कथाः रतुवा बग्दो छ
तोमनाथ उप्रेती
रतुवामाईको हरियाली फैलिएको फाँटमाथि बिहानको सुनौलो घाम ओर्लिरहेको थियो। आकाश नीलो थियो, केही बादलहरू टोलाइरहेका थिए। रातभर परेको सिमसिमे पानीले माटो अझै चिसो थियो। गहुँगोरो घामले हिलो खेतहरूमा प्रकाश सरेको थियो, जुन प्रकाशले खेतलाई चामलजस्तो उज्यालो देखाइरहेको थियो। रतुवा र बक्राहा खोलाहरू, विगतका दिनहरू जस्तै, आज पनि निरन्तर बगिरहेका थिए। पानी शान्त थियो, तर कहिलेकाहीँ चट्टानमा ठोक्किँदै सानोतिनो आवाज दिन्थे—मानौँ प्रकृति आफैँ बोलिरहेको हो। ती खोलाहरू बर्सौँदेखि निरन्तर बगिरहेका छन्, तर आजको गर्जनमा गहिरो मौनता मिसिएको थियो, जसले गाउँको हृदयमा एउटा गम्भीर भाव थपेको थियो।
पवन चलिरहेको थियो। हल्का, शीतल हावा खेतमा बर्सिएको जस्तै लाग्थ्यो। बोटका पातहरू हल्लिरहेका थिए, बाँसको झाडीहरू सुसाउँदै थिए। चराहरू चिरबिर गरिरहेका थिए—जुन चराको आवाज गाउँको बिहानलाई ब्यूँझाउने पुरानो घडीसरह थियो। बाँसको झाडीमा गैँडालचिउरी र तित्रा चिच्याइरहेका थिए। आकाशमा सुगाहरू झुण्डमा उडिरहेका थिए, उनीहरूको पखेटाको आवाजले आकाशको शून्यता चिर्दैथियो।
झुर्कियाका कच्ची घरहरू अझै चिसा थिए। घरका छानामा हिलो ओतिएको थियो, जसले हिजोको पानीको स्मरण गराइरहेको थियो। केही घरबाट नुनिलो धुँवाको सानो रेखा उठिरहेको थियो—चुल्हो बलेको संकेत। गाउँ निद्राबाट बिस्तारै उठिरहेको थियो, एक प्रकारको मौन जागरण चलिरहेको थियो।
झुर्किया बस्तीको खेतहरूमा जीवन चलिरहेको थियो। खेतहरू भिजेका थिए, र धान रोपाइँ सुरु भइसकेको थियो। पानीमा डुबेका खेतहरूमा आदिवासी महिलाहरू काममा ब्यस्त थिए। उनीहरूको कपडा मलिन थियो, टाउकोमा आँठो बाँधिएको थियो, शरीर पिठ्युँतिर झुकेको थियो—परिश्रमको प्रतिक। पानीमा गाडिएका खुट्टाले खेतको हिलो च्याप्दै हिँडिरहेका थिए। हातमा बीउ थियो, मनमा सपना। एक भोलिको सपना—जहाँ खेतहरू हरिया हुनेछन्, घरमा अन्न भरिनेछ, र जीवनले फेरि संगीत पाउनेछ।
यस सम्पूर्ण दृश्यमा, मौनता, प्रकृति र श्रमको गहिरो एकता थियो—एक प्रकारको निर्जन सौन्दर्य, जुन केवल श्रमिकको पसिनाले मात्र जीवन पाउँछ।
“सपनाहरू उव्जाउँछन् धानका बिउमा,” माइलो काकाको स्वर गहिरो थियो। “तर त्यो सपना अब विदेशतिर झारिन्छ।”
छेउमै बक्राहा खोला छ। हल्का हिलो पानी। किनारमा गोरु नुहाइरहेका थिए। वृद्धा हजुरआमा दुईजना, खोलाको छेउमा ओढारमा बसेका। एक जनाको हातमा पुरानो मोबाइल। स्क्रिनमा नातिको फोटो। जापान गएको छ। चार महिनादेखि फोन गरेको छैन। गोरी हजुरआमाले चुपचाप आँखा चिम्लिन्।
“आकाश हेर्न त पाइन्छ, अनुहार हेर्न पाइँदैन।”
कति गहिरो थिए ती शब्दहरू। आँखा रसाए। खोलाको पानीजस्तै बगिरहेका थिए भावनाहरू।
बाँसको झाडी छेउ दुई कुकुर खेलिरहेका थिए। एक सेतो, अर्को कालो। पुछार हल्लाउँदै खेततिर दौडिरहेका। खेतको पल्लो छेउमा चराहरूको आवाज अझ बढी थियो। चराहरू उडिरहेका थिए। स्वतन्त्र।
गाउँको बीचमा पुरानो सालको रूख। बृहत् छाँया। रूखमुनि बसिरहेका थिए गाउँका अधबैँसे पुरुषहरू। टोलसभा चलिरहेको थियो। अध्यक्ष बाबुराम झुर्के बोल्दै थिए।
“अस्पतालमा एम्बुलेन्स चलाउने मान्छे छैन। विद्यालयमा विज्ञान पढाउने शिक्षक छैन। वडा अफिसमा कम्प्युटर चलाउने मान्छे छैन।”
एक अधबैँसेले चुइँक्क बोले, “सबै जना त विदेश गए। को बाँकी छ र?”
बाबुरामले मुख झुकाए। त्यसपछि उठे। आँखा रूखतिर लगाए। पल्लो डिलबाट एक केटो डम्फु बजाउँदै आइरहेको थियो। तालको लय फैलियो। बाबुरामले फेरि बोले:
“हामी खेत जोत्न जान्दछौँ, तर अब जोत्नेलाई ताक्ने आँखाहरू छैनन्।”
टोलसभा मौन भयो। चराहरूको आवाज मात्र। सखिनी आमाले बिस्तारै भनिन्,
“लाहुरेहरूको रेमिट्यान्सले घर बन्यो, तर घरमा जीवन छैन।”
यी शब्दहरू हावासँगै बगेर गएका थिए खोलातिर। बक्राहा सुनिरहेको थियो।
त्यही बेला खोलाको छेउमा एक सानो बालक। नाङ्गो खुट्टा। एउटा लठ्ठी समातेको। गाई हाँक्दैछ। गोठाली गर्दैछ। उसका बुबा साउदी अरबमा छन्। चार वर्ष भयो फर्केका छैनन्। घरमा पठाएको पैसाले मोबाइल आयो। तर बुबाको बोली आएन। बालकको अनुहारमा थकाइ छैन, तर खाँचो छ। आकाश हेर्छ। कतै त्यही आकाशबाट बुबा फर्कने हुन् कि?
घाम उक्लिँदै गएको छ। खेतहरू झन् उज्याला हुँदैछन्। महिलाहरूको स्वर खेतमा घुलिएको छ। उनीहरू गीत गाउँछन्:
“आऊ कान्छा धान रोपौं, तिमी नभए मन रोपौं।”
तर कान्छा त परदेश छन्। गीत अधुरो लाग्छ।
अर्कोतिर, घरका आँगनहरू सुनसान छन्। न त हाँसो छ, न त कोलाहल। पिङ खेल्ने बालकहरू छैनन्, जसले कहिल्यै नथाक्ने चिच्याहटले साँझ सजाउँथे। स्कुले झोला बोकेर हिँड्ने ती चञ्चल छोरीहरू पनि छैनन्—जसले आकाश हेर्दै भविष्यको रंग भर्ने सपना देख्थे। विद्यालयहरू खाली छन्। शून्यता यति बाक्लो छ, मानौँ समय नै त्यहाँ रोकिएको हो। कक्षामा शिक्षकहरू छैनन्। चोकमा पढाइको कुरा गर्ने पुस्ता हराउँदैछ। बालबालिकाहरू पढ्न चाहन्छन्, तर पढाउने सपना पूरा गर्नेहरू पनि विदेशिएका छन्। विदेश जानु नियति बनेको छ—परिवार चलाउने नाममा, आफ्नै देश र माटो छोड्ने बाध्यता बनेको छ।
त्यही गाउँमा एक युवती छिन्—शोभा। उसले प्लस टु सकेकी छे, आँखा भित्र उज्यालो भविष्यको सपना बोकेकी। बुबा मलेसियामा छन्, जहाँ उनले पसिना साटेर डलर पठाउँछन्। आमा खेतमा, धान रोप्दै। शोभा नर्स बन्न चाहन्छे—सेवामा समर्पित जीवन। तर गाउँमा न त कलेज छ, न त अवसर। काठमाडौँ जान पैसा छैन, आशा छ तर बाटो छैन। यत्तिकैमा गाउँमा एजेन्टहरू देखापरेका छन्। विदेशी सपना बेच्ने एजेन्ट—क्यानडाको अफर, सस्तो किस्तामा जीवनको मूल्य तोक्दै। शोभा अब निर्णयको दोबाटोमा छ—आफ्नो देशमा संघर्ष गर्ने कि सपनाको देशमा पलायन हुने?
रतुवा खोला चुपचाप बगिरहेको छ। उसको पानीमा कुनै आवाज छैन, तर गहिरो कथा मिसिएको छ। हरेक वर्ष ती खोलाले बगाउँछ—पलायनको मौनता, अधुरो सपना, चिठ्ठीमा सीमित सम्बन्ध, र विदेशिएका सन्तानहरूको गहिरो पिडा। त्यो खोला अब केवल पानीको मात्र होइन, गाउँका सपना, आशा, र बिछोडको वहाव बनेको छ।
साँझ पर्न थालेको छ। जून आकाशमा चढ्दैछ, खेतहरूमा लम्बिएका छायाँहरू झन् लम्बिँदैछन्। चराहरू फर्किरहेका छन्—दिनभरको भोक मेट्न घरतिर लागेका। तित्रा बास बस्न ओर्लिएको छ, अनि बाँसको झाडीमा शीत झरिरहेको छ। कुकुरहरू चुपचाप लम्पसार परेका छन्। खोलाको बगर सुनसान छ—अदृश्य पीडाको साक्षीझैँ।
महिलाहरू खेतबाट फर्किरहेका छन्। पानीमा चोपिएको हात धुइरहेका छन्—दिनभरको श्रमको थकान बगाउँदै। अनुहारमा सन्तोष छ, किनभने परिश्रमको गर्व छ। तर चुपचाप छन्, किनभने जीवन सजिलो छैन। आशा मरेको छैन, तर थाकिसकेको छ।
खोलाले दिनभरको मौनता हटाउँदै रातपख गर्जन गर्न थाल्यो। खोलाको बहाव जति तीव्र बगिरह्यो, उति गाउँका सपना पनि बहिरहे—निरन्तर, मौन र अधूरा।
प्रतिक्रिया