logo
  • २०८३ भाद्र २३ | Tue, 08 Sep 2026
  • बोदेबर्साइन : इतिहास, भूगोल र आत्माको यात्रा(नियात्रा)

    बोदेबर्साइन : इतिहास, भूगोल र आत्माको यात्रा(नियात्रा)

    बोदेबर्साइन : इतिहास, भूगोल र आत्माको यात्रा(नियात्रा)

    तोमनाथ उप्रेती

    नेपालको राजनीतिक इतिहासमा स्थानीय तह निर्वाचन–२०७९ लोकतान्त्रिक अभ्यासको एउटा महत्त्वपूर्ण अध्याय थियो। संघीय शासन प्रणाली कार्यान्वयनपछि स्थानीय सरकारमार्फत जनताको घरदैलोसम्म लोकतन्त्र, विकास र सार्वजनिक सेवा पुर्‍याउने अपेक्षाका बीच सम्पन्न भएको यस निर्वाचनले स्थानीय राजनीतिक चेतना र जनसहभागिताको वास्तविक तस्वीर प्रस्तुत गरेको थियो। यही निर्वाचनको सन्दर्भमा निर्वचन अधिकृतको जम्मेवारी पुरा गर्न मेरो यात्रा काठमाडौँबाट मधेश प्रदेशको सप्तरी जिल्लास्थित बोदेबर्साइन नगरपालिकातर्फ तय भयो।

    काठमाडौँको शहरी चहलपहलबाट पूर्वी तराईको समथर फाँटसम्मको यो यात्रा  नेपालको विविध भूगोल, संस्कृति, इतिहास र राजनीतिक चेतनासँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर पनि थियो। पहाडबाट मधेशतर्फ झर्दै जाँदा सडकसँगै दृश्य बदलिन्थे। भाषा बदलिन्थ्यो। मानिसको जीवनशैली र सामाजिक परिवेश बदलिन्थ्यो। तर लोकतन्त्रप्रतिको अपेक्षा भने सबै ठाउँमा समान रूपमा जीवित देखिन्थ्यो।

    बोदेबर्साइन पुग्नु स्थानीय निर्वाचनको प्रशासनिक र राजनीतिक प्रक्रियासँग जोडिनु मात्र थिएन। त्यो स्थानीय जनजीवन, मतदाताको चेतना, लोकतान्त्रिक सहभागिता र मधेशको सामाजिक यथार्थलाई नजिकबाट बुझ्ने अवसर पनि थियो। यस यात्राले मलाई समय, माटो, इतिहास र मानिसबीचको सम्बन्धसँग संवाद गर्न प्रेरित गर्‍यो।

    काठमाडौँबाट म बिहानै निस्किएँ। शहर अझै पूर्ण रूपमा ब्युँझिएको थिएन। तर सडक जागिसकेको थियो। धुलो जागिसकेको थियो। मानिसका हतार जागिसकेका थिए। गाडीहरूको आवाजले उपत्यकाको निद्रा चिरिरहेको थियो। म भने एउटा यात्रामा थिएँ। केवल एउटा ठाउँबाट अर्को ठाउँ पुग्न होइन। केवल किलोमिटर नाप्न पनि होइन। म समयको एउटा लामो सुरुङभित्र प्रवेश गर्न निस्किएको थिएँ।

    काठमाडौँको उपत्यका पछाडि छोड्दै गर्दा मलाई लाग्यो मानिस पनि पहाडजस्तै हुन्छ। बाहिरबाट स्थिर। भित्रबाट निरन्तर भत्किरहेको। फेरि बनिरहेको। गाडी कोटेश्वर पार गर्दै पूर्वतिर मोडियो। मेरो आँखामा सडक थियो। तर मनमा युगहरू थिए। म सोच्दै थिएँ यो बाटोभन्दा पहिले यहाँ के थियो? घोडाका टाप? मानिसका खाली खुट्टा? वन्यजन्तुको पदचिह्न? वा सभ्यताको पहिलो डर? यात्राको आरम्भ सधैं भूगोलबाट हुन्छ। तर त्यसको अन्त्य दर्शनमा हुन्छ। मानिस गन्तव्य खोज्दै निस्कन्छ। अन्ततः आफूलाई खोज्दै फर्कन्छ।

    धुलिखेल पुग्दा पहाडले मलाई फेरि आफ्नो पुरानो भाषा सुनायो। त्यो भाषा मौन थियो। तर गहिरो थियो। क्षितिजमा फैलिएका डाँडाहरू धुवाँजस्ता देखिन्थे। बादलहरू पृथ्वीमाथि झुकेका थिए। हावा चिसो थियो। तर त्यसमा इतिहासको कुनै अदृश्य ताप थियो। मलाई लाग्यो पहाडहरू बोल्न सक्दैनन्। त्यसैले उनीहरू हजारौँ वर्षदेखि उभिएर इतिहास सम्झिरहेका छन्। धुलिखेल एउटा स्थान मात्र थिएन। त्यो उपत्यका र तराईबीचको संवाद थियो। पहाडको आरोह र मैदानको विस्तारबीचको पुल। यहाँबाट हेर्दा पृथ्वीको अनुहार बदलिँदै जान्थ्यो। माथि चट्टान। तल उपत्यका। त्यसभन्दा पर अनन्त समथरता। र त्यस समथरतामा जन्मिएका मानिसका अनगिन्ती सपना। पहाडले मानिसलाई उचाइको अर्थ सिकाउँछ। तर उचाइमा पुगेर पनि मानिस किन यति सानो रहन्छ भन्ने प्रश्नको उत्तर दिँदैन। सायद त्यसैले यात्रा आवश्यक हुन्छ। संसार हेर्नका लागि मात्र होइन। आफूभित्रको अन्धकार हेर्नका लागि पनि।

    गाडी अगाडि बढ्यो। सडकले घुम्ती लियो। मेरो विचारले पनि। मलाई अचानक आदिम मानिस सम्झना आयो। उसले पनि यात्रा गरेको थियो। तर उसको यात्रामा राजमार्ग थिएन। पेट्रोल थिएन। सवारी थिएन। होटल थिएन। उसँग केवल भोक थियो। डर थियो। आकाश थियो। र बाँच्नुपर्ने बाध्यता थियो। सभ्यताको पहिलो यात्रु सम्भवतः कुनै राजा थिएन। कुनै विजेता पनि थिएन। ऊ एउटा भोकाएको मानिस थियो। उसले नदी पछ्यायो। जंगल पार गर्‍यो। उर्वर भूमि खोज्यो। जहाँ पानी भेट्यो, त्यहीँ आफ्नो भविष्य रोप्यो। सायद नेपालको भूगोलमा पनि मानिसको यात्रा त्यसै गरी फैलियो। पहाडको छाती चिरेर मानिस तल झर्‍यो। नदीसँगै हिँड्यो। मैदानमा पुग्यो। माटो छोयो। अनि भन्यो—यहीँ जीवन सम्भव छ। त्यस क्षणदेखि मानिस र माटोबीच एउटा अदृश्य सम्झौता भयो। मानिसले माटोलाई जोत्न थाल्यो। माटोले मानिसलाई बाँच्न दियो। तर मानिसले विस्तारै त्यो सम्झौता बिर्सियो। उसले माटोलाई सम्पत्ति ठान्न थाल्यो। र आफूलाई मालिक।

    बर्दिबासतिर पुग्दा पहाडको स्मृति क्रमशः पछाडि हराउँदै गयो। धरती फराकिलो हुन थाल्यो। आकाश पनि। मानिसको दृष्टि पनि। पहाडमा क्षितिज टाढा हुँदैन। तर तराईमा क्षितिज मानिसको आँखाबाट भागिरहन्छ। जति हिँड्यो, उति पर। जति खोज्यो, उति विशाल। मलाई तराई सधैं समुद्रजस्तो लाग्छ। यहाँ पानीको लहर छैन। तर खेतका हरिया छालहरू छन्। यहाँ जहाज छैनन्। तर मानिसका सपनाहरू तैरिरहेका छन्। सडकछेउ मैले धेरै अनुहार देखेँ। चिया पिउँदै गरेका मानिस। सवारी कुर्दै गरेका मजदुर। विद्यालयतिर हिँडिरहेका बालबालिका। टोकरी बोकेर गइरहेकी महिला। कुनै वृद्ध सडक किनारमा चुपचाप बसिरहेका। यात्राले एउटा कुरा सिकाउँछ—हरेक मानिस आफ्नो गन्तव्यतिर हिँडिरहेको हुन्छ। तर कसैको गन्तव्य घर हुन्छ। कसैको विदेश। कसैको अस्पताल। कसैको अदालत। कसैको मन्दिर। र कसैको अन्तिम यात्रा। एउटै सडकमा हिँडिरहेका मानिसहरूको नियति कति फरक हुन्छ।

    बर्दिबासबाट पूर्वतिर बढ्दै गर्दा म एउटा सभ्यताको पुरानो छायाँभित्र प्रवेश गरिरहेको थिएँ। मिथिलाको हावाले आफ्नो उपस्थिति जनाउन थालेको थियो। भाषा बदलिन्थ्यो। लय बदलिन्थ्यो। मानिसको उच्चारण बदलिन्थ्यो। तर माटोको गन्ध उस्तै रहन्थ्यो। मैले सोचेँ भाषा मानिसले बनायो। तर माटोले मानिसलाई बनायो। मिथिला कुनै राजनीतिक नक्साको नाम मात्र होइन। यो स्मृतिको सभ्यता हो। यो जनकको दर्शन हो। सीताको स्मृति हो। विदेहको वैचारिक प्रकाश हो। यहाँका पोखरीहरूले पनि इतिहास बोकेका छन्। यहाँका मन्दिरहरूले पनि। यहाँका लोकगीतहरूले त झन् समयलाई नै कण्ठस्थ गरेका छन्। एउटा सभ्यता भवनले मात्र बन्दैन। सभ्यता मानिसको सामूहिक स्मृतिले बन्छ। गीतमा बाँच्दछ। कथामा बाँच्दछ। पर्वमा बाँच्दछ। आमाले छोरीलाई सुनाउने कथामा बाँच्दछ। र मानिसले आफ्नो विगत सम्झन चाहँदासम्म बाँचिरहन्छ।

    लहान आइपुग्दा सूर्य पश्चिमतिर झुक्दै थियो। सडकमा लामो छायाँ थियो। मानिसहरूका छायाँ पनि लम्बिएका थिए। लहान एउटा यात्राको विश्रामजस्तो लाग्यो। तर इतिहासको कुनै विश्राम हुँदैन। यहाँबाट पूर्वतिर हेर्दा समय अझै पुरानो देखिन्थ्यो। मैले कल्पना गरेँ। कुनै दिन यही भूमिमा घोडाहरू दौडे होलान्। सैनिकहरू गुज्रे होलान्। राजाहरूले कर उठाएका होलान्। किसानहरूले धान रोपेका होलान्। कुनै आमाले छोरालाई युद्धमा पठाएकी होलिन्। कुनै स्त्रीले आफ्नो प्रियजन फर्केर आउने प्रतीक्षा गरेकी होलिन्। इतिहासमा प्रायः राजाको नाम लेखिन्छ। सेनापतिको विजय लेखिन्छ। युद्धको मिति लेखिन्छ। तर प्रतीक्षा गर्ने स्त्रीको नाम हराउँछ। खेत जोत्ने किसानको नाम हराउँछ। युद्धमा मरेको साधारण सैनिकको अनुहार हराउँछ। यात्राले मलाई इतिहासका हराएका मानिसहरू खोज्न सिकायो। किनकि वास्तविक इतिहास महलमा मात्र लेखिँदैन। त्यो पसिनामा पनि लेखिन्छ। आँसुमा पनि। प्रतीक्षामा पनि।

    लहान पार गरेपछि सप्तरीको अनुभूति सुरु भयो। सडक उस्तै थियो। तर मेरो मन बदलिएको थियो। म एउटा जिल्लामा प्रवेश गरिरहेको थिइनँ। म एउटा पुरानो जनपदतिर प्रवेश गर्दै थिएँ। यस्तो भूभागतिर, जहाँ माटोमुनि पनि इतिहास सुतिरहेको छ। सप्तरी। यो नाम उच्चारण गर्दा नै एउटा प्राचीन प्रतिध्वनि सुनिन्छ। यहाँ सभ्यताले केवल शासन गरेको छैन। यहाँ सभ्यताले संघर्ष गरेको छ। टुक्रिएको छ। जोडिएको छ। हारेको छ। फेरि उठेको छ। प्राचीन स्मृतिमा सप्तरी जनपदका रूपमा रहेको उल्लेखले यस भूभागको ऐतिहासिक विस्तार आधुनिक प्रशासनिक सीमाभन्दा धेरै व्यापक रहेको अनुभूति गराउँछ। यहाँका गढी, पुरातात्त्विक अवशेष र सांस्कृतिक स्थलहरू समयका मौन अभिलेख हुन्। इतिहासलाई हेर्दा कहिलेकाहीँ लाग्छ विगत वास्तवमा बितेको हुँदैन। ऊ केवल आफ्नो शरीर परिवर्तन गर्छ। एउटा युग सकिन्छ। तर त्यसको छाया अर्को युगको अनुहारमा रहिरहन्छ।

    सप्तरीको भूमिमा प्रवेश गरेपछि मलाई गढीहरूको सम्झना आयो। महिसोथागढ, पकडियागढ,तरेनागढ, कञ्चनगढ, पतारपोखरी, सखडागढी, गढीगाछी, लालापट्टी, सकरपुरा रुपनगढ। यी नामहरू यी समयका ढोका हुन्। पूर्वकर्नाटकालीन गढीहरूले एउटा युगको संकेत गर्छन्। कर्नाटकालीन संरचनाले अर्को युगको। सेनकालीन इतिहासले अर्को अध्याय खोल्छ। सत्ता बदलियो। वंश बदलियो। झण्डा बदलियो। तर माटो उही रह्यो। इतिहासले मानिसलाई एउटा कठोर सत्य सिकाउँछ राजा अमर हुँदैन। राज्य स्थायी हुँदैन। दरबार अनश्वर हुँदैन। केवल समय निरन्तर बगिरहन्छ। मानिसले आफूलाई शक्तिशाली ठान्छ। तर एउटा वर्षा, एउटा भूकम्प, एउटा युद्ध, एउटा महामारीले उसको सम्पूर्ण अहंकारलाई प्रश्न गर्न सक्छ। माटो सधैं धैर्यवान् हुन्छ। त्यसैले अन्ततः माटो नै विजेता हुन्छ।

    गाडी राजविराजतिर अघि बढ्दै थियो। म भने हजार वर्ष पछाडि फर्किरहेको थिएँ। सन् १०९७ तिर। नान्यदेव। कर्नाटवंश। तिरहुत। सिमरौनगढ। राज्यहरू जन्मिएका थिए। राजधानीहरू बनेका थिए। दरबारहरू उठेका थिए। मानिसले फेरि एउटा पुरानो भ्रम पाल्यो उसले आफूलाई अमर ठान्यो। तर समयले सबैलाई उत्तर दियो। किल्ला भत्किए। राजा मरे। वंश समाप्त भए। राज्यको सीमाना फेरियो। तर माटो बाँकी रह्यो। माटोले सबैलाई आफ्नो गर्भमा राख्यो। राजा पनि। किसान पनि। विजेता पनि। पराजित पनि। इतिहासको सबैभन्दा ठूलो लोकतन्त्र मृत्यु हो। त्यहाँ कुनै राजवंश हुँदैन। कुनै जात हुँदैन। कुनै सम्पत्ति हुँदैन। अन्ततः सबै माटोमा फर्कन्छन्। त्यसैले माटोप्रतिको सम्मान वास्तवमा मानिसप्रतिको सम्मान पनि हो।

    मानराजागढीको स्मृति आउँदा म केही क्षण मौन भएँ। कति राजा त्यहाँ उभिएका होलान्? कति सैनिकले रातभर पहरा दिएका होलान्? कति प्रेमकथा पर्खालभित्र जन्मिएका होलान्? कति षड्यन्त्र अँध्यारा कोठामा रचिएका होलान्? आज त्यहाँ इतिहासभन्दा धेरै रहस्य छ। अवशेषभन्दा धेरै विश्वास छ। प्रमाणभन्दा धेरै किंवदन्ती छ। पुरानो ढिस्कोमा मानिसले केवल माटो देख्दैन। उसले आफ्नो सामूहिक स्मृति देख्छ। त्यसैले इतिहास र आस्थाबीचको सम्बन्ध जटिल हुन्छ। मानिसले कहिलेकाहीँ इतिहासलाई पूजा गर्छ। किनकि उसलाई त्यसलाई प्रश्न गर्ने साहस हुँदैन। तर पूजा र अध्ययनबीच विरोध हुनु हुँदैन। आस्था आत्माको आवश्यकता हो। ज्ञान चेतनाको। दुवैको मिलन नै परिपक्व सभ्यता हो। इतिहासलाई श्रद्धा गर्नुपर्छ। तर इतिहासलाई बुझ्न पनि सक्नुपर्छ। अन्धविश्वासले स्मृति जोगाउन सक्छ। तर अनुसन्धानले सत्य खोज्छ।

    सप्तरीमा प्रवेश गर्दा कोशीको स्मृति पनि मेरो यात्रासँगै आयो। नदी भूगोलको भाग्य हो। उसले खेत बनाउँछ। उसले गाउँ बगाउँछ। उसले सभ्यता जन्माउँछ। उसले सीमाना पनि बनाउँछ। र कहिलेकाहीँ सबै सीमाना भत्काउँछ। सप्तकोशी पूर्वतिर फैलिएको विशाल प्राकृतिक उपस्थिति हो। पश्चिमतिर बलानको भूगोल छ। उत्तरमा चुरेको उचाइ छ। दक्षिणमा बिहारको समथर विस्तार। बीचमा मानिस। बीचमा कृषि। बीचमा संघर्ष। बीचमा जीवन। सप्तरीको भूगोलले मलाई जीवनको संरचना सम्झायो। माथि पहाड। तल मैदान। बीचमा नदी। र त्यस नदीको किनारमा मानिस। मानिस सधैं प्रकृतिको बीचमा बस्छ। तर आफूलाई प्रकृतिभन्दा ठूलो ठान्छ। त्यहीँबाट त्रासदी सुरु हुन्छ। नदीलाई बाँध्न सकिन्छ। तर नदीको स्मृति बाँध्न सकिँदैन। माटोलाई जोत्न सकिन्छ। तर उसको आत्मा किनबेच गर्न सकिँदैन।

    राजविराज पुग्दा साँझ गहिरिँदै थियो। सहरका बत्तीहरू क्रमशः बल्दै थिए। मलाई अचानक एउटा पुरानो सभ्यता र आधुनिक नगरबीचको दूरी महसुस भयो। कति नजिक छन् यी दुई। र कति टाढा। आज मोबाइलको प्रकाश छ। हिजो दियो थियो। आज मोटरगाडी छ। हिजो घोडा थियो। आज प्रशासनिक भवन छ। हिजो दरबार थियो। तर मानिसको मन? सायद धेरै परिवर्तन भएको छैन। उसलाई सम्मान चाहिन्छ। सुरक्षा चाहिन्छ। पहिचान चाहिन्छ। प्रेम चाहिन्छ। र मृत्युको भयबाट मुक्ति चाहिन्छ। राजविराज प्रशासनिक केन्द्र मात्र होइन। यो इतिहास, राजनीति, संस्कृति र सामाजिक चेतनाको एउटा महत्त्वपूर्ण धड्कन हो। सहरका सडकहरूमा आधुनिक समय हिँडिरहेको हुन्छ। तर त्यसको माटोभित्र पुराना युगहरू निदाइरहेका हुन्छन्।

    यहाँ मैथिली भाषाको मिठास छ। थारु संस्कृतिको गहिराइ छ। मुस्लिम समुदायको आफ्नै सांस्कृतिक संसार छ। हिन्दु परम्पराका मन्दिर छन्। लोकदेवता छन्। पर्व छन्। मेलाहरू छन्। छठको अस्ताउँदो सूर्य छ। होलीको रंग छ। विवाहका गीत छन्। शोकका परम्परा छन्। सामाजिक विविधताको मौन इतिहास छ। मैले कल्पना गरेँ छिन्नमस्ताको मन्दिरमा घण्टी बजिरहेको छ। कंकालिनीमा श्रद्धालुहरू उभिएका छन्। राजदेवीको आँगनमा दीप बलिरहेका छन्। हनुमाननगरमा नदी र इतिहास एकअर्कालाई हेरिरहेका छन्। महादेवाको मन्दिरमा कसैले प्रार्थना गरिरहेको छ। र कुनै किसान भोलिको वर्षाको प्रतीक्षा गरिरहेको छ। धर्म मानिसलाई आकाशतिर हेर्न सिकाउँछ। कृषिले मानिसलाई माटोतिर। दुवैको बीचमा जीवन उभिएको छ। एउटा हात आकाशतिर उठ्छ। अर्को हात माटोमा पस्छ। सायद यही दुई हातको बीचमा मानिसको सम्पूर्ण सभ्यता बनेको छ।

    सप्तरीको अर्थतन्त्र सम्झँदा खेतहरू आँखामा आए। धान, गहुँ, मकै, तरकारी। मानिसको पसिना, नहर, ट्यूबवेल, अपर्याप्त पानी, अनिश्चित बजार। अनि परदेशतिर हिँडिरहेका युवाहरू। तराईको माटो उर्वर छ। तर मानिसको भाग्य सधैं उर्वर हुँदैन। कति युवाहरू विदेश जान्छन्। घर फर्कन्छन्। फेरि जान्छन्। आफ्नो गाउँभन्दा ठूलो घर बनाउँछन्। तर आफ्ना बालबालिकाको बाल्यकाल हराउँछन्। आमाको काख रित्तिन्छ। श्रीमतीको प्रतीक्षा लम्बिन्छ। बच्चाले बुबालाई मोबाइलको पर्दाबाट चिन्छ। रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा दिन्छ। तर कतिपय घरको आत्मीयता खोस्छ। म सोच्दै थिएँ रोटी कमाउन देश छोड्ने मानिस वास्तवमा कति टाढा जान्छ? त्यो दूरी भूगोलले नाप्न सक्दैन। उसको दूरी आमाको आँखाले नाप्छ। पत्नीको प्रतीक्षाले नाप्छ। छोराछोरीको मौनताले नाप्छ। परदेशीको सबैभन्दा ठूलो दुःख दूरी होइन। दूरीभित्र लुकेको एक्लोपन हो।

    यात्रामा मैले सप्तरीका मानिसहरू देखेँ। बजारमा। चिया पसलमा। खेतमा। सडकमा। मन्दिरमा। विद्यालयको आँगनमा। सबैको आफ्नै कथा थियो। तर उनीहरू एउटै माटोका मानिस थिए। जाति थिए। समुदाय थिए। भाषा थिए। धर्म थिए। तर अन्ततः उनीहरू सबैसँग एउटै पृथ्वी थियो। मानिसले आफ्नो पहिचान खोज्नु स्वाभाविक हो। तर पहिचानको नाममा अर्को मानिसलाई हराउनु अस्वाभाविक। सप्तरीको सामाजिक संरचनामा विविधता छ। आर्थिक विभाजन छ। सामाजिक असमानता छ। राजनीतिक चेतना छ। आन्दोलनका स्मृति छन्। अविश्वासका अवशेष छन्। तर सद्भावको खोज पनि निरन्तर छ। मलाई लाग्यो समाज नदीजस्तै हुन्छ। उसमा धेरै धार हुन्छन्। तर अन्ततः सबै धार एउटै प्रवाहमा मिसिनुपर्छ। नत्र नदी नदी रहँदैन। दलदल बन्छ। विविधता विभाजन होइन। विविधता त समाजको सौन्दर्य हो। तर त्यसलाई समानता र सम्मानले बाँध्न सक्नुपर्छ।

    मधेश आन्दोलनको स्मृति पनि यस भूमिको राजनीतिक चेतनामा गहिरो छ। अधिकारका लागि उठेका आवाजहरू। पहिचानका प्रश्नहरू। प्रतिनिधित्वको खोज। राज्यसँगको असन्तुष्टि। र त्यसबाट जन्मिएको नयाँ राजनीतिक भाषा। आन्दोलन मानिसको पीडाबाट जन्मिन्छ। जब राज्यले कुनै आवाज सुन्न सक्दैन, त्यो आवाज सडकमा निस्कन्छ। जब सम्मानको अभाव हुन्छ, पहिचानको प्रश्न उठ्छ। जब न्याय ढिलो हुन्छ, असन्तोष बढ्छ। तर राजनीति कहिलेकाहीँ मानिसलाई विभाजित पनि गर्छ। त्यसैले न्यायपूर्ण राजनीति मानिसलाई जोड्नुपर्छ। राजनीतिक अधिकारको अर्थ अर्को समुदायमाथि विजय हुनु होइन। वास्तविक विजय त त्यतिबेला हुन्छ, जब फरक भाषा बोल्ने, फरक संस्कृति मान्ने र फरक इतिहास बोकेका मानिसहरूले एउटै भविष्यको सपना देख्न सक्छन्।

    म यात्राको अन्त्यतिर पुगेको थिएँ। तर भित्रको यात्रा झन् सुरु भएको थियो। काठमाडौँबाट धुलिखेल। धुलिखेलबाट बर्दिबास। बर्दिबासबाट लहान। लहानबाट सप्तरी। यो सडकको यात्रा थियो। तर वास्तवमा यो चेतनाको यात्रा थियो। काठमाडौँले मलाई सत्ता सम्झायो। धुलिखेलले प्रकृति। बर्दिबासले संक्रमण। लहानले मिथिला। सप्तरीले इतिहास। यात्राले मलाई म आफैं सम्झायो। एउटा ठाउँबाट अर्को ठाउँ पुग्दा मानिसले आफ्नो शरीर मात्र सार्दैन। उसले आफ्ना पूर्वधारणाहरू पनि बोकेर जान्छ। यात्रा सफल तब हुन्छ, जब फर्कँदा मानिस पहिलेको जस्तो रहँदैन। म पनि पहिलेको जस्तो थिएनँ। सडक उही थियो। गाडी उही थियो। आकाश उही थियो। तर हेर्ने आँखामा परिवर्तन आएको थियो।

    रात परिसकेको थियो। राजविराजका बत्तीहरू चम्किरहेका थिए। आकाशमा तारा थिए। म सोच्दै थिएँ यही आकाशलाई कति पुस्ताले हेरे होलान्? नान्यदेवले पनि? कर्ण सेनले पनि? गोरखाली सैनिकले पनि? किसानले पनि? परदेश जानुअघि कुनै युवाले पनि? इतिहासका पात्रहरू फरक थिए। तर आकाश एउटै थियो। यही अनुभूतिले मानिसलाई विनम्र बनाउँछ। हामी आफूलाई समयको केन्द्र ठान्छौँ। तर समयको विशाल आकाशमा हामी एउटा क्षण मात्र हौँ। हामी आउँछौँ। केही प्रेम गर्छौँ। केही घृणा गर्छौँ। केही निर्माण गर्छौँ। केही भत्काउँछौँ। अनि जान्छौँ। तर पृथ्वी रहिरहन्छ। आकाश रहिरहन्छ। नदी बगिरहन्छ। र अर्को पुस्ता आएर हामीले छोडेको संसारको मूल्याङ्कन गर्छ।

    त्यस क्षण मलाई एउटा गहिरो अनुभूति भयो। मानिस यात्रामा कहिल्यै नयाँ ठाउँ मात्र खोज्दैन। ऊ आफ्नो पुरानो आत्मा खोज्छ। सडकहरू बाहिरतिर जान्छन्। तर यात्राहरू भित्र फर्किन्छन्। सप्तरीको माटोमा उभिएर मैले पृथ्वीलाई छोएँ। त्यहाँ कुनै राजाको हस्ताक्षर थिएन। कुनै सीमारेखा थिएन। कुनै जातको नाम थिएन। त्यहाँ केवल माटो थियो। माटोले मलाई मौन भाषामा भन्यो—“तिमीहरू आउँछौ। जान्छौ। राज्य बनाउँछौ। राज्य भत्काउँछौ। इतिहास लेख्छौ। इतिहास मेट्छौ। तर अन्ततः फर्केर मेरैमा आउँछौ।” म केही बोलिनँ। यात्राको सबैभन्दा ठूलो उत्तर मौनता हो। मानिसले जति धेरै यात्रा गर्छ, त्यति नै धेरै उसले बुझ्छ—सबै प्रश्नको उत्तर शब्दमा हुँदैन।

    काठमाडौँ धेरै टाढा परिसकेको थियो। धुलिखेल सम्झनामा थियो। बर्दिबास धुलोमा थियो। लहान सडकको पछाडि थियो। सप्तरी मेरो अगाडि थियो। तर वास्तवमा ती सबै ठाउँहरू अब मभित्र थिए। म यात्राबाट फर्किएको थिइनँ। यात्रा मभित्र बसिसकेको थियो। एउटा भूगोल अब मेरो स्मृतिको भूगोल बनेको थियो। एउटा सडक अब मेरो चेतनाको बाटो बनेको थियो। एउटा जिल्ला अब केवल नक्सामा रहेको प्रशासनिक नाम थिएन। त्यो इतिहास थियो। संस्कृति थियो। संघर्ष थियो। माटो थियो। नदी थियो। मानिस थियो। र सबैभन्दा बढी—स्मृति थियो।

    त्यस रात सप्तरीको आकाशमुनि मैले पहिलोपटक  महसुस गरेँ मानिसको सबैभन्दा लामो यात्रा काठमाडौँदेखि सप्तरीसम्मको दूरी होइन। सबैभन्दा लामो यात्रा आफ्नो माटोबाट आफ्नो आत्मासम्मको यात्रा हो। शरीरले पार गर्ने दूरी किलोमिटरमा नापिन्छ। तर आत्माले पार गर्ने दूरीलाई कुनै नक्साले नाप्न सक्दैन। यात्राको अन्तिम गन्तव्य कुनै सहर होइन। कुनै होटल होइन। कुनै सडकको अन्त्य पनि होइन। यात्राको अन्तिम गन्तव्य त्यो क्षण हो, जब मानिसले आफू कहाँबाट आएको हो भन्ने सम्झन्छ। आफू किन हिँडिरहेको छ भन्ने बुझ्छ। र अन्ततः कहाँ फर्कनुपर्ने हो भन्ने स्वीकार गर्छ। काठमाडौँदेखि सप्तरीसम्मको यो यात्रा सकिएको थियो। तर समय, माटो र स्मृतिको यात्रा अझै जारी थियो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ भाद्र २२, सोमबार २१:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP