तोमनाथ उप्रेती
श्री १०८ मंगलदासजी महाराज आध्यात्मिक गुरु मात्र नभई प्रेम, करुणा र अहिंसाको सजीव मूर्ति हुन्। उहाँको सम्पूर्ण जीवन शोषणविहीन समाज निर्माणको प्रयत्नमा समर्पित रह्यो। जहाँ शक्ति र पदको लोभले मानवता गुमाउँदै थियो, त्यहाँ गुरुजीले शान्ति, समता र आत्मिक चेतनाको दिव्य सन्देश फैलाउनुभयो। उहाँको दृष्टिमा हिंसा शारीरिक क्रियाकलापमा मात्रै सीमित थिएन, अपमान, घृणा, अन्याय र लोभ समेत मानसिक हिंसाका रूप थिए—जसको शुद्धिकरण बिना शान्तिको सम्भावना रहँदैन।
गुरुजीको शिक्षामा ‘अहिंसा’ कुनै निर्बलताको संकेत थिएन, बरु त्यो उच्च नैतिक साहस र आत्मसंयमको पराकाष्ठा हो। उहाँले जनताको पीडा बुझ्नु, दलित र पीडितलाई आत्मसम्मान दिलाउनु र आफ्नो जीवनलाई निष्कलङ्क सेवा र नैतिक चेतनाको मापदण्डमा ढाल्नु भनेको अहिंसालाई व्यवहारमा उतार्नु हो भन्ने प्रत्यक्ष उदाहरण दिनुभयो। हिंसाको प्रतिकार हिंसाबाट होइन, प्रेम, क्षमा र विवेकबाट हुनुपर्छ भन्ने सिद्धान्तमा अडिग रहनुहुन्थ्यो। यही कारण उहाँको उपस्थितिले मात्र पनि द्वन्द्वमा शान्तिको स्पन्दन ल्याउँथ्यो।
आजको असहिष्णु र असमानताले ग्रसित समाजमा गुरु श्री १०८ मंगलदासजी महाराजको जीवनदर्शन ज्योतिर्मय दीपजस्तो बनेको छ। उहाँले देखाउनुभएको करुणा, सेवा र समर्पणको बाटो नै यथार्थिक समाधान हो। अहिंसाको सिद्धान्तलाई दर्शनमा होइन, आचरणमा रूपान्तरण गर्नु नै गुरुजीको शिक्षाको सार हो। यिनै गुरुजीका चिन्तन–चरण अनुसरण गरेर मात्र मानवता, न्याय र आध्यात्मिक शुद्धताको युग पुनः सम्भव छ। उहाँको जीवन एउटा मौन सन्देश हो—जहाँ प्रत्येक हृदय प्रेमको भाषामा बोल्न सक्छ, र प्रत्येक आत्मा शान्तिको सौन्दर्यमा रम्न सक्छ।
गुरुजी श्री १०८ मंगलदासजी महाराज मानवता, प्रेम, सेवा, अहिंसा र न्यायका प्रतिमूर्ति हुनुहुन्थ्यो। आजको असहिष्णु र अशान्त विश्वमा उहाँको जीवनदर्शन शान्ति र सद्भावको दीप बनिरहेको छ। अहिंसा, दया र करुणाको पक्षमा उहाँको अपार श्रद्धा र निष्ठा रहेको थियो, जसका कारण उहाँका शिक्षाले हजारौं हृदयलाई धार्मिक जागरण, आत्मनिर्माण र समाजप्रतिको उत्तरदायित्वतर्फ उन्मुख गरायो। उहाँको सोचाइमा धर्म केवल कर्मकाण्ड नभएर समाज रूपान्तरणको माध्यम हो, जसमा सेवा र प्रेम मूल स्तम्भ हुन्।
श्री मंगलदास महाराजको जन्म वि.सं. १९५३ मा इलामको मेहेलबोटेमा भएको हो। उहाँको बाल्यकाल विभिन्न सङ्घर्ष र आध्यात्मिक यात्रासँग गाँसिएको थियो। पिता कल्याणदाससँग सानै उमेरमा आसाम गइ निजानन्द दर्शनमा दीक्षा प्राप्त गर्नु, गुरु पीताम्बरदाससँगको सम्बन्ध, सूरत र पन्ना धाममा रहँदै तारतम सागर र वाणी अध्ययन गर्नु, गुरुको वियोगमा अखण्ड पारायण गर्नु—यी सबै घटनाले उहाँलाई आध्यात्मिक दृष्टिले अत्यन्त परिपक्व बनायो। वि.सं. २०२९ मा ‘गुरुजी प्रणामी मिसन ट्रष्ट’ स्थापना गर्दै उहाँले ‘सेवासे पाओगे पार’ भन्ने मार्गदर्शनद्वारा धर्म र समाज सेवालाई एकै सूत्रमा बाँध्नुभयो।
गुरुजीले नेपाल, भारत र भुटानभर मन्दिर, सत्संग भवन, स्कूल, आश्रम, गौशाला, अस्पताल लगायतका संस्था स्थापना गर्दै नारी शिक्षा, अनाथ सेवाश्रम, गौ संरक्षण, संस्कृत प्रचार, मानवतावाद र अहिंसाको प्रसारमा उल्लेखनीय योगदान दिनुभयो। जातपात, छुवाछुत, अन्धविश्वास, हिंसा र भेदभावका विरुद्ध उहाँ जीवनभर संघर्षरत रहनुभयो। उहाँले मानव समाजमा सहिष्णुता, समानता र सदाचारको बीजारोपण गर्नुभयो। गुरु श्री १०८ मंगलदासजी महाराजको कालजयी विचार, सेवा र जीवनशैली आज पनि समग्र मानवजातिको लागि नैतिक दीपशिखा बन्नेछ।
गुरुजी श्री १०८ मंगलदासजी महाराजको जीवन एउटा उज्यालो शिखर हो—जहाँ सेवा, समर्पण र सत्यका उज्वल रश्मिहरू अनन्तकालसम्म चम्किरहेका छन्। उहाँको व्यक्तित्व कुनै सामर्थ्यले झल्किने वैभव थिएन, त्यो त करुणा, सहिष्णुता र आध्यात्मिक निष्ठाको अमृत स्रोत थियो। उहाँले देखाएको अहिंसा र प्रेमको मार्ग आजको संघर्षशील, कलुषित र स्वार्थले भरिएको समाजमा एक आस्थाको दीप बनिरहेको छ। नारी शिक्षा, सामाजिक समानता, अनाथहरूको संरक्षण, संस्कृतको प्रवर्द्धन, तथा मानवीय चेतनाको जागरणमा उहाँको योगदान अतुलनीय छ।
आजको युगमा जब धार्मिक आडम्बरले धर्मको सार हराउँदैछ, तब मंगलदासजीको जीवनले साँचो धर्मको परिभाषा दिन्छ—जहाँ सेवा नै साधना हो, र मानवताको रक्षा नै परम धर्म हो। उहाँले देखाएको मार्ग केवल श्रद्धालुहरूका लागि होइन, सम्पूर्ण मानव जातिका लागि अनुकरणीय बाटो हो। उहाँको स्मृति, शिक्षण र सेवा कार्यले विश्वलाई विवेक, शान्ति र प्रेमको प्रकाश प्रदान गर्दै आइरहेको छ। गुरुजी केवल व्यक्तित्व थिएनन्—उहाँ त मानवता, प्रेम र न्यायका अमर आदर्श थिए। यिनै अमूल्य शिक्षाबाट प्रेरित भई हामीले पनि आफ्ना जीवनमा सहिष्णुता, निष्ठा र सेवा भावको दीप जलाउन सके मात्र गुरुजीको जीवनदर्शनको सच्चा सम्मान हुनेछ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् )
प्रतिक्रिया