logo
  • २०८३ भाद्र २८ | Sun, 13 Sep 2026
  • सिसामहलभित्रको उज्यालो(नियात्रा)

    सिसामहलभित्रको उज्यालो(नियात्रा)

    सिसामहलभित्रको उज्यालो(नियात्रा)

    तोमनाथ उप्रेती

    हेटौँडाको चिसापानी रङ्गपथतिर जाने बाटोमा बिहानको घाम बिस्तारै फैलिँदै थियो। सडकमा मानिसहरूको चहलपहल सुरु भइसकेको थियो। तर मेरो मन भने बाहिरको भीडभन्दा भित्रको कुनै शान्त ठाउँ खोजिरहेको थियो। गन्तव्य थियो हेटौँडा नगरपालिका वडा नं. ५ स्थित श्री लक्ष्मीनारायण मन्दिर। मन्दिरको नाम पहिले नै सुनेको थिएँ। तर नाम सुन्नु र अनुभूति गर्नु एउटै कुरा होइन। त्यसैले म मन्दिर मात्र हेर्न गएको थिइनँ। म जान चाहन्थेँ—धार्मिक स्थल कसरी मानिसको आस्था, शिक्षा, सेवा र आत्मबोधको केन्द्र बन्न सक्छ?

    मन्दिर परिसरमा पुग्दा सबैभन्दा पहिले मेरो दृष्टि दुईवटा सिसमहलतिर गयो। सूर्यको किरण सिसामा ठोक्किएर अनेक दिशामा छरिएको थियो। एउटा दृश्यले अर्को दृश्य जन्माइरहेको थियो। एउटा अनुहार अनेक कोणमा देखिन्थ्यो। म केही क्षण त्यहीँ रोकिएँ। मनले सोध्यो “सिसाले मेरो अनुहार त देखाउँछ। तर के यसले मेरो वास्तविक रूप पनि देखाउँछ?” भित्रबाट उत्तर आयो “बाहिरको अनुहार देखाउने सिसा धेरै छन्। भित्रको अनुहार देखाउने सिसा दुर्लभ छन्।” त्यही क्षण सिसमहल मेरो लागि मनोरञ्जनको वस्तु रहेन। त्यो आत्मदर्शनको प्रतीक बन्यो।

    राधाकृष्ण सिसमहल तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको रहेछ। अर्को सीताराम सिसमहल भक्तजनको आर्थिक सहयोगबाट बनेको रहेछ। दुई महल। दुई कथा। तर एउटै भावना सामूहिक आस्था। अन्यत्र सिसमहल हेर्न शुल्क तिर्नुपर्ने हुन सक्छ। यहाँ भने निःशुल्क दर्शनको व्यवस्था गरिएको रहेछ। मैले सोचेँ धर्मको सौन्दर्य त्यतिबेला अझ अर्थपूर्ण हुन्छ, जब त्यसले मानिसलाई आकर्षित मात्र गर्दैन, उसको मनलाई पनि केही दिन्छ। पैसा लिएर दृश्य देखाउन सकिन्छ। तर श्रद्धा, ज्ञान र आत्मीयता बिक्री गर्न सकिँदैन।

    सिसमहलबाट बाहिर निस्केर म मूल मन्दिरतिर लागेँ। लक्ष्मीनारायणको दर्शनका लागि मानिसहरू आउँदै थिए। घण्टीको मधुर ध्वनि वातावरणमा फैलिएको थियो। धूपको सुगन्ध थियो। मन्त्रको स्वर थियो। केही मानिस प्रार्थनामा थिए। केही आफ्ना पीडा बोकेर आएका थिए। केही धन्यवाद दिन आएका थिए। मैले आफैँलाई सोधेँ—“मानिस मन्दिरमा किन आउँछ?” मनले भन्यो “ऊ भगवान् खोज्न आउँछ। तर अन्ततः आफैँलाई खोजेर फर्किन्छ।”

    यो मन्दिरको इतिहास पनि आफैँमा एउटा यात्रा रहेछ। विसं २०३२ सालमा अनन्त श्री विभूषित पराङ्कुशाचार्यबाट यसको स्थापना भएको रहेछ। समय बदलियो। पुस्ता बदलियो। तर आस्थाको निरन्तरता रोकिएन। विसं २०६१ सालमा संस्था विधिवत् दर्ता भयो। करिब दुई कट्ठा क्षेत्रफलमा फैलिएको परिसरमा मन्दिर मात्र छैन। आवास छ। शिक्षा छ। योग छ। प्रवचन छ। पाठपारायण छ। सेवा छ।

    मन्दिरको संरचनामा दक्षिण भारतको तिरुपति बालाजीको झल्को पाइने रहेछ। त्यहाँको विधि र नियमअनुसार पूजाआजा हुने रहेछ। परम्परा भूगोलले सीमित हुँदैन रहेछ। भारतको दक्षिणबाट आएको धार्मिक वास्तुशैली नेपालमा आएर नेपाली समाजको आस्थासँग जोडिएको थियो। मलाई लाग्यो—संस्कृति नदीजस्तै रहेछ। ऊ बग्छ। नयाँ ठाउँमा पुग्छ। नयाँ माटो भेट्छ। अनि आफ्नो मूल स्वरूप जोगाउँदै नयाँ पहिचान बनाउँछ।

    मन्दिर परिसरमा तीर्थालुका लागि छ वटा कोठासहित आवासीय व्यवस्था गरिएको रहेछ। एकपटकमा करिब १०–१२ जनासम्म बस्न सक्ने व्यवस्था। मैले ती कोठाहरू हेरेँ। सामान्य थिए। तर त्यहाँ एउटा असामान्य विचार बसेको थियो—अतिथिसेवा। यात्रा गर्ने मानिसलाई केवल दर्शन होइन, आश्रय पनि चाहिन्छ। थाकेको शरीरलाई विश्राम चाहिन्छ। अनि कहिलेकाहीँ थाकेको आत्मालाई पनि। मैले मनमनै भनेँ “धर्मको एउटा ठूलो परीक्षा यही हो। उसले थाकेकालाई ठाउँ दिन्छ कि दिँदैन?”

    त्यसपछि मेरो ध्यान अझ गहिरो ठाउँतिर गयो। मुगु र हुम्लालगायत दुर्गम जिल्लाबाट आएका पाँच जना वटुकलाई आवासीय व्यवस्थासहित वैदिक शिक्षा दिइँदो रहेछ। उनीहरू विद्यालय तहको अध्ययनसँगै संस्कृत र वैदिक ज्ञानतर्फ अघि बढिरहेका थिए। मैले ती बालकहरूलाई हेर्दा भविष्यका सम्भावना देखेँ। शिक्षा प्रमाणपत्रका लागि मात्र होइन रहेछ। शिक्षा संस्कार निर्माणका लागि पनि हो। वेद पढ्नु मात्र पर्याप्त छैन। वेदले सिकाएको सत्यलाई व्यवहारमा उतार्नु ठूलो कुरा हो। ज्ञान तब मात्र प्रकाश हुन्छ, जब त्यसले चरित्र निर्माण गर्छ।

    मन्दिर परिसरको अर्को कुनामा योग साधना चलिरहेको थियो। कस्तुरी योग साधना केन्द्रमा करिब ४० जना नियमित सहभागी हुने रहेछन्। केही मानिस श्वासमा ध्यान दिइरहेका थिए। शरीर स्थिर थियो। आँखा बन्द थिए। बाहिरको संसार केही क्षणका लागि हराएको जस्तो देखिन्थ्यो। मैले पनि केही बेर मौन भएर बस्ने प्रयास गरेँ। मन भने अझै दौडिरहेको थियो। घर। कार्यालय। समाज, भविष्य, विगत। मैले आफैँलाई भनेँ “शरीरलाई रोक्न सजिलो रहेछ। मनलाई रोक्न कठिन।” योगको वास्तविक यात्रा यहीँबाट सुरु हुँदो रहेछ।

    बिहान ६ बजेदेखि १० बजेसम्म। फेरि दिउँसो ४ बजेदेखि ८ बजेसम्म। पूजाआजाको नियमित क्रम रहेछ। पर्व र विशेष तिथिमा अझ ठूलो भीड लाग्दो रहेछ। रामनवमी, कृष्ण जन्माष्टमी, विजयादशमी, झुलन महोत्सव। पुस महिनाको महालक्ष्मी उत्सव। यी पर्वहरू  धार्मिक अनुष्ठान मात्र होइनन्। तिनले समुदायलाई जोड्ने काम पनि गर्छन्। आधुनिक समाजमा मानिसहरू एउटै घरमा बसेर पनि टाढिँदै छन्। यस्तो अवस्थामा मन्दिरजस्ता सामुदायिक स्थलले मानिसलाई पुनः भेटाउने अवसर दिन सक्छन्।

    त्यहाँ लक्ष्मीनारायण व्यास पीठ पनि रहेछ। विसं २०५८ सालमा स्थापना गरिएको उक्त पीठबाट दैनिक वेद, भगवद्गीता र श्रीमद्भागवतको पाठपारायण हुँदै आएको रहेछ। म मार्बलमा लेखिएका गीताका अठार अध्याय हेर्न पुगेँ। प्रत्येक अध्याय। प्रत्येक अक्षर। प्रत्येक श्लोक। मैले अक्षरहरूलाई समयसँग संवाद गरिरहेको पाएँ। कुरुक्षेत्रमा अर्जुनको द्वन्द्व थियो। आज पनि मानिसको मनमा त्यही द्वन्द्व छ। कर्तव्य र मोहबीच। सत्य र स्वार्थबीच। आत्मा र अहंकारबीच।

    गीताको एउटा मूल शिक्षा कर्म हो। कर्मबाट भागेर मुक्ति खोज्न सकिँदैन। मैले मन्दिरको आँगनमा उभिएर सोचें “हामी भगवान्सँग सफलता माग्छौँ। तर के हामी आफ्नो कर्मप्रति त्यत्तिकै इमानदार छौँ?” प्रार्थनाले मनलाई शान्त बनाउन सक्छ। तर कर्मले जीवनलाई अर्थ दिन्छ। भक्ति मनलाई झुकाउँछ। ज्ञान आँखालाई खोल्छ। योग मनलाई अनुशासित गर्छ। सेवा मानवतालाई जोड्छ। यी सबै एकअर्काका विरोधी होइनन्। एउटै आध्यात्मिक यात्राका फरक–फरक पाइलाहरू हुन्।

    सिसमहल फेरि मेरो स्मृतिमा आयो। त्यहाँ एउटा अनुहार अनेकपटक देखिन्थ्यो। मैले महसुस गरेँ मानिसको जीवन पनि त्यस्तै रहेछ। हामी अरूका आँखामा आफूलाई खोज्छौँ। प्रशंसामा आफ्नो मूल्य खोज्छौँ। आलोचनामा आफ्नो अस्तित्व डगमगाउँछ। सामाजिक प्रतिष्ठालाई आत्मसम्मान ठान्छौँ। तर साँचो आत्मबोध बाहिरी सिसामा हुँदैन। त्यो अन्तरात्माको मौन कक्षमा हुन्छ। त्यहाँ न त भीड हुन्छ। न त ताली। केवल आफू र आफ्नै चेतना हुन्छ।

    मन्दिरबाट बाहिर निस्कँदा साँझ पर्न थालेको थियो। आरतीको स्वर फेरि सुनियो। केही मानिस हात जोडेर उभिएका थिए। केही बालबालिका परिसरमा खेलिरहेका थिए। वृद्धहरू मौन बसेका थिए। कसैको हातमा फूल थियो। कसैको हातमा प्रसाद। कसैको आँखामा श्रद्धा। मैले अन्तिमपटक सिसमहलतिर हेरेँ। अस्ताउँदै गरेको सूर्य सिसामा टुक्राटुक्रा भएर चम्किरहेको थियो। एउटा सूर्य। धेरै प्रतिबिम्ब। मलाई लाग्यो सत्य पनि त्यस्तै रहेछ। एउटै। तर मानिसले त्यसलाई अनेक रूपबाट देख्छ।

    म फर्कने बाटोमा थिएँ। तर यात्रा सकिएको थिएन। चिसापानीको बाटो हुँदै हेटौँडाको भीडतिर फर्किँदै गर्दा मनभित्र एउटा प्रश्न लगातार घुमिरह्यो “मन्दिर कहाँ रहेछ?” केही क्षणपछि उत्तर आयो “मन्दिर बाहिर पनि छ। तर त्यसको वास्तविक ढोका भित्र खुल्छ।” लक्ष्मीनारायण मन्दिरले मलाई यही सिकायो आस्था केवल पूजा होइन। शिक्षा पनि हो। योग केवल आसन होइन। आत्मअनुशासन हो। सिसमहल केवल दृश्य होइन। आत्मदर्शनको प्रतीक हो। सेवा केवल दान होइन। मानवताप्रतिको उत्तरदायित्व हो।

    त्यस दिन मैले एउटा सानो यात्राबाट ठूलो कुरा लिएर फर्किएँ। सिसमहलमा देखिएको उज्यालो बाहिरको थियो। तर त्यसले भित्र एउटा दीप बाल्यो। त्यो दीपले भन्यो “आफूलाई हेर्न सिक। आफ्नो कर्मलाई शुद्ध बनाऊ। ज्ञानलाई व्यवहारमा उतार। सेवामा आनन्द खोज। अनि धर्मलाई जीवनसँग जोड।” म हिँडिरहेँ। सडक उही थियो। सहर उही थियो। मानिसहरू उही थिए। तर मेरो दृष्टि बदलिएको थियो। अब मलाई थाहा थियो कहिलेकाहीँ एउटा मन्दिर पुग्नु भनेको भगवान्को दर्शन गर्नु मात्र होइन। आफ्नै अन्तरात्माको ढोका ढकढक्याउनु पनि रहेछ। सिसमहलभित्र धेरै अनुहार देखिन्छन्। तर अन्तिममा खोज्नुपर्ने अनुहार एउटै हुन्छ। आफ्नै अनुहार ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ भाद्र २८, आईतवार ११:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP