडी,
र कर्मचारीको चिया खर्च चाहिन्छ।
नयाँ कानुन, पुरानो समस्या,
पुरानो कानुन, नयाँ समस्या,
कानुनकै किताबले कानुन तोड्छ,
प्रशासनिक कुर्सीको माइकले
नयाँ लफडा सिर्जना गर्छ।
हे शासन!
तिमी कानुनका किताबजस्तै बन्यौ,
जहाँ न्याय खोज्दा,
घाम छिर्न नसक्ने गहिरो गुफा भेटिन्छ,
जहाँ विकासका पोस्टरले सहर रंगाइदिन्छ,
तर गाउँका खण्डहरहरूमा
बालबालिकाको सपना खरानीमा झर्छ।
हे विकास!
तिमी खरायो हौ,
हामी कछुवा हौं,
तिमी सधैं दौडिन्छौ,
हामी सधैं सपना देख्छौं,
तर कहिल्यै जित्दैनौं!
प्रतिक्रिया