मरेको घोडा महोत्सव
तोमनाथ उप्रेती
बुल बजारको बडबड ब्यापारमा,
जहाँ ब्रोकर्सले बर्बराउँदै बकवास बेच्छन्,
चियाको कपमा जस्तै हल्लाका आँधी चलाउँछन्,
त्यहाँ मरेको घोडा सुनका हारमा सजाएर
टेलिग्रामका तीर्थमा घुमाइन्छ,
जहाँ विश्वासीहरूले आफ्ना रुपैया बलिदान चढाउँछन्
“छिटो-छरितो कमाइका भगवान” सामु।
उनीहरू भन्छन् :
“जसरी पनि जित, फिक्का छ भने फुलाइदे—
उड्न नसके फुलाएर नै उडाउन पर्यो।”
हेर्नुहोस्, व्हाट्सएप मन्दिरमा कानाफुसी गर्दैछन्,
“किन, दाइ, किन—
यो सिनो पनि दौडिन्छ,
यो लास पनि लम्किन्छ,
यो शव पनि शेयर सर्किट जित्छ।”
हे लगानीकर्ता,
तिमी आशालाई मुकुटसरि धारण गर्छौ,
जब हर्ष मेहताका अनुयायीहरू
मोहको मायाजाल बुन्छन्,
बबलहरू फुलाउँदै,
सूर्यको प्रभालाई समेत ढाक्ने प्रयासमा,
हरेक श्वासमा आशाको स्पन्दन,
हरेक हल्लामा प्रार्थनाको मणिमाला—
जसरी भक्ति र विश्वासले
मृत देहमा पनि पुनर्जीवनको आकांक्षा जगाउँछ।
हेर्नुहोस्, ती “फाइनान्सका अनुयायीहरू”
जुत्ताले होइन, जिब्रोका जटिल भाषणले मैदान ओगट्दैछन्,
घाटा बेहोरेका कम्पनीका विगतका वेदनाहरूको गाथा गुनगुनाउँदै,
तर फेसबुकका पानामा मिथकका महलहरू निर्माण गर्दैछन्।
बुलका ती बबलहरू क्रमशः फुल्छन्—
विशाल, अझ विशाल, अझै विशाल—
तर अन्ततः यथार्थको सुईले
एकैछिनमा च्यातिदिन्छ,
र आशाहरू निराशाका धागोमा चुर्लुम्म डुब्छन्।
“कर्मण्येवाधिकारस्ते” भनेका थिए,
तर बिर्सिए—
कर्ममा क्षमता र विवेक अपरिहार्य हुन्छ,
नत्र त्यो पार्किङको खाली मैदानमा हलो जोत्नुसरह निस्फल हुन्छ।
तिमी बजारको भुलभुलैयामा रमाउँछौ,
तर हेर्न बिर्सन्छौ—
तिम्रो घोडा प्राणहीन भइसकेको छ,
तिम्रो खातामा साँसको संजीवनी बाँकी छैन,
तिम्रो आशा आश्रय बिहीन छ।
हे, नेपालका नवशक्ति खोजी गर्ने युवाहरू,
बजार कुनै जादुको दियो होइन,
यो त आत्मदर्शनको ऐना हो,
तिम्रो लोभको लिप्सा देखाउने,
तिम्रो अधैर्यको आलस्य देखाउने,
तिम्रो डरको दुर्दशा देखाउने।
“मृगतृष्णासँग आसक्त नहुनू,
मृत घोडाको पृष्ठमा यात्रा नगर्नू,
आभासी छायालाई अन्न खुवाउने प्रयास नगर्नू।”
किनकि लगानी विवेकविहीन भएमा
त्यो अज्ञानको प्रहसन मात्र हुन्छ,
ठगीको तमाशा मात्र हुन्छ,
जहाँ तिमी आफ्नै मूल्यमा
आफ्नै विनाशको अभिनय अवलोकन गर्न बस्छौ।
मरेको घोडा मरेको नै हुन्छ,
यसका खुट्टाहरू खोक्रा हुन्छन्,
यसको मुटु अस्तित्वविहीन हुन्छ—
प्रतिक्रिया