logo
  • २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • भँगेराको प्रार्थना

    भँगेराको प्रार्थना

            भँगेराको प्रार्थना

     

        तोमनाथ उप्रेती

     

    आकाशको आँगनमा चिरबिर गर्थ्यो ऊ,
    न्यानो घामका किरणसँगै बस्थ्यो आँपको हाँगामा,
    बिहानको मन्द हावामा जिउँदै थियो उसको सानो सास,
    तर सहरी जंगलका सिमेन्टका पर्खालहरूले
    बन्धक बनाए उसका सपनाहरूलाई।

    शहरको भीडभाडमा हरायो ऊ,
    मोबाइल टावरका अदृश्य विषले घाउ पारे उसका पखेटाहरूमा,
    विषादीको विषाक्त अन्न खाएर
    उसको आकाशको उडान, पृथ्वीको स्पर्श, हरेक सास,
    सकिन्दै गए— टुट्दै गए— हराउँदै गए।

    भँगेरा, तिमी मात्र चरा होइनौ,
    तिमी हौ हाम्रो साँस, हाम्रो विहानीको गीत,
    तिमी हौ खेतबारीको मुस्कान, हाम्रो जीवनको संगीत।
    तिमीले आकाश चुम्दा हाम्रो चेतना चुम्थ्यो,
    तिमीले माटोमा उफ्रिँदा हाम्रो हृदय उफ्रिन्थ्यो।

    तर अब…
    सिमेन्टका बर्खे भेलहरूमा
    तिम्रा गीतहरू हराए,
    तिम्रा पखेटाका चालहरू हराए,
    छानामा दाना राख्ने हातहरू थाक्दै गए,
    पानी राख्ने कलशहरू रित्तिँदै गए।

    ओ भँगेरा, तिम्रा पखेटामा झुन्डिएको छ इकोसिस्टमको सन्तुलन,
    तिमी हौ धैर्य र न्यानोपनको प्रतीक,
    तिमी हौ प्रकृतिको प्रार्थना र मानव चेतनाको सजगता।
    तिमीले नै सिकाउँछौ,
    ‘संसार सँगसँगै बाँचेको सुन्दर हुन्छ, एक्लै होइन।’

    जब तिमी गुँड बनाउँछौ,
    त्यसमा भविष्य पलाउँछ, आशा पलाउँछ,
    जब तिमी बास बस्छौ,
    त्यहाँ प्रेम र शान्तिको सास बस्छ।

    म भँगेरालाई माया गर्छु,
    यो नारामा होइन, कर्ममा।
    घरको बरण्डामा राखिएको सानो डल्लो दानामा,
    रित्तो गाग्रीमा भरिएको पानीमा,
    र हराएको चिरबिरमा खोजिएको सन्नाटामा।

    ओ प्रकृतिका सानो दूत,
    फर्क र जीवनमा पुनः गाऊ चिरबिर,
    हाम्रो आत्मालाई पुनः जीवित पार,
    आकाशलाई पुनः निलो पार,
    र धर्तीलाई पुनः हरियो पार।

    तिमी हौ प्राणको पराकाष्ठा,
    तिमी हौ प्रकृतिको पाठशाला,
    तिमी हौ जीवन र मृत्युबीचको पुल।
    हामीलाई सिकाउ,
    सजग बाँच्न, प्रकृतिसँग सह–अस्तित्वमा बाँच्न,
    र जीवनको संगीतमा फेरि चिरबिर गर्न।

    ओ भँगेरा, फर्क!
    हामी तिमीलाई सम्झिरहेका छौँ,
    संसारलाई बचाउन तिम्रो गीत आवश्यक छ,
    न्यानो बिहानका साथसाथै तिमी पनि फर्क,
    किनकि तिमीलाई बचाउनु नै
    हाम्रो आत्मा बचाउनु हो,

    भविष्य बचाउनु हो,

    पृथ्वी बचाउनु हो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन ८, बुधबार २२:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP