युद्धको युगमा चेतनाको क्रान्ति
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
आजको २१औँ शताब्दी प्रविधि, विज्ञान र सूचनाको विस्फोटको युग हो। तर त्यहीसँगै मानव सभ्यताको मूल आत्मा गहिरो संकटमा छ। विश्वभर युद्ध, आतंक, राजनीतिक द्वन्द्व, असमानता, धार्मिक कट्टरता, जलवायु संकट र नैतिक पतनले मानिसको अस्तित्वमै प्रश्न खडा गरेको छ। यस्तो परिस्थितिमा कानुनी संरचना, प्रविधि वा आर्थिक समाधानले मात्र सभ्यतालाई दीर्घकालीन टिकाइ दिन सक्दैन। यसको उत्तर मानिसको अन्तरात्मा मा लुकेको छ—त्यो चेतना जसले सत्य, न्याय, करुणा र शान्तिको बाटो देखाउँछ।
आजको विश्व, प्रविधि र शक्तिको चरम उत्कर्षमा पुगे पनि, गहिरो अस्थिरता र द्वन्द्वको चक्रमा फसेको देखिन्छ। क्षेत्रीय युद्ध, सामरिक प्रतिस्पर्धा, साइबर आक्रमण, वैचारिक ध्रुवीकरण र आर्थिक असमानताले मानव सभ्यतालाई निरन्तर तनावतर्फ धकेलिरहेका छन्। शक्तिको प्रदर्शन र प्रभुत्वको होडले शान्तिको सम्भावनालाई कमजोर बनाउँदै लगेको छ। यस्तो अवस्थामा, शान्ति कूटनीतिक सम्झौता वा सैन्य सन्तुलनबाट मात्र सम्भव छैन; यसको लागि चेतनाको मौलिक रूपान्तरण अपरिहार्य छ।
चेतनाको क्रान्तिले मानिसको सोच, मूल्य र दृष्टिकोणमा गहिरो परिवर्तनलाई जनाउँछ। जब व्यक्ति आफ्नो अस्तित्वलाई स्वार्थ र सीमित पहिचानमा होइन, व्यापक मानवता र सहअस्तित्वको सन्दर्भमा बुझ्न थाल्छ, तब द्वन्द्वको जरा नै कमजोर हुन्छ। युद्धको मूल कारण बाह्य स्रोतको अभाव मात्र होइन, आन्तरिक असन्तुलन—लोभ, अहंकार, भय र असहिष्णुता—हो। त्यसैले, यिनै मानसिक अवस्थाको रूपान्तरण बिना दीर्घकालीन शान्ति सम्भव हुँदैन।
बाह्य शक्ति र विजय क्षणिक हुन्छन्, तर चेतनाको उन्नयनले स्थायी परिवर्तन ल्याउँछ। जब व्यक्तिहरूमा आत्मचेतना, करुणा र नैतिक जिम्मेवारीको विकास हुन्छ, तब समाजमा विश्वास, संवाद र सहकार्यको वातावरण बलियो बन्छ। यही वातावरणले युद्धको सट्टा शान्ति–संस्कृतिलाई स्थापित गर्छ।शान्ति–संस्कृति मानवीय सभ्यताको आन्तरिक धड्कन हो, जसमा परस्पर सम्मान, प्रेम, सहअस्तित्व र निःस्वार्थ सेवा जस्ता मूल्यहरू निहित हुन्छन्। इतिहास र मिथकहरूले हामीलाई निरन्तर सम्झाइरहेका छन् कि जब सभ्यताले आफ्नो अन्तरात्माको आवाजलाई दबाउँछ, त्यतिबेला विनाश अपरिहार्य हुन्छ। तर जब मानिसले आफ्नो अन्तर्मन सुन्छ, त्यतिबेला मात्र सभ्यताको पुनर्जन्म हुन्छ।
महाभारतले वर्णन गर्ने कुरुक्षेत्र युद्ध कुनै सामान्य राजनीतिक द्वन्द्व मात्र थिएन; यो मानव अन्तरात्मा र अहंकारबीचको संघर्ष थियो। दुर्योधनले आफ्नो स्वार्थ, ईर्ष्या र सत्ता–लोभको कारण भाइहरूलाई मात्र होइन, सम्पूर्ण सभ्यतालाई युद्धको आगोमा धकेल्यो। तर भीष्म, द्रोण, कृपाजस्ता विद्वान् र धर्मग्यानीहरूले पनि मौनता अपनाए। यहाँ मिथकले देखाउँछ—जब विवेक मौन हुन्छ, तब अशान्ति अपरिहार्य बन्छ।शान्ति–संस्कृति कुनै बाह्य अनुशासन वा सन्धि मात्र होइन, यो आत्माको संस्कार हो। गीता ले बताउँछ—“शान्तिः परमानन्दः” अर्थात् शान्ति नै सर्वोच्च आनन्द हो। जब शासक वा नागरिक आफ्नो कर्मलाई आत्मानुशासन र लोकहितमा जोड्छन्, तब समाजमा स्थायित्व आउँछ।आज विश्वमा फेरि महाभारत वा रामायणजस्तै परिस्थितिहरू देखिन्छन्। ठूलो राष्ट्रहरूको सत्ता–प्रतिस्पर्धाले युद्ध र द्वन्द्व बढाइरहेको छ। असमानता चरममा पुगेको छ—केही समाज विलासितामा डुबेका छन् भने कतिपय भोक, रोग र युद्धले पिल्सिएका छन्।
मध्यपूर्व मा लगातार द्वन्द्व, युक्रेन युद्ध, अफ्रिकामा अस्थिरता, एशियामा भूराजनीतिक तनाव—यी सबै आधुनिक कुरुक्षेत्र हुन्। यहाँ दुर्योधन र रावणजस्तै सत्ता–लोभी मानसिकता कार्यरत छ। तर शान्ति–संस्कृतिको आवाज कमजोर छ।त्यस्तै, जलवायु परिवर्तन ले देखाएको विपत्ति—बाढी, सुख्खा, तापमान वृद्धिले मानव सभ्यतालाई खतरामा पारिरहेको छ। यहाँ प्रकृति नै हामीलाई चेतावनी दिइरहेछ—यदि मानव अन्तरात्मा लोभ र दुरुपयोगमै डुबिरह्यो भने सभ्यताको अस्तित्व नै संकटमा पर्छ।
मिथकहरूले देखाएका विनाशका कथा भविष्यका चेतावनी हुन्—“अन्तरात्मालाई दबायौं भने सभ्यताको पतन निश्चित छ।” त्यसैले आज हामीलाई चाहिएको छ अन्तरात्मामा आधारित पुनर्जागरण, जसले व्यक्तिगतदेखि वैश्विक स्तरसम्म शान्ति–संस्कृतिको पुनर्स्थापना गर्न सकोस्।
व्यक्तिगत स्तरमा, प्रत्येक मानिसले ध्यान, योग, साधना वा आत्मचिन्तनजस्ता साधनमार्फत आफ्नै अन्तरात्माको आवाज सुन्न सिक्नुपर्छ। जब व्यक्तिको जीवन नैतिक, संयमित र आत्मानुशासित हुन्छ, तब समाजमा स्थिरता र शान्तिको आधार निर्माण हुन्छ। व्यक्तिगत आत्मजागरण नै सामूहिक चेतनाको पहिलो आधार हो।
सामाजिक स्तरमा, शिक्षा प्रणालीले रोजगारीका लागि दक्षता होइन, मूल्य शिक्षालाई प्राथमिकता दिनुपर्छ। सत्य, करुणा, सहिष्णुता, सामाजिक उत्तरदायित्व र पर्यावरण संरक्षणलाई संस्थागत बनाइए मात्र समाज दीर्घकालीन शान्तिको बाटोमा अघि बढ्न सक्छ। मूल्यविहीन शिक्षा प्रविधि दिन सक्छ, तर संस्कार र विवेक दिन सक्दैन।राजनीतिक स्तरमा, नेताहरूले गीता वा बौद्ध शिक्षामा निहित भाव आत्मसात् गर्नुपर्छ। शासन शक्ति प्रदर्शन वा व्यक्तिगत लाभको साधन होइन; यो जन–मंगलको पवित्र यज्ञ हो। पारदर्शिता, उत्तरदायित्व र न्यायमा आधारित शासन मात्र दीर्घकालीन शान्ति र स्थिरता दिन सक्छ। जब शासन धर्म, सत्य र लोककल्याणसँग जोडिन्छ, तब मात्रै राज्य सशक्त र स्थायी हुन्छ।वैश्विक स्तरमा, राष्ट्रहरूले आत्मकेन्द्रित अहंकार त्यागेर सहअस्तित्व र परस्पर सम्मानको संस्कृति अपनाउनुपर्छ। सन्धि वा प्रतिवेदनले मात्र विश्वमा शान्ति आउँदैन। संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरूले शान्ति–संस्कृतिको आन्तरिक मूल्यलाई व्यवहारमा प्रवर्द्धन गर्नुपर्ने हुन्छ। सहकार्य, करुणा र सहअस्तित्व नै विश्व सभ्यताको दीर्घकालीन सुरक्षाको आधार बन्न सक्छ।
मानव सभ्यताको विकास प्रविधि, भौतिक संरचना र राजनैतिक व्यवस्थामा सीमित छैन। सभ्यताको वास्तविक मूल्य मानिसको अन्तरात्मामा निहित हुन्छ। अन्तरात्मा हाम्रो आन्तरिक आवाज, विवेक र नैतिक चेतना हो, जसले असल–बेसल छुट्याउने सामर्थ्य दिन्छ। सभ्यताको उज्यालोतर्फको यात्रा तब सम्भव हुन्छ, जब मानिसले आफ्नो अन्तरात्मालाई शुद्ध राख्छ र त्यसैको आधारमा सामाजिक आचरण निर्धारण गर्छ।
अन्तरात्मा समाजलाई नैतिक र मूल्यमा आधारित दिशा दिन्छ। बाहिरी नियम, कानुन वा दण्डको डरभन्दा पनि मानिसलाई सही बाटोमा डोर्याउने शक्ति उसकै अन्तरात्मा हो। यदि अन्तरात्मा शुद्ध छ भने, व्यक्तिले आफ्नो व्यवहारमा न्याय, करुणा र सत्यको पालन गर्छ। तर जब अन्तरात्मा दूषित हुन्छ, तब सम्पूर्ण समाजमा अन्याय, हिंसा र विभाजन फैलिन्छ। त्यसैले सभ्यताको स्थायित्वको मूल आधार नै व्यक्तिगत अन्तरात्माको शुद्धता हो।
धार्मिक र दार्शनिक शिक्षाहरूले पनि अन्तरात्मालाई सभ्यताको प्रमुख मार्गदर्शक मानेका छन्। उपनिषदमा “आत्मानो मोक्षार्थं जगद्धिताय च” भनिएको छ, जसको अर्थ हो— आत्मशुद्धि र समाजको हित एउटै लक्ष्य हो। बुद्धले पनि बाहिरी पूजा वा अनुष्ठानभन्दा अन्तरात्माको शुद्धतालाई प्राथमिकता दिए। इसाई धर्ममा विवेकलाई परमेश्वरको वाणी भनिन्छ, भने इस्लाममा शुद्ध नीयत (नियतुल खालिस)लाई सबै कर्मको आत्मा मानिन्छ। यी शिक्षाले देखाउँछन्— सभ्यताको उज्यालो बाहिरी प्रगतिमा होइन, अन्तरात्माको शुद्धतामा छ।
समाजशास्त्रीय दृष्टिले पनि सभ्यता त्यतिबेला सुदृढ हुन्छ, जब व्यक्तिहरूको आचरण आन्तरिक नैतिकतामा आधारित हुन्छ। कानुनी संरचना वा प्रशासनिक संयन्त्रले मात्र शान्ति कायम गर्न सक्दैन। उदाहरणका लागि, भ्रष्टाचारविरुद्ध कानुन कडा भए पनि यदि मानिसको अन्तरात्मा जागृत छैन भने, नियम औपचारिकता बन्न पुग्छ। तर अन्तरात्माबाट नैतिक चेतना उठेपछि मात्र समाज वास्तवमै समावेशी, न्यायपूर्ण र शान्तिपूर्ण हुन्छ।
नेपालजस्तो विविधता भएको समाजमा अन्तरात्माको जागरण अझै महत्त्वपूर्ण हुन्छ। जातीय, धार्मिक वा वर्गीय भिन्नताहरूलाई पार गर्न आत्मीयता, करुणा र परस्पर विश्वास चाहिन्छ। यी गुणहरू कानुनले होइन, अन्तरात्माले जन्माउँछन्। जब प्रत्येक नागरिकले आफ्नो अन्तरात्मासँग प्रश्न गर्न थाल्छ— “के मेरो कार्यले अरूलाई दुःख दिइरहेको छ?”— त्यतिबेला मात्र समाज समन्वित र सभ्य बन्छ।सभ्यताको उज्यालोतर्फको यात्रा बाहिरी उपलब्धिमा होइन, अन्तरात्माको शुद्धतामा निहित छ। प्रविधि, राजनीति वा अर्थतन्त्र अस्थायी हुन्छन्, तर अन्तरात्माबाट निस्किएको नैतिकता शाश्वत हुन्छ। त्यसैले सभ्य समाज निर्माण गर्न प्रत्येक व्यक्तिले आफ्नै अन्तरात्मासँग संवाद गर्नुपर्छ, त्यसलाई सत्य, करुणा र न्यायको आधारमा शुद्ध राख्नुपर्छ। यही मार्गले मात्र सभ्यता उज्यालोतर्फ अग्रसर हुन्छ, जहाँ मानवता नै साझा धर्म र मूल्य बन्न पुग्छ।अध्यात्मले मानिसलाई भित्री जीवन बुझ्न र अनुभव गर्न मद्दत गर्छ, जसले अन्तर्मनको शुद्धिकरणमा महत्वपूर्ण भूमिका खेल्छ। हाम्रो संस्कृतिमा अध्यात्म ऋषि–मनीषीहरूको चिन्तनको निचोड हो, जसले आत्मा, परमात्मा र जीवन–मृत्युका प्रश्नहरूको उत्तर खोज्छ। जब अन्तर्मन शुद्ध हुन्छ, मानिसमा विवेक, करुणा र सहिष्णुता विकास हुन्छ, जसले व्यक्तिगत जीवन मात्र होइन, सामाजिक स्तरमा पनि सद्भाव र शान्ति ल्याउँछ।
अध्यात्मिक अभ्यासहरूले मानसिक र शारीरिक सन्तुलन ल्याएर आन्तरिक शान्ति दिलाउँछन्। स्वस्थ अन्तर्मनले मात्र सकारात्मक सोच सम्भव हुन्छ, जसले समाजमा प्रेम, समानता र भाईचारेको भावना फैलाउँछ। यसरी अध्यात्म र अन्तर्मनको शुद्धिकरण आपसमा जोडिएका छन्, जसले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुनिश्चित गर्छ।
मानव जीवनको वास्तविक सौन्दर्य बाहिरी वैभवमा होइन, अन्तर्मनको निर्मलतामा छ। अन्तर्मन शुद्ध नभएसम्म समाजमा स्थायी सद्भाव रहँदैन। सभ्यता र मानवताको शाश्वत सूत्र पनि यही हो— शुद्ध अन्तर्मन र समन्वित समाज।
गीता भन्छ— “मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः” अर्थात् मन नै बन्धन र मोक्ष दुवैको कारण हो। यसले देखाउँछ कि अन्तर्मन शुद्ध भए जीवन स्वतन्त्र र समाज समन्वित हुन्छ। यदि प्रत्येक व्यक्ति आत्मशुद्धिमा लाग्छ भने, करुणा, सहिष्णुता र परोपकार स्वभाविक रूपमा परिवारदेखि राष्ट्रसम्म फैलिन्छ। यसरी शुद्ध अन्तर्मन नै स्थायी शान्ति र सभ्यताको आधार हो।
सभ्यता मापन गर्ने आधार भवन, सडक वा प्रविधि होइन। साँचो सभ्यता तब हुन्छ जब मानिसहरूको अन्तर्मन शुद्ध हुन्छ र समाजमा सामूहिक मेलमिलाप कायम हुन्छ। सभ्यता बाहिरी विकास मात्र नभई आन्तरिक मूल्यहरूको परिपक्वता पनि हो।जब मानिसहरू आत्मशुद्धिको अभ्यास गर्छन्— ध्यान, साधना, आत्मविश्लेषण वा नैतिक शिक्षामार्फत— तब समाज पनि अनुशासित र सहयोगी बन्छ।
अन्तर्मनको शुद्धिकरण र सामाजिक सद्भाव एक अर्कासँग सम्बन्धित विषय हुन् जसले मानव जीवनलाई सार्थक र समाजलाई स्थिर बनाउने आधार तयार गर्छ। अन्तर्मन मानिसको भित्री मन, चेतना र आत्मा हो जसले उसको विचार, भावना र क्रियाकलापलाई निर्देश गर्छ। शुद्ध अन्तर्मन नकारात्मकता, लोभ, क्रोध, अहंकार, ईर्ष्या जस्ता विकृत मनोभावनाहरूबाट मुक्त, शान्त, प्रेमपूर्ण र विवेकी स्थिति हो। जब मानिसको अन्तर्मन शुद्ध हुन्छ, तब उसको व्यवहारमा नैतिकता, करुणा र सहिष्णुता प्रकट हुन्छ, जसले व्यक्तिगत मात्र नभई सामाजिक स्तरमा पनि सद्भाव र समृद्धि ल्याउँछ।दर्शनशास्त्र र विभिन्न धार्मिक शिक्षाहरूले अन्तर्मनको शुद्धिकरणलाई जीवनको उच्चतम लक्ष्य मान्छन्। उदाहरणका लागि, हिन्दू धर्ममा योग, ध्यान र कर्मयोगमार्फत अन्तर्मनलाई शुद्ध र स्थिर बनाउन प्रेरणा दिइन्छ। बौद्ध दर्शनमा मनको शुद्धिकरण र माया करुणाको विकासलाई नै मुक्तिको मार्ग मानिन्छ। यी सबै मार्गहरूले व्यक्तिलाई आफ्नो आन्तरिक स्वभावको अध्यान र नियन्त्रणमार्फत नकारात्मक प्रवृत्तिहरू हटाउन र सकारात्मक गुणहरू विकास गर्न उत्प्रेरित गर्छन्।
अन्तर्मनको शुद्धिकरणले सामाजिक सद्भावमा महत्वपूर्ण भूमिका खेल्दछ। शुद्ध मन भएका व्यक्ति सहिष्णु, नम्र र मर्मस्पर्शी हुन्छन्, जसले समाजमा द्वेष, कलह र विभाजनको स्थानमा प्रेम, समझदारी र एकता स्थापना गर्छ। यस्तो व्यक्तिले आफू र अरूबीचको भेदभावलाई कम गर्दै समानता र मानवता केन्द्रित सोच विकास गर्छ। यसले जात, धर्म, भाषा, आर्थिक अवस्था वा सामाजिक पदमाथि आधारित भेदभावलाई कम गरी सबैको सामूहिक उन्नतिमा योगदान पुर्याउँछ।सामाजिक सद्भाव तब मात्र सम्भव हुन्छ जब व्यक्तिका मनहरू शान्त र शुद्ध हुन्छन्। अशान्त मनहरूले द्वन्द्व र संघर्ष उत्पन्न गर्छन्, जसले समाजमा अस्थिरता र अविश्वास फैलाउँछ। त्यसैले, अन्तर्मनको शुद्धिकरणबाट उत्पन्न सकारात्मक भावनाहरू समाजमा मेलमिलाप र सहयोगको वातावरण बनाउँछन्। सामाजिक सद्भावले मात्र राष्ट्रिय एकता, आर्थिक विकास र समृद्धिको मार्ग खुल्छ।
अध्यात्मले मानिसको व्यवहार र आचरणलाई सुधार गरेर गलत संस्कारलाई रूपान्तरण गर्छ र उसलाई असल मानवताको बोध गराउँछ। योग र ध्यान आध्यात्मसँग गासिएका अभ्यास हुन्, जसले विचारलाई व्यवस्थित बनाउँदै मनको एकाग्रता बढाउँछन्। यसबाट ईर्ष्या, द्वेष, क्रोध जस्ता नकारात्मक भावनाले मनमा जरा गाड्न पाउँदैनन्। वास्तवमा जीवनका समस्या समाधान गर्ने आधारभूत शक्ति मनोभावनाको रूपान्तरण हो, र यो परिवर्तन आध्यात्मिक ज्ञानले सम्भव बनाउँछ।आध्यात्मिक चिन्तनले सम्पूर्ण मानवजातिलाई जोड्छ। यसमा कुनै नियम–कानुन वा तगारो हुँदैन; अन्तरआत्माले अनुभव गर्ने सत्य नै आध्यात्मिक सत्य हो। धर्महरूले प्राणी र सृष्टिको अलग–अलग व्याख्या गरे पनि अध्यात्म सत्यको नजिक पुग्ने प्रयास हो। यसैले अध्यात्म स्वतन्त्र छ— अर्ति वा उपदेशलाई प्रेरणा स्वरूप लिन सकिन्छ, तर आत्मसमिक्षासहितको स्वतन्त्र चिन्तनले नै आदर्श जीवनशैली निर्माण गर्छ।
आजको भौतिकवादी युगमा स्वार्थ, प्रतिस्पर्धा र अहंकारले समाजलाई टुक्र्याइरहेका बेला, शिक्षा, संस्कार र नैतिक नेतृत्वले अन्तर्मन शुद्धिकरणलाई प्राथमिकता दिन आवश्यक छ। शुद्ध अन्तर्मनले व्यक्तिगत शान्ति मात्र होइन, सामाजिक सद्भाव र स्थायित्व पनि सुनिश्चित गर्छ। यही कारणले सभ्यता र मानवताको शाश्वत सूत्र— शुद्ध अन्तर्मन, समन्वित समाज—आज पनि अत्यन्त प्रासंगिक छ।अध्यात्मिक मूल्य र आचरण अंगाल्दा मात्र समाजमा एकता, शान्ति र समृद्धि बढ्छ। यसैले जीवनलाई अध्यात्ममा आधारित बनाएर यथार्थ नैतिकता, सामाजिक सुधार र मानवता उन्नत गर्न सकिन्छ।वैश्विक अशान्तिको यो युगमा, मानव सभ्यतालाई बचाउने शक्ति कुनै नयाँ अस्त्र वा प्रविधिमा छैन; त्यो त प्रत्येक मानिसको अन्तरात्मामा लुकेको छ। जब हामीले सत्य, न्याय, करुणा र शान्ति जस्ता मूल्यहरूलाई जीवन र शासनको आधार बनाउँछौं, तब मात्र शान्ति–संस्कृति फस्टाउँछ।सभ्यताको उज्यालो बाह्य विजयमा होइन, आन्तरिक चेतनामा टेकेको छ। यदि हामीले महाभारत र रामायणका कथाबाट पाठ सिकेनौं भने, आधुनिक विश्व फेरि नयाँ कुरुक्षेत्रमा डुब्नेछ। तर यदि हामीले बुद्ध, गीता र उपनिषद्को अन्तरात्माको प्रकाशलाई आत्मसात् गर्यौं भने, सभ्यता जोगिने छैन, बरु अझ उज्यालो, करुणामय र स्थायी बन्नेछ।
आजको डिजिटल युगमा, जहाँ सूचना तीव्र गतिमा फैलिन्छ र विचारहरू सजिलै ध्रुवीकृत हुन्छन्, चेतनाको क्रान्ति झनै आवश्यक देखिन्छ। शिक्षा, सञ्चार माध्यम र सामाजिक संरचनाहरूले ज्ञानको प्रसार मात्र होइन, चेतनाको परिष्कारमा पनि ध्यान दिनुपर्छ। मानवलाई प्रविधिको उपभोक्ता मात्र होइन, सचेत र उत्तरदायी नागरिक बनाउने दिशामा रूपान्तरण आवश्यक छ।युद्धको युगमा साँचो विजय बाह्य शत्रुमाथि होइन, आफ्नै नकारात्मक प्रवृत्तिमाथि प्राप्त गर्नुपर्ने हुन्छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)
प्रतिक्रिया