logo
  • २०८३ भाद्र २३ | Tue, 08 Sep 2026
  • यात्रा : गन्तव्यभन्दा ठूलो आत्मबोध

    यात्रा : गन्तव्यभन्दा ठूलो आत्मबोध

    यात्रा : गन्तव्यभन्दा ठूलो आत्मबोध

     

    तोमनाथ उप्रेती

    यात्रा चेतनाको विस्तार हो। यो आत्माको संवाद हो। यो समय, प्रकृति र अनुभवसँगको मौन भेट हो। मानिस जन्मेदेखि नै यात्रामा हुन्छ। पहिलो यात्रा आमाको गर्भबाट संसारसम्मको हुन्छ। त्यसपछि बाल्यकालबाट युवावस्थासम्म, युवावस्थाबाट वृद्धावस्थासम्म र अन्ततः जीवनबाट अनन्ततासम्मको यात्रा निरन्तर चलिरहन्छ। त्यसैले यात्रा कुनै निश्चित दिन सुरु हुने र कुनै निश्चित स्थानमा समाप्त हुने घटना होइन। यात्रा त जीवनको पर्याय हो। प्रत्येक पाइला एउटा प्रश्न हो। प्रत्येक मोड एउटा परीक्षा हो। प्रत्येक अनुभव एउटा गुरु हो। प्रत्येक बिछोड एउटा शिक्षा हो। प्रत्येक भेट एउटा नयाँ अध्याय हो। मानिसले संसार घुम्नुभन्दा पहिले आफ्नै मन घुम्न सिक्नुपर्छ। किनकि बाहिरको संसारभन्दा विशाल संसार आफ्नै अन्तर्मनभित्र लुकेको हुन्छ। जसले आफूलाई चिन्न सकेन, उसले संसारका हजारौँ देश देखे पनि जीवनको वास्तविक अर्थ बुझ्न सक्दैन।

    त्यो बिहान पनि यस्तै थियो। पूर्व क्षितिजमा सूर्यको पहिलो किरणले आकाशलाई हल्का सुनौलो बनाइरहेको थियो। शीतका थोपा घाँसका टुप्पामा मोतीझैँ चम्किरहेका थिए। चराहरूको मधुर स्वरले वातावरणलाई पवित्र बनाइरहेको थियो। मैले सानो झोला काँधमा राखेँ। घरको आँगन एकपटक फर्केर हेरेँ। भित्ताहरू मौन थिए। आँगनमा रोपिएको तुलसी स्थिर थियो। घरले केही बोलेन। तर घरको मौनताले एउटा सन्देश दियो। जहाँबाट यात्रा सुरु हुन्छ, त्यहीँ फर्केर आउने चाहना सधैँ जीवित रहन्छ। मानिस संसारभरि घुमे पनि अन्ततः ऊ आफ्नै जरा खोज्न फर्किन्छ। किनकि जरा नभएको वृक्ष हरियो हुन सक्दैन। इतिहास नभएको समाज समृद्ध हुन सक्दैन। आत्मबोध नभएको मानिस सफल भए पनि सन्तुष्ट हुन सक्दैन।

    बाटो बिस्तारै उकालो लाग्न थाल्यो। केही दूरी पार गर्नासाथ सास गह्रौँ भयो। खुट्टा थाक्न थाले। पसिनाले निधार भिजायो। त्यही क्षण एउटा विचार मनमा आयो। प्रकृतिले कहिल्यै महान् दृश्यहरू समथर मैदानमा राखेको छैन। हिमालको चुचुरो उकालो चढेपछि मात्र देखिन्छ। मन्दिरका घण्टीहरू धेरैजसो डाँडाको टुप्पामा बज्छन्। ज्ञान पनि त्यस्तै हो। संघर्षबिना प्राप्त हुने सफलता क्षणिक हुन्छ। कठिनाइले कमाएको उपलब्धि मात्र दीर्घकालीन हुन्छ। जीवनले पनि यही नियम अपनाएको छ। दुःख, असफलता र संघर्ष जीवनका शत्रु होइनन्। ती त हाम्रो चरित्र निर्माण गर्ने मौन शिक्षक हुन्।

