तोमनाथ उप्रेती
सत्यका साँझहरूले सूर्यको सिंहासन चुम्दै गर्दा,
म तिम्रा छायाहरू गिन्थें— अहंकारका अमरबेलहरू,
जो विवेकका वृक्षहरूमा बेरिएर,
करुणाका काँचुलीहरू च्यात्दै, मौन आँसुहरू चुस्दै थिए।
मनको महलमा मन्दिर बनाउँछु भन्दै,
घमण्डका ईंटाहरू थपिदै गए,
र विनम्रताको वायुले तिनलाई भत्काउँछ भन्ने कुरा
व्यंग्यजस्तै लाग्थ्यो, जब ‘म’ को महिमा गुञ्जन्थ्यो।
कुहिएको काँचनिलो सपनाहरूको सडकमा,
स्वार्थका शृङ्खलाहरूमा बाँधिएर,
मैले अरूको पीडालाई पैतालामुनि राखेँ,
र तिनको निस्तब्ध आर्तनादलाई
आफ्नो जयजयकारको तुरही सम्झिएँ।
तर, हे आत्मा!
के यो शृङ्गार थियो कि श्राप?
के यो विजय थियो कि विष?
अहंकारको अंगारहरूले रगत तताउँदा,
करुणाका कमलहरू खेर गएका थिए,
र सहानुभूतिका स्रोतहरू सुख्खा हुँदै गएका थिए।
म बिर्सिएँ—
मानवता भनेको टुक्रिएको मुटुको टालो हो,
अन्यायका आँधीमा पनि बल्ने दियो हो,
अरूको आक्रोशको बीचमा पनि
शान्तिको संगीत सुनाउने शंख हो।
तर अहंकारले ती सारा धुनहरू छेकिदियो,
मौलिक मर्महरूलाई मसिनो माटोमा मिसायो,
र ‘मैले’, ‘मेरो’, ‘मात्र’ का मन्त्रहरूमा
म मानसिक मसान बसाइरहेछु भन्ने
भान नै भएन।
हे आत्मा!
अहंकार न त फूल हो, न त सुगन्ध,
यो त कर्कलाको काँडाजस्तै,
मनका बाटाहरूमा खप्किँदै हिँड्ने घाउ हो,
जसले मानवताको रक्तस्रोतलाई शोषण गर्छ।
ओशोका शब्दहरूले कानमा गुञ्जिन्छ,
“अहंकार त्यो चट्टान हो,
जहाँ प्रेमको नदि टक्क अडिन्छ।”
र भगवद्गीताको घण्टाजस्तै घन्किन्छ,
“अहंकार शत्रु हो, आत्मज्ञानको बाधक।”
म फेरि सोच्दछु—
के विजयको स्वाद
करुणाको मृत्युसँग साट्न लायक छ?
के गौरवको तृष्णा
अरूको पीडालाई बेवास्ता गर्न लायक छ?
आज जब मोबाइलको मल्टीकलर स्क्रिनमा,
पावर, पद, प्रतिष्ठाको मृगतृष्णा देख्दै हिँड्दछौं,
त्यही समयमा करुणाको क्यानभासमा,
मानवताको हरियो रंग हराउँदै गएको छ।
हे साधक!
अब समय आयो—
अहंकारको आँधीबाट आत्मालाई निकाल्ने,
नम्रताको नौकामा आत्म–चिन्तनका पाल फुक्ने,
र करुणाका काँधमा चढेर
सहानुभूतिका सागर पार गर्ने।
त्यो दिन जब ‘म’ को उच्चारण भन्दा
‘हामी’ को गुँजन बढ्छ,
त्यो दिन मानवताको मन्दिरमा दीप जल्छ,
अहंकारको अन्धकार चिरेर,
माया र सहिष्णुताको उज्यालो पुनः फैलिन्छ।
त्यो नै हुनेछ—
साँचो विजयको घडी,
जहाँ शान्ति ताजजस्तो शिरमा राखिन्छ,
र करुणा धर्मध्वजझैं फहराइन्छ।
प्रतिक्रिया