काफ्काको ट्रायल र हाम्रो सिस्टम
तोमनाथ उप्रेती,
एक बिहान ब्युँझिदा
जोसेफ के. पक्राउ परे – कसैलाई थाहा छैन किन
हाम्रो देशमा बिहान उठ्ने बित्तिकै
तपाईं पनि पक्राउ पर्नुभएको हुन्छ – प्रक्रियाले।
नजरबन्द होइन, तर
फोटो खिच्नुपर्ने,
सिफारिस जुटाउनुपर्ने,
चिया खाने लाइन बस्नुपर्ने
एउटा अदृश्य मुद्दामा –
‘केही नपाएको’ आरोपमा।
काफ्काको अदालतमा
फाइलहरू हराउँछन्,
हाम्रो मन्त्रालयमा
फाइलहरू हराउँछन्,
त्यो फाइल खोज्न खोज्दा –
फाइल त ‘काममा गइसक्यो’ भन्ने जबाफ आउँछ।
जोसेफ के.लाई थाहा छैन किन मुद्दा चल्दैछ,
हामीलाई पनि थाहा छैन –
किन विकास योजना पास हुँदैन,
किन पैसा छुटिन्छ, तर काम हुँदैन,
किन प्रगति प्रतिवेदन भरिन्छ, तर परिणाम देखिँदैन।
काफ्काको कथामा
जजको अनुहार देखिँदैन,
हाम्रो सिस्टममा
जिम्मेवारीको अनुहार देखिँदैन।
‘हाम्रो कार्यालयमा साक्षात् काफ्का बास गर्छ,’
फरक यत्ति हो –
त्यहाँ त्रास, यहाँ त्राससंगै हास्य।
कसैले भन्न सक्छ –
‘यसपालि फाइल तपाईंको टेबलबाट जान्छ’
तर त्यो फाइल कतै जान्न सक्छ,
हातबाट चिया गिलास झरिहालेजस्तो
फाइल पनि खस्छ,
कसैले टिप्दैन – किनभने हरेकको हातमा
फेरि अर्को फाइल अड्किएको हुन्छ।
काफ्काको न्यायालयमा,
पात्रहरू चिच्याउँछन्, थाक्छन्, फर्कन्छन्,
हाम्रो कार्यालयमा,
पात्रहरू पेन घिसार्छन्, टेबल ठटाउँछन्,
फरक यत्ति – यहाँ मुद्दा ‘टुंगिँदैन,’ तर ‘गर्छु’ भन्दै अलमलिन्छ।
काफ्काले प्रश्न गर्छन् –
“न्याय के हो ?”
हामी प्रश्न गर्छौं –
“कर्मचारी कहाँ छ ?”
कर्मचारी प्रश्न गर्छ –
“तपाईं कति चोटी सोध्न आउनुभयो ?”
काफ्काले देखे –
अदालत गन्धाउँथ्यो,
हामीले देख्यौं –
फाइल गन्धाउँछ,
तर गन्ध फेरि नियमको हुन्छ।
‘भ्रष्टाचार’ हाम्रो अदालतको पनि मुद्दा होइन,
मन्त्रालयको पनि मुद्दा होइन,
तर सबैको जिब्रोमा झुण्डिएको निरन्तरको अपवाद हो।’
जोसेफ के.को जन्मदिनमा मुद्दा लाग्यो,
हाम्रो देशमा चुनावको बेला मुद्दा लाग्छ,
कसैको मुद्दा चलेकै चल्छ,
तर कहिल्यै फैसला हुँदैन।
आखिर जोसेफ के. पनि थाक्छ,
अन्तिममा मौन हुन्छ,
हाम्रो पनि हालत त्यस्तै –
“हजुर, जे हुन्छ, हुन्छ” भन्दै काउन्टरमा चुप लाग्छौं।
किनकि यहाँ फाइल ‘भगवान’ हो,
र मुद्दा ‘अमर’ हो,
यहाँ न्याय पनि ‘प्रक्रिया’ हुन्छ,
र प्रक्रिया नै ट्रायल।
प्रतिक्रिया