तोमनाथ उप्रेती
ड्र्यागनले बाँसुरी फुक्दै,
मेडिकल मेसिनरीका मन्दिरमा घण्टी बजायो,
स्टेथोस्कोपका तन्तुहरू तन्किए,
सर्जिकल छुराहरू हाँस्न थाले,
रेडियमका बत्तीहरू रातो आँखाजस्तै बल्न थाले,
जब युरोका पानाहरू रक्सीले मातिएर नाच्न थाले।
इलेक्ट्रिक कारका सपनाहरू,
सौर्य प्यानलका स्वर्गहरू,
हावाका टर्बाइनहरूले छट्पटाएको व्यापारको स्वास सुनिरहेका छन्,
र बेलायतको पुरानो टोपी च्यातेर
ब्रसेल्सले प्रतिबन्धको माला लगायो।
ड्र्यागनको पखेटामा टाँसिएको बुँदाको चिठीमा लेखियो–
“नियमको व्यापार गर्छौ रे?
हाम्रो रक्सी झैं सस्तो कानुन कहाँ पाइन्छ?”
सर्जिकल औजारहरूले युद्धघण्टी बजाए,
औषधीका सुईहरूले प्रतिबन्धका बुँदाहरूमा दंश गरे,
ड्र्यागनले ‘स्वावलम्बी व्यापार’को मन्त्र जप्दा,
युरोका चट्टानहरू फुटेर
घाउका मल्हम खोज्न दौडिए।
ब्रसेल्सका गल्लीहरूमा प्रतिबन्धका आवाज घन्किरहेका छन्,
बेइजिङका गल्लीहरूमा प्रतिआवाज हल्लिरहेका छन्,
दुई हातहरू व्यापारको पिङमा झुलिरहेका छन्,
तर रोगीहरू औषधिको पर्खाइमा
गेट्सका अगाडि ओछ्यानमा ढलिरहेका छन्।
तर, ड्र्यागनको घण्टी हावामा घन्किरहेछ,
मेडिकल मेसिनरीका मन्दिरमा
‘मूल्य, नीति र प्रतिबन्ध’का देवताहरू
व्यापारको रगतमा नुहाइरहेछन्।
किनकि,
स्वास्थ्यको व्यापार बजारमा हुन्छ,
र प्रतिबन्धहरू
छुरीभन्दा तीखा हुनसक्छन्,
जब ड्र्यागनले घण्टी बजाउँछ,
न्याय सुईझैं टुक्रिन्छ,
र मुनाफा मात्र साक्षात बाँचिरहन्छ।
(रतुवामाई ५, मोरङ_)
प्रतिक्रिया