logo
  • २०८२ माघ १० | Sat, 24 Jan 2026
  • निलो आकाशको पुनर्जन्म

    निलो आकाशको पुनर्जन्म

    निलो आकाशको पुनर्जन्म

     

    तोमनाथ उप्रेती

     

    तीन वर्षदेखि युक्रेनको आकाश रक्तका रेखाहरूको क्यानभास बनेको छ। बमका बाँणहरूले निद्रामा सपना बुनिरहेका बालबालिकाका पखेटाहरू च्यातिदिएका छन्, आमाहरूका आँखामा आँसुका नदीहरू पूरिएका छन्, र पिताहरूका सपनाहरू चक्रव्यूहमा घेरिएका सेनाजस्तै अल्झिएका छन्।
    हरेक बिहान, घामले नयाँ उज्यालो ल्याउनुको सट्टा, युद्धको खरानी र बारूदको गन्ध फैलाउँछ।
    हरेक रात, जुनकिरीको उज्यालो हेरेर निद्रामा हराउने बालबालिका, बमको आवाजमा तर्सिएर निद्राबाट ब्युँझिन्छन्।
    हरेक आमाले छोरालाई काखमा च्याप्दा, भोलि ऊ जिन्दै फर्कन्छ कि फर्कदैन भन्ने डरले उनको हृदय भकभकाउँछ।
    हरेक पिताले छोरीको कपालमा हात चलाउँदा, आकाशको गर्जनमा लुकेको मृत्युको सन्देश सुन्छ।

    तर, आज युद्धको गर्जनको बीचमा, शान्तिको एउटा सानो श्वासले आकाशमा प्रवेश गरेको छ।
    जेलेन्स्कीको बोलीमा बगेको त्यो आवाज कुनै राजनीतिक शब्दजाल होइन, यो युद्धले च्यातिएका हृदयहरूको धड्कन हो, आकाशमा रुँदै गरेकी पृथ्वीको मौन प्रार्थना हो।
    ती शब्दहरूमा सहरहरूमा भत्किएका घरहरूको बिलख मिसिएको छ, चिहानमा पुरिएका सपनाहरूको हुंकार मिसिएको छ, विस्थापित आमा-बाबुहरूको करुण बिलौनाको कम्पन मिसिएको छ।

    युद्धविराम भन्नु केवल कागजमा लेखिएको सम्झौता होइन, यो त युद्धको क्रूर कवितालाई रोक्ने एकल दिव्य शब्द हो।
    जब उनले भने, एक दिन पनि हत्या जारी राख्नुको कुनै तुक छैन,” यो वाक्य कुनै साधारण अभिव्यक्ति थिएन।
    यो वाक्यले रातभर आकाश हेरिरहेका ती बालकहरूलाई सम्झियो, जसले परेवा उडेको देखे मात्र पनि मुस्कान लुकाइरहेका थिए।

    युद्धविरामको प्रतिबद्धता भन्नु त युद्धका राक्षसहरूलाई आत्माका आँगनमा प्रवेश गर्न नदिने प्रतिज्ञा हो।
    यो कसम हो कि अब बन्दुकको आवाजले होइन, शान्तिका हावाले मान्छेका सपना सन्चार गर्नेछन्।
    यो आश्वासन हो कि अब रक्तका आँसु होइन, आशाका हाँसोहरू खस्नेछन्।
    यो करुणा र विवेकको विद्रोह हो, जसले युद्धको घाउमा करुणा र सहानुभूतिका पट्टी बाँध्नेछ।
    युद्धका तिखा काँडाहरूबाट फुल्ने शान्तिका फूलहरूलाई जोगाउने यो अदृश्य प्रतिज्ञा हो।
    जसरी काँचको फुटेको टुक्रामा घाम पर्छ र रङ्गीन इन्द्रेणी बनाउँछ, त्यस्तै युद्धको चिरिएको आकाशमा शान्तिको पहिलो किरण पर्दा संसार फेरि नयाँ रङले बिझाउँछ।

    यस श्वासले आज हामीलाई सम्झाएको छ
    शान्ति कुनै विलासी सपना होइन, यो सबैभन्दा गहिरो आवश्यकता हो।
    युद्ध रोक्नु भनेको केवल बन्दुक थन्क्याउनु होइन, मानव मनका भित्ताहरूमा पोलिरहेको बदला र घृणाको आगो निभाउनु हो। यो आत्माको आँगनमा वर्षौंदेखि जलिरहेको हिंसाको दियो निभाउनु हो।
    जब युद्धको आगो निभ्छ, त्यही दिन आत्माले खुला आकाशमा श्वास फेर्न सिक्छ।
    त्यो आकाश, जुन बमका गर्जन र मिसाइलका लप्काहरूले रातभर च्यातिएको हुन्छ, शान्तिको प्रथम किरणसँगै आफ्नो नीलो पहिरन फिर्ता पाउँछ।
    रगतको रङ बगिरहेको आकाशमा शान्तिको नीलो रङ पलाउनु भनेको, मृत्युलाई पराजित गरेको मानवीय करुणाको विजयघोष हो।

    युद्धविरामको प्रत्येक क्षण, प्रत्येक मौनता, प्रत्येक हावाको स्पर्श, प्रत्येक लहरको तरंग, प्रत्येक आकाशको निलो रंग र प्रत्येक बालकको मुस्कान—यी सबै आत्माको मुक्ति हुन्।
    यी मुक्ति हुन् शिशिरमा झरेका पातहरूको बोटमा नयाँ पालुवा उम्रनुजस्तै।
    यी मुक्ति हुन् बमले च्यातिएको भूमिमा पहिलो पलाएको फुलको मुस्कानजस्तै।
    यी मुक्ति हुन् विस्थापित आमाका आँखामा आशाको चमक फर्किनुजस्तै।
    यी मुक्ति हुन् बालकले सानो हात फैलाएर खुला आकाशलाई अँगाल्नुजस्तै।

    र, जब आत्मा स्वतन्त्र हुन्छ, पृथ्वी मात्र होइन, आकाश पनि शान्तिको संगीतमा नाच्न थाल्छ।
    त्यो नाच कुनै उत्सवको नाच होइन, त्यो नाच त पीडाबाट मुक्ति पाएको आत्माको कृतज्ञताको नाच हो।
    त्यो नाच घाइते सपनाहरूका पुनरुत्थानको नाच हो।
    त्यो नाच बन्दुकको आवाजलाई शान्तिका लहरहरूले डुबाएको नाच हो।

    रुससँग प्रत्यक्ष वार्ताको तयारी हुनु भनेको इतिहासका धुलोले भरिएका गल्लीहरूमा आशाका फूलहरू पलाउने संकेत हो।
    मस्कोको कठोर शीत र किएभको थाकेको उदासीलाई पगाल्दै, युद्धका कालो बादललाई हटाउँदै, आकाशमा सेता परेवा उडाउने सम्भावना हो यो युद्धविराम।
    जेलेन्स्कीका शब्दहरू केवल कूटनीतिक घोषणाहरू होइनन्; ती शब्दहरूमा थकित आत्माहरूको सास मिसिएको छ, पीडाले चिच्याएका बालबालिकाहरूको आर्त स्वर मिसिएको छ, बमले च्यातिएको भूमिमा झरेका रक्तका थोपा मिसिएका छन्।
    ती शब्दहरूमा करुणा र आँसुका नदी बगेका छन्, र ती आँसुहरू नै नयाँ बीज हुन्, जसले शान्तिको वृक्ष पलाउनेछन्।

    युद्ध आत्मालाई तातो फलामको डण्डाले पोल्ने गर्छ। हरेक बन्दुकको आवाजले हृदयका बगैचामा बारूदका विषादी हाल्छ।
    जब युद्ध चलिरहेको हुन्छ, मानिसहरूको हृदयहरू पनि बंकर बनाइन्छ, जहाँ डर पलाउँछ, क्रोध पलाउँछ, र बदला लिने इच्छाहरू बास बस्छ।
    शान्ति आउँदा मात्र मानिसको आत्मा फेरि खुला आकासमा सास फेर्न सिक्छ, र हृदयका बगैचामा फुलहरू फेरि पलाउँछन्।
    जब शान्ति आउँछ, तब आत्मा केवल मुक्ति पाउँदैन, त्यो पवित्र पनि हुन्छ।

    युद्धको मैदानमा लडेका मान्छेहरूले सबैभन्दा ठूलो कुरा यही बुझ्छन्—कुनै पनि युद्ध जितेर पनि मानिसले आफूलाई हराउँछ।
    जब हत्या बन्द हुन्छ, तब मात्र सृष्टिले आफ्नो पुरानो संगीत सुनाउँछ।
    बमले च्यातिएको भूमिमा पहिलोपटक पलाएको फूल नै शान्तिको पहिलो किरण हो।
    बालबालिकाहरूको मुस्कानमा शान्तिको वास्तविक सम्झौता लेखिन्छ, किनकि ती मुस्कानहरूमा निर्दोषताको स्वर हुन्छ, जुन युद्धले मेटाउन सक्दैन।

    जेलेन्स्कीले भने, रुसले अन्ततः युद्ध अन्त्य गर्ने बारे सोच्न थालेको छ।”
    यो एउटा राष्ट्रको होइन, सम्पूर्ण मानवताको लागि सकारात्मक सङ्केत हो।
    संसारले वर्षौंदेखि शान्तिको प्रतीक्षा गरेको छ, र युद्धलाई अन्त्य गर्ने पहिलो कदम नै युद्धविराम हो।
    किनकि शान्ति हरेक युद्धको चरम विजय हो, र शान्तिको विजयमा कुनै रगत बग्दैन, केवल आँसु सुक्छन् र मुस्कानहरू पलाउँछन्।
    जब शान्ति आउँछ, आकाशले आफ्नो नीलो पहिरन फिर्ता पाउँछ, अनि परेवा गोलीले होइन, हावाले स्पर्श गर्छ।
    जब बन्दुकहरू मौन हुन्छन्, तब मानवताको आवाज सुन्न सकिन्छ।

    युद्धविराम भनेको युद्धको आवाजलाई शान्तिको संगीतमा बदल्ने अध्याय हो।
    त्यो अध्याय जहाँ रक्तपातको रिस करुणामा रूपान्तरण हुन्छ।
    जब युद्ध बन्द हुन्छ, तेस्रो विश्वका दुर्गम गाउँका बालबालिकाले पनि पेटभरि सास फेर्न पाउँछन्।
    जब शान्ति आउँछ, त्यही दिन बमले च्यातिएका घरहरूमा हाँसो फिर्ता आउँछ।
    जब युद्धको मैदान शान्त हुन्छ, त्यही दिन पृथ्वीले नयाँ बिहान पाउँछ।

    त्यसैले युद्धविरामको प्रत्येक क्षण, प्रत्येक सास, प्रत्येक प्रार्थना, प्रत्येक आँसु, प्रत्येक मुस्कान—यी सबै शान्तिका बीज हुन्।
    यी बीजहरू रोप्न सकियो भने मात्र मानवता बाँच्छ।
    र जब मानवता बाँच्छ, तब पृथ्वीमा शान्तिको सूर्य उदाउँछ।

    त्यसैले, आजको दिन युद्धविरामको केवल कूटनीतिक समाचार होइन, यो आकाशको उदासीलाई मुस्कानमा बदल्ने पहिलो किरण हो। यो किरण केवल सूर्यको उज्यालो होइन, यो त हजारौँ शिशुहरूको आँसुबाट जन्मिएको शान्तिको प्रकाश हो। यो उज्यालो कुनै राजनीतिक घोषणाको शब्द होइन, यो त युद्धले च्यातिएको आत्माका टुक्राहरूलाई जोड्ने करुणाको धागो हो।

    जेलेन्स्कीले बोलेका ती शब्दहरूमा संसारका लाखौँ आमाहरूका प्रार्थनाहरू मिसिएका छन्। ती प्रार्थनाहरूमा रातभर छोराको अनुहार हेरेर रुँदै जागिरहेकी आमाको सास मिसिएको छ। ती प्रार्थनामा विस्फोटको आवाजसँग काँपिरहेका शिशुहरूको चिच्याहट मिसिएको छ। ती प्रार्थनामा युद्धले विधवा बनाएको श्रीमतीको शान्तिका लागि गरेको आर्त गुहार मिसिएको छ। ती प्रार्थनामा शान्तिको नीलो आकास फर्काउने दृढ संकल्प मिसिएको छ।

    युद्धविरामको यही पलमा हामीले बुझ्नुपर्छ— युद्धविराम भनेको आत्माको विद्रोह हो। आत्माले हिंसाको अन्धकारलाई अस्वीकार गर्दै, करुणाको दीप जलाएर संसारलाई उज्यालो पार्ने संकल्प हो। युद्धविराम भनेको केवल बन्दुक थन्क्याउनु होइन, यो मनभित्र गडेर बसेको क्रोध, घृणा र बदला लिने प्यासलाई माफीद्वारा पगाल्नु हो। जब आत्माले माफी गर्न सिक्छ, तब संसारको सबैभन्दा ठूलो युद्ध समाप्त हुन्छ—अहंकारको युद्ध।

    जब युद्ध बन्द हुन्छ, केवल गोली रोकिन्छ, त्यस दिन शून्यमा गुञ्जिरहेको मृत्युसंगीतको स्थानमा जीवनको संगीत बज्न थाल्छ। विस्फोटका लहरमा रुँदै गरेको आकाश फेरि खुला भएर निलो मुस्कान फिर्ता ल्याउँछ। आकाशमा उडिरहेका परेवालाई गोलिले होइन, हावाले स्पर्श गर्न थाल्छ। हरेक बन्दुकको मौनताले एउटा शिशुको सास जोगिन्छ। हरेक शान्तिको सासमा एउटा आमा पुनः न्यानो निद्रा पाउँछिन्।

    युद्धविराम केवल एक सम्झौता होइन, यो त मानवताको पुनर्जन्मको क्षण हो। यो त धरतीका घाइते भागहरूमा मलहम लगाउने अवसर हो। युद्धको तातो बारूदले जलिरहेको भूमिमा पहिलो पलाएको फुल नै शान्तिको पहिलो किरण हो। जब युद्ध बन्द हुन्छ, आत्मा बन्धनमुक्त हुन्छ। अनि आत्मा मुक्त हुँदा, संसारमा आशाको रङ पलाउँछ।

    आज युद्धविरामको कुरा गर्दा हामीले बुझ्नुपर्छ—हामीले शान्ति केवल कूटनीतिक जीतका लागि होइन, आत्माको जीतका लागि खोज्नुपर्छ। शान्ति कुनै राष्ट्रको होइन, सम्पूर्ण मानवताको सपना हो। शान्तिले मात्र पृथ्वीलाई सुरक्षित राख्छ। किनकि बन्दुकले मात्रै भूमि कब्जा गर्न सक्छ, आत्मा कहिल्यै होइन। आत्मालाई कब्जा गर्न सक्ने मात्र शक्ति भनेको प्रेम र करुणा हो।

    हामीले बुझ्नुपर्छ—शान्ति हरेक युद्धको चरम विजय हो। शान्ति आउँदा आकाश र पृथ्वी दुवैले सास फेर्छन्। युद्धको रक्तरङलाई शान्तिको नीलो रङले पखाल्छ। जब युद्ध बन्द हुन्छ, धरतीमा केवल सिमानाहरू बाँडिने होइन, मनहरू जोडिन्छन्। जब युद्ध रोकिन्छ, तब शिशुहरूको हाँसो सुनिन्छ, आमाहरूको आँखाबाट आँसु सुक्छ। जब युद्ध रोकिन्छ, त्यस दिन आत्मा आत्मासँग मिल्छ, राष्ट्र राष्ट्रसँग मिल्छ, र मानिस मानिससँग मिल्छ।

    आज युद्धविरामको क्षणमा हामीले बिर्सनु हुँदैन—हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी हाम्रो भित्रको युद्ध जित्नु हो। जबसम्म भित्रको युद्ध जितिन्न, बाहिरको युद्ध कहिल्यै रोकिँदैन। बाहिरी युद्ध केवल भित्री हिंसाको प्रतिविम्ब हो। जब हाम्रो आत्मा करुणा र प्रेममा समर्पित हुन्छ, त्यस दिन युद्धको अन्त्य हुन्छ।

    आजको युद्धविरामले हामीलाई यही पाठ सिकाउँछ— बन्दुक कहिल्यै समाधान होइन, शान्ति नै समाधान हो। आत्मा नै सबैभन्दा ठूलो राष्ट्र हो। करुणा र प्रेमले मात्र आत्मा र राष्ट्रलाई सुरक्षित राख्न सक्छ। शान्तिको यही पवित्र क्षणमा हामीले प्रतिज्ञा गर्नुपर्छ—हामी आगो होइन, आशा बोकेर बाँच्नेछौं। हामी युद्ध होइन, शान्तिको बाटो हिंड्नेछौं। किनकि जब शान्ति आउँछ, तब पृथ्वीले मात्र होइन, सम्पूर्ण ब्रह्माण्डले पनि मुस्कान फिर्ता ल्याउँछ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार २५, बुधबार १७:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP