मानवताको रक्षा गर
✍️ तोमनाथ उप्रेती
सभ्यताका कंकालहरूमा
मानवताको रगत सुक्दैछ,
र मानव नामको गीत
युद्धका गर्जनहरूमा हराउँदैछ।
गाजाका आकाश मात्र होइन,
सारा पृथ्वी नै आज रगतको नक्सा बनेको छ
जहाँ करुणा नापिन्छ बारुदको तौलमा
र धर्म मर्छ सत्ता र स्वार्थको धुँवामा।
सभ्यताहरू टकराइरहेका छन्,
धर्मका नाममा, जातका नाममा, भूगोलका नाममा
पवित्र ग्रन्थहरू अब तोपका नालमा व्याख्या गरिन्छन्
र शान्तिका मन्त्रहरू नाफाका घोषणापत्रमा रूपान्तरित छन्
मानवता, जुन कहिले ईश्वरको प्रतिरूप भनिन्थ्यो
आज बजारको वस्तु बनेको छ
जहाँ आँसु पनि बिक्री हुन्छ, र पीडा पनि प्रचार हुन्छ।
टेन्टका छानामुनि भोक र भय सँगसँगै सुत्छन्
र सर्जनको हातमा काँपिरहेको छ करुणा
किनभने ऊ जान्दछ
अस्पताल अब शान्तिको मन्दिर होइन
युद्धका आँसु सुकाउने प्रयोगशाला बनेको छ
रगतका थोपा अब केवल जीवनका प्रतीक छैनन्
तिनीहरू सभ्यताका अपराध–दाग हुन्
जसले सोधिरहेका छन्
“मानवता अझै बाँचिरहेकी छे कि मरेकी”
सभ्यताहरूको यो संघर्ष केवल सीमाको होइन
यो आत्माको युद्ध हो
एक सभ्यताको विज्ञान अर्कोको अस्तित्व नाश गर्न उकासिएको छ,
र धर्मका नाममा मानिसले ईश्वरलाई समेत बाँडेका छन्
प्रार्थनाहरू अब गोलाबारुदको ध्वनिमा डुबेका छन्,
जहाँ बच्चाहरूको रुवाइले पनि आकाश फाट्न सक्दैन।
भोक र भयको बीचमा जन्मिएका शिशुहरूले
मानवताको अन्त्य–गीत गाइरहेका छन्
हामी केवल मर्नका लागि होइन
जीउनका लागि जन्मेका थियौं
तर सभ्यता बहर भएको छ,
उसले करुणाको भाषा बिर्सिसकेको छ।
पृथ्वी, जसले कहिल्यै सन्तानहरूलाई आशीर्वाद दिइथी
आज रगतको सागरमा आँसु बगाइरहेकी छ
तर आकाश अझै मौन छ
शायद ऊ प्रतीक्षा गर्दैछ
कुन दिन मानवले आफ्नो आत्मा पुनः खोज्नेछ?
जब त्यो दिन आउँछ
जब प्रेम बारुदभन्दा शक्तिशाली हुनेछ
त्यो दिन मानवता पुनर्जन्म लिनेछ
त्यसअघि, यी अन्धकारका मैदानमा
रगतले लेखिएको प्रार्थना निरन्तर गुन्जिरहनेछ
“हे ईश्वर, सभ्यताको होइन
मानवताको रक्षा गर।”
प्रतिक्रिया