logo
  • २०८२ फाल्गुन ५ | Tue, 17 Feb 2026
  •      वैकल्पिक राजनीति वा पपुलिस्ट प्रपञ्च?

         वैकल्पिक राजनीति वा पपुलिस्ट प्रपञ्च?

    तोमनाथ उप्रेती

    नेपालको राजनीतिक आकाशमा वैकल्पिक राजनीतिका नाममा जुन बादल मडारिएका छन्, ती सबै आशाको वर्षा होइनन्। प्रपञ्च र परिवर्तनको सीमामा उभिएको वर्तमान परिवेशले सत्य र भ्रमको पहिचान गर्न सजग चेतनाको माग गर्दछ। मूलधारका दलहरूको असफलता र नेतृत्वको असक्षमताले जनतामा असन्तोषको आँधी उठाइरहे पनि, त्यो आँधीले सधैं परिवर्तनको वर्षा गर्छ भन्ने छैन। धेरैपटक यस्ता आँधीले पपुलिजमको तुषारापात मात्र गर्छ, जसले राष्ट्रको प्रगतिको जमिन चिसो मात्र बनाउँछ, उर्वर होइन।

    नेपालको वर्तमान राजनीतिक परिवेशमा ‘वैकल्पिक राजनीति’ विषयक बहस तीव्र हुँदै गइरहेको छ। यो बहस केवल सैद्धान्तिक विमर्शमा सीमित नभई देशका आम जनताको मनोविज्ञान, असन्तुष्टि र राजनीतिक आक्रोशको प्रतिफल पनि हो। विगतका दशकहरूमा स्थापित तीन प्रमुख राजनीतिक दलहरू—कांग्रेस, एमाले र माओवादी—ले पटकपटक शासन गर्ने अवसर पाए पनि जनताको अपेक्षाअनुसार विकास, सुशासन र समृद्धि हासिल गराउन सकेका छैनन्। असफल नेतृत्व, भ्रष्टाचारका क्रमिक प्रकरणहरू र कुशासनका कारण यी दलहरू जनसमुदायमा कमजोर, असन्तुष्ट र अलोकप्रिय भएका छन्। यस्तो परिस्थितिमा नयाँ वैकल्पिक राजनीतिक दल, नेतृत्व र सोचको माग स्वाभाविक रूपमा उठिरहेको छ।

    तर यस्ता वैकल्पिक दल र नेताहरू साँच्चिकै वैकल्पिक र प्रभावकारी छन् वा मात्र लोकप्रिय पपुलिजमका आडमा स्थापित छन् भन्ने प्रश्न अझै पनि खुल्ला छ। नेपालमा पपुलिजमका विभिन्न रूपहरू देखा परेका छन् जसले जनभावना त आकृष्ट गर्न सकेका छन्, तर दीर्घकालीन भिजन र नीति निर्माणमा कमजोर देखिएका छन्। यी दलहरूले मात्र असन्तुष्टिको राजनीति गर्दै मौलिक सुधार र समृद्धिको बाटो खोल्न नसक्ने देखिन्छ। त्यसैले वैकल्पिक राजनीति र नेतृत्वलाई जाँच्ने प्रमुख मापदण्ड भनेको तिनीहरूले जनताका वास्तविक समस्याहरू समाधान गर्न सक्ने क्षमता र समर्पण हो।

    वैकल्पिक राजनीति भन्ने अवधारणा सैद्धान्तिक रूपमा सुसंस्कृत शासन, पारदर्शी निर्णय र जनउत्तरदायी नेतृत्वको आधारमा निर्मित हुन्छ। तर व्यवहारमा, पपुलिस्ट प्रवृत्तिहरूले यो अवधारणालाई नारामा सीमित गरी, भीडको ताली र चिच्याहटलाई नै जनमत ठान्दै, गम्भीर राजनीतिक र नीतिगत विमर्शलाई गौण बनाइरहेका छन्। यस्ता पपुलिस्ट पात्रहरूले निराशाको खेती र सपनाको व्यापार गर्दै, परिवर्तनको वाचा गर्छन् तर दृष्टिकोण र योजना विहीन हुन्छन्।

    वास्तविक वैकल्पिक राजनीति भनेको शासनको स्वरूपलाई नैतिकता, न्याय र समावेशीताको आधारमा रूपान्तरण गर्ने यात्राको नाम हो, भीडको हुटिङमा रमाउने नायक बन्ने यात्रा होइन। यसले सत्ता प्राप्ति मात्र होइन, सत्ता सञ्चालकका रूपमा जिम्मेवारी निर्वाहको अडान लिन्छ। नेपालमा राजनीतिक शुद्धीकरण र जनविश्वास पुनर्स्थापनाका लागि वैकल्पिक राजनीतिक शक्ति आवश्यक अवश्य छ, तर त्यो शक्ति पपुलिस्ट प्रपञ्च होइन, वैचारिक परिपक्वता, समर्पित नेतृत्व र स्थायित्वको संवाहक हुनुपर्छ।

    यसै सन्दर्भमा, राजनीतिक बहसमा मुख्य प्रश्न यही छ—के पुराना मूलधारका दलहरू पुनः नयाँ नेतृत्व र सुधारको माध्यमबाट जनविश्वास पुनःप्राप्त गर्न सक्छन्, कि नयाँ वैकल्पिक शक्ति नै नेपालको राजनीतिक भविष्य तय गर्नेछ? यी विकल्पहरूको बीचमा जनताले बौद्धिक रूपमा छनोट गर्दैछन्। लोकतन्त्र, सुशासन र समृद्धिका लागि स्पष्ट भिजन, पारदर्शिता र जवाफदेहिताको अभावलाई हटाएर मात्र स्थायी सुधार सम्भव छ। वैकल्पिक राजनीतिले यदि यस्ता मापदण्ड पूरा गर्न सकेन भने त्यो अस्थायी लोकप्रियता र जनसन्तुष्टिको फड्को मात्र हुनेछ।

    नेपालको राजनीतिक परिवर्तनको यात्रामा वैकल्पिक राजनीतिका प्रवर्तकहरूले आत्मपरीक्षण, यथार्थपरक योजना र जनसेवा प्रतिवद्धतामा जोड दिनु अपरिहार्य छ। यसबिना राजनीतिक विकल्पहरूले दिगो प्रगति र जनकल्याणको सुनिश्चितता दिन सक्दैनन्।

    नेपालको समकालीन राजनीतिक परिप्रेक्ष्यमा चार प्रमुख विकल्पहरूले राजनीतिक बहसलाई तीव्र बनाएका छन्, जसले मुलुकको आगामी शासन र विकासको दिशालाई निर्धारण गर्नेछन्। पहिलो विकल्पमा, कांग्रेस, एमाले र माओवादीजस्ता परम्परागत दलहरूका पुराना नेतृत्वहरूमा पुनर्संरचना र पुस्तान्तरण आवश्यक रहेको मानिन्छ। विगतका दशकहरूमा यी दलका शीर्ष नेताहरूले अपेक्षित विकास र जनसेवा दिन नसकेको तथ्यलाई स्वीकार गर्दै नयाँ, युवाशक्ति र जनभावनासँग समायोजित नेतृत्वमार्फत पार्टी पुनर्जीवन सम्भव छ भन्ने विश्वास यस विकल्पको मूल आधार हो। कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलजस्ता उदाउँदै गरेका युवाहरूले नेतृत्व रूपान्तरण र पार्टी सुधारको माग उठाएका छन्, जुन राजनीतिक स्वास्थ्यका लागि सकारात्मक संकेत हो। तर एमाले र माओवादीमा नेतृत्व परिवर्तनको प्रक्रिया अझै धीमा छ, जहाँ नेताहरूको व्यक्तिगत सत्ता केन्द्रित संघर्षले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बनाएको छ। आरोप–प्रत्यारोप, अनुशासनात्मक कदमहरू र आन्तरिक विखण्डनले मूलधारका दलहरूलाई पुनः जनविश्वास जित्न गाह्रो पारेको छ।

    दोस्रो विकल्पका रूपमा स्थापित वैकल्पिक राजनीतिक दलहरूको उदय, मूलधारका दलहरूको असफलता र जनतामा सञ्चित आक्रोशको अवशेषबाट उब्जिएको अस्थायी चमत्कार मात्र हो। राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरूको विजयले पुराना पार्टीहरूको अकर्मण्यता र जनविमुख चरित्रप्रति जनताको रोषलाई अवश्य प्रकट गरेको छ। तर रोषलाई रुपान्तरणको रोशनिमा बदल्न नेतृत्वको दृष्टि, नीतिगत स्पष्टता र संस्थागत दृढता अपरिहार्य हुन्छ। दुर्भाग्यवश, यी नवआवाजहरूको नेतृत्व पपुलिस्ट पृष्ठभूमिमा फुत्किएको हतारो अभिव्यक्तिमा मात्र सीमित देखिन्छ।यी पात्रहरूले आलोचना गर्न जान्छन्, तर समाधान प्रस्तुत गर्न सक्दैनन्। भीडको चाप्लुसी र तात्कालिक लोकप्रियताको आँशु पुछ्ने भाषणले दीर्घकालीन सुशासनको नींव कत्तिको बलियो बन्न सक्छ? राष्ट्रको संरचनात्मक समस्याहरूलाई नारामा बदल्ने तर समाधानतर्फ विमुख रहने यस्ता प्रवृत्तिहरूले राष्ट्रिय चेतना तात्कालिक रूपमा आन्दोलित गर्न सक्छ, तर राष्ट्रको आत्मा स्थायित्व र सुदृढताले मात्र शान्ति पाउँछ।असन्तोषको सदुपयोग गरेर आर्जन गरिएको लोकप्रियता र आशाको व्यापार गरेर विक्री गरिएको सपनाले कहिल्यै पनि दीर्घकालीन विकास र शासकीय स्थिरता सुनिश्चित गर्न सक्दैन। वैकल्पिक राजनीति ‘वैकल्पिक’ हुनको लागि, पपुलिजमको उत्तेजनाबाट माथि उठेर नैतिकता, पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुदृढीकरणको मार्ग अपनाउनु पर्छ। यो मार्ग कठिन र कम लोभलाग्दो हुन्छ, तर दीर्घकालीन राष्ट्रिय हितका लागि अपरिहार्य यात्रा यही हो।त्यसैले, वर्तमान असन्तुष्टिको लहरमा वैकल्पिक राजनीति साँचो अर्थमा वैकल्पिक बन्ने हो भने यसले पपुलिस्ट प्रपञ्चबाट मुक्त भई राष्ट्रप्रेम र प्रज्ञाको संयोजनमा आधारित नयाँ आचरण र संस्कार बोकेर अघि बढ्नुपर्छ।

    तेस्रो विकल्पको रूपमा प्रस्तुत ‘प्रतिगमनको प्रपञ्च’ राजतन्त्र पुनःस्थापना, हिन्दु राष्ट्र घोषणा, संघीयता र धर्मनिरपेक्षताको खारेजीको मागसहित लोकतान्त्रिक प्राप्तिहरूमाथि प्रहार गर्ने एक विनाशकारी विरासतको पुनरुत्थान प्रयास हो। यसले लोकतान्त्रिक आन्दोलनको बलिदान, जनआन्दोलनको ताप र संविधानसभाको जनसंवादबाट निस्किएको प्रगतिशील मूल्य–मान्यताहरूलाई निष्फल बनाउने दुस्साहसपूर्ण कोसिस गरिरहेको छ।

    यस्ता प्रवृत्तिहरू राष्ट्रको आत्मनिर्भर चेतनामा विष घोल्ने प्रयत्न हुन्, जसले जनता र राष्ट्रबीचको विश्वासको दायित्व र सँगै हुर्किएको लोकतान्त्रिक चेतनालाई कुतरित पार्न खोज्दछन्। जनताको सार्वभौमिकता र नागरिक स्वतन्त्रतामा आधारित गणतन्त्र, बहुलवाद र संघीयताको संरचना कुनै तात्कालिक सम्झौताबाट जन्मेको होइन, यो इतिहासको परीक्षण र जनविरोधी प्रवृत्तिहरूविरुद्धको प्रतिरोधको प्रतिफल हो।राज्य संरचनामा समावेशीता, शक्ति–साझेदारी र धर्मनिरपेक्षताको जरा देशका विविधताभित्र गाडिएको छ। यसको उखेलाई प्रतिगमनका पाइला मात्र होइन, राष्ट्रिय एकता र विकासको मुटुलाई नै किच्ने प्रयासको रूपमा बुझिनुपर्छ।धर्मको नाममा राजनीति गर्ने, राष्ट्रवादको आडमा विभाजनको बीउ छर्ने र अस्थिरताको आगो सल्काउने यस्ता प्रतिगामी प्रवृत्तिहरू जनताको आत्मसम्मान र राष्ट्रिय स्वाभिमानको खिल्ली उडाउने कृत्य हुन्।जनआन्दोलनको रगत र संविधानसभाको बलिदानबाट सुरक्षित भएको लोकतन्त्र र गणतन्त्रमा नै देशको समृद्धि, सामाजिक न्याय र राष्ट्रिय एकताको आधार रहन्छ। त्यसैले, यो तेस्रो विकल्पको चर्को आवाज राष्ट्रको हित होइन, राष्ट्रविरोधी नौटंकी हो—जसको अस्वीकार गर्नु नै युगको माग र उत्तरदायी नागरिकताको अभिव्यक्ति हो।

    चौथो र अन्तिम विकल्पको रूपमा प्रस्तुत वैकल्पिक राजनीति केवल नारामा होइन, नवजागरणीय नियतिमा आधारित सुसंस्कृत, पारदर्शी र उत्तरदायी शासनतर्फको जटिल यात्रा हो। यो विकल्प कुनै क्षणिक आवेग वा पपुलिस्ट हुंकार होइन; यो त ऐतिहासिक पीडाहरूको पाठ, असफलताहरूको आत्ममूल्यांकन र जनआकांक्षाको उत्कर्ष बिन्दुमा उभिएको लोकतान्त्रिक दिव्य संकल्प हो।यस विकल्पले समावेशी लोकतन्त्र, सुशासन र न्यायको पवित्र त्रिभुजमा आधारित शासन प्रणालीको माग गर्दछ। विधिसम्मत पार्टी सञ्चालन, सहभागितामूलक निर्णय प्रक्रिया र जनसेवाको सहज प्रवाह यसका आधारस्तम्भ हुन्। तर यथार्थको कठोर भूमिमा यो विकल्प अझै रोपिन सकिरहेको छैन, किनकि संस्थागत अड्चन, दलीय लोभ, राजनीतिक व्यापारिकरण र नेतृत्वको असक्षमता यसको मार्गमा काँडाहरू बनेर बसेका छन्।

    यहाँ प्रश्नहरू जन्मिन्छन्: कसरी यस्ता वैकल्पिक एजेन्डाहरू व्यवहारमा उतार्ने? कुन नेतृत्वले यस्तो पवित्र, कठोर र आत्मत्यागपूर्ण यात्रामा आफूलाई अर्पण गर्ने साहस देखाउने? के जनताले त्याग र नैतिकतामा आधारित राजनीतिलाई साँच्चिकै समर्थन गर्नेछन्?यी प्रश्नहरूको उत्तर खोज्ने यात्रामा मुलुकले स्वयंलाई आन्तरिक रूपमा निर्मल पार्नुपर्छ, दलहरूले आत्मसमीक्षा र आत्मपरिष्कार गर्नुपर्छ, र जनताले ‘भोग’ होइन ‘योग’ आधारित नेतृत्वलाई सशक्त समर्थन गर्नुपर्छ।

    वैकल्पिक राजनीति केवल विकल्प होइन, यो देशको दिगो समृद्धि, समता र शाश्वत न्याय प्राप्तिको एकमात्र पथ हो। यस पथमा अडिग भएर हिँड्न सके मात्र राष्ट्रले आन्तरिक शान्ति, सुसंस्कृत शासन र न्यायपूर्ण समाजको शिखर प्राप्त गर्न सक्नेछ, अन्यथा यो विकल्प पनि इतिहासका असफल प्रपञ्चहरूमध्ये एक मात्र बन्नेछ।

    नेपालको राजनीतिक विकल्पहरूको यो जटिल संगममा एउटा स्पष्ट सत्य देखिन्छ—मूलधारका पार्टीहरू अलोकप्रिय त भए तर असफल होइनन्। यसको मुख्य कारण शीर्ष नेतृत्वपंक्तिको असफलता र जनमानसमा आएको वितृष्णा हो, जसले पार्टीहरूको छवि कमजोर बनाएको छ। आजको राजनीतिक युगमा नेतृत्वमा स्पष्ट दृष्टिकोण, नवीन विचार र जनसमर्थनको अपरिहार्य आवश्यकता छ। साथै, युवापुस्ताको सक्रिय सहभागिता र नेतृत्व हस्तान्तरणबिना मूलधारका पार्टीहरू पुनः जीवन्त र सशक्त हुन सक्दैनन्। नेतृत्व परिवर्तनका बिना पार्टीको नवीनीकरण र संगठनात्मक सुधार असम्भव छ, जसले राष्ट्रिय राजनीतिमा ती पार्टीहरूको प्रभावकारिता घटाउँछ।

    वर्तमान नेपालको राजनीतिक परिदृश्यमा नेपाली काँग्रेस नै एक यस्तो दल हो, जहाँ नेतृत्व विकास र पुस्तान्तरणको संभावना दीप्तिमान दीपशिखा झैं प्रज्वलित हुँदै गएको छ। १४औं महाधिवेशनबाट सुरु भएको पार्टी रूपान्तरणको आन्दोलन कुनै क्षणिक नारामा सीमित नभई, नयाँ विचार, नयाँ ऊर्जा र नयाँ भिजनका साथ युवा नेताहरूको आगमनले संस्थागत पुनर्जागरणको आधारशिला राखेको छ।

    गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता सुधारवादी नेताहरूको साहसी दृष्टिकोण, निर्भीक अभिव्यक्ति र संगठनात्मक कौशलले पार्टीलाई विगतका अपूर्णताबाट मुक्त गरेर नयाँ राजनीतिक युगतर्फ अग्रसर गराउने स्पष्ट क्षमता देखिन्छ। यी नेताहरूले व्यक्तिगत महत्वाकांक्षालाई होइन, सार्वजनिक हित र राष्ट्रहितलाई सर्वोच्च प्राथमिकता दिने उदार नेतृत्वदृष्टि प्रस्तुत गरेका छन्, जसले लोकतान्त्रिक शुद्धीकरण र सुशासनको मार्गमा काँग्रेसलाई अग्रपंक्तिमा राख्नेछ।

    तर, एमाले र माओवादीमा पुरानो गन्ध बोकेका नेतृत्वहरूको सत्ता केन्द्रित शैली र नेतृत्व विवादहरूले दललाई आन्तरिक द्वन्द्वमा फसाइरहेको छ। लोकतान्त्रिक संस्कारको ह्रास, अनुशासनको नाममा वैचारिक दमन र नेतृत्व स्वार्थकै वरिपरि घुम्ने प्रवृत्तिले यी दलहरूको संगठनात्मक जीवनशक्तिलाई कमजोर पारेको छ।यस्तो अप्ठ्यारो परिवेशमा जनार्दन शर्मा, वर्षमान पुनजस्ता सुधारवादी नेताहरूको निर्णायक भूमिका अझ महत्वपूर्ण छ। उनीहरूको दूरदर्शी सोच, निष्ठा र कर्मशील नेतृत्वले मात्र मूलधार दलहरूको पुनर्जागरण सम्भव हुनेछ।

    यसले वैकल्पिक राजनीतिक शक्तिहरूसँग स्वस्थ प्रतिस्पर्धा गर्दै राष्ट्रलाई स्थिरता, समृद्धि र शान्तितर्फ डोर्याउने आधार तयार गर्नेछ। यथार्थमा, यही नेतृत्व रूपान्तरण र राजनीतिक शुद्धीकरण नै नेपालको समृद्धि र लोकतन्त्रको सुदृढीकरणतर्फको प्रथम ठोस पाइला बन्नेछ, जसले इतिहासलाई नयाँ अध्यायमा रूपान्तरण गर्नेछ।

    नेपालको राजनीतिक भविष्यलाई उज्ज्वल बनाउने कार्य अब ती दलहरू र नेताहरूको काँधमा छ, जसले जनताको विश्वास जितेर सुधार, सुशासन र समावेशीताको मार्गदर्शन गर्न सक्छन्। लोकतन्त्रको लहरमा उभिएका यी दलहरू अब अधिकारको मोह होइन, दायित्वको बोधले सञ्चालित हुनुपर्ने समय आएको छ। यदि नेतृत्व परिवर्तन र नीतिगत सुधार समयमै भएनन् भने मूलधार दलहरू आफैंको बोझले थिचिनेछन्, र देश दीर्घकालीन अस्थिरता, संस्थागत क्षरण र सामाजिक विभाजनको भुमरीमा फस्नेछ।

    नेतृत्वमा स्पष्ट दृष्टि, सुदृढ संकल्प र सत्यनिष्ठाको खाँचो छ। ‘गर वा मर’ को वर्तमान घडीमा सुधारको बाटो नपक्रने पार्टीहरूको अस्तित्व मेटिँदै जानेछ। वैकल्पिक शक्तिहरू र पपुलिस्ट नारा बोकेर आएका पात्रहरू जनताको आक्रोशलाई इन्धन बनाउन पर्खिरहेका छन्। यदि पुराना पार्टीहरूले सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न सकेनन् भने, वैकल्पिक राजनीतिक पपुलिजमको आगोमा लोकतन्त्रको संरचना नै जल्न सक्छ।

    नेपाली जनता आज सशक्त, सजग र सजीव चेतनासँग विकल्पहरूको तुलनात्मक मूल्यांकन गरिरहेका छन्। उनीहरू नेताको लफ्फाज भाषणभन्दा कर्म र परिणाममूलक नेतृत्व खोजिरहेका छन्। गणतन्त्र, लोकतन्त्र र संविधानलाई सुदृढ पार्ने ऐतिहासिक अवसर यो पुस्ताको काँधमा आएको छ, जुन मौका गुमेमा केवल राजनीतिक पतन होइन, सामाजिक स्खलनको खतरा बढ्नेछ।

    यस ऐतिहासिक संक्रमणको संग्राममा नेतृत्वको नवप्रकाशले नै नेपाललाई नवनिर्माणतर्फ डोहोर्‍याउने दिव्य दीपक बन्न सक्छ। अलोकप्रियता र अकर्मण्यताको अन्धकारलाई चिर्दै, परिवर्तनकारी पथप्रदर्शकहरू सुधार, शुद्धता र सुशासनको सुगन्धित समीर भएर प्रवाहित हुन जरुरी छ।

    काँग्रेसको काँधमा कर्मठताको कर्तव्यबोध, एमाले र माओवादीमा मार्गदर्शक मनोबल र वैकल्पिक शक्तिहरूमा विवेकपूर्ण विचार–विस्तारको आवश्यकता छ। यो समय गर वा मर को घडी हो, जहाँ नेतृत्वले जनभावनाको जगमा न्याय, जवाफदेहिता र जागरुकताको ज्योति प्रज्वलित गर्नैपर्छ।

    यदि नेतृत्वले लोभ, लालच र लम्पटताबाट माथि उठेर लोकतान्त्रिक मूल्य र विवेकको वरण गरेन भने पपुलिस्ट प्रपञ्चको प्रचण्ड प्रवाहमा मुलुक फेरि फस्नेछ। तर यदि नेतृत्वले जवाफदेही शासन, जनसेवाको सहजता र न्यायपूर्ण समाजको स्थापना गर्न सच्चा संकल्प गर्‍यो भने, यही परिवर्तनको पल समृद्धि, स्थिरता र सुशासनको सुन्दर शिखर बन्नेछ।यसैले, अब नेतृत्व र राष्ट्रका लागि सजग, सशक्त र स्फूर्तिपूर्ण संकल्पसहित सुधारको सिर्जनशील संग्राममा उभिनु आवश्यक छ। यही संग्रामले नेपालको नियतिको नयाँ नक्शा निर्माण गर्नेछ, जहाँ जनताको आकांक्षा र राष्ट्रको अस्तित्व एकैपटक शान्ति, समृद्धि र सभ्यताको सितारामा समायोजित हुनेछन्।

    आजको यथार्थमा पुराना गल्तीहरूका भूतलाई परास्त गरेर, भविष्यको सम्भावनालाई अंगाल्ने क्षमतावान र युवा नेतृत्वको आवश्यकता छ। केहि नेताहरूको भिजन र विवेकले मात्र पुराना दलहरूको पुनर्जीवन सम्भव छ, जसले राष्ट्रिय एकता, सामाजिक न्याय र दिगो विकासको मार्ग प्रशस्त गर्नेछ।यस ऐतिहासिक क्षणमा सबै राजनीतिक शक्ति र नेतृत्वले साझा उत्तरदायित्व बोध गर्नुपर्छ। राष्ट्रको उन्नति, समाजको समता र जनताको सम्मानमा आधारित नयाँ राजनीतिक संस्कृतिको स्थापनाबाट मात्र लोकतन्त्र र संविधानको सार्थकता स्थापित हुन्छ। यो घडी चेतनाको क्रान्तिको हो, जुन समर्पित, सशक्त र सुशासनमुखी नेतृत्वले मात्र सम्भव बनाउन सक्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १३, शुक्रबार १७:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP