तोमनाथ उप्रेती
पूर्वीय मूल्य र शासकीय सिद्धान्तहरू परम्परागत नैतिकता, धर्म, कर्तव्य र सह-अस्तित्वमा आधारित छन्। हिन्दू, बौद्ध, जैन, कन्फ्युसियस र ताओवादी दर्शनहरूमा शासनको उद्देश्य जनकल्याण, न्याय र समरसताको स्थापनामा केन्द्रित पाइन्छ। ‘राजधर्म’को अवधारणा हिन्दू ग्रन्थहरूमा स्पष्ट छ, जहाँ शासकले धर्म, सत्य, दया र नीति पालना गर्दै प्रजाको सेवा गर्नु प्रमुख कर्तव्य मानिन्छ। यस्तै, बौद्ध दर्शनमा ‘धम्म’ पालन गर्ने राजा (धम्मराजा) आदर्श शासक मानिन्छ जसले लोभ, मोह र घृणाबाट मुक्त रही शासन गर्छ।शासकको चरित्र, संयम, विवेक र नीतिमा आधारित शासन प्रणालीले समाजमा न्याय, समभाव र स्थायित्व ल्याउँछ। कन्फ्युसियसले पनि शासनमा नैतिकताको आवश्यकता औंल्याउँदै शासक स्वयं नै सदाचारी भए मात्र जनताले अनुसरण गर्ने बताएका छन्।
यी मूल्यहरूले आधुनिक शासन प्रणालीलाई समेत मार्गदर्शन गर्न सक्छन् । पारदर्शिता, जवाफदेहिता, करुणा र समता मूल स्तम्भ हुन्छन्। राज्यसत्तालाई केवल कानूनी वा प्रशासनिक संयन्त्र होइन, नैतिक नेतृत्वको साधनका रूपमा हेर्ने दृष्टिकोण पूर्वीय दर्शनको विशेषता हो। यसैले पूर्वीय मूल्य र शासकीय सिद्धान्तहरू आज पनि समावेशी, न्यायपूर्ण र उत्तरदायी शासनको लागि अमूल्य मार्गदर्शक छन्।
दर्शन मानव जीवनको वास्तविक र सत्य ज्ञान हो, जसले मानिसलाई सत्यतर्फ उन्मुख गराउँछ। पूर्वीय दर्शनले जीवनका सबै पक्षलाई समेटेर सत्य र वास्तविकताको खोजी गर्छ। यो दर्शन कला, जीवनशैली, सामाजिक र राजनीतिक व्यवहारलाई निर्देश गर्ने अमूल्य निधि हो।
नेपालजस्तो भूपरिवेष्टित मुलुकमा पूर्वीय दर्शनले राज्य व्यवस्था र शासन प्रणालीलाई प्रभावकारी मार्गदर्शन दिन सक्छ। तर पश्चिमी दर्शनप्रति जस्तो प्रचार-प्रसार पूर्वीय दर्शनले पाउन सकेको छैन। त्यसैले यसको महत्व र योगदानलाई अझ बढावा दिन आवश्यक छ।
वैदिक दर्शनले कर्म, धर्म, नीति र जीवन मूल्यमा विशेष ध्यान दिएको छ। चाणक्य नीति र गीता कर्मयोगले शासन र प्रशासनमा नैतिकता र दायित्वबोधको महत्व दर्शाउँछन्। गान्धीजीको सत्याग्रह र अहिंसाको दर्शनले पनि राजनीतिक नेतृत्व र जनसहभागिताका आदर्श प्रस्तुत गर्दछ।
बौद्ध दर्शनले मनोविज्ञान र मानव जीवनको दुःख समज्ने तरिका सिकाउँछ, जसले राज्य व्यवस्थामा दयालुता र समत्वको विकास गर्न सहयोग पुर्याउँछ। यसरी पूर्वीय दर्शनले सामाजिक समरसता र न्याय सुनिश्चित गर्ने नीति बनाउँछ।पूर्वीय दर्शन मात्र आध्यात्मिक वा धार्मिक शिक्षामा सीमित नभई सामाजिक, राजनीतिक र नैतिक आयाममा राज्य प्रणालीलाई मार्गदर्शन गर्ने व्यापक आदर्श आधार हो। नेपालको शासकीय प्रणालीमा यस दर्शनलाई प्रभावकारी रुपमा समावेश गर्न सके भविष्यका चुनौतीहरूलाई सहज रूपमा पार गर्न सकिन्छ।
पुर्वीय दर्शनले सहिष्णुता र सद्भाव ,अरुको सम्मान गर्ने, रिस, डाह, इर्ष्या, घमण्ड नगर्ने, भेदभाव नगर्ने, दुःख परेको समयमा सहयोग गर्ने , भाईचारा ,अरुप्रति गरिने आत्मिय व्यवहार, अरुको इज्जत गर्ने, भेदभाव नगर्ने, तेरोमेरो नभन्ने, मानवताको नाता सबैको एउटै भन्ने जस्ता कुराहरुमा जोढ दिने भएकाले मानिसको दिनचर्या, आश्रम प्रबन्ध र कानुनको पालनाजस्ता विषयमा जोड दिन्छ । यसका साथै कुनै पनि मुलुकको शासन व्यवस्था कस्तो हुनुपर्दछ, नागरिक र राज्यबीचको सम्बन्ध, राज्यले नागरिकका लागि पुरा गर्नुपर्ने दायित्व र नागरिकले मुलुकको हित तथा राष्ट्रिय उन्नति र समृद्धिका लागि पूरा गर्नुपर्ने कर्तव्य समेतलाई व्याख्या गरेको छ । व्यक्तिले आफूभन्दा तल परेका (उमेर, पद, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियत) हरुसँग विनम्र भाव राखी प्रस्तुत हुन, आफूलाई अरुको नजरबाट पनि हेर्ने बानीको विकास गर्न, व्यक्तिगतभन्दा पनि सामूहिक सम्मान र भावनाको विकास गर्न, सबैसँग भाइचाराको व्यवहार गर्न, कुकर्मलाई त्याग्न र असल कर्मद्वारा मानवीय जीवनलाई ऊर्जामय बनाउन पूर्वीय दर्शनको रसस्वादन गर्नु आवश्यक हुन्छ । यस्तो रसस्वादन लागि व्यक्ति आफैँले शास्त्रीय ज्ञानप्रतिको आकर्षण बढाउनुपर्दछ । व्यक्तिगत स्वार्थमा तँछाडमछाड गर्दै एकअर्काको खुट्टा तान्दै हिँड्ने बानी त्याग्नुपर्दछ । अहंकारी र व्यक्तिगत स्वार्थ मात्र हेर्ने, अरुलाई अपमान गर्ने, सार्वजनिक पद र मर्यादाको दुरुपयोग गर्ने व्यक्तिले क्षणिक लाभ त लिन सक्ला तर अन्ततोगत्वा दीर्घकालमा यस्ताको परिणाम भयावह हुन जान्छ । असल वा खराब कर्मले व्यक्ति तथा सामाजिक जीवनमा पारेको प्रभावलाई विश्वका धेरै सफल वा असफल व्यक्तिको जीवन–कथासँग समेत जोडेर हेर्न सकिन्छ ।
राज्यले नागरिकका लागि दिने सार्वजनिक सेवामा सरकारदेखि राष्ट्रसेवकसम्मले नीति बनाउँदा होस् वा सेवा प्रवाह गर्दा कसरी सदाचारितालाई मूल मन्त्र बनाउने भन्ने कुरा विभिन्न दृष्टान्तसहित उल्लेख गरेको छ । वेदको निष्कर्ष, गीताको मुल संदेश, बुद्धका चार आर्य सत्य र अष्टाङमार्ग वाट इमानदार, शुद्द आचरण र चरित्रवान प्रशासकहरु तयारगरी उनिहरुको असल कर्मले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा प्रभाव पार्दे मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ । नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नुपर्छ । लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ । मुलुकको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता हुनुको कारणहरु समतामूलक समाजको निर्माण गर्न असल नागरिकको पहिचान दिलाउन समयसापेक्ष समाजलाई परिवर्तन एवं रुपान्तरण गर्न सामाजिक न्यायको प्रवर्द्धन गर्न नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन नागरिकलाई आफु र समाजप्रतिको कर्तव्यबोध गराउन नेपालीहरुबीच आपसी सद्भाव, सहयोग र एकताको भावना विकास गर्न राष्ट्रिय एकता प्रवर्द्धन गर्न कला, संस्कृतिको सम्मान, संरक्षण र सम्वर्धन गर्न शान्ति, बन्धुत्व, भाईचारा, नैतिकता, सदाचारिता, सुसंस्कार कायम गर्न सुशासन कायम गर्न मानव जीवनलाई माया, प्रेम, दया, शान्ति र अहिंसाप्रति प्रतिवद्ध बनाउन बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक समुदायबीच आपसी समभाव र सहिष्णुता कायम गर्न राज्यका शासकिय प्रशासकिय एवं व्यवस्थापकिय अंगहरुमा प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिता सुनिश्चित गर्न सबै प्रकारका भेदभावको अन्त्य गरी सम्मानपूर्वक जीवन यापन गर्न मेलमिलाप कायम गर्न ।नेपालको संविधानले लोकतान्त्रिक शासन र मूल्य मान्यतालाई केन्द्र बिन्दुमा राखेको छ । लोकतन्त्र र मानव जीवनलाई नङमासुको सम्बन्धका रुपमा प्रत्याभुत गर्दै मौलिक हककै रुपमा मानवीय मूल्यहरुलाई स्विकार गरेको छ । मानवीय मूल्यले सामाजिक, आर्थिक, सांस्कृति र राजनीतिक मूल्यको प्रवर्धनमा सहयोग पु–याउँछ ।
गुरुकुल र परिवारले बालबालिकालाई शिक्षा दिँदा र हुर्काउँदा नैतिक शिक्षा दिने चलन, नीति कथा आदिले मानिसलाई आफ्ना अधिकारका लागि लड्नभिड्न मात्र नभई उसले पूरा गर्नुपर्ने कर्तव्यसमेतको बोध गराएको छ । असल संस्कार, वातावरण र संगतमा हुर्किएको व्यक्तिमा गलत सोचको विकास हुने सम्भावना निकै कम रहन्छ । व्यक्तिले आफू, परिवार, समाज र राष्ट्रको व्यक्तित्व निर्माणका लागि प्रकृति अनुरूप समाजसँग मिलेर कर्तव्य निर्वाह गर्नुपर्ने अनिवार्यता शास्त्रमा उल्लेख छ । साथै सबैले व्यक्तिगत रुपमा कर्तव्य निर्वाह गर्दा अरुको अधिकार पनि सुरक्षित हुनुपर्दछ भन्ने मान्यता लिएको सनातन दर्शनले सदाचार नीतिलाई राज्य सञ्चालनको मुख्य आधार मानेको पाइन्छ । अधिकार, कर्तव्य, अनुशासन, विधिको पालना, असल कर्म, सामाजिक मर्यादा, सबैप्रतिको सम्मान भाव र राष्ट्रिय हितलाई सदाचारिताको पूर्वसर्तका रुपमा पूर्वीय दर्शनले व्याख्या गरेको छ । व्यक्ति, परिवार र समाजको सदाचारको प्रभाव प्रत्यक्ष वा परोक्ष रुपमा राज्य प्रणालीमा पर्दछ । त्यसैले व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न सकेमा मात्र राज्यको व्यक्तित्व निर्माण हुन सक्छ । व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न पुर्वीय दर्शनले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिमा यो गुण रहेमा उसले दिने सेवा प्रवाहले समेत सार्वजनिक जीवनमा सकरात्मक सम्बन्ध विस्तार गर्दै मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ ।
पूर्वीय दर्शन र शासकीय प्रणाली एकआपसमा गहिरो रूपमा सम्बन्धित छन्। पूर्वीय दर्शनले नैतिकता, कर्तव्य, संयम, करुणा, तथा धर्ममूलक जीवनशैलीलाई प्राथमिकता दिन्छ, जसले शासकीय प्रणालीमा नैतिक नेतृत्व र जनउत्तरदायी शासनको आधार प्रदान गर्छ। हिन्दू दर्शनको ‘राजधर्म’, बौद्ध दर्शनको ‘धम्म’ र कन्फ्युसियसको ‘नीतिशास्त्र’ले राज्य सञ्चालनमा नैतिकता, न्याय र जनकल्याणलाई मूल मान्यता दिएका छन्। पूर्वीय विचारमा शासकलाई धर्मपालक र प्रजापालकको रूपमा लिइन्छ। यस्तो दृष्टिकोणले राज्यशक्ति केवल अधिकार नभई जिम्मेवारीको रूपमा व्याख्या गर्छ। अतः पूर्वीय दर्शनले शासकीय प्रणालीलाई आध्यात्मिक, नैतिक र उत्तरदायी बनाउँदै सामाजिक समरसता र न्यायपूर्ण समाज निर्माणमा योगदान पुर्याउँछ।
सत्य र अहिंसाको भावना मर्दै गएको शान्ति र सद्भावको अवस्था कमजोर रहेको अपराधका नयाँ नयाँ शृंखला बढ्दै गएको जाति, धर्म एवं क्षेत्रिय सम्प्रदाय जस्ता विषयमा राजनीतिकरण हुने गरेको हिंसा, हत्या, बलात्कार, यौनदुर्व्यवहार जस्ता घटना बढ्दै गएको भ्रष्टाचार मौलाएको नैतिकता, एवं लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास आएको मानवीयता दिनप्रतिदिन दयनीय बन्दै गएको विकृति, विसंगति एवं सामाजिक विचलन बढ्दै गएको अवस्थामा पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिकेर दयनिय अवस्थामा रहेको नैतिकता र सादाचारयुक्त कार्यसंस्कृति अभाव रहेको राष्ट्रिय एकता, भ्रातृत्व, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको सम्मानमा एकरुपता कायम हुने अवस्था कमजोर रहेको अवस्थामा मानविय मूल्यहरु आत्मसाथ गर्दै आफु र समाजप्रति इमान्दार बनाउन सक्ने देखिन्छ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन।)
प्रतिक्रिया