“शम्भुनाथ नगरपालिकाको १६ औं नगर सभाको बन्द सत्र असार २६ गते तय भएपनि, सो आगवै उक्त मितिको माइन्यूट तयार गरेर जनप्रतिनिधी र कर्मचारीले हस्ताक्षर समेत गरेको पाइएको छ । कावा नगर प्रमुख अनिता कुमारी चौधरी, सदस्य सचिव समेत रहेका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार नीतिगत भ्रष्टाचार गर्न उद्वत देखिन्छ।,,
राजविराज । आज कति गते हो ? हामी सबैलाई थाहा छ, ‘असार ९ गते ।’
तर, सप्तरीको शम्भुनाथ नगरपालिकाका लागि अहिले नै असार २६ गते भइसकेको छ । यो नगरपालिकाले असार २६ गतेको बैठक पहिला नै आयोजना गरिसकेको देखिएको छ ।
यो नगरपालिकाले २६ असारमा नगर सभाको बन्द सत्र तय गरेको छ । तर, उक्त मितिको माइन्यूट भने पहिला नै तयार गरेर जनप्रतिनिधी र कर्मचारीले हस्ताक्षर समेत गरेको पाइएको छ ।
यो माइन्यूट ७ असार मै तयार गरिएको छ । ‘आज मिति २०८२ साल असार २६ गते बिहीबारका दिन बिहान ११ः०० बजे यस शम्भुनाथ नगरपालिकाको कार्यवाहक नगर प्रमु्ख श्री अनिता कुमारी चौधरी ज्यूको अध्यक्षतामा शम्भुनाथ नगरपालिकाको १६ औं नगर सभाको बन्द सत्र पदाधिकारी तथा कर्मचारीको उपस्थितिमा छलफल गर्न निम्न अनुसार उपस्थित भयौं’ माइन्यूटमा भनिएको छ ।
तयार गरिएको माइन्यूटमा कावा नगर प्रमुख अनिता कुमारी चौधरी, सदस्य सचिव समेत रहेका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारको हस्ताक्षर छ ।
यस्तै, वडा नम्बर १ का अध्यक्ष दुर्गानन्द भगत, वडा नम्बर ४ का अध्यक्ष विजय कुमार साह, वडा नम्बर १२ का अध्यक्ष संजय कुमार साह, नगर सभा सदस्य सेबकी देवी सरदार, सजनी देवी सरदारले पहिला नै तयार गरेको माइन्यूटमा हस्ताक्षर गरेका छन् ।
यो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसहित १९ जना कार्यपालिका सदस्य छन् ।
नगरसभालाई छलेर बजेट बनाउने खेल
यो नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएर निलम्बित छन् । तर, उनको सकृयता नगरपालिकामा अहिले पनि व्याप्क देखिन्छ । उनले र उनले राखेका स्वकीय सचिव अनिल कुमार भगतको प्रमुख मिलोमतोमा नगर सभालाई छलेर आफ्नो अनुकुलको बजेट राख्न यस किसिमको खेल खेलेका हुन् ।
आफू अनुकुल बजेट बनाउन र मनोमानी गर्न पहिला नै माइन्यूट तयार गरिएको श्रोतको भनाई छ । पहिला नै सबैको हस्ताक्षर गरेर नगरपालिकाका निलम्बित मेयर गुप्ता, कावा मेयर अनिता चौधरी, वडा नम्बर ४ का अध्यक्ष विजय साह, प्रमुख प्रशासकीय अधिकृत सुतिहारले आफ्नो अनुकुलको बजेट ल्याउने तयारी स्वरुप पहिला नै माइन्यूट गरेको नगरपालिका श्रोतले जनाएको छ ।
स्थानीय तह संचालन निर्देशिका अनुसार नगर सभाको उद्घाटन सत्र र बन्द सत्र हुन्छ । यो बीचमा बीचमा छलफल हुन्छ । नगर र वडाको योजना, बजेटबारे छलफल हुँदै पेश गर्ने गरिन्छ ।
सभाको उद्घाटन असार ७ गते शनिबार राखिएको थियो । यो सत्रमा नीति तथा कार्यक्रम पारित गरेको छ । उद्घाटनमा सबैको उपस्थिति रहेको मौकामा कावा मेयरका सल्लाहकार अनिल भगतको योजना अनुसार बन्द सत्रका निम्ति सबैसँग पहिला नै हस्ताक्षर गराउने प्रयास गरिएको छ ।
‘यसरी पहिला नै सबैले हस्ताक्षर गरिदिँँदा निलम्बित मेयर, कावा मेयर, स्वकीय सचिव एवं प्रमुख प्रशासकीय अधिकृतले आफ्नो अनुकुलको बजेट राख्ने नियत प्रष्ट रुपले देखाए’ उद्घाटन सत्रमा सहभागी एक जनप्रतिनिधीले भने, ‘नगरसभालाई छलेर नीतिगत भ्रष्टाचार गर्ने दाउमा उनीहरु देखापरे ।’
बैठकमा निलम्बित मेयरका निकटतम रहेकाहरुले हस्ताक्षर गरेपनि अन्य कसैले गरेनन् । यस बिषयमा चर्काचर्की नै परेको थियो । ग्रीन मधेशबाट
प्रतिक्रिया