पानीको पर्खाइमा उभिएको पृथ्वी
तोमनाथ उप्रेती
पानीका सूखे नदीहरू बग्दैछन्
हावाको सुस्केरामा मात्र,
धानका हरिया सपनाहरू
माटोका चिराहरूमा च्यातिँदै छन्,
जुन चिराहरू
आमा धर्तीका ओठका चिरा हुन्,
जहाँ हाँसो होइन,
प्यासको ध्वनि सानो सानो गरी चिरिक्क बज्छ।
साउनको कालो बादलहरू
दर्शक बनेर हेरिरहेका छन्,
धर्तीको टिउटिउ आवाज,
जुन बेलामा शालिकरामका धानका बिरुवाहरूले
पानी माग्न हात उठाउँछन्—
बिरुवा पनि प्रार्थना गर्न सिक्छन्,
जब आकासे पानीको आशामा
हरियो सपनाले आफ्नो पात फुकाएर
अश्रु टिप्दै जान्छ।
पुत्तन बागवानका खेतहरू
जुन कहिले हाँस्दथे हरियालीमा,
अहिले छालाका चिराहरूले कुरिरहेका छन्
पानीको एउटा थोपा,
जसरी आमा आँखा तिर्मिराउँछिन्
रुँदै गरेका सन्तानलाई
एक थोपा दूधका लागि।
धरतीले पिउन नपाएको पानी
सौर्य तापमा बाफ बनी उड्दैछ,
बाँकेका धानका बिरुवाहरूको सपनाहरू
हावाका पखेटामा उड्दैछन्,
र खेतमा धाँजा पर्ने हरेक क्षण,
पृथ्वीको मुटुमा एक चिरा थपिन्छ।
बिक्रम यादवका खेतमा
धानका बिरुवाहरूका ओठ सुक्दै छन्,
कहिले मेघको ओछ्यानमा हरियो गन्ध आउँथ्यो,
आज आकास शून्य छ,
र किसानका पाइलाहरू भारी छन्,
खेततिर फर्किन मन नलाग्ने भीम ओलीका पाइला,
माटोको टाटीले तान्छ,
तर निराशाका धूलोले पखेटा कच्याककुचुक पार्छ।
पानी, हे पानी!
तिमी त केवल जीवन मात्र होइनौ,
तिमी त सभ्यताको आयु हौ,
धानका बिरुवाहरूका मुटुको स्पन्दन हौ,
हरेक थोपा तिमी अस्तित्वको कविताका अक्षर हौ,
जसले पृथ्वीलाई हरियो पृष्ठ दिन्छ।
खडेरीले बाँकेका किसानहरूको सपना सुकाउँदा
माटोबाट उडेको धूलोले लेखिरहेको छ
एक अदृश्य करुणाको महाकाव्य,
जुन कविताको रङ्ग हो—माटोको सुन्तला रङ्ग,
र शब्द हो—प्यासको गन्ध।
तिमीले थाहा पाउनेछौ,
पानी मागिरहेका बिरुवाहरूको हाँसो कति प्रिय हुन्छ,
जब खेतहरूमा पानीको गन्ध फैलिन्छ,
जुन गन्धले संसारको सबैभन्दा सुन्दर इन्द्रधनुष बनाउँछ,
र जब खेतहरू हरियालीले हाँस्छन्,
त्यो हाँसोमा पृथ्वीको जीवन रमाउँछ।
हेर, बाँकेका धानखेतका चिराहरू,
धरतीको ओठहरू हुन्,
र पानीका थोपा, करुणाका चुम्बन हुन्,
जब ती चुम्बन ओठहरूमा पर्छन्,
अस्तित्व फुल्छ,
सपना उम्रन्छ,
र जीवनको श्वास फेरि फिर्ता आउँछ।
प्रतिक्रिया