युद्धकविता : गाजाको अन्तिम साँझ
(तोमनाथ उप्रेती)
धुवाँ र रगतले बगिरहेको थियो आकाश
निद्रा हराएको थियो पृथ्वीको साँस
बालबालिकाको रुवाइमा भिजेको थियो सागर
र सूर्य पनि त्यहाँ अस्ताइरहेको थियो लाज ।
भत्किएका घरका ढुंगाभित्र
माताहरूका सासहरू अड्किएका थिए
रित्ता पिँध र जलेका पुस्तकहरूबीच
अक्षरहरू रोइरहेका थिए “शान्ति…”
गाजाको आकाशमा बमको बर्षा
धरतीले मातृत्व गुमाएको अनुभूति
र बालकहरूको प्रश्न
“किन हाम्रो बचपनको रंग रातो छ?”
ट्रम्पको हस्ताक्षरले रोक्यो क्षणिक मृत्यु
तर आत्माहरू अझै काँपिरहेका छन्
युद्धविरामको मियो भित्र
शवका ओझेलमा बाँकी छ शान्तिको स्वर ।
विपिनको शव फर्कियो
तर आमा अझै झ्यालमा टोलाउँछिन्,
छोराको मुहार सम्झँदै
रुन पनि डराउँछिन्
हमासका बन्दुकहरू थाकेका छन्
तर क्रोधको धुलो अझै उड्दैछ
इजरायली सीमामा
रगतका छायाँहरू बाँकी छन् ।
सन्धिले लेख्यो “अब शान्ति हुनेछ,”
तर इतिहासले मुस्कुरायो
“शान्ति पनि युद्धको सन्तान हो
यदि मानवीय हृदयले क्षमा गर्न सक्दैन भने।”
अब गाजाका बालबालिकाहरू
फेरि पतंग उडाउन खोज्दैछन्
तर डोरीमा बाँकी छ
धुवाँको गन्ध र गुनासो ।
मध्यपूर्वको मरुभूमिमा
सुरु भएको छ नयाँ बिहान
तर हरेक किरणसँगै
एक प्रश्न उभिन्छ
“के यो साँच्चै अन्त्य हो,
कि अर्को युद्धको सुरुवात?”
प्रतिक्रिया