प्रजातन्त्र दिवसको सुअवसर पारेर लहान–१, पडरियास्थित सिटी ग्लोबल पब्लिक स्कुल प्रा. लि. ले एक भव्य ‘विज्ञान तथा कला प्रदर्शनी’ कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्नो सिर्जनात्मक क्षमता र वैज्ञानिक सोचलाई विभिन्न हस्तकला र प्रयोगात्मक नमुनाहरूमार्फत प्रस्तुत गरेका थिए ।
लहान नगरपालिकाका मेयर महेश चौधरीको प्रमुख आतिथ्य तथा विद्यालयका संस्थापक प्रिन्सिपल विरेन्द्र कुमार चौधरीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले स्थानीय स्रोत र साधनको प्रयोग गरी तयार पारेका सामग्रीहरू प्रदर्शनीमा राखेका थिए ।
जसमा विज्ञानतर्फ सौर्य ऊर्जा, जलचक्र, मानव शरीरको संरचना, वातावरण संरक्षण, प्रदूषण नियन्त्रण र विद्युतीय सर्किट जस्ता समसामयिक विषयमा नमुनाहरू प्रदर्शन गरिएका थिए । त्यस्तै, कलातर्फ चित्रकला, हस्तकला, रङ संयोजन र नेपाली मौलिक संस्कृति झल्किने विभिन्न सामग्रीहरू आकर्षणको केन्द्र बनेका थिए ।
प्रदर्शनीको अवलोकन गर्दै प्रमुख अतिथि नगर प्रमुख महेश चौधरीले विद्यार्थीहरूको सिर्जनशीलताको उच्च प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो,“यस्ता कार्यक्रमले विद्यार्थीहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्छन् । विद्यालय शिक्षा केवल पुस्तकमा मात्र सीमित नभई व्यवहारिक र प्रयोगात्मक हुनुपर्छ । आजको यस प्रदर्शनीले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै नयाँ कुरा सिक्ने प्रेरणा दिएको छ । नगरपालिका शिक्षा क्षेत्रको समग्र विकास र यस्ता सिर्जनात्मक कार्यका लागि आवश्यक सहयोग गर्न सधैं तत्पर छ ।”
कार्यक्रमका सभाध्यक्ष एवं विद्यालयका संस्थापक प्रिन्सिपल विरेन्द्र कुमार चौधरीले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले दाबी गर्दै भन्नुभयो,“हाम्रो मुख्य उद्देश्य विद्यार्थीभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउनु हो। करिब ३ सय विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा हामीले हरेक वर्ष सुसंस्कारसहितका क्षमतावान् र ’टपर’ विद्यार्थी उत्पादन गर्दै आएका छौँ । हाम्रा विद्यार्थीले अन्य विद्यालयमा गएर पनि आफ्नो श्रेष्ठता पुष्टि गरिरहेका छन् । उनीहरूलाई सिर्जनात्मक, व्यवहारिक र प्रतिस्पर्धी बनाउन हामी निरन्तर लागिपरेका छौँ ।”
सोही अवसरमा विद्यालयले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो । शिविरमा सयौँको संख्यामा अभिभावक, विद्यार्थी र स्थानीयवासीले ब्लड प्रेसर तथा सुगरको जाँच गराएका थिए ।
स्कुलकी शिक्षिका वैशाली चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उद्घोषण विद्यार्थीहरू स्वयंले गरेका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक रामानन्द चौधरी, शिक्षाविद् रामनारायण चौधरी, अरविन्द चौधरी, खडक नारायण चौधरी, प्याब्सन केन्द्रीय सचिव विष्णु न्यौपाने लगायत बुद्धिजीवी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अभिभावकहरूले आफ्ना बालबालिकाको क्षमता देखेर खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले सिकाइलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया