लहान । प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य पत्रकार मनु यादव (निरज) तथा पत्रकार कुलानन्द यादव समाचार संकलनका क्रममा सिरहाको भगवानपुर गाउँपालिकामा अवरोध, धक्कामुक्की, क्यामेरा बन्द गर्न दबाब तथा कार्यालय प्रवेशमा रोक लगाइएको भन्ने घटनाप्रति प्रेस मञ्च नेपाल, सिरहा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ।
पत्रकारहरूले सार्वजनिक रूपमा गरेको दाबीअनुसार सार्वजनिक सरोकारसँग सम्बन्धित विषयको समाचार संकलन गर्न जाँदा गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, उपाध्यक्षका श्रीमान् बुनियालाल यादव तथा अन्य व्यक्तिहरूको उपस्थितिमा समाचार संकलनमा अवरोध सिर्जना गरिएको, क्यामेरा खोस्ने प्रयास गरिएको तथा गाउँ प्रहरीमार्फत कार्यालयभित्र प्रवेश गर्न नदिन निर्देशन दिइएको आरोप लगाइएको छ। यी आरोपहरू गम्भीर प्रकृतिका भएकाले निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन हुन आवश्यक छ।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ। सार्वजनिक सरोकारका विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई अवरोध गर्नु, डर–त्रास देखाउनु वा रिपोर्टिङ गर्नबाट रोक्ने कुनै पनि कार्य लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, पारदर्शिता तथा कानुनी शासनको मर्मविपरीत हो।
यस घटनाको सत्यतथ्य तत्काल निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरी सार्वजनिक गर्न, आरोप पुष्टि भएमा संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गर्न तथा पत्रकारहरूले निर्भय र सुरक्षित वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न प्रेस मञ्च नेपाल सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय सरकार तथा सरोकारवाला निकायसँग जोडदार माग गर्दछ।
साथै, सार्वजनिक निकायहरूले प्रेसलाई लोकतन्त्रको उत्तरदायी साझेदारका रूपमा सम्मान गर्नुपर्नेमा हामी जोड दिन्छौं। पत्रकारमाथि हुने कुनै पनि प्रकारको दबाब, धम्की वा अवरोध अस्वीकार्य छ। यस्ता घटनाले नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमाथि समेत प्रत्यक्ष असर पार्ने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिन सम्बन्धित सबै पक्षसँग आग्रह गर्दछौं।
प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेशागत सुरक्षा तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि प्रेस मञ्च नेपाल सदैव प्रतिबद्ध रहनेछ। आवश्यक परे यस घटनाका सम्बन्धमा थप कानुनी तथा संस्थागत पहल गर्न पनि प्रेस मञ्च नेपाल पछि नहट्ने सिरहा शाखा अध्यक्ष महेश सिंहले जारीको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।
प्रतिक्रिया