logo
  • २०८३ जेष्ठ ९ | Sat, 23 May 2026
  • अल द वर्ल्ड्स अ स्टेजः आत्मचिन्तनको ऐना

    अल द वर्ल्ड्स अ स्टेजः आत्मचिन्तनको ऐना

    अल द वर्ल्ड्स अ स्टेजः आत्मचिन्तनको ऐना

     

    तोमनाथ उप्रेती

     

    विलियम शेक्सपियरको प्रसिद्ध नाटक एज यु लाइक इट भित्र जाक्स पात्रले प्रस्तुत गरेको अल द वर्ल्ड्स अ स्टेज भन्ने एकल संवाद अंग्रेजी साहित्यको दार्शनिक अभिव्यक्तिहरूमध्ये एक हो। यसमा शेक्सपियरले संसारलाई एउटा रंगमञ्चसँग तुलना गरेका छन्, जहाँ सबै मानिसहरू अभिनेता मात्र हुन् र जीवनभर विभिन्न भूमिका निर्वाह गर्छन्। यो विचारले मानव जीवनलाई स्थायी होइन, परिवर्तनशील र अस्थायी प्रक्रियाको रूपमा बुझ्न प्रेरित गर्छ।

    यस मोनोलग वा एकल संवादमा जीवनलाई शिशु, बालक, प्रेमी, सैनिक, न्यायाधीश, वृद्ध र अन्ततः पूर्ण विस्मृति गरि सात चरणमा विभाजन गरिएको छ । प्रत्येक चरणले मानव जीवनको विकास, अनुभव र क्षयलाई क्रमशः देखाउँछ। शिशु अवस्थाले निर्भरता देखाउँछ भने बाल्यकालले सिकाइ र संघर्ष देखाउँछ। प्रेमले भावना र कल्पनालाई उजागर गर्छ। सैनिकले साहस र महत्वाकांक्षा देखाउँछ, न्यायाधीशले बुद्धि र जिम्मेवारी, वृद्ध अवस्थाले कमजोरी र अन्त्यको संकेत गर्छ।

    यस संवादले जीवनको अनिवार्यता, समयको परिवर्तनशीलता र मृत्युको निश्चिततालाई गहन रूपमा प्रस्तुत गर्छ। शेक्सपियरको सन्देश सरल छ मानिस आफ्नो भूमिकामा मात्र बाँच्छ, तर अन्ततः सबै सान्स एभ्रीथिङ अर्थात् सबै गुमाइसकेको अवस्था हुन्छ।

    शेक्सपियरले मानव जीवनलाई सात चरणमा विभाजन गर्दै जन्मदेखि मृत्युसम्मको सम्पूर्ण यात्रालाई नाटकीय प्रतीकमार्फत प्रस्तुत गरेका छन्। यो मानव अस्तित्वको दार्शनिक व्याख्या हो, जसले जीवनको अस्थिरता, भूमिकागत परिवर्तन र अन्तिम नाशशीलतालाई अत्यन्त सूक्ष्म तर प्रभावकारी ढंगले उजागर गर्छ। यस कवितात्मक गद्यमा जीवनलाई एक नाटकसँग तुलना गर्दै प्रत्येक मानिसलाई अभिनेताको रूपमा प्रस्तुत गरिएको छ, जसले समयअनुसार फरक–फरक भूमिका निर्वाह गर्नुपर्छ। यही दृष्टिकोणले यसलाई विश्व साहित्यमा अमर बनाएको छ।

    यस एकल संवादको मूल दर्शन थिएटर अफ द वर्ल्ड अर्थात् संसारलाई रंगमञ्च मान्ने अवधारणामा आधारित छ, जसको ऐतिहासिक जरा प्राचीन ग्रीक र रोमन दर्शनसम्म फैलिएको पाइन्छ। शेक्सपियरले यस पुरानो विचारलाई आफ्नो सिर्जनात्मक प्रतिभाले नयाँ उचाइमा पुर्याएका छन्। उनी भन्छन् मानव जीवन कुनै स्थायी पहिचान होइन, बरु समयसँगै बदलिने भूमिका हो। प्रत्येक मानिस आफ्नो जीवनमा विभिन्न पात्रहरू निर्वाह गर्छ कहिले बालक, कहिले विद्यार्थी, कहिले प्रेमी, कहिले सैनिक, कहिले न्यायाधीश, कहिले वृद्ध र अन्ततः पूर्ण विस्मृति। यसले जीवनलाई एक गतिशील प्रक्रिया रूपमा देखाउँछ, जहाँ कुनै पनि अवस्था स्थायी छैन। यही परिवर्तनशीलता नै मानव अस्तित्वको आधारभूत सत्य हो भन्ने विचार यसमा निहित छ।

    पहिलो चरण अर्थात् शिशु अवस्थालाई शेक्सपियरले अत्यन्त यथार्थवादी तर भावनात्मक रूपमा चित्रण गरेका छन् अर्थात् रुँदै, कराउँदै, आमाको काखमा पूर्ण निर्भर अवस्थामा रहेको शिशु। यसले मानव जीवनको प्रारम्भिक असहायता र पूर्ण परनिर्भरताको अवस्था देखाउँछ। दोस्रो चरण, विद्यालय जाने बालक, जीवनमा अनुशासन र शिक्षाको प्रवेशलाई संकेत गर्छ। व्हाइनिङ स्कूलबोय गुनासो गर्ने वा कराउने विद्यार्थी बालकको रूपमा उसले पढाइप्रतिको अनिच्छा र जिम्मेवारीप्रतिको संघर्ष देखाउँछ। तेस्रो चरण प्रेमीको हो, जहाँ भावना, कल्पना र संवेदनशीलता चरममा पुग्छ। प्रेमीले प्रेमको कल्पनामा आफूलाई पूर्ण रूपमा हराउँछ, र भावनात्मक उतारचढावले जीवनलाई रंगीन बनाउँछ। यी प्रारम्भिक चरणहरूले मानव चेतनाको विकासक्रमलाई स्पष्ट रूपमा देखाउँछन् शारीरिक निर्भरता, सामाजिक शिक्षा र भावनात्मक जागरण।

    चौथो चरण सैनिक जीवन हो, जुन साहस, महत्वाकांक्षा र सामाजिक प्रतिष्ठाको प्रतीक हो। यहाँ मानिस सम्मान, प्रसिद्धि र पहिचानको खोजीमा युद्ध र संघर्षमा होमिन्छ। शेक्सपियरले सैनिकलाई स्ट्रेन्ज ओथ्स वा अपरिचित/कठोर शपथहरू गर्ने, अर्थात् दागदार चितुवा जस्तै क्रूर र साहसी रूपमा चित्रण गरेका छन्। तर यस चरणमा उनले सूक्ष्म व्यङ्ग्य पनि गरेका छन् सैनिकले “बबल रेप्युटेशन” “क्षणिक वा फुस्रो प्रतिष्ठा”अर्थात् क्षणिक र नाजुक प्रतिष्ठाका लागि ज्यान जोखिममा राख्छ। यसले देखाउँछ कि मानव महत्वाकांक्षा प्रायः अस्थायी र भ्रमपूर्ण हुन्छ। यो चरण जीवनको ऊर्जा र जोशको चरम अवस्था भए पनि, अस्थिरता र जोखिमले भरिएको हुन्छ।

    पाँचौँ चरण न्यायाधीशको हो, जहाँ मानिस अनुभव, ज्ञान र सामाजिक जिम्मेवारीको अवस्थामा पुग्छ। यसलाई फेयर राउन्ड बेली अर्थात् स्थूल शरीर, गम्भीर दृष्टि र अधिकारपूर्ण स्वरूपमा चित्रण गरिएको छ। यो अवस्था स्थायित्व, बुद्धि र सामाजिक प्रतिष्ठाको प्रतीक हो। तर यसमा आत्मसन्तुष्टि र कठोरता पनि देखिन्छ, जसले मानिसलाई कहिलेकाहीँ जड बनाउँछ। छैटौँ चरण प्यान्टालुन”“वृद्ध, कमजोर र हास्यास्पद देखिने बूढो व्यक्ति” अर्थात् वृद्धावस्था हो, जहाँ शरीर कमजोर हुन्छ, आवाज बाल्यकालतर्फ फर्कन्छ, र जीवनको ऊर्जा क्रमशः घट्दै जान्छ। यहाँ शारीरिक क्षय स्पष्ट रूपमा देखिन्छ—चस्मा, लाठी र कमजोर शरीर वृद्ध जीवनको प्रतीक हुन्। यो चरणले जीवनको अपरिहार्य पतनलाई देखाउँछ, जहाँ मानिस आफ्नो शक्तिबाट बिस्तारै टाढा हुँदै जान्छ।

    सातौँ र अन्तिम चरण “सेकेन्ड चाइल्डिसनेस एन्ड मियर अब्लिभियन” “दोस्रो बाल्यावस्था र पूर्ण विस्मृति हो। यहाँ मानिस सबै इन्द्रिय शक्ति गुमाउँछ—दाँत, आँखा, स्वाद र अन्ततः सबै अस्तित्व नै हराउँछ। सबै कुरा बिना भन्ने अभिव्यक्तिले जीवनको पूर्ण समाप्तिलाई संकेत गर्छ। यो चक्रले जीवन सुरु पनि असहाय अवस्थाबाट हुन्छ र अन्त्य पनि त्यही असहायतामा पुग्छ भन्ने देखाउँछ। यसले मानव अस्तित्वको चक्रीय स्वरूपलाई उजागर गर्छ, जहाँ जीवन र मृत्यु बीचको दूरी समयको यात्रा  मात्र हो। यस अन्तिम चरणले पाठकलाई गहन अस्तित्ववादी चिन्तनमा डुबाउँछ।

    साहित्यिक दृष्टिले हेर्दा, यो एकल संवाद शेक्सपियरको भाषा, प्रतीक र संरचनात्मक कौशलको उत्कृष्ट उदाहरण हो। प्रत्येक चरणलाई स्पष्ट र जीवन्त बिम्बद्वारा चित्रण गरिएको छ, जसले पाठकको कल्पनाशक्ति सक्रिय बनाउँछ। भाषा सरल भए पनि अर्थ गहन छ। नाटकीय संरचना प्रवेश र प्रस्थानले जीवनलाई अस्थायी र प्रदर्शनात्मक रूपमा प्रस्तुत गर्छ। यसले पहिचानलाई स्थायी नभई परिस्थितिजन्य बनाउँछ। जाक्स पात्रको निराशावादी तर दार्शनिक दृष्टिकोणले सम्पूर्ण संवादलाई अझ गहन बनाउँछ। उनले जीवनलाई नजिकबाट होइन, टाढाबाट अवलोकन गर्छन्, जसले उनलाई एक दार्शनिक पर्यवेक्षक बनाउँछ।

    मानव जीवनका सात चरणहरू मानव जीवनको सम्पूर्ण दर्शन हो। यसले हामीलाई जीवनको अस्थिरता, भूमिकाको परिवर्तनशीलता र मृत्युको अनिवार्यता सम्झाउँछ। शेक्सपियरले जीवनलाई न त पूर्ण रूपमा आशावादी बनाएका छन्, न त पूर्ण निराशावादी बरु यथार्थवादी दृष्टिकोण प्रस्तुत गरेका छन्। यसले हामीलाई आफ्ना भूमिकाहरू बुझ्न, समयको मूल्य गर्न र अस्तित्वको गहन अर्थ खोज्न प्रेरित गर्छ। यही कारणले यो संवाद आज पनि उत्तिकै सान्दर्भिक छ, जति शेक्सपियरको समयमा थियो। मानव जीवनको यो नाटकीय यात्रा प्रत्येक युगका मानिसका लागि आत्मचिन्तनको ऐना बनेको छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ ९, शनिबार १२:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP