सदाचारको पुनर्जागरण : नैतिक आचरण र सकारात्मक सोचको आवश्यकता
तोमनाथ उप्रेती
सदाचार मानव सभ्यताको आधारस्तम्भ हो । समाज केवल कानुन, नियम र संरचनाबाट मात्र चल्दैन; यो व्यक्तिको सोच, विवेक र आचरणबाट निर्देशित हुन्छ । आजको समकालीन विश्वमा भौतिक प्रगति तीव्र भए पनि नैतिक मूल्यहरूको क्षय, आत्मकेन्द्रितता र स्वार्थपरक प्रवृत्तिले समाजलाई गम्भीर संकटतर्फ धकेलिरहेको छ । यही सन्दर्भमा सदाचारको पुनर्जागरण अपरिहार्य बनेको छ, जसको मूल आधार नैतिक आचरण र सकारात्मक सोच हो ।
नैतिक आचरण भन्नाले व्यक्तिले आफ्नो जीवनमा सही–गलतको विवेक प्रयोग गर्दै जिम्मेवार व्यवहार अपनाउनु हो । यो सार्वजनिक जीवन र शासन प्रणालीसँग सम्बन्धित छ । जब व्यक्ति आफ्नो पद, शक्ति वा जिम्मेवारीलाई निजी स्वार्थभन्दा माथि राखेर प्रयोग गर्छ, त्यहीँबाट सदाचारको अभ्यास सुरु हुन्छ । सार्वजनिक पदमा बसेका व्यक्तिहरूमा नैतिक आचरण कमजोर हुँदा भ्रष्टाचार, अनियमितता र अन्याय मौलाउने गर्दछ । त्यसैले सदाचारको पुनर्जागरणका लागि नैतिक आचरणलाई व्यवहारमै उतार्नु आवश्यक छ ।
सकारात्मक सोच सदाचारको अर्को महत्वपूर्ण आधार हो । नकारात्मक चिन्तन, असन्तोष र हीनभावनाले व्यक्ति र समाज दुवैलाई कमजोर बनाउँछ । यसको विपरीत, सकारात्मक सोचले आत्मविश्वास, धैर्य र सहिष्णुताको विकास गर्दछ । जब व्यक्ति समस्यालाई अवसरका रूपमा हेर्न थाल्छ, तब ऊ हिंसा, छलकपट र अनैतिक मार्गभन्दा टाढा रहन्छ । सकारात्मक सोचले मनलाई स्थिर राख्दै विवेकको आवाज सुन्न सक्षम बनाउँछ, जुन सदाचारको मूल प्रेरणा हो ।
मानवीय मूल्यहरू—जस्तै करुणा, इमानदारी, न्याय, सहकार्य र सम्मान—सदाचारका जीवन्त आधार हुन् । आधुनिक समाजमा प्रतिस्पर्धा र उपभोगवादी संस्कृतिले यी मूल्यहरूलाई ओझेलमा पारेको देखिन्छ । तर मानवीय मूल्यबिनाको विकास दीर्घकालीन हुँदैन । आर्थिक समृद्धि भए पनि यदि समाजमा विश्वास, सहानुभूति र नैतिकता छैन भने त्यस्तो समाज भित्री रूपमा खोक्रो हुन्छ । त्यसैले सदाचारको पुनर्जागरण भन्नाले मानवीय मूल्यहरूको पुनःस्थापना पनि हो ।
लोकतान्त्रिक शासन व्यवस्थामा सदाचारको महत्व झन् बढि हुन्छ । लोकतन्त्र जिम्मेवार नागरिकता र नैतिक नेतृत्वमा आधारित प्रणाली हो । जब नागरिक सचेत, नैतिक र सकारात्मक हुन्छन्, तब मात्र शासन प्रणाली प्रभावकारी र उत्तरदायी बन्छ । त्यसैगरी, सदाचारी नेतृत्वले सार्वजनिक संस्थामा पारदर्शिता, जवाफदेहिता र विश्वासको वातावरण सिर्जना गर्दछ ।
मानव समाज नीति, कर्म र आचरणबाट चल्ने हो।सदाचार व्यक्तिको विवेक वा अन्तरात्मामा छिपेर रहने त्यस्तो शक्ति हो, जसले व्यक्तिलाई गलत काम नगर्न सचेत गराउँछ । सदाचारी मानिस अन्तरात्माको यही आवाजका कारण स्वार्थ, लोभ, लालसा, आग्रहजस्ता कमजोरीसँग सम्झौता गर्दैनन् । अहिले नेपाली समाजमा चाहिएको विषय नै सदाचार र सुशासन हो । सदाचार र सुशासन एक–अर्कामा अन्तर–आबद्धित छन् । सार्वजनिक संस्थाहरू समाजलाई व्यवस्थित गर्न सिर्जना भएका हुन् । संस्थाको नेतृत्व पनि समाजमा असल आचरण स्थापित गरी संस्कार र सभ्यता व्यवस्थित गर्न निर्माण भएको हुन्छ । नेतृत्व मूलतः विधि र निष्ठाको प्रतीक हो । नीतिप्रतिको निष्ठा नेतृत्व निर्माणको आधार हो, यसरी नेतृत्व निर्माण भएपछि उसले नीतिनिष्ठालाई बलियो बनाउँछ । नेतृत्वको उदाहरणीयताले संस्थाहरू बलिया हुन्छन् । संस्थाहरू बलिया हुनु सुशासनको जग बस्नु हो । सुशासनका लागि नै पदाधिकारी तथा संस्थाहरू परिचालित हुन्छन्, जसमा नैतिकता, सदाचार र व्यावसयिकताका मूल्य आचरणमा देखिनुपर्छ ।
सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो ।सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो ।
सदाचार राम्रो आचरणमा मात्र सिमित छैन, यसले त हाम्रो जीवनलाई गति र दिशा दिन्छ जसले एक व्यक्तिलाई सधैँ अगाडी बढ्न सहयोग गर्दछ्र त्यसैले त सदाचारी नागरिक र शासक भएको देशमा सुशासन कायम हुन्छ र सुशासन भएमा राष्ट्र अग्रगतिमा जान्छ र समृद्धि सम्भव हुन्छ । महात्मा गान्धीले परिश्रमविनाको धन र चरित्रविनाको ज्ञानलाई पाप मानेका थिए सदचारिता असल जीवन जिउनका लागि अपरिहार्य कुरा हो्र नागरिकमा जति धेरै सदचारितको विकास हुन्छ, सुशासनमा त्यतिनै बढी सहजता हुन्छ्र सुशासन कायम रहेको राष्ट्र विकास, समृद्धिका हिसाबले अगाडी हुन्छ, नागरिक सुखी हुन्छन् ।
मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ ।स्वार्थ, लोभ, लालसा, आसक्ति, आग्रह आदिलाई दबाउने सामथ्र्य वा अन्तरमूल्य नै सदाचारको जग हो। कसैले के भन्छ भन्दा पनि के गर्छ र उसप्रति के भनिन्छ भन्ने पक्ष महत्तम हुन्छ सदाचार संस्कृतिमा। कहिलेकाहीं सत्य र उचित कामका लागि परिवेश, समुदाय, समूहमा व्यक्ति एक्लै उभिने साहसमा रहन सक्नुपर्छ । किनकि, सदाचार सत्चरित्र हो, सत्चरित्रभन्दा दुष्चरित्रको फैलावट र क्षणिक शक्ति बढी देखिन्छ।
सदाचारको संस्कृति नबसेको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभमा व्यक्ति दुराचारी बन्ने गर्छ र सदाचार छायामा पर्छ । अनुशासन र इमानदारीको सीमा लालसा, लोभ र आग्रहले भत्काउँछ, यसको विपरीत इमानदारी, अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, असल विचार र असल कार्यले नै असल चाहना प्राप्ति हुन्छ ।राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी नै राज्य प्रभावकारिता विस्तार गर्ने आधार हुन् । समकालीन समाजमा यिनै कुराको औधी माग भइरहेको छ, जसलाई सिद्ध गर्न राज्य संयन्त्रमाथि व्यापक दबाब परिरहेको अवस्था विधमान छ ।
लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सुशासन अनिवार्य शर्त हो । लोकतन्त्र विनाको सुशासन र सुशासन विनाको लोकतन्त्र फस्टाउन सक्दैन । देशको शासन व्यवस्था सक्षम, प्रभावकारी र सफल हुन सार्वजनिक प्रशासनमा नैतिकता, समर्पणभाव, पारदर्शिता, अधिकार प्रत्यायोजन, उत्तरदायित्व, स्वच्छता, जवाफदेही र आर्थिक सदाचार रहनुपर्छ ।राम्रो आचरण, असल चालचलन र सकारात्मक व्यवहार सदाचार हो । सुशासनको एक महत्वपूर्ण खम्बा सदाचारलाई लिन सकिन्छ । सदाचार नीति, नियम र व्यवहारप्रति उच्च सतर्क रही कार्य गर्ने सुविचार, उत्तम आचरण, स्वच्छता, निष्पक्षता एवं इमानदारी हो। सदाचार सैद्धान्तिक विषय नभएर यो आत्मानुभूतिको आन्तरिक आत्मानुशासन सम्बन्धी विज्ञान र अन्तरवोध गर्ने विषय हो ।
कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो ? के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ ।प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ । नैतिक आचरण नै जीवनको महत्वपूर्ण पक्ष हो ।
नैतिकताले नै मानिसलाई उच्च मूल्यांकन हुने अवसरको सिर्जना गर्दछ । त्यसको लागि मनबाट उब्जने प्रशन्नताले ल्याउने अनुभूतिलाई सकारात्मक चिन्तनतर्फ ध्यान आकृष्ट गर्ने प्रवृत्तिको विकास गर्ने अभ्यास गरिरहनु पर्छ । मनले इच्छाएको कर्मलाई मनको पवित्रतासँगै उजागर हुने नैतिक आचरण र कर्ममा विश्वास बढाउनु पर्छ ।यसको लागि जस्तोसुकै कठिन परिस्थिति पर्दा पनि धैर्य र सहनशील भई मनलाई स्थिर राखी मनमा आउनसक्ने कलुषित विचारलाई हटाउनेतर्फ सधैँ सचेत रहनु पर्छ । मन नपरेको र गर्न नहुने कर्मतर्फ मनलाई जबर्जस्ती स्वीकार्ने वातावरण बनाउनु हुँदैन । खुशी बाँड्न सके धेरै उत्तम हुन्छ । यदि खुशी बाँड्न सकिएन भने पनि आफूभित्रको पवित्र मन सधैँ खुशी र उमंग राख्न नैतिक आचरण र चरित्रलाई एकाकार गरी वाह्य आवरणमा देखाउने अभ्यास गरिरहनु पर्छ ।
नैतिकता मानवलाई उसको आचरणको मूल्यांकन गर्ने बलियो आधार पनि हो ।हामी कसैलाई प्रेम गर्छौँ र अझ बढी त्यसप्रति आशक्ति जगाउँछौँ भने त्यसले कहिल्यै तृप्ति दिँदैन । किनकि मानव चाहना एकपछि अर्को गर्दै बढिरहेको हुन्छ । यही तृप्तिको चाहनाभित्र रुमलिँदै जाने हो भने मानिस सधैँ अपवित्रतातर्फ उन्मुख भइरहने अवस्था सिर्जना हुन पुग्छ । इच्छासँगै प्राप्तिको अभिलाषा बढ्नु सत्यबाट विचलित भई असत्यतर्फ आकृष्ट हुनु हो ।मनमा लागेको गर्ने मानवीय स्वभाव तथा आफूभित्र जागृत इच्छा प्राप्ति गर्नु कुनै अव्यावहारिक पक्ष होइन । इच्छा प्राप्ति सबैको चाहना पनि हो । तर पनि चाहना हुँदैमा सामाजिक मर्यादा र आफ्नो जिम्मेवारीलाई स्वार्थपरक चिन्तनतर्फ प्रवाह हुने गरी आचरण र व्यवहारलाई कहिल्यै प्रदर्शन गर्नु हुँदैन । यसले नैतिकतामा प्रश्न उठाउन सक्छ । तसर्थ, यसको लागि सकारात्मक भाव जागृत हुने र समाजमा नयाँ परिस्थिति ल्याउने सोच र चिन्तनलाई आफ्नो इच्छा र चाहनाको सेरोफेरोमा कुशलतापूर्वक प्रदर्शन गर्नसक्ने मानवीय चरित्र हुनुपर्छ ।
नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले कर्मचारीमा आत्म नियन्त्रण र स्व उत्प्रेरणा वृद्धि गर्दछ । यसले सार्वजनिक सेवालाई राजनीतिबाट तटस्थ, निष्पक्ष बनाई सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापरबाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्दछ ।सेवाग्राहीको सरकार तथा सार्वजनिक सेवा प्रतिको विश्वास अभिवृद्धि गर्नमा नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले महत्वपुर्ण भुमिका खेल्दछ ।त्यसैगरी नैतिक आचरण र सदाचारयुक्त नेतृत्वलेसरकारी काम, कारबाहीलाई छिटो, छरितो गराउन सघाउँछ ।महत्त्वपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम गर्ने तथा संरक्षण गराउँन नैतिकता, आचरण र सदाचारले अक्सिजनको काम गर्दछ । सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन कायम गरी जनविश्वास अभिबृद्धि गर्नमा नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले महत्वपुर्ण भुमिका रहेको हुन्छ ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन्।)
प्रतिक्रिया