कविताः पासा, कुर्सी र ताली
तोमनाथ उप्रेती
मन्दिरमा अब घण्टी बज्दैन
पासाले आरती गर्छ
मन्त्रहरू अवकाशमा छन्
नाराले नै मोक्ष बाँड्छ
धूप होइन
झूटको धुवाँ चढाइन्छ
देवता थाकेका छन्
कुर्सी मात्रै जाग्राम छ।
राजनीति
पाँचतारे जुवाघर
जहाँ आशा
चिप्स बनेर टेबलमा छरिन्छ
शब्दहरू कार्डझैँ फेर्छन्
र “भाग्य” भन्दै
जनता हार्ने बाजी बनाइन्छ।
सूटधारी साधुहरू
सिंहासनलाई समाधि ठान्छन्
आँखा चिम्लेर
वाचाका पासा फाल्छन्
अचम्म!
ईश्वर सधैं तिनकै पक्षमा हुन्छ।
घर तिनको
नियम पनि तिनकै
हामी त सास फेर्ने सिँढी
जसलाई टेक्दै
उनीहरू “जनसेवा”को
हेलिकप्टर चढ्छन्।
बाहिर चङ्गाहरू छन्
च्यातिएका भाँचिएका
तैपनि उड्न बाध्य
किनकि हावाले
भ्रम दिन्छ
र भ्रम नै अब
राष्ट्रिय ऊर्जा बनेको छ।
जनआक्रोश
झोक्का बनेर हावामा मिसिन्छ
नेताहरू त्यसलाई
“जनसमर्थन” भन्छन्
गुरुत्वाकर्षणलाई गाली गर्दै
“विजय” चिच्याउँछन्
जबकि भूमिले
पहिल्यै
तिनको पतन
कालो अक्षरमा लेखिसकेको हुन्छ।
वाइफाइ मन्दिरका भिक्षु बनेका छन्
ह्यासट्याग जप्छन्,
मीममा समाधि लिन्छन्,
र इन्टरनेट बन्द हुँदा मात्र
सत्य खोज्न
जुत्ता लगाउँछन्।
यहाँ मौनता
बुद्धिमत्ता ठहरिन्छ
भ्रमलाई
सुधारको नाम दिइन्छ
र विश्वासघातलाई
रणनीतिक चातुर्यको
मुकुट पहिराइन्छ।
देश अब देश होइन,
एक विशाल स्टेज हो
जताततै अभिनय,
जताततै संवाद
तर कथा सधैं
जनताको रगतमा
लेखिन्छ।
पुराना दलहरू
क्यासिनोका मालिक
नयाँ दलहरू
पोस्टरमै च्यातिएका सपना
र जनता
ताली बजाउँदै
आफ्नै खल्ती खोजिरहेको दृश्य।
राष्ट्र
राजनीतिले होइन,
व्यंग्यले चलेको छ
यहाँ हरेक वाचा
धोका हो।
धर्मको संकट छैन यहाँ,
मान्छेहरूको आस्था
राजनीतिक जुवामा
हारिरहेको छ
र जब सबै सकिन्छ
पासा, कुर्सी, ताली
त्यतिबेला मात्र
सत्य
बोल्न थाल्छ।
प्रतिक्रिया