कथाःभाग्यको खण्डहरमा उभिएको मान्छे
तोमनाथ उप्रेती
बागमती बगिरहेकी थिई—धैर्यशील र गहिरो, सहरको समग्र चित्कारलाई बोकेर। उसको धारामा कतै थकित मान्छेका भक्कानिएका सपना बगिरहेका थिए, कतै बिर्सन खोजिएका स्मृतिका टुक्रा तैरिरहेका थिए। चिसो हावा उसका छालमा नाचिरहेको थियो—कहिलेकाहीँ कोमल भएर गोडा छोएजस्तो, कहिले-कहिले काँधमा उक्लिएर काँपाउने जस्तो। अग्ला भवनहरूले घेरेको त्यो साँघुरो पुलमुनि, रात विस्तारै ओइलिँदै थियो—बत्तीहरूको झिलमिल आभा पनि आज मलिन थियो, मानौँ सहर नै थाकेको छ, बोल्न नचाहने, शून्यमा हराएको।
आकाश सिसीझैं मलिन थियो—न त ताराको चमक, न त चन्द्रको ज्योति। बादलहरू फाटेर आकाशमा उदासी छरिएको थियो। समय गहिरिँदो थियो, तर मिङ्माको समय त्यहीँ रोकिन पुगेको थियो।
पुतलीसडकको एक कुनामा उभिएको थियो मिङ्मा—ऊ आफैँसँग। उसको आँखा थकित थियो, तर त्यो थकान शारीरिकभन्दा धेरै मानसिक थियो। भित्रभित्रै उभिएको सन्त्रास, निराशा र निरुत्साहको एउटा अतल कुहिरोमा ऊ आफैँ हराएको थियो। उसको मनको गल्लीमा प्रश्नहरू सलबलाएका थिए—जुन प्रश्नका उत्तरहरूले कहिल्यै उसको जीवनको ढोका ढक्ढकाएनन्।
“अमेरिका जाने सपना अब सपना मात्र होला जस्तो छ,” उसले मनमनै भन्यो। त्यो उच्चारण पनि यति मौन थियो, मानौं आत्मासँग गरिएको सानो सल्लाहजस्तो। उसका आँखामा आकांक्षाको धमिलो बादल मडारिएको थियो। ती बादलहरू यति बाक्ला थिए कि आँखाभित्रको उज्यालो थुनिएको थियो।
दुई वर्ष अघि, अमेरिकाको सपना बोकेर पुतलीसडकका रंगीचंगी पोस्टरहरू पढ्दै, कन्सल्टेन्सीका चिल्लो वाचाहरू सुन्दै, नयाँ जीवनको सपना बुन्दै मिङ्माले आफूलाई संसारको हिस्सा ठानेको थियो। तर, दुई वर्ष बितिसक्दा पनि न त भिसा आयो, न त जीवनमा उत्तर। प्रश्नहरूको पर्खाल अगाडि ऊ बारम्बार लडिरहेको थियो।
हावा चिसो थियो, उसका हातहरू चिसिएर गुम्सिएका थिए। चिसोले ज्यान मात्रै होइन, आत्मालाई पनि सुन्न बनाइदिएको थियो। बागमतीको छाल जस्तै उसका विचारहरू गहिरा हुँदै बगेका थिए—तीव्र, तर मौन। बगिरहेकै ती छालहरू जस्तै, मिङ्मा पनि जीवनको भित्तामा टक्कर खाइरहेको थियो।
उसको पछाडिबाट स्कुलको झोला बोकेर घर फर्किरहेका बालबालिकाहरूको हुल हिंडिरहेको थियो, जहाँ जीवन अगाडि बढिरहेको थियो—तर मिङ्माको समय यत्रातत्र भत्किएको सपना भएर उभिएको थियो। ती बालबालिकाहरूको हाँसो पनि उसलाई चिच्याहटजस्तो लाग्थ्यो—किनभने त्यो हाँसोमा उसले गुमाएको भविष्यको झल्को देख्थ्यो।
ऊ अडियो, गहिरो सास फेर्यो। बागमतीको पुलमा उभिएर उसले संसारलाई नियाल्यो। हरेक हिँड्दो मान्छे उसलाई नियतिमा अडिएको रोबोट जस्तो लाग्यो। मान्छेहरू चलिरहेका थिए, बाँचिरहेका थिए, तर कुनै अदृश्य साँचोले खुम्चिएको थिए।
उसले झ्यालपेटीमा बसेर सिगरेट तानेर हेर्ने सहरको सपना देखेको थियो, तर आज उसले त्यो सपना चिन्दै नचिनेजस्तो लाग्यो। चिसो हावाले उसका गालामा अघोषित आँसुहरू सुखाउँदै लगेको थियो। बागमती बगिरहेकी थिई—ऊ पनि बहिरहेकै थियो, तर न दृश्यमा, न आवाजमा—भित्र कतै, मौनताभित्र।
त्यही मौनता आज उसको साथी थियो—ऊ, बागमती, र चिसो हावा। बाँकी सब उसलाई अपरिचित लाग्न थालेको थियो।
ऊ उठ्यो। चिसो हावाको एक लहरले उसको अनुहार छोयो—तर अब त्यो चिसोपनले उसलाई काँपाएन। त्यो हावा अब जीवनको कठोरता होइन, शुद्धता जस्तो लागिरहेको थियो—स्वच्छ, निर्मल र एक किसिमको आन्तरिक उत्तरदायित्वको संकेत। बागमती अझै बगिरहेकी थिई—तर अहिले उसको धारसँग मिङ्माको मनको धार पनि बग्न थालेको थियो, आत्मग्लानीबाट मुक्तिको दिशातिर।
पुल नजिकैको बैंचमा बसेर उसले हरेक पार हुँदै गरेका मान्छेलाई नियाल्यो—कसैको हातमा फूल थियो, कसैको काँधमा किताब, कसैको आँखा टोलाएको, कसैको अनुहार हाँसेको। ती सबै अनुहारहरूमा एउटै कुरा थियो—बाँच्नुपर्ने कारण।
उनीहरू सबै आफ्नो-आफ्नो जीवनको अधुरो कविताका पंक्तिहरूजस्ता थिए। कसैको कविता युद्धले अधुरो बनेको थियो, कसैको अभावले। मिङ्मा आफैँ पनि त्यही पङ्क्तिमध्ये एक पङ्क्ति थियो—तर अब उसले त्यो कविता आफैँ लेख्ने साहस बोकेको थियो।
“जीवन भाग्यले होइन, हिम्मतले लेखिन्छ,” ऊ भन्थ्यो, तर आजसम्म त्यो भनाइ उसको चेतनाको भित्तामा टाँसिएको कागजमात्र थियो। आज पहिलोपटक त्यो उसले अनुभूत गरेको थियो। भाग्य उसले अब तक कल्पना गरेको एउटा असहाय आवरण थियो—अनि त्यो आवरण अब च्यातिँदै थियो, उसकै प्रश्नहरूको आगोमा।
एकछिन ऊ शून्यमा हेरिरह्यो। अनि उसले झोलाबाट डायरी झिक्यो। त्यसमा ऊ पहिले लेख्ने गर्थ्यो—अमेरिका जाने तयारीका टिपोटहरू, भिसाको प्रक्रियाहरू, कन्सल्टेन्सीको सूची, SOP का मस्यौदाहरू। तर आज पहिलोपटक उसले त्यहाँ आफ्नै मनको एउटा लामो पत्र लेख्न थाल्यो।
“प्रिय मिङ्मा,” उसले लेख्यो, “तँ जुन पीडाबाट गुज्रिएको छस्, त्यो कुनै असफलता होइन, त्यो त आँखा खोल्ने पाठ हो। तेरो आँखाबाट बगेका आँसुहरू अबसम्मको निराशाको भाषा थिए, तर अबदेखि ती आँसुहरू तेरो पुनर्जागरणका साक्षी हुनेछन्। तैंले जीवनलाई गालीनै गाली दियास्, तर त्यसै जीवनले तलाई उत्तर खोज्न बाध्य बनाएको छ।”
उसले कलम थामेको हात बलियो थियो। अब त्यो हातले भिसाको निवेदन मात्रै होइन, जिम्मेवारीको दस्तावेज पनि लेख्न सक्छ। उसका अक्षरहरू अब डराएका थिएनन्—वे आत्मविश्वासले भरिएका थिए।
त्यसै बेला उसको फोन बज्यो—कन्सल्टेन्सीबाट मिस्ड कल थियो। उसले हेरेर मुस्कायो, फोन नउठाई झोलामा फिर्ता राख्यो। “अब म तिमीहरूको फोनको पर्खाइमा बाँच्दिन,” उसले मनमनै भन्यो, “म अब मेरो जीवनको केन्द्र स्वयं बन्न चाहन्छु।”
रात अझ गाढा हुँदै गइरहेको थियो। आकाशमा तारा थिएनन्, तर मिङ्माको भित्री आकाशमा एउटा उज्यालो तारा टल्कन थालेको थियो—आशाको, समझदारीको, आत्म-स्वीकृतिको।
हिँड्दै गर्दा, उसले बाटोमा एउटी वृद्ध आमालाई भारी बोकेर हिँड्न मुस्किल परिरहेको देख्यो। अघि बढेर मिङ्माले त्यो भारी उठायो। ती आमाले चुपचाप उसको अनुहार हेरिन्। केही बोलेनन्। तर त्यो नजरमा एउटा आशीर्वाद थियो, जसले मिङ्मालाई एउटा नयाँ ऊर्जा दियो।
“जीवन बाँच्नको लागि सधैं अमेरिका जानैपर्छ भन्ने छैन,” ऊ आफैँसँग बोल्यो, “साँचो परिवर्तन त यहीं, अहिले, आफूभित्रै सुरु गर्न सकिन्छ।”
उसले विगत सम्झियो—बाल्यकालमा उसले बुबासँग बारीमा काम गर्दा सिकेको परिश्रम, आमाको अनुहारमा पढेको माया, र गाउँको आकाशमा देखेको तारा। यी सबै चीजहरू उसले अमेरिका जाने सपनाको दौडमा बिर्सिसकेको थियो। तर आज, ती सबै चीजहरू फेरि स्मृतिको रङमा पोतिएर फर्किएका थिए।
“मेरो यात्रा अब अमेरिका होइन, आत्म-ज्ञानतर्फ हो,” उसले बागमतीलाई हेर्दै भन्यो।
ऊ फर्कन थाल्यो—न शिर निहुराएर, न आत्मग्लानीको भारी बोकेर। ऊ फर्किएको थियो नयाँ दृष्टिकोण लिएर, जसमा भाग्यको कुनै स्थान थिएन, केवल कर्मको, करुणाको र चेतनाको स्थान थियो।
पुतलीसडकका बत्तीहरू अब उज्यालो लाग्थे, सहरको कोलाहल अब असह्य थिएन। त्यो कोलाहल अब उसलाई बाँचिरहेकाहरूको आवाज लाग्थ्यो।
उसले सडक पार गर्यो, र भित्रभित्रै सम्झ्यो—“आज मलाई अमेरिका नपाएर दुःख लागेको छैन, आज मलाई मलाई आफैँ भेटिएकोमा शान्ति लागेको छ।”
उसले आकाशतिर हेर्यो—अझै त्यहाँ बादल थिए। अझै चन्द्रमा ओझेलमा थियो। तर मिङ्मा मुस्कुरायो।
किनभने उसले अन्ततः बुझिसकेको थियो—”अँध्यारो त सधैं रहन्छ, तर प्रकाश त आफ्नै मनभित्र पनि फुकाल्न सकिन्छ।”
प्रतिक्रिया