युद्ध र बिपीको सपना
तोमनाथ उप्रेती,
आमा भन्छिन् –
“छोरी, घाम लाग्दैन आजकल,
बमको उज्यालोले घामको स्थान लिन्छ।”
बच्चाले सोध्छ –
“आमा, के युद्ध पनि सुत्छ राति?”
आमाले जवाफ दिन सक्दिनन्,
किनकि रातको निद्रामा पनि गोली वर्षन्छ।
बिपीको स्वर सम्झिन्छु –
“लोकतन्त्र राजनीति मात्रै होइन,
यो जीवनशैली हो।”
तर युद्धले जीवनशैलीलाई
मृत्युशैलीमा बदलिदिएको छ।
जनताको आवाज बन्द भएको छ,
गोलाबारीले “मताधिकार” हराएको छ।
युद्ध हास्दै भन्छ –
“म त विकासको साधन हुँ,
देश बनाउँछु।”
तर विकासको नाममा
सडकहरू खाडलले भरिन्छन्,
स्कूलहरू चिहान बन्न पुग्छन्।
रगतले सहरलाई रातो बनाउँछ,
बालिकाहरूले प्वाँख काटिएका चराहरू देख्छन्।
रुन खोज्छन्,
तर बमको आवाजले रुवाउँदैन,
आफू नै थर्थराउँछन्।
आमाहरूको आँखा–
धुवाँले रातो बनाएको,
गास छैन, बास छैन,
तर उनीहरू बाँच्नुपर्छ भन्ने विश्वास छ।
किनकि उनीहरूको कोखमा
भविष्य लुकेको छ।
लोकतन्त्रको नाममा
“लोक” हराउँछ,
र “तन्त्र” बाँकी रहन्छ।
भीडतन्त्रले चिच्याउँछ –
“हामी लोकतन्त्र हौं।”
तर भीड कहिल्यै नागरिक हुँदैन।
सानो केटाले हाँस्दै भन्छ –
“पापा, म पनि सैनिक हुन्छु।”
तर पिताले चुपचाप आकाशमा हेरिहाल्छन्,
जहाँ ड्रोन उडिरहेको छ।
शरीरमा हड्डी छ, आत्मामा डर छ,
फेरि पनि बाँच्ने आशा बाँकी छ।
युद्धको भीडमा संवाद हराउँछ,
बिपी भन्छन् –
“संवाद जीवन हो,
संवाद बिनाको क्रान्ति हिंसा हो।”
तर युद्धले संवादलाई बन्दुकको नालमा बन्द गर्छ।
भगवानसँग सोध्छु –
“हे भगवान, तिमी किन मौन छौ?”
भगवान भन्छन् –
“मानवताको हत्या भइरहँदा
तिमीहरू नै मौन थियौ।”
बुद्धको शान्तिमा युद्धको विस्फोटले घाउ पार्छ,
गीता सम्झाउँछ –
“अहिंसा नै परम धर्म।”
सहरहरू रङ्गीन हुँदैनन्,
धुवाँले कालो चित्र बनाउँछ,
बच्चाहरूका खेलौना
फायरिङ लाइनमा हराउँछन्।
रातमा घाम खोज्दा
चन्द्रमाको सट्टा
मिसाइल देखिन्छ।
हे युद्ध,
बालबालिकाको हाँसोको करणी नगर,
आमाको सासमा बारुद मिसाऊ भनेर आग्रह नगर,
शान्ति मात्रै भगवानको अर्को नाम हो,
त्यसैले तिमी पनि शान्त रह,
नत्र मानवता समाप्त हुन्छ,
र तिमी पनि बेकार हुन्छौ।
बिपीको सपना बाँच्न दे,
लोकतन्त्रको वास आँगनमा ल्याइदे,
आफ्नै विवेकको फूल फुल्न दे,
रगत होइन, सपना उमार्न दे।
प्रतिक्रिया