लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन — सप्तरीको पश्चिमी विकट गाउँ बैरयाहीमा पक्की पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा यातायात सुगमता तर्फ एक कदम अघि बढेका छन्। बोदे बरसाइन नगरपालिका–८ बैरयाही र बलान बिहुल गाउँपालिका–५ रामनगरस्थित बिहुल नदीमा पक्की पुल निर्माण भएका छन्। लामो समयदेखि पुलको अभावमा आवत–जावतमा कठिनाइ भोग्दै आएका स्थानीयले अहिले राहतको सास फेरेका छन्।
बैरयाही गाउँ आसपासका बासिन्दाले वर्षायाममा बिहुल नदी पार गर्न समस्या भोग्दै आएका थियो। पक्की पुल बनेपछि बैरयाही र रामनगर कोदरकट्टी दुरी घटेको छ।
पूर्वाधार विकास कार्यालय राजविराज सप्तरीले रु. एघार करोड रुपैयाँको लागतमा ५० मिटरको पुल निर्माण गराएको कार्यालयका इन्जिनियर बिनोद कुमार यादवले जानकारी दिनुभयो । उक्त पुलको निर्माण कार्य शाह निर्माण सेवाले गरेको थियो। उक्त पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन्।
भारत बिहर राज्यको मधुबनी जिल्लासंगै जोडिएको उक्त गाउँमा पक्की पुल निर्माणसँगै बैरयाही मात्र नभई आसपास गाउँ मानराजा, देउरी, काचन सहित अन्य गाउँका बासिन्दा पनि लाभान्वित भएका छन्। यसले पश्चिम सप्तरीको विकास र सुगमता बढाउने अपेक्षा गरिएको छ।

आज शुक्रबार नव निर्मित पुलको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता आएपछि मात्रै मधेशका गाउँ–गाउँमा विकासले गति लिएको बताएका छन् ।
‘मधेशका गाउँमा जहाँ पनि पुगेर हेर्नु सात वर्षयता नै सडक सञ्जालदेखि पुलपुसेलाहरु बनेको देखिन्छ,’ उनले भने, ‘त्यसअघि यहाँका गाउँमा मोटर गुड्नै समस्या थियो ।’
तर, अझ पनि अपेक्षाअनुसार यहाँ विकास हुन नसकेको उनको भनाइ छ । ‘संघीय सरकारको मधेशलाई हेर्ने फरक दृष्टिका कारण आवश्यकताको आधारमा बजेट नै दिँदैनन्’ उनले भने, ‘बजेट अभावले अपेक्षाअनुसार काम गर्नै सकेको छैन ।’
सो पुलको उद्घानटन समारोहमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, मधेश प्रदेश सभा सदस्य अनिरुद्ध प्रसाद सिंह लगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया