अन्तर्दर्शनको सिंहासन
– तोमनाथ उप्रेती
सबैभन्दा ठूलो संसद् हाम्रो अन्तरात्मा हो,
जहाँ कुनै सभामुख छैन, न त पिए, न त माइक–
तर हरेक मौन क्षणमा चलिरहेका छन् बहसहरू,
हृदयको कुर्सीमा बस्छन् आत्मा र उसको प्रतिचाया।
त्यहाँ पार्टी–पंक्तिहरू छैनन्, तर द्वन्द्व चाहिँ छ
इच्छाको विपक्षमा विवेकको प्रस्ताव,
मोहको समर्थनमा स्वार्थको संशोधन,
र आत्मबोधको रूलिङ: “संयम कायम रहोस्!”
मनमा चल्छ विश्वासको बजेट सत्र,
आशंका भने सधैं ‘कटौती प्रस्ताव’ लिएर आउँछ।
एकान्तको गलियामा उठ्छन् जनताको आवाजहरू,
तर त्यो जनता को हो? आफू वा आफ्नै छायाँ?
ईश्वर त्यहाँ सांसद होइन,
ऊ त केवल एक गुप्त पर्यवेक्षक हो,
जो ‘कोरम’ नपुगेको बहसमा पनि
ध्यानको मौनता लिएर उपस्थित हुन्छ।
यो संसद् बारम्बार स्थगित हुन्छ,
जब क्रोधले हृदयको घन्टी बजाउँछ,
अनि लोभले प्रस्ताव ल्याउँछ —
“शान्तिलाई आजको एजेन्डाबाट हटाइयोस्।”
तर विवेक त्यहाँ कहिल्यै स्थगित हुँदैन,
उसले प्रत्येक बिलको हरेक क्लजमा संशोधन गर्छ,
त्यो नै हो अन्तिम हस्ताक्षर गर्ने राष्ट्रपति—
निर्णयको कलम चलाउने एकान्तको राष्ट्रपति।
योजना आयोग भने अति रोचक छ,
सपनाका योजनाहरू बनाउँछ
तर बजेट लोभको खातामा जान्छ,
र ‘सेवा’ को योजना ‘सेवा शुल्क’ मा रूपान्तरण हुन्छ।
संविधान पनि छ — मनको संविधान,
जहाँ ‘धैर्य’ पहिलो अनुच्छेद हो,
‘प्रेम’ मूलधार हो,
र ‘क्षमा’ आपतकालीन धारा।
यति विशाल संसद् संसारमा कतै छैन,
जहाँ भ्रष्टाचारको इन्क्वायरी आफैंले आफैंमाथि गर्छ,
जहाँ पत्रकार सम्मेलनहरू सपनामा हुन्छन्
र आत्मासंवादमा प्रेस नोट छुट्दैन।
हास्य र व्यङ्ग्य त बगिरहेको छ नै,
जब ‘मोह’ मन्त्रिपरिषद्का अध्यक्ष बन्न खोज्छ,
अनि ‘ज्ञान’ केवल उप–सचिव भएर घाम ताप्छ।
आश्चर्य! ‘नैतिकता’ त कार्यवाहक मन्त्री पनि छैन!
तर कहिले काँही, मौनताको मतदान हुन्छ,
जहाँ आत्माले प्रेमलाई विजयी बनाउँछ
र लोभले हार्दछ, लाजले अनुहार लुकाउँछ।
यो संसद्मा कुनै ‘प्रेस ब्रिफिङ’ छैन,
तर साँचो संवाद भने सधैं ध्यानको कानुनी समितिमा हुन्छ।
फाइलहरू कागजमा होइन, कर्ममा लेखिन्छन्
र त्यसको अभिलेख ईश्वरको ‘सर्वज्ञ डेटाबेस’ मा सुरक्षित हुन्छ।
यदि हाम्रो हृदयको संसद् स्वच्छ रह्यो भने,
बाह्य सत्ता स्वतः नै नीति अनुरूप चल्छ,
किनभने साँच्चिकै शासन त आत्माको स्वीकृति हो—
जसले प्रेम, शान्ति र करुणाको बजेट पास गर्छ।
संसारको सबैभन्दा ठूलो संसद्
कसैले देख्दैन, कसैले चिन्दैन,
तर यही संसद्को निर्णय अनुसार
हामी मनुष्य कि राक्षस बन्छौं।
अब तपाईं भन्नुहोस्—
कुन संसद् बढी शक्तिशाली?
सिंहदरबार कि अन्तर्दर्शनको सिंहासन?
कुन अदालत बढी न्यायपूर्ण?
सर्वोच्च कि आत्मा?
निष्कर्ष एउटै छ—
जब आत्मा मौन हुन्छ, संसार हल्ला गर्छ;
तर जब आत्मा बोलेको हुन्छ,
संसारका सबै सभामुखहरू मौन बन्छन्।
प्रतिक्रिया