मोरङ: सांस्कृतिक संगम र अध्यात्मिक स्वाभिमान
तोमनाथ उप्रेती
मोरङ, जहाँ बिहानको शीतल बतासमा सांस्कृतिक संगमको सौरभ सुगन्धित हुन्छ। यहाँका गल्लीहरूमा हिन्दू मन्दिरका शंखध्वनि, मस्जिदका अजान, चर्चका घण्टी, गुरुद्वाराका कीर्तन र बुद्धविहारका घण्टीहरू एउटै पवित्र हावामा मिसिन्छन्। यी दिव्य स्वरहरू आकाशमा प्रार्थनाका झुल्काहरूजस्तै टाँगिन्छन्, जसले आकाशलाई पनि ध्यानको अभ्यास गर्न बाध्य पार्छन्। मोरङको बिहान शंखध्वनीको पवित्रता, अजानको आत्मीयता र घण्टहरूको शान्तिका बीच सुनौलो उषाकालमा रमाउँदै जागृत हुन्छ।
यहाँका गल्लीहरूमा मैथिली, थारू, लिम्बू, राई, राजबंशी, उर्दू, गुरुङ र नेपाली भाषाहरूको मिठास मिसिन्छ। यी भाषाहरूको सुमधुर संगमले मोरङलाई एक अनुपम भाषिक फूलबारी बनाउँछ, जहाँ हरेक भाषा फुलको सुगन्धजस्तै हो, समानताको प्रतीक हो। कुनै पनि भाषा यहाँ एक्लो हुँदैन, सबै भाषा एकअर्कामा विलीन भई आत्मीयताको अनुभव दिलाउँछन्। मोरङमा भाषा सञ्चारको माध्यम होइन, यो आत्माको सङ्गीत, सहअस्तित्वको श्लोक र सामाजिक ऐक्यताको धरोहर हो।
मोरङका पर्वहरू रीतिरिवाजको चित्रकला हुन्। दसैंको पिङको हाँसो, तिहारका दीपहरू, छठका घाटमा गुन्जिने गीतहरू, रमजानको इफ्तारको मिठास, गुरुपर्वका प्रशादी र होलीका रङहरूले मोरङलाई एक जीवन्त उत्सवमा रुपान्तरण गर्छन्। यी पर्वहरूले जात, धर्म, भाषा र क्षेत्रको सिमानाहरू भत्काएर मानवताको एकताको सन्देश प्रसारित गर्छन्। यी उत्सवहरूमा हाँसो, पसिना र प्रार्थनाको संगम हुन्छ, जसले मोरङको आत्मालाई उज्यालो बनाउँछ।
मोरङले अध्यात्मको गहिरो पाठ सिकाउँछ— सहअस्तित्व नै साँचो धर्म हो। यहाँका मस्जिदका अजान र मन्दिरका घण्टीहरूले आकाशमा कहिल्यै प्रतिस्पर्धा गर्दैनन्, बरु उनीहरू एकै स्वरमा समाहित हुन्छन्। यहाँका नागरिकहरू मन्दिरको सिँढीमा बसेर मस्जिदको अजान सुन्छन्, मस्जिदको आँगनबाट मन्दिरका घण्टीका स्वरहरू ग्रहण गर्छन्। यस अध्यात्मिक संगमले मोरङलाई अनुपम बनाउँछ र सम्झाउँछ— “धर्म हृदयमा बस्छ, आडम्बरमा होइन। धर्म प्रेम र करुणामा छ, न कि पहिचान र विवादमा।”
मोरङको माटोमा स्वाभिमानको सुगन्ध छ। यहाँको सिमानामा स्वाभिमान छ र आकाशमा सम्भावनाको उज्यालो छ। किसानको पसिनाले सिँचित अन्नका बोटहरू, उद्योगका चिम्नीबाट निस्किएको धुवाँ, बजारका गल्लीमा गुड्ने ठेलागाडाका चक्काहरू—यी सबै मोरङको श्रमको गौरव हुन्। यहाँका नागरिकहरूको आँखामा सहरका सपनाहरू हुन्छन्, ती सपना गाउँको माटोमा उभिएका हुन्छन्।
यहाँ सहरको तिर्सना र गाउँको सुगन्ध एकसाथ बस्छ। विराटनगरका सडकहरूमा सहरको चहलपहल हुन्छ, तर त्यही सडकमा गाउँबाट तरकारी बेच्न आएका किसानहरूका हातमा गाईगोरूको गन्ध मिसिएको हुन्छ, आँखामा उज्ज्वल भविष्यको चमक हुन्छ। सहरका बत्तीहरू टिमटिमाउँदा किसानहरूको आँखामा पनि उज्यालो झल्किन्छ, तर उनीहरूको पाइलाहरू सधैं गाउँको माटोमै फर्कन्छन्। उनीहरूको हाँसोमा गाउँको सादगी र आशामा सहरको सम्भावना मिसिएको हुन्छ।
मोरङको सांस्कृतिक संगमले अध्यात्मिक लय सिर्जना गर्दछ। तिहारमा दीपावलीको उज्यालो मोरङको आकाशमा शान्त ध्यान बनाउँछ, दीपहरूको उज्यालोमा बालबालिकाहरूको हाँसो, आमाहरूका प्रार्थना र वृद्धहरूको मौनता मिसिन्छ। रमजानको इफ्तारमा प्रार्थनाका स्वर र श्रद्धाका सुगन्धित मिठाइहरूको बास्ना आकाशमा फैलिन्छ। छठका घाटमा महिलाहरूको गीत, पानीमा परेका चन्द्रमाका प्रतिबिम्ब र दीपका उज्यालोहरू आत्मालाई शुद्ध पार्ने अध्यात्मिक चित्र हुन्।
मोरङको माटो आत्माको आराधना स्थल हो। जब किसान बिहानको शीतल हावासँगै नाङ्गा खुट्टा खेततिर प्रस्थान गर्छ, माटो छाम्दै बीउ रोप्दाखेरी आत्मा र प्रकृतिको अनुपम मिलन हुन्छ। पसिनाका थोपा माटोसँग मिसिँदा स्वाभिमानको बीउ अंकुराउँछ। मोरङको आकाशमा टल्किने जुन श्रमको स्फुलिङ्ग हो, आत्मसम्मानको मुस्कान हो, जसले अन्धकारलाई चिरेर आशाको उज्यालो फैलाउँछ।
मोरङका गल्लीहरूमा गुन्जने हरेक पाइला सम्भावनाहरूको सङ्गीत हो। यहाँका खेतहरू सम्भावनाहरूको प्रयोगशाला हुन्, जहाँ अन्नसँगै सपनाहरू हुर्किन्छन्। ती सपनाहरू पेटको भोक मेटाउने होइन, आत्माको तृषा मेटाउने हुन्। मोरङ भन्छ— “सम्भावनाहरू बाहिर खोज्नु पर्दैन, स्वाभिमानका साथ श्रम गर्दा सम्भावना आफैं माटोमै पलाउँछन्।” यहाँका हातका रेखाहरू खेतका आलीहरू जस्तै हुन्छन्, जुन पसिनाले सिँचित हुन्छन् र भविष्यका सपनाहरूलाई पोषित गर्छन्।
मोरङमा पर्वहरू परम्परा होइनन्, ती अध्यात्मिक अनुशासन हुन्। दसैंले आशीर्वादको गहिरो अर्थ सिकाउँछ, तिहारले उज्यालोको महत्त्व सम्झाउँछ, छठले श्रद्धा र विश्वासको शक्ति देखाउँछ, रमजानले संयम र सहिष्णुताको पाठ पढाउँछ। यी पर्वहरूले मोरङको आत्मालाई करुणा, श्रद्धा र सहिष्णुताको डोरीले बाँधेर राखेका छन्।
रातको निस्तब्धतामा पनि मोरङको आकाशमा भाषाहरूको स्वर, प्रार्थनाहरूको गुञ्ज र सम्भावनाहरूको लय गुन्जिन्छ। ती स्वरहरूमा सासको स्पन्दन, पसिनाको गन्ध र आत्माको उत्साह मिसिन्छ। त्यो लय मोरङको अध्यात्मिक गीत हो, जसले भन्छ— “हामी फरक धर्म, भाषा र संस्कारका साथ एउटै आकाशमुनि, एउटै माटोमा सहअस्तित्वका साथ बाँचिरहेका छौं।”
मोरङको माटो भन्छ—
“जहाँ छौ, जसरी छौ, कर्म गर। कर्म नै आराधना हो। पसिनाको बास्ना नै सुगन्ध हो। माटोसँगको सम्बन्ध नै अध्यात्म हो।”
मोरङको आकाश, माटो र हावाले प्रत्येक साससँग जीवनलाई अध्यात्मिक यात्रामा रुपान्तरण गर्ने पाठ सिकाइरहेको छ। यहाँका खेतहरूमा छरेका बीउहरूले मात्र अन्न होइन, भविष्यका सपनाहरू पनि हुर्काउँछन्। यहाँका गल्लीहरूमा हिँड्दा मात्र दूरी पूरा हुँदैन, आत्माको यात्रालाई पनि अघि बढाउँछ। यही मोरङको आत्मा हो, जसले सम्पूर्ण जीवनलाई अध्यात्मिक यात्रामा रुपान्तरण गर्छ।
प्रतिक्रिया