बोदेबरसाईन । सप्तरीको बोदेबरसाईन नगरपालिकामा आइतबार अन्तरविद्यालयस्तरीय एकदिने विज्ञान प्रदर्शनी मेला–२०८३ सम्पन्न भएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रदर्शनीमा नगरभित्रका माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।
विद्यार्थीहरूमा नयाँ सोच, सृजनशीलता र वैज्ञानिक खोजप्रतिको रुचि बढाई भविष्यमा नयाँ आविष्कारतर्फ प्रेरित गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
प्रदर्शनीको अवलोकन गर्दै बोदेबरसाईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंहले विद्यार्थीहरूको प्रतिभाको प्रशंसा गर्दै विज्ञान प्रदर्शनीले उनीहरूलाई भविष्यमा सीप, प्रविधि र रोजगारीसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले अब शिक्षालाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिँदै नगरपालिकाले यस्ता विज्ञान तथा प्रविधिमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामसागर यादवले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूलाई सृजनात्मक बनाउन तथा पाठ्यक्रममा सिकेका विषयलाई व्यवहारमा उतार्ने अवसर प्रदान गरेको बताए।
विज्ञान प्रदर्शनी मेलका विज्ञ सुभाष श्रेष्ठले विद्यालयमा अध्यापन हुने पाठ्यक्रमसँग विज्ञान प्रदर्शनी प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यसले सहभागी विद्यार्थी मात्र नभई अवलोकनकर्तालाई पनि व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुगेको बताए।
नगरभित्रका पाँचवटै सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्ना विभिन्न परियोजनाहरू प्रदर्शनीमा प्रस्तुत गरेका थिए। सहभागी विद्यालयका लागि नगरपालिकाले यातायात खर्च तथा खानाको व्यवस्था गरेको थियो।
प्रदर्शनीमा विद्यार्थीहरूले आधूनिक उपकरण, फोहोर व्यवस्थापन, नवीकरणीय ऊर्जा तथा भौतिक र रसायन विज्ञानसँग सम्बन्धित विभिन्न प्रयोगात्मक मोडेलहरू प्रदर्शन गरेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि, नवप्रवर्तन र सृजनशीलता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताएका थिए।
प्रतियोगितामा श्री चन्द्रा नमुना माध्यमिक विद्यालय ८६ अंकसहित प्रथम, इश्वरी हिया जेलेबी माध्यमिक विद्यालय, सारस्वर ७९ अंकसहित द्वितीय तथा श्री ५ महेन्द्र चुन्नी माध्यमिक विद्यालय, मानराजा ७८ अंकसहित तृतीय भएका छन्। त्यसैगरी श्री राजाजी माध्यमिक विद्यालय, काचन चौथो स्थान हासिल गर्न सफल भएको छ।
प्रतिक्रिया