युद्धकविता : निष्कासनको सीमारेखा
(तोमनाथ उप्रेती)
रातको अँध्यारोमा विमानहरू उडिरहेका छन्
रुन पाउने अधिकार पनि बन्द गरिएको छ
नागरिक नभएका आत्माहरू
सीमातर्फ हिँडिरहेका छन् मौन, थकित, अपमानित ।
आइसका हातमा चिसो कागज
र त्यसमा लेखिएको छ “तिमी यहाँका होइनौ
तर प्रश्नहरू अझै बाँचिरहेका छन्
“कहाँका हौँ त हामी?”
बालकहरूको चित्रपाटीमा ध्वजाहरू टुटेका छन्
माताहरूको आँचलमा अमेरिकी धुलो टाँसिएको छ
भिसा सकिएकोले होइन
सपना सकिएकोले उनीहरू फर्किरहेका छन् ।
कसले तोल्यो पीडाको तौल?
भोक, युद्ध र अवसरका अपराधीहरू
कसरी अपराधी भए?
खर्ब डलरको बजेटमा
निर्माण भए पर्खाल, हिरासत, र आँसुका भित्ताहरू
तर कसैले पनि बनाइदिएन
एक पुल मानवताको
जहाँ बाटो सबैका लागि खुला होस् ।
हिउँजस्तै सेतो शहरहरूमा
कालो इतिहासको धूलो उड्छ
र प्रत्येक निष्कासन पत्रसँगै
एउटा कविताको पाना च्यातिन्छ ।
ट्रम्पको हस्ताक्षर तल
आँसुको दाग माथि
शब्दहरू भन्छन्
“सुरक्षा”
तर अर्थ लुक्छ
“विस्थापन।”
प्रतिक्रिया