logo
  • २०८२ फाल्गुन ३० | Sat, 14 Mar 2026
  • कविताः भित्रको विजय

    कविताः भित्रको विजय

    कविताः भित्रको विजय

     

    तोमनाथ उप्रेती

    फलामलाई खियाले खान्छ
    बाहिरको चोटले होइन
    भित्रै उम्रिएको क्षय हो
    जसले बलियो धातु टुक्राउँछ।

    मानवलाई पनि
    शत्रु बाहिर छैनन्
    घमण्ड, ईर्ष्या, लोभ, स्वार्थ
    झूट र कठोरता
    हृदयमै पलाएर
    दिनानुदिन आत्मा ढाल्छन्।

    आँखा बाहिर खोज्छ
    नराम्रो नजरको बहाना
    तर असली शत्रु
    भित्रको अन्धकार हो
    नकारात्मक सोचको उब्जाइ
    जसले मनलाई बाँध्छ
    सिक्रीको जस्तो
    सम्बन्धलाई चिथोर्छ
    नङको जस्तो।

    तर, यो पनि सत्य हो
    जसरी फलाम
    तेल र चमकले सुरक्षित हुन्छ
    मानव आत्मा पनि
    प्रेमले उज्यालिन्छ
    क्षमाले शान्त हुन्छ
    सहनशीलताले विशाल हुन्छ
    कृतज्ञताले अमर हुन्छ।

    शरीर ठूलो भएर
    महान् मानव हुँदैन
    मन विशाल भएर मात्र
    साँचो मानव जन्मन्छ।

    जहाँ प्रेम बस्छ
    त्यहाँ करुणा फूल्छ
    जहाँ सहनशीलता बास गर्छ
    त्यहाँ शान्ति पलाउँछ
    जहाँ इमान्दारिता बग्छ
    त्यहाँ जीवन
    सुगन्धित बनेर
    अनन्त अर्थ पाउँछ।

    हामी सबैले
    भित्रको शत्रु जितौँ
    कमजोरीलाई अँगालौँ
    सुधारको आँट गरौ
    र प्रेम बाँडौँ

    किनकि साँचो विजय
    बाहिरको युद्धमा होइन
    भित्रको अन्धकारलाई हराएर
    प्रकाश फैलाउनमा छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन १, शुक्रबार २०:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP