युद्धकविता: “गाजाको घामले रुन सिक्यो”
तोमनाथ उप्रेती
गाजाको घामले रुन सिक्यो,
आँशुमा झल्कियो लाशको छायाँ।
बालकको खेलौना ध्वस्त शहर,
आकाशमै टाँगियो बमको छायाँ।
कब्जा भन्दै आयो मृत्युको सन्देश,
शान्तिको भाषणमा युद्धको आदेश।
नेतान्याहुको भाषामा छ तरबार,
शब्दभित्र लुकेको बारुदको भार।
“हमास हटाउने” नाममा बर्सियो क्रोध,
२१ लाख स्वासमाथि लगाइयो बन्दोबस्त।
ललितपुरजस्तै सानो त्यो भूमि,
भया र व्यथा बने राष्ट्रको सीमा।
पाँच बुँदा, पाँच दुःखका चित्र,
एकले बाँध्यो बन्धकको वितृष्णा,
दोस्रोले लुट्यो अस्तित्वको सत्ता,
तेस्रोले तोड्यो मानवताको सत्ता।
चौथोमा फहरायो सैन्यको छाया,
पाँचौंमा हरायो स्वतन्त्रताको माया।
गाजामा न शासन चाहिन्छ, न स्वराज—
त्यो चाहिन्छ, जहाँ जीवन हो आज।
गाजा त चाहन्छ थिएन गोली,
उसले त मागेको थियो पानी र रोटी।
तर हरेक भोकभोकै लड्ने पेटमा
पस्यो बारुद, रित्तियो गीत।
इजरायल–प्यालेस्टाइनको यो घाउ,
कहिले भर्ने? कहिले सम्झाउने शान्ति?
जहाँ बच्चा पनि बन्छ सेनानी,
मृत्युमै लेखिन्छ जन्मको गाथा।
तेलअभिभमा पनि रोए चुल्हा,
मातृहृदयले पनि तोक्यो दु:खको मूल्य।
“हामी शासन चाहँदैनौँ”, भन्छ नेतान्याहु,
तर बमले बोल्छ—”हामी शासन गर्छौँ।”
यो युद्ध होइन अब—
यो त मानवताको चिहान खन्ने यन्त्र हो।
जहाँ शब्द मर्छ, रुदन बल्छ,
गाजाको घाम फेरि… रुन सिक्छ।
प्रतिक्रिया