देवयुद्ध र बिहानको खोज
तोमनाथ उप्रेती
हे आत्मा, यो युद्ध त पवित्र भनियो,
तर पापका अन्नहरू टिफिनमा राखी,
हिजोको प्रार्थना कवच बनाई,
पूर्वको उज्यालो यात्रा गर्दै छु म।
जहाँ स्वर्गदूतहरू कफीका कप खसाउँछन्,
अर्ध निद्राको क्षमाजस्तो ग्रिनेड फ्याँक्छन्,
र युद्धभूमिमा जलेको नैवैद्यको गन्ध आउँछ,
वा सायद, ईश्वरका घरमा जलेको टोस्टको बास्ना मात्र हो।
सन्तहरू बादलका रथमा मन्त्र गुन्जाउँदै गइरहे,
र दानवहरूले भिक्षुहरूलाई लिम्बू पानी बेचे,
हराएका मनलाई छुटमा राहत दिए,
हे आत्मा, यो कस्तो धर्मयुद्ध?
सूर्य, त्यो शाश्वतका चौकीदार, थाकेर आँखा झिम्कायो,
चन्द्रमा हाँस्यो,
जसरी भगवानका बिर्सेका खल्तीमा टेढो सिक्का हाँस्छ।
मैले मन्त्रलाई अस्त्र बनाइ, ओम शान्ति गोलीझैं प्रक्षेपण गरे,
आफ्नै चित्तको हिलोमा जहाँ शंका उम्रन्छ,
पवित्र वर्षाले भिजाउँदा पनि झार उही उस्तै।
डर मेरो सेनापति बनी मलाई चुपचाप देख्यो,
“हे आत्मा, म तेरो गुरु हुँ,” भन्यो,
तर मैले हासोको दक्षिणा दिएँ,
हे साधक!
किन योगी युद्धभूमि पार गर्छ?
आफूलाई अर्को किनारमा भेट्न मात्र।
कर्मका विस्फोट आकाशमा कमल बनेर फुल्दै गए,
परिणामका पातहरू रक्त र क्षमामा खस्दै गए,
पागल सन्तजस्तै, म ती सबैलाई चियाजस्तै मिसाउँदै बसेँ।
जब नगाडा मन्द भए,
ईश्वर आफैँ चिया पिउन झरे,
ज्ञानका बिस्कुट दिए,
तर मैले रिफन्ड मागेँ।
उनीहरूले हासो दिए,
र त्यो हासो नै शान्ति भयो,
जसले युद्धको शून्यतामा गुञ्जिरहन्छ।
हे आत्मा!
म अहिले नाङ्गो खुट्टामा खरानी बोकी उभिएको छु,
खाली हातमा विडम्बनापूर्ण शान्ति लिएर,
प्रार्थना र बारुदको गन्ध लिएर,
पर्खिरहेको छु अर्को पवित्र युद्ध—
वा सायद, अर्को बिहानको खाजा मात्रै।
प्रतिक्रिया