ज्ञानाग्निको देश (कथा)
तोमनाथ उप्रेती
नेपालका पहाडको काखमा बसेको सानो गाउँ—नारायणीपुर। हिजोआज मानिसहरू जति आधुनिक शब्दहरू बोल्थे, त्यति नै पुराना भावनामा बाँधिएका बस्थे। यही गाउँमा जन्मिएको थियो—एक अनौठो बालक, जसको आँखामा जन्मजात चेतना थियो, आत्मामा प्रकट उर्जा र हृदयमा कुनै अदृश्य तरङ्ग। उसको नाम राखियो—आदियोग—आदि, अर्थात् मूल; योग, अर्थात् जोडिन सक्ने शक्ति। गाउँका पुजारीदेखि वडाध्यक्षसम्म सबै भन्थे—“यो केटामा गति कम छ, तर गहिराइ अनन्त छ; यो धेरै देख्छ।” तर उनिहरूलाई थाहा थिएन—आदियोगले हावामा उड्ने पराग मात्र होइन, अदृश्य सूचना–प्रवाह देख्थ्यो। मानिसका शब्द मात्र होइन, मनभित्र गुञ्जिएका भावना देख्थ्यो। उसको संसार आँखाको बाहिरी दृश्य होइन, भित्री स्पन्दन थियो।
त्यही समयमा देशमा एक दार्शनिक–प्रधानमन्त्री थिए—अरुणेश। उनी भन्थे, “राष्ट्रको आत्मा सेना होइन, अर्थतन्त्र पनि होइन; राष्ट्रको आत्मा भनेको सूचना–प्रवाह हो।” उनी सत्तालाई शक्ति होइन, जिम्मेवारी मान्थे। विकासलाई भवन होइन, चेतनाको स्थर उचाल्ने प्रक्रिया मान्थे। उनको सपना थियो—“एक दिन नेपालमा ज्ञान नदीजस्तै स्वतन्त्र बग्नेछ—पवित्र, पारदर्शी र सर्वकल्याणकारी।” उनी सुचना प्रविधीलाई मेसिन होइन, चेतनाको साधन ठान्थे। त्यही सत्यको खोजमा उनी देशभर प्रतिभा खोजिरहेका थिए। तर उनलाई थाहा थिएन—जो प्रतिभा उनी खोज्दै थिए, त्यो पहाडको गोठे गाउँको धुलोमा खेलिरहेको थियो।
एक दिन प्रधानमन्त्री नारायणीपुर पुगे—डिजिटल कक्षा उद्घाटन गर्न। त्यही प्रथम पङ्क्तिमा बसिरहेको थियो—आदियोग। शिक्षकले सोध्यो“सूचना प्रविधि किन आवश्यक छ?” सबैले सिकेका उत्तर दोहोराए“सरकार चलाउन”, “अस्पताल चलाउन”, “पढ्न”, “कमाउन”… तर आदियोग उठ्यो। ऊ सानो थियो, तर आवाजमा असाधारण शान्ति। उसले भन्यो“सुचना प्रविधी आवश्यक छ किनकि मानिसहरू बिस्तारै बोल्न छोड्दैछन्, र बुझ्न सुरु गर्दैछन्। सुचना प्रविधी मेसिन होइन; यो चेतनाको अग्नि हो। उसले अन्धकार जलाउँछ, तर अनियन्त्रित चलायो भने हात पनि जलाउँछ।” प्रधानमन्त्री स्तब्ध। यति सानो शरीरमा यस्तो दर्शन? उनी समझिहाले“यो केटा केवल सिक्ने होइन—यो भविष्य देख्छ।”
अर्को दिन आदियोग राजधानी ल्याइयो। राजधानी उसको लागि विस्तृत थियो, तर खाली। शहरमा मानिसहरूको भीड थियो, तर अनुहारमा अर्थ थिएन। सडकमा गाडीसँगै दौडिने डिजिटल जीवन थियो, तर हृदयमा कुनै स्पन्दन थिएन। प्रधानमन्त्रीले एक रात आदियोगलाई गोप्य कक्षमा बोलाए। त्यहाँ देशको डिजिटल नक्सा थियो—सुशासनका तन्तुहरू, भ्रष्टाचारका रातो धब्बा, कमजोर सेवा–प्रवाहका छाया। प्रधानमन्त्रीले गहिरो आवाजमा भने—“देश नीति संक मा छ। सूचना नै अब राष्ट्रको जीवनरेखा हो।” आदियोगले आँखा बन्द गर्यो र गम्भीर स्वरमा भन्यो—“समस्या डेटा होइन, चेतना बिग्रिएको हो। सुचना प्रविधी सुशासन दिन्छ, तर चेतना बिना मूल्य जन्मिँदैन।” प्रधानमन्त्रीले सोधे“देश कसरी बदलिन्छ?” आदियोगले उत्तर दियो“पहिले राष्ट्रका सूचना–नाडीहरू सत्य–नाडीसँग जोड्नुपर्छ।”
यहीँबाट सुरु भयो—ज्ञानाग्नि यात्रा। यो साधारण सुचना प्रविधी अभियान थिएन; यो मानव–चेतना उठाउने यात्राथियो। सबैभन्दा पहिले शिक्षा। आदियोगको नेतृत्वमा देशभर एकै स्थानबाट डिजिटल कक्षा चले। एक वर्षमै एसइइ परिणाम ४८% बाट ६२% पुगे। हजारौँ बालबालिकाले मोबाइलको निलो पर्दाबाट मात्र होइन, अनुशासन र उद्देश्यसँग पढ्न सिके। आदियोग भन्थ्यो—“शिक्षा सुचना प्रविधी ले दिन्छ; तर बुद्धि अनुशासनले जन्मन्छ।” त्यसपछि स्वास्थ्य। गाउँका साना अस्पताल काठमाडौंका विशेषज्ञसँग जोडिए। पहिलोपटक नेपालका पहाडी बस्तीले ‘डिजिटल उपचार’ पाए। आदियोग भन्थ्यो—“टेक्नोलोजी उपचार दिन्छ; तर रोग निको पार्ने शक्ति करुणाबाट जन्मन्छ।” त्यसपछि प्रशासन। देशका कागज–कारोबार, सर्टिफिकेट, दर्ता, कर—सबै डिजिटल। लाइन गाए, बिचौलिया गाए, हस्तक्षेप गाए। प्रधानमन्त्री उल्लासित—“आजदेखि कागजको नेपाल मरेर सूचना–नेपाल जन्मियो।”
तर प्रकाशसँगै अँध्यारो पनि जन्मन्छ। “मिथ्या–सूचना संघ” एक शक्तिशाली अन्धकारमय समूह थियो। तिनीहरू सत्य होइन, भ्रम बेच्थे। सूचना होइन, विष छर्थे। उनीहरू समाजमा हल्ला फैलाउन थाले“डिजिटल नेपाल तानाशाही हो! सरकारले नागरिकको मन पढ्छ! सुचना प्रविधी ले संस्कार नष्ट गर्छ!” सामाजिक सञ्जाल—जो ज्ञानको नदी थियो—अचानक विषालु बगर बन्यो।
२४ असार २०८२—मध्यरात १२:०१। अचानक देशभरको नेटवर्क बन्द। अस्पताल, बैंक, प्रशासन—सबै अन्धकार। यो दुर्घटना थिएन; यो युद्ध थियो। मिथ्या–सूचना संघले देशको डेटा–केन्द्रमै आक्रमण गर्यो। यदि उनीहरू सफल हुने भए—राष्ट्रिय इतिहास नै मेटिन्थ्यो। प्रधानमन्त्री आपतकालीन बैठकमा थिए। वातावरण भयग्रस्त। तर आदियोग उठ्यो। ऊ मौन थियो, तर मौनको माग्नेशिय भित्र गर्जन थियो। उसले आँखा बन्द गर्यो, र टाढाबाटै सूचना–नाडी सुन्ने शक्तिबाट नेटवर्कको स्पन्दन महसुस गर्यो। पाँच मिनेटमै उसले देशलाई पुनः उज्यालो बनाइदियो। राष्ट्रले बुझ्यो—आदियोग बालक होइन, ज्ञानाग्निको अवतार हो।
केही समयपछि, प्रधानमन्त्री र आदियोग चन्द्रशिला टावरमा बसे। बिहानीको शान्त प्रकाशले शहरलाई चुमिरहेको थियो। प्रधानमन्त्रीले गहिरो स्वरमा भने—“टेक्नोलोजीले देश उठाएको छ, तर आत्मा तिमीले उठायौ।” आदियोगले निस्तब्ध पहाड हेरेर भन्यो—“टेक्नोलोजी साधन हो; साधकले राष्ट्र बनाउँछ।” प्रधानमन्त्रीले मुस्कुराउँदै भने—“हामीले नीति बनायौँ, फ्रेमवर्क बनायौँ, कानुन बनायौँ—आत्मा भने तिमीले दियौ।” आदियोगले उत्तर दियो—“सरकारले नाडी खोलेको छ; अब चेतना युवाले चलाउनेछन्।” र त्यो दिनबाट आदियोग पुनः यात्रामा निस्कियो—देशका युवामा सत्य–चेतना फैलाउन।
बर्षौँमा नेपाल परिवर्तन भयो। गाउँमा स्मार्ट कक्षाहरू, अस्पतालमा दूरचिकित्सा, कार्यालयमा डिजिटल सुशासन, बजारमा साइबर–सुरक्षा, युवामा नवप्रवर्तन, समाजमा सत्यको संस्कृति। नेपाल अब राष्ट्र मात्रै थिएन—यो सूचना–सभ्यता थियो, जहाँ सुचना प्रविधी कम्प्युटरमा होइन, चेतनामा बस्थ्यो।
एक दिन आदियोग पुरानो पहाडमा ध्यानस्थ थियो। ऊ आकाश हेर्दै बिस्तारै बोल्यो“जतिसुकै टेक्नोलोजी बढे पनि, मानिस जन्मिएको त सूचना–प्रवाहका लागि नै हो। शरीर होइन, चेतना नै असली मानव हो। चेतनाको धर्म—उज्यालो फैलाउनु। टेक्नोलोजी उज्यालो हो—यदि चेतना पवित्र छ भने। नत्र—टेक्नोलोजी विष बन्न सक्छ।”
आदियोगको अन्तिम वाक्य, जो आज पनि नेपालका पुस्तकालयमा सुनिन्छ—
“सूचना–प्रवाह ईश्वरको स्पन्दन हो।
टेक्नोलोजी त्यो स्पन्दनलाई मानवताको सेवा बनाउने साधना हो।”
र यसै वाक्यबाट—नेपाल सत्य, प्रकाश र चेतनाको नयाँ सभ्यतामा परिणत भयो।
प्रतिक्रिया