नयाँ पुस्ताको विद्रोह (कविता)
(तोमनाथ उप्रेती)
नेपाल अब निद्राबाट ब्यूँझिएको छ
जेन–जीको श्वासमा आगो बलिरहेको छ
भ्रष्ट हातहरू तातिरहेका छन् डरले
युवाको आँखा बोलिरहेको छ स्वरले।
यो विद्रोहचेतनाको हो,
यो आन्दोलन क्रोधको होइन, आत्म–संकल्पको हो।
दर्शक थिए उनीहरू, अब निर्देशक छन्,
राष्ट्रको नयाँ पाना लेख्ने लेखक छन्।
सत्ता अब सौदा होइन, सेवा हो,
नेता अब पद होइन, उत्तरदायित्वको देवा हो।
अख्तियारको ढोका अब खुल्नैपर्छ,
मेरिटको फूल अब फुल्नैपर्छ।
नियमको राज्य बनोस्, दलको होइन,
न्यायको गजुर उठोस्, छलको होइन।
शिक्षक, पत्रकार, चिकित्सक, विद्यार्थी
सबै पेशा अब दलबाट आजाद हुन्।
पेशागत धर्म नै लोकतन्त्रको मेरुदण्ड,
स्वतन्त्र मन नै राष्ट्रिय आनन्द।
प्रत्यक्ष कार्यकारी, जनताको उत्तरदायी,
अब देश खोज्दैछ स्थिर, सक्षम र इमानदार माई।
अविश्वास होइन, विश्वासको लहर हो,
विद्रोह होइन, पुनर्जागरणको शहर हो।
अब देशले भनिरहेको छ
“हामी थाकेका छैनौँ, बदलिँदैछौँ।”
नयाँ पुस्ताले लेख्दैछ भविष्यको गीत
सपना होइन — यो युगको प्रतीक।
यो आन्दोलन कुनै क्षणिक तुफान होइन,
यो दीर्घकालीन परिवर्तनको पहिचान हो।
नेपाल अब पुनर्जन्मको मार्गमा छ,
जेन–जीको चेतनामा
एक नयाँ युग जागिरहेको छ।
प्रतिक्रिया