    केही पर पुगेपछि एउटा खोला भेटियो। पानी अविरल बगिरहेको थियो। उसले कुनै गुनासो गरेको थिएन। उसले कहिल्यै आफ्नो यात्रा रोकेको थिएन। ढुङ्गा भेटे पनि उसले बाटो बनायो। पहाड भेटे पनि घुमेर गयो। अवरोधलाई शत्रु मानेन। अवसर बनायो। मैले लामो समयसम्म त्यो खोला हेरेँ। त्यसले मलाई जीवनको एउटा अद्भुत सत्य सिकायो। जो मानिस परिस्थितिसँग लड्न मात्र जान्छ, ऊ थाक्छ। जो परिस्थितिलाई बुझेर अगाडि बढ्न जान्छ, ऊ सफल हुन्छ। पानी कठोर हुँदैन। तर त्यसैले विशाल चट्टान काट्न सक्छ। कोमलता कहिलेकाहीँ कठोरताभन्दा धेरै शक्तिशाली हुन्छ।

    जंगलभित्र प्रवेश गर्दा वातावरण पूर्ण रूपमा बदलियो। अग्ला रुखहरू आकाश छुने प्रयास गरिरहेका थिए। तिनका जराहरू भने माटोलाई बलियोसँग समातिरहेका थिए। त्यही दृश्यले अर्को पाठ पढायो। मानिस जति माथि उठे पनि आफ्नो जरा बिर्सनु हुँदैन। सफलता विनम्रतासँग जोडिएन भने त्यो अहंकारमा बदलिन्छ। फल लागेको रुख झुक्छ। पानीले भरिएको बादल तल झर्छ। ज्ञानले भरिएको मानिस नम्र हुन्छ। खाली मानिस मात्र ठूलो स्वरले बोल्छ। प्रकृतिले हजारौँ वर्षदेखि यही शिक्षा दिइरहेको छ। दुर्भाग्य, मानिसले सुन्ने समय निकाल्दैन।

    जंगलको बीचमा एउटा फूल फुलेको थियो। वरिपरि कसैको उपस्थिति थिएन। त्यसलाई कसैले प्रशंसा गरेको थिएन। कसैले पुरस्कार दिएको थिएन। तैपनि त्यो आफ्नै सुगन्ध फैलाइरहेको थियो। त्यहाँ मैले निःस्वार्थ कर्मको दर्शन देखेँ। राम्रो काम प्रशंसाका लागि गर्नु हुँदैन। आफ्नो धर्म सम्झेर गर्नुपर्छ। सूर्यले प्रकाश दिँदा धन्यवादको अपेक्षा गर्दैन। नदीले पानी बगाउँदा ताली खोज्दैन। पृथ्वीले अन्न उब्जाउँदा पुरस्कार माग्दैन। प्रकृतिका प्रत्येक तत्वले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्। मानिस मात्र यस्तो प्राणी बनेको छ, जसले प्रत्येक कामको बदलामा प्रशंसा, पद र प्रतिष्ठा खोज्छ।

    यात्रा अगाडि बढ्दै गयो। बाटोमा एउटा वृद्ध भेटिए। अनुहारमा असंख्य चाउरी थिए। तर आँखामा अद्भुत शान्ति थियो। मैले सम्मानपूर्वक नमस्कार गरेँ। उहाँ मुस्कुराउनुभयो। “कहाँ जाँदैछौ?” उहाँले सोध्नुभयो। मैले एउटा प्रसिद्ध तीर्थस्थलको नाम लिएँ। उहाँ फेरि मुस्कुराउनुभयो। “तीर्थ त मनभित्र पनि हुन्छ,” उहाँले भन्नुभयो, “यदि मन अशान्त छ भने संसारका सबै तीर्थ पुगेर पनि मानिस अपूर्ण रहन्छ। यदि मन शुद्ध छ भने आफ्नै घर पनि तीर्थ बन्छ।” यति भनेर उहाँ बिस्तारै अगाडि बढ्नुभयो। उहाँका शब्दहरू भने मेरो यात्राभरि साथमा हिँडिरहे।

    केही समयपछि एउटा सानो बालक भेटियो। उसको शरीरमा साधारण लुगा थियो। खुट्टामा जुत्ता थिएन। हातमा काठको चक्का थियो। ऊ त्यसैसँग खेल्दै हाँसिरहेको थियो। उसको अनुहारमा यस्तो आनन्द थियो, जुन धेरै धनाढ्य मानिसहरूको अनुहारमा पनि देखिँदैन। मैले त्यही बेला बुझें, सुख वस्तुमा होइन, दृष्टिकोणमा हुन्छ। मानिससँग धेरै भएर पनि असन्तुष्ट हुन सक्छ। थोरै भएर पनि अत्यन्त खुसी हुन सक्छ। वास्तविक गरिबी धनको अभाव होइन। सन्तोषको अभाव हो।

    बेलुकातिर मौसम अचानक बदलियो। आकाशमा कालो बादल मडारिए। वर्षा सुरु भयो। बाटो हिलो भयो। यात्रा कठिन बन्यो। केही क्षण मैले वर्षालाई दोष दिएँ। तर त्यही बेला बाटोछेउको एउटा बिरुवा देखेँ। वर्षाका थोपालाई उसले जीवनका रूपमा ग्रहण गरिरहेको थियो। मैले महसुस गरेँ, जुन घटना मेरा लागि बाधा हो, त्यो अरू कसैका लागि अवसर हुन सक्छ। जीवनमा आउने प्रत्येक कठिनाइ विनाशका लागि आउँदैन। कतिपय कठिनाइ नयाँ सम्भावनाको ढोका खोल्न आउँछन्। दुःखले मानिसलाई तोड्न पनि सक्छ। त्यही दुःखले मानिसलाई महान् पनि बनाउन सक्छ। निर्णय परिस्थितिले होइन, मानिसको चेतनाले गर्छ।

    साँझ पर्दासम्म म गन्तव्यमा पुगेँ। मन्दिरको घण्टी बजिरहेको थियो। मानिसहरू पूजा गरिरहेका थिए। धूपको सुगन्ध फैलिएको थियो। मैले आँखा बन्द गरेँ। प्रार्थना गर्न खोजेँ। तर शब्द आएनन्। किनकि यात्रा आफैँ प्रार्थना बनिसकेको थियो। मैले महसुस गरेँ, भगवान् मन्दिरमा मात्र हुनुहुन्न। उहाँ त बिहानको सूर्यमा हुनुहुन्थ्यो। नदीको बहावमा हुनुहुन्थ्यो। जंगलको मौनतामा हुनुहुन्थ्यो। वृद्धको मुस्कानमा हुनुहुन्थ्यो। बालकको हाँसोमा हुनुहुन्थ्यो। वर्षाको थोपालाई अँगालो हालिरहेको बिरुवामा हुनुहुन्थ्यो। सबैभन्दा बढी त उहाँ आफ्नै अन्तर्मनमा हुनुहुन्थ्यो।

    त्यस दिन मैले एउटा गहिरो सत्य बुझें। यात्रा भनेको दूरी घटाउनु होइन। अज्ञानता घटाउनु हो। यात्रा भनेको नयाँ ठाउँ हेर्नु मात्र होइन। नयाँ दृष्टि प्राप्त गर्नु हो। यात्रा भनेको तस्वीर सङ्कलन गर्नु होइन। अनुभव सङ्कलन गर्नु हो। गन्तव्यले शरीरलाई विश्राम दिन सक्छ। तर यात्राले आत्मालाई जागृत बनाउँछ। मानिस संसारका सबै बाटाहरू हिँड्न सक्छ। तर यदि उसले आफ्नै अन्तरात्मातर्फ जाने बाटो भेटेन भने उसको यात्रा अधुरै रहन्छ।

    जीवनको अन्तिम सत्य पनि यही हो। हामी सबै यात्रु हौँ। कसैको यात्रा छोटो हुन्छ। कसैको लामो। कसैको सहज हुन्छ। कसैको कठिन। तर सबै यात्राको अन्तिम गन्तव्य एउटै छ। त्यसैले यात्राको मूल्य गन्तव्यले निर्धारण गर्दैन। यात्राको क्रममा हामीले कति प्रेम बाँड्यौँ, कति सत्य स्वीकार्यौँ, कति अहंकार त्याग्यौँ, कति मानिसको आँसु पुछ्यौँ र कति चेतना विस्तार गर्यौँ भन्ने कुराले निर्धारण गर्छ। मानिसले संसार जितेर महान् बन्दैन। उसले आफ्नै लोभ, क्रोध, अहंकार र अज्ञानमाथि विजय प्राप्त गरेपछि मात्र साँचो यात्रु बन्छ। त्यसपछि हरेक बाटो तीर्थ बन्छ। हरेक दिन उत्सव बन्छ। हरेक मानिस गुरु बन्छ। अनि जीवन स्वयं एउटा दिव्य यात्रा बनेर अनन्त चेतनातर्फ निरन्तर अगाडि बढिरहन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ भाद्र २३, मंगलवार १२:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP