ताेमनाथ उप्रेती
एक समय थियो, जब गाउँको बिहान मुग्लान पठाउने गाडीको हर्न होइन, गोरु गुढीको घण्टीले हुन्थ्यो। अहिले त्यो गाउँ बदलिएको छ—तर विकासले होइन, वैदेशिक रोजगारीले। युवा त देशको रीढ हो भन्ने सुनेको थियौं, तर अब लाग्छ—देशको रीढ भनेको ‘विदेशी भिसा’ पो रहेछ।
आजको गाउँ हेर्नुहोस्—तपाईंलाई लाग्छ कि तपाईं कुनै बुढाहरूको ‘थीम पार्क’ मा घुमिरहनु भएको छ। युवाहरूको कुरा नगर्नुहोस्, उनीहरू त फेसबुकबाटै फारम भरेर फाराकिलो अरब उडेका छन्। बाँकी छन्—बा, आमा र ससुरालीका निम्तोमा पुगेका नातिहरू।
गाउँका पिँढीहरूमा अब सल्लाह होइन, रिमिट्यान्सको हिसाब हुन्छ। “छोरो कतारमा ४० हजार कमाउँछ, तर फोन गर्दा टर्र… उठाउँदैन!” – यो गुनासो देशको राष्ट्रिय संवाद जस्तै भइसकेको छ। गाउँका खेतमा गहुँ होइन, झार उम्रन्छ। हाते हलो त संग्रहालयमा राख्न मिल्ला, तर अहिले त हलो नै चलाउने मान्छे छैन। छ भने, ऊ मलेसियामा कर्फ्यु पारी बटर चिकन खाँदै होला।
विद्यालयमा विद्यार्थी घटेका छन्, तर प्रिन्सिपल साहुजी विदेशमै रहेका छोराको शौख पुरा गर्न व्यस्त छन्। गाउँका सभा-गोष्ठीहरूमा बृद्ध-बृद्धा उपस्थित हुन्छन्, जहाँ देशको भविष्यको योजना बनाइन्छ—जसमा भविष्यका व्यक्ति अनुपस्थित हुन्छन्।
आश्चर्य मान्नुपर्छ, अब गाउँको ‘सबैथोक’ विदेशको आर्जनबाट चल्छ। घर, स्कुटर, सोलार, स्मार्ट टिभी—सबै विदेश कमाउनेको श्राप र पसिनाले बनेका छन्। तर, प्रश्न गरौं—त्यो युवा कहाँ छ? ऊ छ, तर ‘गाउँको सपना’ भइसकेको छैन। ऊ त अफिसको ड्युटीमा झारफुक झैं बस्नुपर्छ। गहना बेचेर गएका युवाहरू, जब अफिसबाट फोन गर्छन्, घरमा भन्छन्—“सब ठीक छ,” र मनमा भन्छन्—“तर म छैन।”
अब त गाउँका चोकहरू ‘सन्देश टावर’ जस्ता भइसके—जहाँ मानिस भेटिदैन, तर खबर आइरहन्छ—”छोरो हङकङ पुगेछ रे”, “छिमेकी छोरी साउदीमा मेड काम गर्छे रे”, “अस्पताल भर्ना हुँदा रेमिट्यान्स ढिला भयो रे”।
गाउँमा ‘ठूला मान्छे’ त्यही मानिन्छ—जो विदेश जान पाएका छन्। देशमा बसेको युवा भने ‘अल्छी’ वा ‘नालायक’ को दर्जामा राखिन्छ। गाउँको नाम राख्न विदेश जानुपर्छ, अनि फर्किंदा—कब्रस्थानमा चिन्ने मान्छे भेट्नुपर्छ।
विडम्बना त के छ भने, अब गाउँको योजना विकास होइन—विदेश जान पाउने एजेन्ट मिलाउने हो। गाउँका खल्तीमा त पासपोर्ट, मनमा सपना—तर देशमा चाहिँ खालीपन। सरकार चाहिँ गाउँ विकासको नारा लगाइरहेको छ, अनि गाउँ भने युवाविहीन संग्रहालय बन्दैछ।
अन्त्यमा, लाग्छ—गाउँमा अब पिँढीमा ताला लगाउने समय आएको छ। किनभने युवाहरूले देशलाई होइन, देशले युवालाई बिदा गरिसक्यो।
प्रतिक्रिया